असार २४,कन्चन।
एजेन्सी
नेपाली फ्रेन्चाइज लिग एभरेष्ट प्रिमियर लिग (इपिएल) २०१८ खेलेका विकेटकिपर ब्याट्सम्यान जोन सिम्प्सनले इंग्ल्यान्डको टोलीबाट
पाकिस्तानविरुद्ध ओडिआईमा डेब्यू गरेका छन् ।
अर्धशतक बनाएपछि चितवन टाइगर्सका जोन सिम्प्सन
पाकिस्तानविरुद्ध पहिलो ओडिआई खेलमा कप्तान बेन स्टोक्सले कार्डिफमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिँदै जोन सिम्प्सन सहित पाँच खेलाडीलाई डेब्यू दिएका छन् । ओपनर फिलिप साल्ट, ज्याक क्रली, विकेटकिपर जोन सिम्प्सन, अलराउन्डर लुईस ग्रेगरी र तीव्र गतिका बलर ब्रायडन क्रसले ओडिआईमा डेब्यू गरेका हुन् ।
जोन सिम्प्सनले २०१८ को इपिएल चितवन टाइगर्सबाट खेलेका थिए । सिम्प्सनले उक्त इपिएलमा ६ खेलमा १ सय ४० रन बनाएका थिए । सिम्प्सनले पारस खड्का कप्तानीमा रहेको विराटनगर वारियर्सविरुद्ध ४४ बलमा ६ चौका र ५ छक्का सहित ७८ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।
जोन सिम्प्सन, चितवन टाइगर्स
घरेलु टोली इंग्ल्यान्ड नयाँ स्वरुप रहेको छ । ओईन मोर्गनको कप्तानीमा घोषणा टोली मध्य तीन सदस्य खेलाडीमा कोरोना देखिएपछि पहिलो रोजाई १६ खेलाडीनै सेल्फ आइसेलेसनमा छन् । जसको कारण इंग्ल्यान्डले बेन स्टोक्सको कप्तानीमा १८ सदस्य नयाँ टोली घोषणा गरेको थियो ।
सिम्प्सन सरप्राइज प्याकेजका रुपमा इंग्ल्यान्डको टोलीमा परेका थिए । नियमित विकेटकिपर जोनी बेयरस्टो, जस बटलर र वैकल्पिक साम बिलिंग्स उपलब्ध नभएपछि इंग्ल्यान्डले सिम्पसनलाई टोलीमा बोलाएको थियो । ३२ वर्षिय सिम्पसनले ९३ लिष्ट ए, १ सय ६८ प्रथम श्रेणी र १ सय २८ टि२० खेल खेलेका छन् ।