चाओ पो चाङ
(चीनको आधुनिक इतिहासबारे जानकारी राख्न चीनको अफिम युद्ध, चीनको ताइपिङ किसान क्रान्ति, दोस्रो अफिम युद्ध, चीनको सुधार आन्दोलन, चीनको सच्चाइ र मेलमिलापको आन्दोलन (बक्सर विद्रोह), चीनको १९११ को क्रान्ति, ४ मई १९१९ को आन्दोलन, चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना, कोमिनताङ पार्टी र कम्युनिस्ट पार्टीको संयुक्त मोर्चा र सन यात–सेनको मृत्युपछि संयुक्त मोर्चाको विघटन र कोमिनताङको दक्षिणपन्थी पक्षले क्रान्तिलाई विश्वासघात गरेको विषय अध्ययन गर्नु आवश्यक छ ।
साम्राज्यवादीहरू र चिनियाँ प्रतिक्रियावादीहरूको गठबन्धनको विरोधमा चीनलाई एक स्वतन्त्र देशको रूपमा उभ्याउन चिनियाँ कम्युनिस्ट पार्टी र मजदुर, किसान, राष्ट्रिय पँुजीपतिवर्ग र अन्य सबै देशभक्तहरूलाई एकगठ गरेर कसरी काम गर्दै गए, के कस्ता विद्रोहहरू भए र योगदान दिए भन्नेबारे जानकारी दिन २०३८ सालको पुस महिनामा काठमाडौँको युवा अध्ययन गोष्ठीले ‘चीनका प्रसिद्ध विद्रोहहरू’ सम्पादन र प्रकाशन गरेको थियो । सो पुस्तिकामा ‘शरद्को बाली काट्ने विद्रोह’, ‘१ अगस्टको नानचाङ विद्रोह’, ‘नानचाङ विद्रोह र त्यसको ऐतिहासिक महत्व’, ‘क्यान्टन विद्रोह’, ‘शाङ्घाइका मजदुरहरूको तेस्रो सशस्त्र विद्रोह’ र ‘क्वाङचाओ विद्रोह’ छापिएको थियो । ती लेखहरू ‘पेकिङ रिभ्यू’ र ‘चाइना रिकन्स्ट्रक्सन’ बाट उल्था गरिएका थिए । यसबारे जानकारीको निम्ति ‘चीनका प्रसिद्ध युद्ध र विद्रोहरू’ पुस्तकबाट फेरि साभार गरिएको छ । –सं)
आधा शताब्दीअघि क्यान्टन सहरलाई विद्रोहीहरूले तीन दिनसम्म कब्जा गरे । क्वाङचाओ सहरको पूर्वी फेरामा ‘रातो फूलको थुम्को’ भन्ने एक ठाउँ छ । त्यहाँ विद्रोहीहरूलाई कोमिनताङहरूले मारेका थिए ।
मुक्तिपछि त्यस थुम्कोमा ती नै सहिदहरूको स्मृतिमा एउटा बगैँचा बनाइयो । त्यहाँ बिरुवा लगाउँदा, दबु बनाउँदा र सफा गर्दा विद्रोहीहरूको थुप्रै हाडखोरहरू भेटिएको थियो । नेल वा साङलाभित्र परेका ती हाडहरू चिनियाँ क्रान्तिको वीरतापूर्ण इतिहासका पानाहरूका दसी हुन् ।
सन् १९२४–२७ को उत्तरी अभियानमा चिनियाँ कम्युनिस्ट पार्टी र कोमिनताङसँगै मिलेर क्रान्तिकारी गृहयुद्धमा सामन्ती युद्ध सरकार र साम्राज्यवादीहरूको विरोधमा सङ्घर्ष गरेका थिए । चेन तु स्युले अगुवाइ गरेको चिनियाँ कम्युनिस्ट पार्टीभित्रको अवसरवादी तत्वले खासगरी सशस्त्र डफ्फालाई चिनियाँ क्रान्तिको नेतृत्व गर्नबाट पछि हटाइदियो । त्यसबेला