सृजना
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात् मार्च ८ महिला विद्रोहको मात्र दिन होइन, यो सम्पूर्ण कामदार महिलाको वर्गीय मुक्ति आन्दोलनको महत्वपूर्ण नाम हो । यो वर्गसङ्घर्षको एउटा सिलसिला हो । कारखाना, खेत–खलिहानमा काम गर्ने महिलामाथिको शोषणविरुद्ध उठेका थुप्रै आन्दोलनहरूले जन्माएको दिन हो, मार्च ८ । काम गरिखाने महिलामाथिको उत्पीडनविरुद्ध उठेको सशक्त आवाजको नाम हो, मार्च ८ । त्यसकारण, मार्च ८ को भावना आजको विश्वमा अझ बढी आवश्यक छ ।
सन् १८३० मै दासताविरुद्ध अमेरिकी महिलाहरूको सङ्गठित आन्दोलनसँगै महिला मुक्तिको आवाज उठ्न थालेको बताइन्छ । विश्वमा औद्योगिकीकरणको सुरुआतसँगै श्रम शोषण झन् पैmलियो । अझ कामदार महिलामाथि चरम श्रम शोषण हुनथाल्यो । सन् १८४८ मा कार्ल माक्र्स र एँगेल्सले लेख्नुभएको ‘कम्युनिस्ट घोषणापत्र’ ले श्रम शोषणविरुद्ध उभिन हौस्यायो । यसले कामदार वर्गमाथिको शोषण–उत्पीडनविरुद्धको बाटो वर्गसङ्घर्ष नै हो भन्ने प्रस्ट सिकायो ।
कम्युनिस्ट घोषणापत्रको विचार संसारभर फैलियो । श्रमिक महिलाहरूको सङ्गठित शक्तिले मात्रै शोषणविरुद्ध लड्ने सामथ्र्य मिल्ने महिलाहरूले बुझ्न थाले । कार्यालयमा समान पारिश्रमिक, समान अवसर, निश्चित कार्यघण्टा, मातृत्व संरक्षणलगायत श्रमसम्बन्धी विषय र महिला मताधिकारको माग गर्दै थुप्रै आन्दोलनहरू उठे । तीमध्ये सन् १९०८ को दिन अमेरिकाको म्यानह्याथनमा सिलाइ बुनाइ कारखानाका करिब ३० हजार महिला मजदुरहरूले गरेको विशाल प्रदर्शनी स्मरणीय छ । प्रदर्शनीलाई निर्ममतापूर्वक दमन गरियो ।
थुप्रै महिलाहरूले गिरफ्तारी दिए । सो दिनको स्मरण गर्दै सन् १९१० मा अन्तर्राष्ट्रिय समाजवादी सङ्गठनको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन डेनमार्कको कोपनहेगनमा भयो । सो सम्मेलनमा एक जर्मन नेतृ क्लारा जेट्किनले हरेक वर्षको ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव गरिन् । वर्ग मुक्तिले मात्र महिला मुक्ति हुने विचार उनले राखेकी थिइन् ।
सन् १९१७ मा रुसमा अक्टोबर समाजवादी क्रान्ति सफल भएपछि सोभियत कम्युनिस्ट पार्टीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने घोषणा ग¥यो । अक्टोबर क्रान्तिबाटै सिकेर विश्वका कम्युनिस्टहरूले महिला मुक्तिलाई वर्गीय मुक्तिसँग जोडे । सोभियत रुसले वर्गीय मुक्तिबाट मात्रै महिला मुक्ति सम्भव हुने सन्देश विश्वमा प्रवाह ग¥यो । समाजवादी व्यवस्थामा मात्रै महिलाहरूको स्वतन्त्रता र समानता सम्भव हुने शिक्षा दियो ।
लेनिनले मार्च ८ अर्थात् महिला आन्दोलनको आवश्यकताबारे थुप्रै लेखहरू लेख्नुभएको थियो । अक्टोबर क्रान्ति महिलाहरूको पनि क्रान्ति थियो । उहाँ भन्नुहुन्थ्यो, “महिलाहरू अहिलेसम्म घरको चारभित्ताभित्र कैद भएर दासी जीवन बिताउँदै थिए । समाजवादले तिनलाई नयाँ जीवन दियो । ती पूर्णतः स्वतन्त्र छन् । व्यक्तिगत कार्यबाट सामूहिक कार्य, कृषि र जमिनको समाजवादी नीतिले महिला उत्पीडनमाथि जीत हासिल ग¥यो ।”
