असार २४, कञ्चन ।
फुटसल व्यवसायीहरुको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले विगत दुई महिनाभन्दा बढी समयदेखि बन्द रहेको फुटसल सञ्चालनका लागि काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको छ ।
कोरोना भाइरसको दोस्रो लहर आएसँगै बन्द रहेको फुटसल सञ्चालनका लागि संघले बिहीबार काठमाडौं जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएको हो । संघले बुझाएको ज्ञापनपत्रमा लामो समय बन्द रहेको कारण फुटसललाई आर्थिक भार परेको भन्दै फुटसल सञ्चालनको लागि अनुमति दिन माग गरिएको छ ।
निषेधाज्ञा केही खुकुलो भएसँगै खेल क्षेत्रमा पनि सावधानी अपनाई खेल सञ्चालन कार्यविधि निर्माण गरी सञ्चालन गर्न हामी व्यवसायीहरु प्रतिबद्धता व्यक्त गर्दछौं । हाल राज्यबाट कुनै पहल नदेखिएको हुदा हाम्रो गम्भीर ध्यानाकर्षण भएकाले कार्यालयमार्फत आवश्यक पहल गरी हामीहरुको फुटसल ब्यवसायल अविलम्व सञ्चालनको प्रवन्ध गरिदिनुहुा ज्ञापनपत्र बुझाएका छौं ।
नेपाल सरकारले होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात लगायत भिड–भाड हुने क्षेत्रलाई खोल्ने निर्णय गरेपनि समूहमा खेलिने खेल र गतिविधि गर्न प्रतिबन्ध लगाएको छ । यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले २३ साउनबाट ‘ए’ डिभिजन फुटसल लिग पोखरामा गराउने निर्णय गरेको छ ।
बिजुली, जग्गा भाडा, बैंकको ब्याज, कर्मचारीको तलव (दैनिक खर्च) व्यवस्था गर्ने अवस्था छैन । हामी यस अवस्थामा खेल सञ्चालन गर्दा खेल मैदान परिसरभित्र प्रवेश गर्नुअघि खेलाडीको तापक्रम जाच्ने, साबुन पानीको व्यवस्था, सेनिटाइजर र व्यवस्थित वाथरुमको साथै खेल अन्तराल कुनै किसिमको भीडभाड नहुने प्रतियोगिता नगर्ने र कर्मचारीको स्वास्थ्यको विशेष ध्यान दिने तथा फुटसल मैदानभित्र १० जनालाई मात्रै मैदान प्रवेश गर्न दिने प्रतिबद्धता विज्ञप्तिमा उल्लेख छ ।