कोमिनताङको दक्षिणपन्थको प्रतिनिधित्व गर्ने च्याङ काइ–सेक र वाङ चिङ वईले १९२७ को अप्रिल र जुलाईको क्रान्तिलाई विश्वासघात गरे । तिनीहरूले कम्युनिस्टहरूमाथि सशस्त्र हमला सुरु गरे । यसमा कम्युनिस्ट पार्टीले तत्काल प्रभावशालीरूपमा प्रतिरक्षात्मक सङ्घर्षलाई चलाउन सकेन । हजाराँै हजार किसान र त्यहाँका कम्युनिस्ट नेताहरूको हत्या गरियो । अनि ७ अगस्ट, १९२७ को याङ्सी नदीको बिचमा हान्कोमा बसेको कम्युनिस्ट पार्टी केन्द्रीय समितिको जरुरी बैठकले चेन तु स्युको दक्षिणपन्थी अवसरवादी नीतिलाई अस्वीकार ग¥यो र हुनान, क्वाङतुङ, क्वाङसी र हुपेई आदि ४ प्रान्तमा सैनिक विद्रोह गर्ने निर्णय ग¥यो । क्वाङतुङमा उत्तरी अभियानमा लागेका जनताले ‘तरबारको बदला तरबार र बन्दुकको बदला बन्दुक’ भन्ने माओको महत्वपूर्ण उक्तिलाई मनन गरे । अनि, उनीहरूले हातहतियार उठाएर विद्रोह सुरु गरे । तब मजदुर किसान सेनाहरूले हाइपेड–तुफेङ र हेनान टापुमा सरकार स्थापना गरे । कोमिनताङ प्रतिक्रियावादी शासन व्यवस्थालाई सशस्त्र विद्रोहद्वारा फाल्न जताततै आवाज उठिरहेको थियो ।
क्वाङतुङ प्रान्तमा कोमिनताङ प्रतिक्रियावादीहरूबिच आफू आफूमा झगडा भइरहेको थियो । युद्ध सरदार चाङ फा कुइले आफ्ना सेनाहरूको केही एकाइहरूमात्रै नगरमा राखी अरू धेरैलाई बाहिर पठायो । फौजी विद्रोह सुरु गर्न यो अवस्था उपयुक्त समय थियो ।
नोभेम्बर महिनामा च्याङ ताइली क्वाङतुङ प्रान्तको भूमिगत पार्टी समितिको सचिव पदमा काम गर्न क्वाङचाओमा आउनुभयो । उहाँ कम्युनिस्ट पार्टीको एकजना सदस्य र अस्थायी केन्द्रीय समिति राजनैतिक ब्युरोको सदस्य हुनुहुन्थ्यो । येह चिङ, सुचाओ चिङ, चु वेन योङ, नेही चुङ चेन (येह चिङ चिङ अहिले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको उपाध्यक्ष हुनुहुन्छ । नेही चुङ चेन पार्टी केन्द्रीय समिति राजनैतिक विभागका सदस्य र राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष हुनुहुन्छ । सुचाओ चिङले मृत्यु अगाडि पार्टी केन्द्रीय समिति राजनैतिक विभागको सदस्यको रूपमा सेवा गर्नुभयो । उहाँ १९२९ मा बित्नुभयो । येह तिङले जापानविरोधी लडाइँताका नयाँ चौथो सेनाको कमान्डरको रूपमा सेवा गर्नुभयो र १९४६ मा हवाईजहाज दुर्घटनामा बित्नुभयो ।) उहाँले सङ्घर्षरत समितिको निर्माण गर्नुभयो । सहरका चारैतिरका किसानहरू हातहतियारले सुसज्जित भए । प्रान्तका अरू पार्टी सङ्गठनहरूमा किसान विद्रोहलाई उठाई नगरलाई समर्थन गर्न निर्देशन दिइएको थियो ।
