-कमला बि.क.
लामो समयको अन्तरालपछि लकडाउनले पुनः दैनिकी लेख्न घच्चच्याएको छ । केही दिन देखि मन र मस्तिष्क उथलपुथल भइरहेको छ । लकडाउनमा तन कोठाभित्र थुनिएको छ । मनमा अनेक भावना उब्जिएका छन् । ती भावनालाई लिपिबद्ध गर्ने जमर्को गरेकी छु । तर तछाड मछाड र ठेलमठेल गर्दै आएका छालहरुले मनभित्र द्वन्द्व खडा गरिदिएको छ । कति लेखुँ, के लेखुँ, के नलेखुँ ? मनमा उर्लिरहेका यी छालहरुलाई कसरी व्यवस्थित गरुँ ?आत्मप्रश्नमा रुमलिएर कलमलाई न रोक्न नै सकें न त निरन्तर दौडाइ रहन । कैयौं पटक लेख्दै, कोर्दै गरें । अलिकति सुरुवात गरेर फेरि कलम बन्द गरेर भित्र बाहिर गर्न थालें । अझै पनि मन केन्द्रित भएन । छत माथि गएर लकडाउनमा परेको काठमाण्डौलाई दृष्टिले भ्याएसम्म नियालें । सन्नाटाले भरिएको यो काठमाण्डौलाई देखेर अनेक कुराहरु मन मस्तिष्कमा दौडिरहे । यसै क्रममा मेरो दृष्टि एउटा दृश्यमा ठोकिन पुग्यो । पिठ्युमा बालुवा भरिएको डोको बोकेर उकालो लागिरहेका दुई ज्यामी । ‘पेटमा दुई दाना अन्न हाल्नको निम्ति कति संघर्ष गर्नुपर्छ है मानिसलाई ? कति असमानता छ है यो वर्गिय समाजमा ? मुठ्ठिभर मानिस जो मेहनत गर्दैनन् । उसैको अथाह सम्पति छ । जो दिनरात मेला मजदुरी गर्दछन् । उनीहरुलाई दुई छाक टार्न पनि धौ–धौ परेको छ ।’ यस्तै यावत कुराहरु घुम्न थाले मस्तिष्कभरि । अनि पुनः सुरु गरें कलम चलाउन ।
सरकारको आज्ञा ‘लकडाउन’ पालना गरी बसेको पनि एक महिना हुनै लागेछ । महामारीको डरले गरिएको यो लकडाउन दुई पटक थपी सक्यो । अझै यो महामारी फैलिने खतरा बढ्दै छ । थाहा छैन, यसले अझै कति समय पो लिने हो ? अरु भन्दापनि लकडाउन लम्बिएसँगै गरिब जनताको जीवनस्तर झन झन् कष्टकर बन्दै गइरहेको कुराले मन निकै पिरोलिरहेको छ । निमुखा जनताहरुको दयनीय स्थिति र सरकारको गैरजिम्मेवारीपन देखेर एकै पटक ममा करुणा र क्रोधको ज्वाला दन्किरहेको छ । सरकारले यो महामारीबाट बच्नुुको उत्तम विकल्प लकडाउन बाहेक केहि देखेको छैन रु यो नै समस्याको समाधान हो भन्ठानेको छ । मनमनै सोंच्छु ‘के यो सरकारले लकडाउनभित्र लुकेका तमाम समस्याहरुलाई देखिरहेको छ रु भोकमरी लागेका जनताहरुको भोक र शोकको ज्वालालाई कसरी अनदेखा गर्न सकेको होला ? कति लाचार र निर्लज्ज छ है हाम्रो सरकार रु यस्तो सरकारलाई पनि जनताको सरकार भन्ने ? छि ! घिन लागेर आउँछ जनताको सरकार भन्न पनि ।’ भोको पेट र गहभरि आँशु राखेर पनि निकै धैर्यता, त्याग, साहस र समर्पणका साथ सरकारले दिएको आज्ञा पालन गरिरहेका छन् श्रमजीवि जनता । तर यो सरकार........।
लकडाउन शुरु हुँदा त यस्तो भयानक अवस्था आउला भन्ने कुरा अनुमान पनि गरेकी थिइनँ । यद्यपि अन्य देशमा भइरहेको घटना थाहा नभएको पनि होइन । तर नेपालसम्म आइ पुग्दा त यो सामान्य हुन्छ होला भन्ने सोचें । औषधी पनि बन्ला भन्ठानें । तर सोचें जस्तो केही भएन । अहिलेसम्म राम्ररी पढ्ने समय पनि मिलाउन सकिनँ । यहि समयलाई सदुपयोग गरी परीक्षाको तयारी गर्ने अवसरको रुपमा लिएँ । फेसबुक, मोबाइल कम चलाएर अलि बढी लेखपढ गर्ने सोचें । केही दिन मन लगाएर लेखपढ पनि गरें पनि । तर दिनहुँ आउने दुःखद समाचारहरुले म स्तब्ध भएँ । पढ्न लेख्न पनि मन लागेन । फेसबुकका भित्ताहरुमा क्षण–क्षणमा आइरहने घटना परिघटनाले मन अझै अत्तालियो । भोकको आगोले जलिरहेका भोका, नाङ्गा र असहायहरुको कहाली लाग्दो दृश्य, राहतको नाममा ठगी, कोरोनाको कहर र अर्कोपट्टि यस्तो भयावह स्थितिलाई देख्दादेख्दै पनि मुकदर्शक बनी लाचारीपन प्रदर्शन गरिरहेको सरकार, कालाबजारी, कोरोनाको महामारीभन्दा प्रष्ट देखिएको भ्रष्टाचारको महामारीले मेरो मन अशान्त बनेको छ । रेडियो र फेसबुकमा त भारत र नेपालमा पनि भोकले मर्नुभन्दा बहुलाउनै वेश भनी छ सात सय किलोमिटर पैदल हिंडेर जाँदै गरेको दृश्य त सुने देखेकै हो ।