सन् १९४९ को चिनियाँ क्रान्ति, सन् १९४५ को प्रजग कोरियाली समाजवादी क्रान्ति, सन् १९५९ को क्युवाली क्रान्तिले पनि महिला आन्दोलनलाई समाजवादी क्रान्तिसँग जोड्यो । समाजवादी क्रान्तिले मात्र महिलाहरूले समान आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकार पाउँछन् । क्युवाली क्रान्तिको सन्दर्भमा फिडेल क्यास्ट्रो भन्नुहुन्छ, “क्रान्तिमा महिला सहभागिता क्रान्तिभित्रको पनि क्रान्ति हो । क्युवाली क्रान्तिले क्युवामा गरिरहेको महत्वपूर्ण क्रान्तिकारी काम भनेकै महिला मुक्ति अर्थात् महिला क्रान्ति हो ।”
यसरी समाजवादी मुलुकलगायत कम्युनिस्ट विचार बोक्ने संसारका सम्पूर्ण जनता मार्च ८ लाई समाजवादी आन्दोलनको श्रृङ्खला र वर्गसङ्घर्षको सिलसिलाको रूपमा अगाडि बढाउँछन् ।
पुँजीवादी देश र बुर्जुवा वर्ग भने अन्तर्राष्ट्रिय नारी दिवस मनाउँछन् । संयुक्त राष्ट्र सङ्घले सन् १९७५ मा ‘श्रमिक’ शब्द हटाई ‘अन्तर्राष्ट्रिय महिला दिवस’ मनाउन थालेको बताइन्छ । यो विचार थुप्रै आइएनजीओको माध्यमबाट संसारभर फैलाइयो । नेपालमा पनि पुँजीवादी विचार बोक्ने दलका महिला सङ्गठनहरू, आइएनजीओको डलरले बाँचेका महिला सङ्गठनहरू ‘नारी दिवस’ मनाउँछन्, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदैनन् ।
महिला आन्दोलनलाई वर्गीय चेतना दिनु आजको आवश्यकता हो । महिला आन्दोलनलाई वर्गसङ्घर्षको भावना दिन सकिएन भने त्यसले बुर्जुवा महिला र पुँजीवादी व्यवस्थाकै मलजल गर्नेछ । त्यसकारण अहिलेको श्रमिक महिला आन्दोलनलाई शोषणमा आधारित पुँजीवादी व्यवस्थाविरुद्ध केन्द्रित बनाइनुपर्छ ।
पुँजीवादी व्यवस्थाले महिला मुद्दालाई लैङ्गिक मुद्दाको रूपमा मात्रै व्याख्या गर्ने गर्छ । पुँजीवादी व्यवस्था र केही महिलावादीहरू महिलाको शत्रु पुरुष हो पुँजीवादी व्यवस्था होइन भन्ने भ्रम सृजना गर्छन् । महिला उत्पीडनको जन्म परिवार, निजी सम्पत्ति र राज्यसत्तामाथि आधारित वर्ग समाजको बाटो हुँदै भएको हो भन्नुहुन्छ, एँगेल्स । पुँजीवादी व्यवस्थाले व्यक्तिवाद, निजीकरण र राज्य सत्तालाई बलियो बनाउँछ । ‘महिलालाई सम्पत्ति र लैङ्गिक समानता’ जस्ता नारा पुँजीवादी व्यवस्थाकै उपज हुन् । महिलालाई छुट्टै राज्य, छुट्टै भाषा, छुट्टै सञ्चारगृह आदि महिलाभन्दा महिलावादी नारा पुँजीपति वर्गले दिन्छ । पितृसत्तात्मक समाज नै महिला असमानताको एकमात्र कारणको रूपमा पुँजीपतिहरू होहल्ला गर्छन् ।
मानव समाजको इतिहास भन्छ, महिला उत्पीडन उत्पादन सम्बन्धसँग पनि जोडिएको हुन्छ । आदिम समाजमा महिलाहरू पुरुषसरह बाँच्थे । समाज मातृसत्तात्मक थियो । पितृसत्तात्मक समाज र ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ता’ एकअर्कोसँग जोडियो । जङ्गली युगमा शिकार गर्र्ने, खानेकुरा जोहो गर्ने पुरुषले गर्नथाले । सामन्तवादी अर्थ व्यवस्थामा कृषि, पशुपालन तथा घरेलु उद्यमको विकाससँगै श्रमशक्तिको महत्व बढ्यो ।