क्वङचाओ क्रान्तिकारी उभारले कोमिनताङ प्रतिक्रियावादी र साम्राज्यवादीहरूलाई तर्साइदियो । युद्ध सर्दार चाङ फा कुइले सैनिक कानुन घोषणा गरेर आन्दोलन दबाउन आफ्नो फौज फिर्ता बोलायो । सङ्घर्ष समितिले डिसेम्बरको ११ देखि १३ तारिखसम्ममा विद्रोह गर्ने निर्णय ग¥यो ।
येह चिङ यिङको नेतृत्वमा रहेको राष्ट्रिय क्रान्तिकारी डफ्फाको १३ सय सैनिकहरू नै विद्रोहको मुख्य शक्ति थियो । ती जवानहरू उहानका केन्द्रीय सैनिक तथा राजनैतिक विद्यालयबाट आएका थिए । युद्ध सरदार चाङ फा कुईले उनीहरूलाई आफ्नै सहायक शक्तिको रूपमा उपयोग गर्ने आशा गरेका थिए । तर, तीमध्ये दुई सत्न्दा बढी जवान कम्युनिस्ट पार्टीका सदस्य थिए । केही प्रतिक्रियावादी तत्वहरूले बाहेक अरूले क्रान्तिको पक्ष लिए ।
चाङ फा कुईले आफ्ना मान्छेलाई धेरै अफिसर पदहरूमा नियुक्ति गरे । कमान्डर येह चिङ यिङले निरन्तर आफ्नो सही विचार सम्झाउँदै गर्नुभयो । कोमिनताङ प्रतिक्रियावादीहरूले साम्राज्यवादीहरू छेउ घुँडा टेकेको र क्रान्तिलाई विश्वासघात गरी मजदुरलाई मारेको कुरा सम्झाउनुहुन्थ्यो । उहाँले कोमिनताङ पार्टीका क्रान्तिकारी संस्थापक डा. सन यात सेनले अघि बढाउनुभएको सोभियत सङ्घ र कम्युनिस्टहरूसँगको एकता र किसानहरूलाई सहयोग गर्ने नीतिबाट तिनीहरू अलग भएको कुरा सम्झाउनुहुन्थ्यो । उहाँले भन्नुभयो, “चिनियाँ मजदुर र किसानहरू बाँधिएका छन् । त्यसैले क्रान्तिको उद्देश्य नै बाँधिएको साङलो चुँडाल्नु हो ।” उहाँले ती जवानहरूलाई राम्रो तालिमे हुन र लडाइँको निम्ति तयार रहन आह्वान गर्नुहुन्थ्यो ।
११ डिसेम्बर १९२७ को एकाबिहानै ३ः३० बजे रेजिमेन्टका जवानहरूले क्वाङचाओ विद्रोहको पहिलो गोली चलाएर प्रतिक्रियावादीहरूलाई ज्यान सजाय दिए । तब युद्ध सरदारहरूको छाउनीमा तीन ठाउँबाट प्रहार सुरु भयो । दोस्रो बटालियनले पैदल फौजमाथि हमला गरेर तिनीहरूलाई निःशस्त्र पारे । १५० जवान भएको एक दलले शत्रु पक्षको तोपसहितको दल र पैदल फौजको बटालियनमाथि अचानक हमला ग¥यो । तिनीहरूलाई तुरुन्तै हराइदियो । पहिलो बटालियन मजदुरहरूद्वारा समर्थन गरिएका लालरक्षकहरूले सरकारी रक्षा विभाग कब्जा गरे । विभागका हाकिम भेष बदलेर भाग्यो ।