लकडाउनकै एक दिन, कोठामा बस्दा–बस्दा निकै छटपटी भएर चन्द्रागिरी र कीर्तिपुर नगरपालिकालाई जोड्ने झोलुङ्गे पुलतिर यसो साँझपख हामी दिदी बहिनी घुम्न निस्किएका थियौं । झिटी गुन्टा बोकेर कतै निकै टाढासम्मको यात्रा तय गरी निस्किएका केही मानिसहरु देख्यौं । अनि मैले भनें, ‘हेर त विचरा, उनीहरु घर हिड्या त होलान नि है । कहाँ होला है घर, कहिले पुग्ने होलान् ?कति गाह्रो हुने होला ?’ बहिनीले थपिन्, ‘हो त नि है दिदी, कस्तो गाह्रो के दिनहुँ काम गरी खानेहरुलाई । यस्ता मान्छेहरुलाई यतिबेला खाने बस्ने बन्दोबस्त सरकारले गर्नुपर्ने नि है ।’ ‘हो नि हुन त ।’ मैले समर्थन जनाउँदै भनें, ‘तर साहै्र लाज पचेको सरकार छ ।’ लकडाउन भनेको जो जहाँ छ त्यही बस्नुपर्ने हो । यसको अर्थ बुझेर पनि यिनीहरुले यसको पालना गर्न सकिरहेका छैनन । बाध्यता छ । भोक–भोकै यति लामो यात्रा गर्न कसलाई के रहर हुन्छ र रु यदि सरकारले यस्ता निमुखाहरुलाई यो संकटको समयभरी दुई गास खान र बस्न व्यवस्था गरको भए यो अवस्था कहाँ आउँथ्यो र ? तर न त यहाँ बस्ने सुविधा छ, न खाने । कामको त कुरै छैन । यस्तो अवस्थामा नहिडेर के गरुन नि ? ‘राहत वितरणका खबरहरु त धेरै आईराछन् नि’ बहिनीले जोडिन्, ‘तर पनि पाउनै पर्नेहरुले पाइरहेका छैनन् ।’ जहिले पनि जब जब पुजीवादी देशमा संकट आइपर्छ तब तब टाठाबाठाले मोटाउने अवसर पाउँछन् । भूकम्पको बेला पनि त राहत वितरणको नाममा भ्रष्टाचारहरु भएकै हुन् । वास्तविक पीडितले राहत नपाएको पनि हामीलाई थाहै छ । अहिले पनि राहतको नाममा वास्तविक पीडितलाई कुहेको चामल र सम्पन्नशालीलाई वास्मती चामल वितरण गरिएकै छ यहाँ ।
त्रिभूवन विश्वविद्यालयमा पनि कति पटक राहत वितरण भयो । कहिले त्यहीं पढ्ने विद्यार्थीका लागि भनेर त कहिले त्रिविबाट मान्यता प्राप्त अन्य क्याम्पसका विद्यार्थीहरुलाई पनि भनेर । जुन कामको अगुवा तिनै भ्रष्ट राजनीतिक दलकै विद्यार्थी संगठनहरुले गरे । हामीले देख्यौं, त्यहाँको अवस्था विद्यार्थीहरुको घुइँचो, भिड छिचोल्दै गएर राहत लिने ठाउँसम्म पुग्दा जोगीलाई भिक्षा दिएको जस्तो हप्तादिन पनि नपुग्ने चामल, दुई छाक पनि नपुग्ने दाल, दुई दाना आलु र प्याज । यो राहत हो कि भिक्षा छुट्याउनै गाह्रो । लाखौ लाखको राहत आएको सुनिन्छ तर ती राहत कसको लागि हो त रु पीडितहरुलाई चारो दिएझैं गरी राहत वितरणको नाममा अगुवाहरु र उनीहरुको आसेपासेले नै कुम्ल्याउछन् । अहिलेसम्म राहत लक्षित समूहसम्म पुगेकै छैन । हिजो मात्रै घरवेटी दिदीले भन्नुभा’थ्यो, चामलकै गोदाम हुने व्यापारीले बोराभरि राहत चामल ल्याए रे ।
महामारीको संकटको बेलामा यस्तो अस्तव्यस्तताले कस्तो परिणति ल्याउने होला ? कोरोनाको संक्रमणबाट बच्न खोज्दा दुई छाक खानै नपाएर मरिने त होइन रु यी यावत दृश्य नाचिरहेका छन् मस्तिष्कभरि । अहिलेसम्म लकडाउनलाई हेर्दा केही सकारात्मक कुराहरुलाई पनि नकार्न सकिन्न । लकडाउनमा वसिरहँदा हामी जस्ता धेरै विद्यार्थीहरुलाई घरमा बसेर पढ्ने राम्रो अवसर मिलेको छ । परिवारलाई समय दिन नसकेकाहरुले परिवारलाई समय दिन पाएका होलान् । कोरोनाको महामारीले ल्याएको संकट र संकटले सिर्जना गरेका केही सकारात्मक र नकारात्मक कुराहरुबारे छलफल गर्दै हामी विस्तारै कोठातिर आयौं ।