-हृदय दाहाल
सन्नाटाको माक्स लगाएर
काठमाडौं लम्पसार छ
जस्तो कात्रो मुन्तिर
समग्र जीवन पल्टिएको होस्
वर्षभरिको ठेलमठेल,
निसास्सिने तातो हुपहुपी
छाडेर पछार्नै पर्ने नियति मानिसको
सुनसान यो काठमाडौं
ब्ल्याकहोल जस्तो
गहिरो चिहानमा
घना, बाक्लो रसातल भित्रको
त्यो अनाैठो गुपचुप
त्यो भयभित एकान्तमा
सन्नाटाको माक्र्स लगाएर
काठमाडौं अचेत, निष्प्राण
पल्टिरहेको छ ।
कहिलेकाहीँ निसास्सिएर
गरुँगो भारले अँचेटेजस्तो
प्याकप्याकी हुँदा
र्याल र थुक समेतको अभाव खट्किन्छ
कहिलेकाहीँ म अस्पतालको शैयामा हुन्छु
मलाई मर्नु र जिउनुको दुरी
केवल एक सेकेन्ड झैँ लाग्छ
कहिलेकाहीँ,
इटालीको त्यो कालोपत्रेमा पल्टिरहे झैं हुन्छु
रिस र दयाको लाखौं आँखाले मलाई कोपर्छन्
म धनुष्टंकारले थलिएजस्तो
दीर्घ दमको रोगीजस्तो
भान्छामा कसैले साँझमा खोकेजस्तो हुन्छ
मानिस अाज सैतान विरुद्धको लडाइँ लड्दैछन्
थुनिएर साना पर्खाल भित्र
काठमाडौं झैं म पनि
एकमनको अनकन्टारमा
अात्माको यो घिनलाग्दो परिधिभित्र
अनलाइनका खबरहरुमा मानिसको मृत्यु हेर्दैछु
ती छटपटाहट जीवनको पुकार सुन्दै छु
बिरामीको त्यो पीडादायी चित्कारमा
नयाँ संकटको यो घडीमा
अस्पताल चिहान गृह झैं भयो ।
सुन्दर उषाको प्रतिक्षामा
लाखौं आँखाहरू जुनकीरी झैं चम्कन्छन्
यो कहालीलाग्दो दुःखद क्षणमा
गुम्सिएर निसास्सिदै
घरि झ्याल र घरि पर्दाबाट संसार चिहाउँछु
र मनमनै आफैंलाई सान्त्वना दिंदै
फेरि गुन्छु,
यो रात संधै रात हुनेछैन
बिहानीको किरणले यसलाई
परास्त गर्न धेरै समय लाग्ने छैन
हामी छिट्टै विजयी हुनेछौं ।