प्रतिक्रियावादी हाकिमलाई सजाय गरिसकेपछि नगरका रक्षक दलहरू पनि त्यस विद्रोहमा सामेल भए । हतियार भएका मजदुर र किसानहरूको टोलीहरू पनि छिटो–छिटो योजनाअनुसार अघि बढे । झिसमिसे बिहानसम्ममा विद्रोही शक्तिले कोमिनताङ पार्टी र सरकारका सबै सङ्गठनहरूलाई कब्जा गरे । धेरै घरहरूमा राता झन्डाहरू फहरिए । ‘अन्तर्राष्ट्रिय’ र ‘जवान अगुवा’ भन्ने गीतहरूले खुसीको वातावरण गुञ्जायमान भयो । विद्रोहको पहिलो गोली चलेको ३ घण्टापछि बिहान ६ बजे कार्यवाहक अध्यक्ष चाङ ताई लीले क्वाङचाओ मजदुर–किसान सेनाको प्रजातान्त्रिक सरकार स्थापना भएको घोषणा गर्नुभयो । यसले कोमिनताङ प्रतिक्रियावादीहरूले दबाउने, भूमिपतिहरू, निरङ्कुश भलाद्मीहरूलाई दबाउने, चीनमा साम्राज्यवादको कब्जालाई ध्वस्त पार्ने र सबै असमान सन्धिहरू खत्तम पार्न र सबै शक्तिहरूलाई सोभियतमा केन्द्रित गर्ने कार्यक्रम भएको घोषणापत्रको खेस्रा प्रकाशमा ल्यायो । यसले मजदुरहरूलाई ८ घण्टाको काम दिने, किसानहरूलाई जग्गा दिने अनि किसान र मजदुरको भलाइ गर्ने सर्तहरू भएका नियमहरू बनाए ।
त्यसैबिच ‘मोती नदी’ को दक्षिणी किनारका केही युद्ध सरदारका सेनाहरू बैङ्क भवन अझै कब्जा गर्न कोसिस गरिराखेका थिए । तर, जब तोपे जवानहरूको दलले भवन घेरे तब युद्ध सरदारका ती सेनाहरूले आफ्ना बन्दुकहरूलाई झ्यालबाट फाले र सेतो झन्डा फहराएर आत्मसमर्पण गरे ।
विद्रोहको भोलिपल्ट चाङ ताई लीले दसौँ हजार मजदुर, किसान, सिपाहीँ, विद्यार्थी र अरू सबैलाई एक सभामा सम्बोधन गर्नुभयो ।
सभाबाट उहाँ मोटरमा बसेर प्रजातान्त्रिक सरकारको भवनतिर फर्किरहनुभएको बेला उहाँको कारमा शत्रुले लुकेर उहाँलाई हमला ग¥यो । उहाँलाई गोली लाग्यो र घाइते भएर ढल्नुभयो । त्यसबेला उहाँ भर्खर २९ वर्षको मात्र हुनुहुन्थ्यो । त्यही दिन युद्ध सर्दारको पुनर्गठित सेना गोलाबारी गर्दै नगरको उत्तरी क्वान यीन डाँडातिर बढ्यो । मध्यान्हमा शत्रुको दलले डाँडामा हमला ग¥यो । येह चिन–यिङले शत्रुलाई भगाउन लडाइँको निर्देशन दिनुभयो । चेन केङका मातहतका तालिमे जवानहरूको एक फौजी दल र ल्यू सियाङ चेन (चेन केङ चिनियाँ जनमुक्ति सेनाको प्रमुख सेनापतिमा बढुवा हुनुभयो र राष्ट्रिय प्रतिरक्षाको उपमन्त्रीको रूपमा बित्नुअघिसम्म सेवा गर्नुभयो । उहाँ १९६१ मा बित्नुभयो । स्यु सियाङ–चेन पार्टी केन्द्रीय समितिको राजनैतिक विभागको सदस्य र राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिका अध्यक्ष पनि हुनुहुन्छ ।) मातहतका मजदुरहरूको लालरक्षकको एक दलले केही घण्टामै घटीमा दर्जनौँ शत्रुहरूको हमलालाई विफल बनाइदियो । जब एउटा तोपको अडेसालाई शत्रुको गोलीले बेकार बनाइदियो तब एकजना युवक सिपाहीँले आफ्नो काँधमा तोपको नलीलाई उठायो र करायो ‘हान ¤’ गोला शत्रुको माझमा गएर पड्क्यो, ढुङ्गाहरू भिडबाटै गुडाइए । शत्रुहरू भागे । जवान सिपाहीँ अचेत भए । उसको कान र नाकबाट रगत बगिरहेको थियो ।
