रामरतन चौधरी
सन्दर्भः भदौ २३ र २४ गतेको प्रदर्शन
प्रजातन्त्र र गणतन्त्रका शासकहरूले जनताको मनोभावनाअनुसार काम गरेनन् । सत्तामा पुगेका शासक दलका नेताहरूमा शक्तिको दम्भ पलायो । सरकारका हरेक अङ्गमा भ्रष्टाचार व्यापक मौलायो । भ्रष्टाचारी र अपराधीहरू सत्ताको छत्रछायामा फुक्काफाल भए । जनता महँगीको मारमा पिल्सिँदै गए । नेपाली युवाले स्वदेशमै रोजगारी पाएनन् । वैदेशिक रोजगारीको नाममा नेपाली युवा विदेशीको दासजस्तै बन्न बाध्य भए । यो अवस्थाले जनताको असन्तोष भित्रभित्रै भुसको आगोजस्तै सल्किँदै गयो । जनताको त्यही असन्तुष्टि २०८२ भाद्र २३ र २४ गते आक्रोशको रूपमा विष्फोट भयो ।
सरकारहरूले समयमै सामाजिक सञ्जाललाई व्यवस्थित गरेनन् । सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा सरकारले अचानक प्रतिबन्ध लगायो । चर्को भ्रष्टाचारको चपेटामा परेका नेपाली जनता सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएपछि सडकमा ओर्लिए । नेपाली युवा भ्रष्टाचारको विरुद्ध सुशासनका माग राखेर सडकमा उत्रिएका हुन् । तर, प्रतिक्रियावादीहरूले नेपाली युवाहरूको प्रदर्शनमा घुसपैठ गराएर विध्वंस मच्चाए ।
सिंहदरबार, सर्वोच्च अदालत, संसद्, प्रहरी कार्यालयलगायतका सरकारी सम्पत्तिमा तोडफोड र आगजनी भयो । नेपाली जनताको खर्बौँको सम्पत्ति क्षणभरमा खरानी भयो । भ्रष्टाचारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरूमाथि ओली सरकारले गोली चलायो । २३ गते एकैदिन १९ जना युवाहरूले ज्यान गुमाए भने ४०० भन्दा बढी घाइते भए । हालसम्म ७५ जनाको मृत्यु भएको समाचार छ । नेपालको सेना, प्रहरी, न्यायालय, प्रशासन निकम्मा सावित भए ।
दुई दिनको प्रदर्शनले आफूलाई शक्तिशाली ठानेको ओली सरकार बालुवाको घरजस्तै गल्र्यामगुर्लुम्मै ढल्यो । ओली सरकारको ठाउँमा सुशीला कार्कीको नेतृत्वमा अर्को सरकार बन्यो । सरकारको नेतृत्व परिवर्तन भयो तर व्यवस्था परिवर्तन भएन । सम्पत्तिको सिमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने, ठूला भ्रष्टाचारी तथा जघन्य अपराधीलाई मृत्युदण्ड दिने, भ्रष्टाचार गरेर कमाएको सम्पत्ति राष्ट्रियकरण गर्ने कानुनी व्यवस्था यो सरकारले पनि गर्न सकेन । यसकारण यो सरकारले पनि भ्रष्टाचारको अन्त्य गर्न सक्दैन ।
के हो जेन जी (GEN Z) ?