पुरुषहरूले आफ्नो अतिरिक्त श्रमलाई निजी सम्पत्तिको रूपमा जम्मा गर्नथाले । परिवारको आवश्यकता बोध गरी विवाह प्रथाको विकास गरियो । पुरुषको तखतमा महिलाहरू बस्नुपर्ने समाजको विकास भयो । महिलाहरू घरभित्र भान्सा र बच्चा हेर्ने काममा बाँधिए । धर्मले महिलाहरूलाई बाँध्ने सामाजिक सिक्रीहरू बनायो । समाज विकासक्रम सँगै महिलाहरूलाई अत्यन्त न्यून स्तरमा राख्ने र महिला उत्पीडनको मूलभूत कारण पुँजीवादी व्यवस्था बन्यो । शोषणमा आधारित व्यवस्थामा सर्वहारा महिलामाथि दोहोरो शोषण हुने गर्दछ । पहिलो, बुर्जुवा वर्ग अर्थात् व्यवस्थाले गर्ने शोषण । दोस्रो, सामाजिक मूल्य–मान्यताबाट हुने दमन । त्यसकारण कामदार महिलामाथिको दोहोरो शोषणविरुद्ध सशक्त आन्दोलन तथा सङ्घर्ष आवश्यक रहन्छ ।
पँुजीवादी व्यवस्था कामदार महिलामाथि चरम श्रम शोषण हुने व्यवस्था हो । पुँजीवादी समाजमा महिला सस्तो ज्यामीको रूपमा प्रयोग हुन्छन् । पुँजी र नाफाको व्यवस्थामा महिलाहरू नाफाको निमित्त वस्तुसरह प्रयोग गरिन्छन् । बेरोजगारी पुँजीवादी व्यवस्थाको रोग हो । पुँजीवादी व्यवस्थाले मुठ्ठीभर धनी वर्गको हित गर्ने हुँदा बहुसङ्ख्यक कामदार वर्ग काम, माम र कपडाको लागि रगत–पसिना बगाउन बाध्य हुन्छन् । नेपाली समाजमा त्यही वर्गका महिलाहरूलाई कामको लोभ देखाई सहर ल्याइन्छन् र बेचिन्छन् । वैदेशिक रोजगारीको नाममा विदेशमा बेचिन्छन् । पहिला भारतमा मात्रै नेपाली चेली बेचिन्थे अहिले त खाडी मुलुक, दक्षिण कोरिया हुँदै अफ्रिकी मुलुकहरूमा समेत बेचिने गरेको समाचार प्रकाशित भइरहेको छ ।
पुँजीवादी व्यवस्थाले मानव तस्करीलाई पनि कानुनी मान्यता दिन्छ । यसर्थ अहिलेसम्मका नेपालका शासक दलहरू सामन्तवादी चिन्तन र पुँजीवादी विचारका हिमायती हुन् ।
पुँजीवादी व्यवस्थामा सबैभन्दा बढी महिला हिंसा हुन्छ भन्ने प्रमाण अहिलको सिङ्गो विश्व हो । पुँजीवादले महिलालाई दबाउनकै निमित्त सम्पूर्णखाले कुसंस्कार, अन्धविश्वास, कुरीति र कुप्रथाहरूलाई मान्यता दिने र हुर्काउने गर्दछ । आज पनि नेपाली महिलाहरू बोक्सीको आरोपमा पिटिन्छन्, समाजबाट बहिष्कृत गरिन्छन् । छाउपडी प्रथालाई संस्कार र भगवानको देनको रूपमा स्वीकारिन्छ । पश्चिम नेपालमा छाउपडी प्रथा, महिनावारीलाई पापको संज्ञा दिने परम्पराको रूपमा अगाडि बढ्दै छ । छाउपडी प्रथा र महिला स्वास्थ्यलाई सँगै जोडेर चेतना जगाउने कार्य गरिएको छैन । दैनिक ६ वटा बलात्कारका घटना घट्छन् ।
दाइजो प्रथाले झन् झन् विकराल रूप लिँदैै छ । गएको माघ १३ गते सिराहाको औरही गाउँपालिका २ मा श्रीमान् विनोद यादवले श्रीमती अनिताकुमारी यादवलाई लेनदेन नमिलेको भन्दै पेट्रोल छर्केर जिउँदै आगो लगाए । अनाहकमा प्राण त्याग्न बाध्य श्रीमती, बुहारीहरूका समाचारहरू यसअघि कति आए, आए । दाइजो प्रथा पुँजीवादी व्यवस्थाकै उपजको रूपमा विकराल बन्दै छ । तेजाब आक्रमणहरूले निरन्तरता पाउँदै छन् । मार्च ८ कै दिन कपिलवस्तुको महाराजगञ्ज नगरपालिका — १ का ५१ वर्षीया बेदमतीदेवी