तर, शत्रु सिपाहीँहरू सङ्ख्यामा बढी थियो । विद्रोही शक्तिमा घाइतेहरू थुप्रै थिए । गम्भीररूपले घाइते भइसक्दा पनि धेरैले अन्तिम साससम्म लडे । यूसीईको मातहतमा रहेको तालिमे दलको एक मात्र महिला दलका सिपाहीँहरू खानै नखाई ३ दिन र ३ रातसम्म बाटोलाई रक्षा गर्दै थिए । तिनीहरूको गोली सकिएको थियो । तिनीहरू थाकेका थिए । तिनीहरूको सङ्गीन बाँगिएको थियो र केही घाइतेहरू मात्रै बाँचेका थिए । सदरमुकामसँग तिनीहरूको सम्पर्क छुटेको थियो । तिनीहरूको रातो झन्डालाई देखाएर यूसीईले भनिन्, “एकजना मात्र बाचुञ्जेल पनि यसलाई फहराई राख ।” अन्त्यमा बाँचेकाहरूमा हेडक्वार्टर सम्पर्क राख्न पठाएको पत्रबाहकबाहेक अरू लडेर मरे ।
क्वाङचाओमा अध्ययन गरिरहेका र काम गरिरहेका विदेशी क्रान्तिकारी कामरेडहरूले विद्रोहमा भाग लिए । साँचो सर्वहारा अन्तर्राष्ट्रवादी भावना देखाउँदै धेरै कोरियाली जनताले ‘शाही’ जिल्ला रक्षा गर्दै मरे ।
चारैतिरबाट प्रतिक्रियावादी सेनाहरू जवाफी हमला गर्न जम्मा भए । बन्दरगाहमा साम्राज्यवादीहरूको लडाकु जहाजहरू सहायताको लागि पुगे । तिनीहरू ठुलो सङ्ख्यामा सहरतिर ओइरिए । अनि तीन दिनपछि विद्रोही शक्तिले पछि हट्नुप¥यो ।
‘एकजना मात्र पनि सच्चा कम्युनिस्ट बाँकी राख्नुभन्दा तीन हजार व्यक्ति गल्तीले मार्नु नै अति राम्रो हुन्छ’ भन्दै कोमिनताङ प्रतिक्रियावादीहरूले क्रूर हत्याकाण्ड सुरु गरे । गोली हानेर, जिउँदै गाडेर, मट्टीतेलमा डुबाएर वा कपडाले बाँधेर तिनीहरूले केही समयभित्रै ५७०० क्रान्तिकारीहरू मारे ।
मजदुरहरूको लालरक्षकहरूलाई नेतृत्व गरिरहेका चाओ वेन योङ सहरबाट पछि हट्ने सबभन्दा पछिल्ला थिए । केही समयपछि मजदुर आन्दोलनलाई पुनः चालु गर्न गुप्तरूपले फर्कनुभयो । उहाँले चुङशान विश्वविद्यालयका एक छात्रा र क्वाङतुङ महिला मुक्ति सङ्घका उपाध्यक्ष चेन चेह चुनलाई खोज्नुभयो र भेट गर्नुभयो । तब उहाँहरूले कम्युनिस्ट पार्टीको लागि आफ्नो घरमा भेट गर्ने र लोग्ने स्वास्नीको रूपमा सँगसँगै भएर काम गर्ने निर्णय गर्नुभयो । उहाँहरूले त्यो ठाउँमा पार्टीको केन्द्रीय सङ्गठन पुनः चालु राख्नुभयो । उहाँहरूले पार्टी युवा दलका सदस्यहरू र सक्रिय कार्यकर्ताहरूसँग सम्बन्ध राख्नुभयो । उहाँहरूले नयाँ चन्द्र वर्षको बेलामा जनतालाई ‘कम्युनिस्ट पार्टी सङ्घर्षमा उत्रिरहेको छ’ भन्ने सन्देश दिँदै कार्यकर्ताहरूलाई त्यस्तै गर्न पर्चाद्वारा आह्वान गर्न पर्चा बाँड्ने योजना बनाउनुभयो ।
