-शंकर भण्डारी
टाढा टाढासम्म
जता हेर्यो उस्तै देखिन्छ
लम्यसार निदाएको
कालो सडक
जाडोमा शितलहरले
गर्मीमा अलकत्रे पसिनाले
निथ्रुक्क भिज्ने
पहिले भन्दा फैलिएको
सडकको छातिमा
हरेक प्रहर गुड्छन
हतार बोकेका मोटरहरू
८४ को उमेरमा पार्लरबाट
फाईनल टचअप लिएर
निस्केकी कुनै तरूनी यौवना जस्तो
वा च्यातिदा च्यातिदै
च्यातिने ठाउँ सकिएपछि
कुनै सिकारू कालिगढले
टालो गाँसेर बनाएको
मुते थाङ्नो जस्तो
भैरहवा अचेल
आँधा निचोरेर छोडेको
डण्डीफोर झै लाग्छ
यहाँ अचेल
मान्छेका हरेक उठबसहरूमा
गोप्य कारोबार हुन्छ
भैरहवामा अचेल व्यापार हुन्छ
यहाँका व्यापारीहरू के गर्छन कुन्नि
पत्रकारहरू भने व्यापार गर्छन्
प्रशासकहरू भने व्यापार गर्छन्
फेरिएको छ भूपीको भैरहवा
यहाँ नोटहरू भारू चल्छ
यहाँ भोटहरू भारू चल्छ
भैरहवामा अचेल
बास बस्दैनन लाहुरेहरू
सुनिदैन मुग्लानका सुस्केराहरू
देखिदैन दाजै र कान्छिका ठट्लीहरू
यहाँ त रातरातभर तस्कर डुल्छन्
दिनदिन भर कन्डोम र क्यानहरू फुल्छन्
मरिच झैँ चाउरिएको छ
भैरहवामा बजार
पारी मेला लाग्छ
नेपाली ग्राहकको
बेचेर नूनदेखि लसुनसम्म
सारीदेखि तरकारी सम्म
पारी गुलजार हुन्छ बजार
भैरहवा भुङ्ग्रोको माछो भएको छ
छिमेक पस्ने ढोका गलपासो भएको छ
न भूपीले देखेका घरहरू छन्
न बैशालु रहरहरू छन्
भैरहवा प्लाष्टिकको फूल भएको छ
२ नम्बरीको मूल भएको छ
कर्णप्रिय गीतहरू त
अहिले पनि सुनिदैनन्
सुन्दर दृश्यहरू त
अहिले पनि छैन कुनै
छ त केवल
आयातित बाजाका
कर्कस धुनहरू
कुखुरा बाख्राका खुनहरू
भूपीको पालामा जस्तो
सुनिदैन अच्छालेकिनका लवजहरू
अचेल त पारीका भैयाहरू दाई
र, वारीका मैयाँहरू बेहन जी भएका छन्
भैरहवामा भेटिदैन अब
भूपीले देखेका
रिक्सा,साईकल र भट्टीहरू
यहाँका सडकमा त अचेल
टेस्ला र डिपलहरू गुड्छन्
वा गुड्छन समान लादिएका
भारतीय लरीहरू
भैरहवा अचेल भट्टी पस्दैन
बरू पस्छ भाटभटेनी
भट्टी पस्नेहरू त
उहिल्यै लखेटिए
जहाजघरको नापजाँच पछि
फेरिएको भैरहवामा अचेल
राजनीति गर्ने डाक्टर बस्छन्
व्यापार गर्ने पत्रकार बस्छन्
अनि केही पनि नगर्नै नेताहरू बस्छन्
– कवि भण्डारी क्यानन मावि बुटवलका प्रधानाध्यापक हुन् ।
(सामाजिक सञ्जालबाट)