१२ मंसिर, कञ्चन/जगीलाल थापा
रुपन्देहीको गैडहवा गाउँपालिकामा सञ्चालित चौथो गाउँपालिका अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता आज सम्पन्न भएको छ। प्रतियोगिता सम्पन्न भएसंगै चैथो गैडहवा गाउँपालिका अध्यक्ष कपको उपाधी बुटवलको न्यू होराइजन स्पोर्टस क्लवले हात पारेको छ ।
उपाधी हात पारेसंगै न्यू होराइजनले १ लाख ११ हजार १ सय ११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता बनेको मणिकुण्ड भलिवल क्लव निलोले नगद ७१ हजार १ सय ११ रुपैया सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ।
यसैगरी प्रतियोगितामा तेश्रो भएको स्याङ्गजा भलिवल क्लवले नगद ३१ हजार १ सय १ज्ञ रुपैया सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्न सफल भएको छ भने सान्त्वना भएको मणिमुकुण्ड भलिवल क्लव रातोले २१ हजार १ सय ११ रुपैया प्राप्त गरेको छ।
यस्तै प्रतियोगिता अवधिभर विभिन्न ६ विधाहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई समेत आयोजकले नगद पुरस्कार सहित सम्मान गरेको छ। श्री शान्ति युवा क्लव, गैडहवा ४ गैडाताल रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट सर्भरको रुपमा मणिमुकुण्ड भलिवल क्लवका सुरज मुसहरलाई सम्मान गरिएको छ। यसैगरी उत्कृष्ट ब्लकरको रुपमा न्यू होराइजन स्पोर्टस क्लवका दिपसुनार, उत्कृष्ट डिफेण्डरमा न्यू होराइजनका आयूष थापा, उत्कृष्ट सेटरका रुपमा न्यू होराइजनकै जगदीस वझा र उत्कृष्ट स्पाइकरमा पनि न्यू होराइजनकै सागर रसौलीलाई जनही १ हजार ५ सय रुपैया सहित सम्मा सम्मान गरिएको छ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीको रुपमा न्यू होराइजनका प्रदीप कुमार चौधरीलाई नगद २ हजार ५ सय रुपैया सहित सम्मान गरिएको खेल संयोजक शेर बहादुर कामु मगरले जानकारी दिनु भएको छ।
प्रतियोगिताको समापन गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले भलिवल प्रतियोगिता र खेलाडीहरु मार्फत रुपन्देहीको सबैभन्दा ठूलो ताल गैडहातालको पर्यटन प्रबर्द्धन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। पालिकाले खेलकुदलाई पर्यटन प्रबर्द्धन र पहिचानको मुख्य सूचकको रुपमा लिदै हरेक बर्ष गैडहवातालको पर्यटन प्रबर्धनका लागि योजना सञ्चालन तथा कार्यान्वय गर्ने उद्धेश्यका साथ भलिवल प्रतियेगिता सञ्चालन गरिएको र उक्त प्रतियोगिता सञ्चालनका लागि पालिकाको योजना पुस्तिकामै बजेटको व्यबस्था गर्दै आइरहेको अध्यक्ष पौडेलले बताउनु भयो।

अध्यक्ष पौडेलले गैडातालको अवलोकन भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले तालको दृश्य मात्र नभई डुङ्गा सयर गरेर भरपुर मनोरञ्जन लिनुको साथै गैडहवामा सञ्चालन गरिएको सामुदायिक होम स्टेमा सुरक्षित र अर्गानिक खानेकुराको समेत सेवा लिएर यहाँको प्रचार प्रसार गरिदिन आग्रह गर्नुभयो।
कार्यक्रममा गैडहवा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र कुर्मीले लुम्बिनीको भ्रमणमा आउने हरेक पर्यटकहरुलाई गैडहवा तालको अवलोकन भ्रमणमा ल्याउने वातावरण बनाउन सके यहाँको सामुदायिक होम स्टे र स्थानीयहरुको रोजगारीमा समेत अवसर खुल्ने बताउनु भयो।

कार्यक्रममा वडा नं. ४ का वडा सदस्य तुल बहादुर बि.क.ले स्वागत गर्दै आफुसंग महंगो गहना भएको तर कहाँ कतिवेला कसरी प्रयोग गर्ने भन्नेबारेको ज्ञान, सोंच, योजना र समन्वय हुन नसक्दा रुपन्देहीको एकमात्र मानव निर्मित सबैभन्दा ठूलो ताल गैडातालको पर्यटन प्रबर्द्धन हुन नसकिरहेको अवस्थामा भलिवल प्रतियोगिताले केही सार्थकता दिने विश्वास व्यक्त गर्नुभयो। प्रतियोगितामा पाल्पा, कपिलबस्तु, नवपरासी, रुपन्देही, स्याङ्गजाका गरी ११ भलिवल टिमहरुले सहभागिता जनाएका थिए ।
श्री शान्ति युवा क्लवका अध्यक्ष टंक बहादुर बस्नेतको अध्यक्षता, सूर्यप्रसाद अधिकारीको सञ्चालनमा भएको समापन कार्यक्रममा खेलाडी, रेफ्री तथा अतिथिहरुलाई सम्मान तथा सामुदायिक होम स्टेमा निर्माण गरिएका गाउँघरे खानेकुराहरुबाट स्वागत तथा सम्मान गरिएको थियो। गैडहवामा १३ वटा सामुदायिक होम स्टे सञ्चालनमा रहेका छन भने गैडाताल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुले डुङ्गा सयर गर्न पाउने छन। पछिल्लो पटक उक्त तालमा निर्माण भएको बेलीब्रिजमा टिकटक भिडियो बनाउनेहरुको भिड समेत बढिरहेको छ।