एकदिन एकजना शिक्षकले आफ्नै एकजना विद्यार्थी साथी विश्वासघाती बनेर साथीहरूलाई धोखा दिएको थाहा भयो । त्यो शिक्षक भेटघाट गर्ने ठाउँतिर दौड्यो । उसले चेन चेह चुनलाई एक्लै रहन र छिट्टै ठाउँ छोड्न आग्रह ग¥यो । तर, चाओ वेन – योङ पहिले घरमा थिइनन् र कोही मानिसहरू त्यो साँझ उहाँहरूसँग सम्बन्ध राख्न आइरहेका थिए । चेनले शिक्षकलाई पहिले चिन्न र चाओलाई होसियार हुन भने । उनी भेट्न आउने साथीहरूलाई होस गर्न बन्दोबस्त मिलाइरहेकै बखत गुप्तचरहरू आइहाले । तिनीहरूले खोजतलास गरे । तिनीहरूसँग सोधपुछ गरिहाले । चेन चेह चुनले आफूलाई बाहिरबाट शान्त राखिन् । तर, उनी भित्रभित्र चाओ र केही अरू साथीहरू कुनै पनि बखत आउन सक्छ भनी डराइरहेकी थिइन् । त्यसैबेला चाओ वेन योङ आइ हाले ।
चाओ वेन योङ र चेन चेह चुन पक्रिए । प्रतिक्रियावादीहरू मख्ख परे । तिनीहरूले अब उपरान्त भूमिगत कम्युनिस्ट पार्टीबारे थुप्रै सूचनाहरू पाउन सक्नेछन् भनेर सोचे । गुप्तचर अधिकारी आफैँ सोधपुछ गर्न अघि स¥यो । तर, त्यस अधिकारीले जतिसुकै क्रूर यातना दिए पनि क्रान्तिलाई धोखा दिने एक शब्द पनि पाउन सकेन । तब अधिकारीले चेन चेह चुनलाई हरेक दिन झिलिमिली कोठामा सारे र मीठो मीठो खाना खान दिए । गुप्तचरहरूले पनि तिनीलाई कायलनामामा सही गराउन बारम्बार ल्याउँथे । तन्नेरी महिलाले तिनीहरूको अगाडि उनीहरूको निन्दा गर्थे र भोक हडताल गरिन् । शत्रुले चाओ वेन योङलाई मार्ने धम्की दिँदा जवाफ दिए । ‘तिमीहरूले कम्युनिस्टहरूलाई मृत्युदेखि तर्साउन सक्दैनौ । म अवश्य पनि धेरै धेरै बाँच्न चाहन्छु । त्यो पनि तिमीहरूसँग लड्नको लागि हो ।’ उनलाई तब झन् धेरै यातना दिइयो ।
मध्यरातमा जब चिसो हावा उहाँको कोठाभित्र बह्यो चाओ पूर्ण होसमा आउनुभयो । उहाँले आफ्नो खुट्टा चलाउन चाहनुभयो । यसो छाम्दा कायलनामामा सही गराउन राखेको मसी र कलम भेटाउनुभयो । मधुरो प्रकाशमा हातले कलमको लागि बाँसको छेस्का बनाएर उहाँले भित्तामा कविता लेख्नुभयो ।
“तिमीले मेरो टाउको काट्न सक्छौ अथवा खुट्टा काट्न सक्छौ तर तिमीहरूले मेरो क्रान्तिकारी जोश दबाउन सक्दैनौ । पार्टी र जनताको लागि बहादुरी र शुभेच्छाले नै आफ्नो जीवन अर्पण गर्नसक्छु ।”
