१३ साउन, गुल्मी
गुल्मीको सत्यवती गाउँपालिका–३ स्थित ठूलो लुम्पेकमा सामुदायिक होमस्टे सञ्चालनमा आएपछि ग्रामीण पर्यटनले नयाँ गति लिएको छ। स्थानीय कला, संस्कृति, परम्परा तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको होमस्टेले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न थालेको छ।

पछिल्लो समय ठूलो लुम्पेक भ्रमण गर्ने पर्यटकको संख्या उल्लेख्य रूपमा बढ्दै गएपछि स्थानीयवासी पाहुनाको स्वागत तथा आतिथ्यमा व्यस्त देखिएका छन्। सामुदायिक होमस्टे सञ्चालनमा आएपछि पर्यटकलाई सुरक्षित, व्यवस्थित र पारिवारिक वातावरणमा बसोबासको सुविधा उपलब्ध भएको छ।

प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदाले भरिपूर्ण ठूलो लुम्पेकमा आउने पर्यटकले सत्यवती क्षेत्र, ऐतिहासिक हचिनकोट दरबार, हिले सिद्ध, हुक्रायोको सेती नाग, ऐतिहासिक हेलिप्याड, गाग्री ढुंगा, जाँतो सङ्ग्रहालय तथा रमणीय लुम्पेक बजारको अवलोकन गर्न सक्नेछन्। यी गन्तव्यले लुम्पेकलाई ग्रामीण पर्यटनको आकर्षक केन्द्रका रूपमा स्थापित गर्दै लगेका छन्।
दैनिक रूपमा भ्रमणकारीको संख्या बढ्दै गएपछि आवास व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सामुदायिक होमस्टे महत्वपूर्ण माध्यम बनेको स्थानीयको विश्वास छ। यसअघि निजी होटल तथा लजहरू उपलब्ध रहे पनि सामुदायिक होमस्टेले पर्यटकलाई स्थानीय जीवनशैलीसँग प्रत्यक्ष जोड्ने अवसर प्रदान गरेको छ।

होम स्टेको आधारभूत नियमलाई आत्मसात् गरी सञ्चालनमा आएको होमस्टेको संख्या आगामी दिनमा अझ विस्तार गर्ने योजना रहेको ठूलो लुम्पेक सामुदायिक होमस्टे व्यवस्थापन समितिकी सचिव ज्ञानीमाया रानाले जानकारी दिइन्।
उनका अनुसार होमस्टेमा पाहुनाको मागअनुसार घरमै तयार गरिएका अर्गानिक परिकार उपलब्ध गराइनेछ। साथै टिमुर, भटमास, मकै, जौ, जुनेलो, फापर, लट्टे, तेजपत्ता, बाँकोको सिन्की, कोदोको पिठोलगायत स्थानीय उत्पादनलाई कोशेलीका रूपमा समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।

मति पुलामी सिंजापतिअध्यक्ष रहेको सामुदायिक होमस्टेमा पर्यटकको मनोरञ्जनका लागि स्थानीय सांस्कृतिक समूहद्वारा झ्याउरे, दोहोरी तथा मौलिक लोकभाकामा आधारित सांस्कृतिक प्रस्तुति पनि गरिनेछ।
सामुदायिक होमस्टेमा पुग्ने पर्यटकले सुप्रसिद्ध लुम्पेकी थानी बाजे–बजैको दर्शन गरी मनोकामना व्यक्त गर्न सक्नेछन्। साथै, होमस्टेलाई स्थानीय पुराना सामग्रीहरूको सङ्ग्रहालयका रूपमा समेत विकास गरिएको छ, जसले लुम्पेकको इतिहास, संस्कृति र मौलिक जीवनशैलीलाई नजिकबाट अनुभूति गराउने विश्वास गरिएको छ।
ग्रामीण पर्यटनको विस्तारसँगै ठूलो लुम्पेकको सामुदायिक होमस्टेले स्थानीय रोजगारी, आयआर्जन र स्थानीय उत्पादनको बजार विस्तारमा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।