गुप्तामाथि तेजाब प्रहार गरियो । यी सम्पूर्ण बेथिति केलाउँदा र महिलामाथिको शोषण नियाल्दा नेपालबाट पञ्चायती व्यवस्था, सामन्तवादी व्यवस्था अर्थात् पुरानो सोच नहटेको भान मिल्छ । पुँजीवादी प्रजातन्त्रको वकालत गर्ने अहिलेको शासक दलका महिला सङ्गठनहरू परिवर्तनको निम्ति राजनीतिमा महिला सहभागिताको नारा दिन्छन् । त्यही सिलसिलामा आरक्षण र महिला कोटाको प्रावधान भित्रियो । आरक्षण र कोटा प्रणालीले महिला आन्दोलनमा कुनै योगदान गर्दैन बरु आन्दोलन नै कमजोर बन्छ भन्ने प्रमाण वर्तमान समय नै हो । आरक्षण प्रणाली विशुद्ध पुँजीवादी नारा हो भन्नेमा अब दुविधा छैन । महिला पदमा पुग्नु र महिला प्रतिनिधित्व बढ्नुलाई बुर्जुवा महिलाहरू क्रान्ति मान्छन् । राष्ट्रपति महिला भएकै बेला महिला हिंसाले पराकाष्ठा नाघेको छ । हाल सङ्घ, प्रदेश र स्थानीय गरी १०४६ जना (स्थानीय तहका महिला सदस्यबाहेक) जनप्रतिनिधि छन् । यद्यपि महिला हिंसा रोक्ने, हटाउने, महिलामाथिको श्रम शोषण, सामाजिक शोषण हटाउने कानुन बन्न सकेका छैनन्, भएका कानुनको कार्यान्वयन हुन सकेको छैन ।
विश्वकै राजनीतिमा महिला सहभागिताको सवालमा विश्वव्यापी औसत २३.८ प्रतिशत, एसियाली देशको औसत १९.८ प्रतिशत भएको अवस्थामा नेपालको ३३ प्रतिशत छ । विश्वका १९३ देशमा नेपाल ३७ औँ स्थानमा पर्छ । त्यसकारण महिला सहभागिताभन्दा पनि कस्ता महिला भन्ने सवाल महत्वपूर्ण हुन्छ । कामदार वर्गका सक्षम महिलाहरूको सहभागिताले मात्रै सकारात्मक परिवर्तन सम्भव छ । तबमात्रै कामदार वर्गीय आन्दोलन अगाडि बढ्नेछ ।
महिलाहरूलाई शिक्षित बनाउनु, सङ्गठित गर्नु र वर्गीय चेतना दिनु आजको आवश्यकता हो । हरेक क्षेत्रमा महिलालाई अगाडि बढाउने र स्वदेशमै योग्यताअनुसारको काम र कामअनुसारको ज्याला, सुरक्षित मातृत्वको व्यवस्था तत्कालीन आवश्यकता हो । महिला शोषण अन्त्यका लागि पुँजीवादी अर्थराजनीतिको अन्त्य गर्नु आवश्यक छ । पुँजीवादको मृत्युशैय्यामा मात्रै कामदार महिलाले मुक्तिको श्वास फेर्न पाउनेछन् । महिला मुक्तिले मात्रै पुरुष र महिलाबीच समानताको उद्घोष गर्छ । फेडरिक एँगेल्सले भन्नुभएको थियो, “महिला र पुरुषबीचको साँचो समानता तब सम्भव छ, जब पुँजीले गर्ने शोषणको अन्त्य हुन्छ ।
घरको व्यक्तिगत काम सामाजिक उद्योगमा परिणत हुने समाजमा मात्र यी दुईको समानता सम्भव छ ।” यसर्थ समाजवादी व्यवस्थामा मात्र महिला र पुरुषबीचको समानता सम्भव हुनेछ । जहाँ सम्पूर्णतः उत्पादन संयन्त्र नै सामूहिकीकरण गरिन्छ । जहाँ निःशुल्क स्वास्थ्य र शिक्षाको बन्दोबस्त हुनेछ, जहाँ शिशुदेखि ज्येष्ठ नागरिकसम्मको दायित्व राज्यले लिनेछ, त्यो समाजमा आधा आकाश ढाकेका महिलाले मुक्तिको श्वास फेर्नेछन् ।
यसरी मार्च ८ लाई वर्गसङ्घर्षको एउटा महत्वपूर्ण श्रृङ्खलाको रूपमा मनाउन आवश्यक छ । ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा साम्राज्यवाद–पुँजीवादविरुद्ध समाजवादको निम्ति सङ्घर्ष गर्ने ऊर्जा प्राप्त गरौँ ।