१९२८ मार्च महिनाको एकदिन चाओ वेन योङ र चेन चेह चुनलाई एउटा ट्रकमा हाली हत्या गर्ने ठाउँमा लगिए । बाटोमा दुवैले ठुलो स्वरमा ‘अन्तर्राष्ट्रिय’ गीत गाउँदा र जोडदार नारा दिँदा बाटोमा नागरिकहरू ढिलो हिँड्दै गरेको ट्रकको पछि लाम लाग्दै आउन थाले ।
रातो फूलको पहाडमा अग्लो भुवादार कपासका रुखहरूमा कोपिलाहरू ढक्कमक्क फैलिएको थियो । चाओ वेन योङ र चेन चेह चुनबिचमा उभिएर ताजा हावामा सास फेर्न लागे । चेनले आफ्नो खास्टो फुकाली चाओको चोटिला घाउहरू छोपिदिइन् । उहाँले चाओमाथि मायालु आँखा दौडाए र चारैतिर बसेका जनसमूहतिर हेरेर भनिन्, “प्यारा देशवासीहरू । चाँडै नै यहाँ हाम्रो रगतको खोलो बग्नेछ । हामीलाई अफशोच छैन, हामी क्रान्तिको लागि, जनताको मुक्तिको लागि र साम्यवाद महान् उद्देश्यको लागि गर्दै छौँ ।”
“देशवासीहरू । पार्टीको निर्देशनमा क्रान्तिको आवश्यकताको निम्ति म र कामरेड चाओ वेन योङ एउटै घरमा बस्थ्यौँ । सँगसँगै राम्ररी काम पनि गथ्र्यौँ । एक आपसमा सम्बन्ध राख्थ्यौँ । तर, क्रान्तिकारी कामहरू आइरहँदा हामीले एक आपसमा हाम्रो प्रेमलाई व्यक्त गर्ने समय पाएनौँ । हामीले सच्चा कामरेडली सम्बन्धको पालना गर्याैँ† कहिल्यै विवाह गरेनौँ । अहिले हाम्रो कम्युनिस्ट पार्टीको लागि आफ्नो जीवन त्याग्दै छौँ । बन्दुकको पड्काइले हाम्रो विवाहको अभिवादन गर्न देऔँ ।”
तब दुवै जना चिच्याए, “प्यारा देशवासीहरू । बिदा । लडाइँ चालू राख ¤ साम्यवादको विजय हुनेछ । भविष्य हाम्रो हो ।”
क्वाङचाओबाट हटेपछि केही विद्रोहीहरूको एकाइहरू पूर्वतिर हाइफेड–लुफेडतिर लाग्यो र पेन पाईद्वारा नेतृत्व गरिएको किसानहरूको लालसेनासँग मिल्यो । केही कम्युनिस्ट र मजदुरहरू क्वाङसीतिर लागे । तिनीहरूले किसानहरूको गुरिल्ला युद्धको अगुवाइ गरे । त्यसको केही भाग तेङ श्याओ पिङ र चा युङयोद्वारा नेतृत्व गरिएको १९२९–३० को सोच्याङ– पुञ्च्याङ विद्रोहमा भाग लिए । बाँकी अरू शत्रुको घेरा तोडी नानचाङ विद्रोहपछि दक्षिणतिर आएको चु तेह र चेन पीको नेतृत्वमा रहेको फौजसँग साओ कुवानमा सामेल भए । यी एकाइ लड्दै लड्दै चिकाङ पहाड पुग्यो । अनि माओ त्सेतुङ र उहाँको फौजसँग मिल्यो । माओ त्सेतुङको नेतृत्वमा तिनीहरू गाउँबाट सहरलाई घेर्ने र सैन्य शक्तिद्वारा राज्यसत्ता कब्जा गर्ने नीतिमा लागे ।
चाइना रिकन्स्ट्रक्स
मार्च १९७८
समाप्त
स्रोत : चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू