-कमला बि.क.
विषय प्रवेश
यति वेला विश्व नै नोवल कोरोना भाईरसबाट पीडित र आतंकित छ । यसको संक्रमणबाट हुने रोगलाई वैज्ञानिकहरुले काभिड–१९ नाम दिएका छन् । यो रोग लाग्ने मानिसको मृत्यु हुने क्रम जारी रहे पनि सवैको मृत्यु हुँदैन बरु अत्यन्तै कम मात्रामा मात्रै हुन्छ भन्ने कुरा उपचार पछि निको हुने मानिसको संख्याले पुष्टि गरिसकेको छ ।
यो पंक्ति लेख्दासम्म विश्वमा कोरोना संक्रमितमध्ये उपचारपछि ४ लाख २ हजार ७ सय ९ जना निको भईसकेका छन् । यो कसरी सर्छ ? कस्तो वातावरणमा बढी फैलिन्छ जस्ता विषयमा केही प्रारम्भिक तथ्य बाहिर आईसकेका भए पनि अझै अनुसन्धान जारी नै छ । अनुसन्धानकर्ताका अनुसार कसै कसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहिमा यो मृत्युको कारण बनिदिन्छ ।
विभिन्न अन्तर्राष्ट्रिय तथ्यांक अनुसार हालसम्म विश्वभर करिब १७ लाख मानिसहरु कोभिड–१९ बाट संक्रमित भएका छन् यीमध्ये करिब १ लाख २० हजारको हाराहारीमा मृत्यु भएको छ भने ३ लाख ७६ हजार ३३ जना उपचारपछि घर फर्किएका छन् । हाल विश्वका करिव २१४ देशमा कोभिड–१९ फैलिएको बताईएको छ ।
कोरोना भाईरस संक्रमणका कारण मृत्यु हुनेको संख्या विश्वभरमै अमेरिकामा सबैभन्दा उच्च भएको छ । जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको पछिल्लो तथ्यांक अनुसार अमेरिकामा २० हजार भन्दा धेरैले ज्यान गुमाएका छन् ।
वर्तमान अवस्था
कोराना भाईरस संक्रमण हाल विश्वव्यापी बनेको छ । आज हरेक देश संक्रमणको प्रतिरोधमा शस्त्र बिनाको विश्वयुद्ध लडिरहेका छन् । संक्रमण सघन रुपमा फैलिरहेको छ । यो संक्रमण भौतिक उपज भए तापनि यस बारेमा अन्धविश्वासी सोंचहरु ब्ढिरहेको छ । संक्रमणबाट बच्न सकिने आशा गर्दै पूजा, प्रार्थना, पशुपंक्षी वलि दिईएका पोष्टहरु सामाजिक संजालहरुमा देखिंदै आएको छ । केहि मानिसहरु आजको यो विषम परिस्थितिलाई नै धर्म प्रचार र परिवर्तनको मौकाको रुपमा प्रयोग गर्न क्रिस्चियन वा कुनै अन्य धर्म अपनाए यस्ता संक्रमणले नछुने जस्ता झुटा प्रचारमा व्यस्त छन् ।
भारतमा त कोरोना भाईरसलाई ‘जिहाद भाईरस’ नाम दिई भारत विरुद्ध मुसलमान र चिनीयाँहरुले फैलाएको भाईरस भनी व्यापक साम्प्रदायिक प्रचार भईरहेको छ । त्यस्ता झुटा प्रचारको प्रभावमा परेका कतिपयले भारतमा मुसलमानहरुमाथि हमला गरेका समाचारहरु आईरहेका पनि छन् । कोरोना भाईरस पहिलो पटक चीनमा व्यापक रुपमा संक्रमण भएको थियो । सो कहाँबाट कसरी र कुन श्रोतबाट आयो भन्ने कुरा नबुझी हचुवाको भरमा त्यसैकै कारण युरोप र संरा अमेरिका लगायतका देशमा चिनीयाँ मूलका मानिसहरु प्रति दुव्र्यवहार गरिएका समाचार पनि व्यापक रुपमा आएकै हुन् । यो साम्प्रदायिक भावना हाम्रो समाजमा आज पनि उन्मुलन भईनसकेको सामन्तकालीन साम्प्रदायिक सोंचको परिणति हो । विश्व स्वास्थ्य संगठनद्वारा महामारीका रुपमा घोषित कोरोना भाईरसका कारण अन्य देशमा जस्तै नेपालमा पनि लकडाउन लम्बिदैं छ । महामारीबाट वच्न लकडाउनको पालना गनुृ अनिवार्य छ । तर कतिपय देशहरुले चुनौतीको यस घडीमा पनि लकडाउन गरेका छैनन् । कतिपय देशलाई शक्तिशाली छौं भन्ने घमण्ड, कतिपयलाई विश्वव्यापीकरणको यो दुनियाँमा अर्थतन्त्र धरातलमा जाने चिन्ता पनि हुन सक्छ भने कतिपय देशहरुले पूर्व तयारीका साथ रोगसँग लड्ने निरोधात्मक क्षमताको विकास गरी उद्योगधन्दा, कलकारखाना चलाई रहको अवस्था छ ।
आजको यो कठिन परिस्थितिमा दैनिक रोजी रोटी कमाउन मजदुरी गर्ने श्रमिक जनता भोकै वस्न बाध्य छन् । रोजी राटीकै कारण आफ्नो थातथलो छोडी बाह्य जिल्लाहरुमा पुगेकाहरु चाहेर पनि आफ्नो गाउँ–ठाँउ फर्कन पाएका छैनन् भने कतिपयले २÷४ प्याकेट चाउचाउ र पानीकै भरमा भए पनि बाहिर भोकै मर्नु भन्दा आफ्नो गाउँ फर्किने अठोट सहित पैदल यात्रा तय गरेका छन् । त्यसै गरी यो अवस्थालाई आंशिक रुपमा भए पनि सहज बनाउन, नागरिकहरुलाई सान्त्वना, सुरक्षा दिन सरकारी, निजी र सहकारी स्तरबाट केही रुपमा राहत वितरणका कार्यहरु पनि भईरहेको अवस्था छ ।
समस्या
संसारभरका जनताहरु कोभिड–१९ को महामारीका कारण विचलित भई कसरी यो अवस्थाबाट पार पाउन सकिएला भन्ने चिन्तामा डुबिरहेका छन् । कोभिड–१९ को संक्रमण र मृत्युको विभत्स आँकडाले आतंकित छन् । संसारको गति नै राकिएको छ । व्यापार– व्यवसाय, अर्थतन्त्र, सेवा, शिक्षा सबै ठप्प छन् । नेपाल पनि यसबाट अछुतो हुने कुरा भएन । हालसम्म नेपालमा स्थिति भयावह नभईसकेको भए पनि यो अवस्था नआउला भन्न सकिन्न । खुला सिमाना, सरकारको गैर–जिम्मेवारीपनले यसको संभावनालाई अझै प्रगाढ बनाएको छ ।
कोरोना भाईरससँगको यो विश्वयुद्धमा चीनले समयमै लकडाउन गरेर युद्ध जित्न सफल भएको छ । ईटालीले पनि त्यहि बाटो अवलम्बन गर्न त खोज्यो तर जनताले वेवास्ता गरी हेलचक्र्याईं गरेपछि आजको भयावह अवस्था आयो । नेपाल एक विकासोन्मुख र गरिब देश हो । नेपालसँग त्यस्तो कुनै प्रविधि छैन । जसले क्षणमै समस्याबाट निस्कन सकोस । त्यसका लागि नेपालले विदेशीकै मुख ताक्नुपर्ने हुन्छ । त्यसैले अहिले नेपालले जुन उपाय अपनाएको छ कोरोना भाईरसको महामारीबाट बच्न उपयुक्त छ । तर यो स्थितिमा कैयौंको घरमा रासन सकिएको छ । तेल तरकारी, ग्याँस सकिएको छ । यस्तो अवस्थामा सरकार र स्थानीय सरकारले भौतिक दुरी कायम गरी किनमेलको लागि निश्चित समय तोकिदिनु पर्छ ।
सामाजिक संजाल र पत्रपत्रिकामा कति सर्वसाधारणले अनाहकमा दुःख दिएको, पसल जानेलाई कुटेको खबर पनि आएका छन् । अर्कोतिर सर्वसाधारणहरुले पनि प्रहरीहरुलाई नटेरेको, उनीहरुको आँखा छलेर नियम उल्लघंन गरेका खबरहरु पनि प्रशस्तै छन् । यसले गर्दा अझै पनि केहि प्रहरी र सर्वसाधारणले लकडाउनको अर्थ नबुझेको जस्तो देखिन्छ । यस्तो अवस्थामा सर्वसाधारणलाई पींडा दिनुहुन्न । कतिपय मानिसहरु विरामी पर्छन । तिनलाई अस्पताल पु¥याउनु पर्ने हुन्छ । यस्तो बेलामा जो कोहीलाई दुःख दिनु अमानवीय काम हो । गैर जिम्मेवारीपूर्ण काम हो । आ–आफ्नो स्थानबाट ‘हाम्रै सेवा र सुविधाका लागि हो’ भन्ने कुरा बुझ्नु जरुरी छ ।
लकडाउनले सबै भन्दा बढी मारमा परेको वर्ग दैनिक ज्यालादारीमा काम गरी खाने मजदुर हुन् । उनीहरुलाई खाद्य सम्प्रभूताको अधिकारबाट वञ्चित गरिएको छ । सरकारले उनीहरुलाई राहतको वन्दोवस्त गर्नुपर्ने हो । तर यसो नहुँदा रोगको संक्रमण रोकिए पनि भोकको भयावह अवस्थालाई रोक्न सक्दैन । चैत १८ गते सर्वोच्च अदालतले विपन्नका लागि राहत उपलब्ध गराउन सरकारको नाममा आदेश जारी गरिसकेको अवस्थामा सरकार यसप्रति गम्भिर नहुनु र कुनै उल्लेखनिय काम नगर्नु ठूलो समस्याको रुपमा देखा परेको छ । यसैबीचमा स्थानीय तहले राहत वितरण गर्न थालेको छ । तर त्यो राहत आहत बनेको छ । राहतको नाममा सामाजिक संजालमा राख्न फोटो मात्र खिच्ने र आफु चर्चित हुन खोज्ने काम मात्र भएको छ । यति मात्रै नभएर बाडिएको राहत पनि वास्तविक पींडितले नपाई सम्पन्न व्यक्तिका परिवारले पाईरहेका छन् । यसले गर्दा राहतको नाममा घृणित गैर राजनीतिक क्रियाकलाप हुन थालेको छ । जनताको भोक माथि खेलवाड भएको छ ।
कोरोनाको महामारीले सम्पूर्ण क्षेत्र ग्रसित छ । यस्तो अवस्थामा अत्यावश्यक सेवामा सूचीकृत व्यापारी र व्यवसायीले यसलाई कमाई खाने भाँडो बनाएका छन् । खाद्यान्न, ग्याँस, तरकारीमा अभाव सिर्जना गरी मूल्य वृद्धि गरेका छन् । मनपरी मूल्य तोकी असहज परिस्थितिको फाईदा उठाईरहेका छन् । अत्यावश्यक औषधी, मास्क, पंजा तथा स्यानिटाइजर आदिको कालोबजारी गरिरहेका छन् । तर सरकारले उल्लेखनिय कारवाही गर्न सकेको छैन । फलतः कालाबजारी र नाफाखोरीहरुको मनोबल बढेको छ । यस्तै बेलाको मौका पारी सेवाको नाउँमा निजी हस्पिटलहरु पैसा असुल्न पल्केका छन् । हरेक संकटका बेला चाहे त्यो नाकाबन्दी होस या भूकम्प । व्यापारीहरु हरेक पल्ट पाहा झैं मोटाईरहेका छन् भने पींडित जहिले सुकेर कंकाल भईरहेका छन् । चारैतिर अभाव हुँदा व्यापारीहरुका गोदाम भरिभराउ छन् । उल्टो उनीहरु नै अभावको नाटक गर्छन । नाफा सोहोर्छन । कालोबजारी गर्छन ।
समाधानको बाटो
कोरोना भाईरस संक्रमण विश्वव्यापी रुपमा वनजंगलमा लाग्ने डढेलो सरी फैलिरहेको छ । यो रोग विशेष सावधानी अपनाएको खण्डमा नियन्त्रण गर्न सकिने उदाहरण पनि हाम्रो सामु छिमेकी देश जनगणतन्त्र चीनको हुपेई प्रान्तको उहान शहर छ । त्यसैले ‘रोग लागिसकेपछि उपचार गराउनु भन्दा रोग लाग्न नदिनु राम्रो’ भन्ने उखान यस महामारीको सन्दर्भमा सत प्रतिशत लागु हुन्छ ।
भनिन्छ, संकटले नै अवसर प्रदान गर्दछ । संकटको घडीलाई चिनेर अगाडी बढ्न सक्यो भने त्यो एउटा सुवर्ण अवसरको माध्यम हुन सक्छ । यस्तो अवस्थामा राज्यले अत्यावश्यक वस्तुलाई जनताको घर दैलोमा पु¥याउने वन्दोवस्त गर्नुपर्छ । चिकित्सकहरुलाई पनि जनताको स्वास्थ्य परिक्षणका लागि घर घरमा नै खटाउनुपर्छ । त्यसै गरी देश भित्रिएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा वस्ने तथा उनीको उचित खानपानको व्यवस्था सरकारले गर्नुपर्छ । संक्रमित विरामीलाई परिक्षण गर्न प्रभावकारी र चुस्त व्यवस्था मिलाईनु पर्दछ । शंकास्पद विरामीलाई भर्ना लिन नमान्ने अस्पताललाई तुरुन्त कारबाहीको दायरामा ल्याई सार्वजनिककरण गरिनुपर्दछ ।
कोरोना भाईरसको महामारीका कारण आएको संकटलाई उपयोग गरी एउटा अर्कौ सुवर्ण अवसर ल्याउन सकिन्छ – भारतसँगको खुला सिमाना नियमन गरेर । भारतसँगको खुला सीमाको कारण नेपाललाई हुने समस्या तथा जोेखिमको अन्त्य गर्न तथा नेपाल र नेपालीको सार्वभौमिकता रक्षाको लागि यो संकटलाई उपयोग गर्न सकिन्छ ।
उपसंहार
जहाँ समस्या हुन्छ त्यहाँ समाधानको उपाय पनि हुन्छ । खाली हामी संयमता र धैर्यतापूर्वक खोज्न सक्नुपर्छ । अहिले महामारीको रुपमा देखिएको कोभिड–१९ रोगलाई पनि हामीले धैर्यतापूर्वक सोंचेर समस्याबाट नआत्तिकन नडराईकन संयमतापूर्वक यो कठिन परिस्थितिको सामना गर्न सकिन्छ । हाम्रो देशलाई पनि चीन जस्तै विश्वमा उदाहरणीय बनाउन सकिन्छ । त्यसका लागि सरकारका सम्पूर्ण संयन्त्र, जनप्रतिनिधिहरु, राजनीतिक दल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायतका सम्पूर्ण सम्बन्धित पक्षहरुमा समस्यालाई चिर्न सकिन्छ भन्ने आत्मविश्वास र साहस अनि काम गर्नका लागि जागरुकताको आवश्यकता पर्दछ । साथै यो प्रतिकुल अवस्थालाई अनुकुल बनाउन, राज्यका नागरिकलाई सान्त्वना, सुरक्षा, स्वास्थ्योपचार लगायत महत्वपूर्ण जिम्मेवारी पुरा गर्नुपर्ने हुन्छ । अर्कोतर्फ नागरिकहरुले पनि आफ्नो नागरिक दायित्व पुरा गर्नुपर्ने हुन्छ ।
२१ औं शताब्दीको विज्ञान र प्रविधिलाई चुनौती दिंदै महामारीको रुप लिएको कोरोनाबाट बच्न र अरुलाई पनि बचाउन विशेष गरी सरसफाई, भौतिक दूरी कायम गर्दै सरकारले बनाएका नीति तथा निर्देशनलाई जिम्मेवारीपूर्वक अनुसरण गरी पालना गर्नुपर्ने आवश्यकता देखिन्छ । यदि नेपालमा कोरोना भाईरसले महामारीको रुप लिएर फैलियो भने हाम्रो अवस्था हाम्रो कल्पनाको घेरा भन्दा बाहिरको हुनेछ । हामी सभ्यता र संस्कार मान्ने नेपाली हौं । हाम्रा कतिपय रीतिरिवाज, चालचलन विज्ञान सम्मत छन् भने कतिपय हामीलाई महामारीमा धकेल्ने खालका अन्धविश्वासबाट प्रेरित छन् । त्यैसैले हामी सचेत भई माथि उठ्नु पर्ने आवश्यकता देखिन्छ ।
अन्तमा २०७६ सालको अन्त्यसँगै महामारीको संकटको अन्त्य होस् । यो प्रतिकुल समयलाई अवसरको रुपमा रुपान्तरण गर्न डर, त्रास र भय जस्ता नकारात्मक र कमजोर मानसिकता त्यागी अदम्य साहस, दृढ अठोट र सकारात्मक सोंचका साथ सचेत, सजग र भावनात्मक रुपमा संगठित भई सामाजिक उत्तरदायित्व बहन गर्न सक्ने क्षमता सम्पूर्णमा प्राप्त होस् । २०७७ सालको नयाँ विहानीले हामी अनि हाम्रो घर आँगनमा नयाँ जोस जाँगर र उत्साह ल्याओस् । २०७७ सालको हार्दिक मंगलमय शुभकामना ।