१५ भदौ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिका–५ पिपरीचापास्थित गौतमबुद्ध सामुदायिक विकास केन्द्रको आयोजनामा हुने तेस्रो गौतमबुद्ध कप–२०८३ नाइन ए साइड नकआउट फुटबल प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारीको अन्तिम चरणमा पुगको छ ।
हरितालिका तीजको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले सोमबार पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष कमल परियारले सो कुरा जानकारी दिनु भएको हो। पत्रकार सम्मेलनमा आयोजक गौतमबुद्ध सामुदायिक विकास केन्द्रका अध्यक्ष कमल परियारले प्रतियोगिताको तयारी, उद्देश्य तथा व्यवस्थापनबारे सञ्चारकर्मीलाई जानकारी गराउनुभएको थियो।
प्रतियोगिता भदौ १८ गतेदेखि कञ्चन–५, पिपरीचापास्थित गौतमबुद्ध सामुदायिक विकास केन्द्रको खेलमैदानमा शुरु हुनेछ। प्रतियोगिताको उद्घाटन खेल भदौ १८ गते दिउँसो २ बजेदेखि हुने आयोजकले जनाएको छ। प्रतियोगिताको फाइनल खेल भदौ २९ गते हुनेछ।
प्रतियोगिताबारे जानकारी गराउदै अध्यक्ष परियारले प्रतियोगिताको विजेताले नगद १ लाख २२ हजार २२२ रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ७२ हजार २२२ रुपैयाँसहित कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। उपविजेताको नगद पुरस्कार भने दाजु श्याम बहादुर बुढा मगरको सम्झनामा भाई विपिन बुढा मगरको परिवारबाट सौजन्य प्राप्त भएको केन्द्रका अध्यक्ष कमल परियारले जानककारी दिनु भएको छ।
यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले होण्डा साइकल र ट्रफी प्राप्त गर्ने छन भने सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उदयमान खेलाडी ले जनही ३ हजार १ सय रुपैया नगद पुरस्कार सहित ट्रफी पाउने आयोजकले जनाएको छ। यसैगरी प्रत्येक खेलको म्यान अफ द म्याच विजेताले १ हजार १ सय रुपैया पाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
अध्यक्ष परियारका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। प्रतियोगितालाई सफल बनाउन स्थानीय सरकार, विभिन्न संघसंस्था, आमा समूह, चन्दादाता, प्रायोजक तथा फुटबल खेलप्रेमीहरूबाट आर्थिक, भौतिक, नैतिक सहयोग तथा श्रमदान प्राप्त भइरहेको छ।
स्थानीय स्तरमा फुटबल खेलको विकास, खेलाडीको उत्पादन तथा युवाहरूबीच एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा न्यु सिरजनशिल एफ.सि., रुपन्देही, एम. बी. भेट्रान्स रुपन्देही, फर्साटिकर युवा क्लब, शुद्धोधन, योङ्ग बोइज देवदह, चाँदानी युवा क्लब कञ्चन, झरना स्पोर्टस क्लब, कुञ्जलापुर, रेन्बो एकेडेमी,कञ्चन, सुनगाभा सामुदायिक विकास केन्द्र, गौतम बुद्ध सामुदायिक विकास केन्द्र, सुनौलो संगम युवा क्लब, न्यु सृजना युवा क्लब तिलोत्तमा, विश्वशान्ति युवा क्लब गरी १२ फुटवल टिमकहरुले प्रतिस्पर्धा गर्नेछन। प्रतियोगिताको समयतालिका समेत आजै सार्वजनिक भएको छ।
प्रतियोगिताको तेश्रो संस्करणमा खेलकोक्रममा खेृलाडीहरुमा कुनै सघन समस्या देखा परेमा खेलमैदानमै प्राथमिक उपचारका लागि मेडिकल अफिसर र फिजियो थेरापिष्ट सम्मिलित मेडिकल टिमको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। यसैगरी प्रतियोगितामा करिब ३० हजार दर्शकहरुले प्रत्यक्ष रुपमा खेलको अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ। दर्शकहरुका लागि प्याराफिटको व्यबस्थथा गरिएको छ।
कार्यक्रममा केन्द्रका सल्लाहकार हिरालाल विश्वकर्माले सञ्चालन गर्नु भएको थियो भने अर्का सल्लाहकार सुवेदार मिन बहादुर पुनले स्वागत गर्नु भएको थियो। सम्मेलनमा केन्द्रका पदाधिकारीहरुको समेत सहभागिता रहेको केन्द्रका उपाध्यक्ष तथा खेल संयोेजक रोशन पुनले जानकारी दिनु भएको थियो ।