अमेरिकीहरूले ‘जेन जेड’ (GEN Z) लाई ‘जेन जी’ भनेर उच्चारण गर्छन् । जेन जी
(GEN Z) मानिसको उमेर समूहलाई हिसाब गरेर बनाइएको एउटा पुस्ताको नाम हो । पुस्ताको नामकरणको आधिकारिक समूह छैन । अमेरिकी लेखक Neil Howe / William Strauss ले सन् १९९१ को आफ्नो पुस्तक Generations मा पुस्ताबारे उल्लेख गरिएको पाइन्छ । क्यालिफोर्नियाका ¥यापर एमसी लार्स (MC Larce) ले पनि सन् २००३ मा आफ्नो एउटा गीतको शीर्षकमा ‘मेरो पुस्ता’ ‘I Generation’ शब्द प्रयोग गरेका थिए । अमेरिकी मनोविज्ञानका प्राध्यापक तथा लेखक जीन द्वेन्गे (Jean Twenge) ले पनि सन् २००६ मा प्रकाशित आफ्नो पुस्तकको शीर्षक ‘जेनेरेसन मी’ (Generation Me) राखेकी थिइन् ।
अमेरिकामा अत्यन्त विश्वसनीय मानिने ‘मेरियम वेबस्टर’ (Merriam-Webster) अनलाइन शब्दकोशमा जेनेरेसन जेड (GEN Z) लाई ‘सन् १९९० को दशकको अन्त्य र २००० को दशकको सुरुआतमा जन्मेका मानिसहरूको पुस्ता’ भनिएको छ । अक्सफोर्ड (Oxford) शब्दकोषले “सन् १९९० को दशकको अन्त्य र २०१० को दशकको सुरुआतमा जन्मेका इन्टरनेटसँग धेरै परिचित मानिसहरूको समूह” भनेर परिभाषित गरेको छ । त्यस्तै इन्साइक्लो पिडिया ब्रिटानिका (Encylopedia Britanica) मा “सन् १९९० को दशकको अन्त्य र २००० को दशकको सुरुआतमा जन्मेका अमेरिकीहरूलाई वर्णन गर्न प्रयोग गरिने शब्द” भनेर परिभाषित गरिएको पाइन्छ ।
अमेरिकाको प्यु रिसर्च सेन्टर (Pew Research Centre) ले सन् २०१९ मा सर्वेक्षण गर्दा ‘जेनरेसन जेड’ (GEN Z) शब्द अत्यधिक लोकप्रिय रहेको पत्ता लगायो । त्यसबेलादेखि ‘जेन जी’ (GEN Z) शब्द प्रचलनमा आएको मानिन्छ । प्यु रिसर्च सेन्टरले सन् १९९७ लाई जेन जी (GEN Z) को सुरुआती वर्षको रूपमा परिभाषित ग¥यो । सन् १९९७ देखि २०१२ भित्र जन्मेका (अहिले १३ देखि २८ वर्ष) नयाँ पुस्तालाई जेनरेसन जेड (GEN Z) भनियो । यो पुस्ता सानो उमेरदेखि इन्टरनेट र पोर्टेबल डिजिटल प्रविधिहरूको पहुँचमा हुर्केका पुस्ता हुन् ।
यो पुस्ताका युवाहरू छिटो सिक्ने क्षमताका हुन्छन् । यिनीहरू एकै ठाउँमा लामो समय बस्न नसक्ने स्वभावका हुन्छन् । सन्देशमूलक छोटो भिडियोहरू यिनीहरूको रुचीमा पर्छ । एक अनुसन्धानले यो पुस्ताका ९५ प्रतिशत युवाहरूले स्मार्ट फोन रुचाउने र औसत दिनको ८ घण्टा सामाजिक सञ्जालमा रहने देखाएको छ ।
पश्चिमाहरूले गरेको पुस्ताको नामकरण
अमेरिकी तथा पश्चिमाहरूले सन् १८८३ देखि १९०० सम्म जन्मेकाहरूलाई (Lost Generation), सन् १९०१ देखि १९२७ सम्म जन्मिएकालाई (Greatest Generation), सन् १९२८ देखि १९४५ सम्म जन्मिएकालाई (Silent Generation), १९४६ देखि १९६४ सम्म जन्मिएकालाई (Baby Boomers), १९६५ देखि १९८० सम्म जन्मिएकालाई (Generation X), १९८१ देखि १९९६ सम्म जन्मिएकालाई (Millennials), १९९७ देखि २०१२ सम्म जन्मिएकालाई (Generation Z), २०१३ देखि २०२४ सम्म जन्मिएकालाई (Generation Alpha) र २०२५ देखि २०३९ सम्म जन्मिनेलाई (Generation Beta) भनि परिभाषित गरेका छन् ।
हरेक देशको आ–आफ्नो भूगोल, संस्कृति, रीतिरिवाज हुन्छन् । त्यसैअनुरूप नीति नियमहरू बन्छन् । अमेरिका र पश्चिमाहरूले व्याख्या गरेको प्रजातन्त्र आज विश्वका विभिन्न देशहरूले अस्वीकार गर्दै छन् । युवाहरूले पनि पश्चिमाहरूको सञ्चारमाध्यममा व्यक्त भएका भनाइलाई आधार मानेर अवधारणा बनाउन हुन्न ।
दोस्रो विश्वयुद्धपछि सोभियत रुसमा समाजवादी व्यवस्थाको अस्थायी हार भयो । तत्पश्चात् विश्वमा संरा अमेरिकाको एकधु्रवीय प्रभुत्व स्थापना भएको हो । आज चीन, रुस, प्रजग, कोरियालगायतका साम्राज्यवादविरोधी देशहरूले संरा अमेरिकाको एकधु्रवीय नीतिलाई चुनौती दिँदै छन् । साम्राज्यवादी अमेरिकाको प्रभुत्व धरमराउन थालेको छ । आफ्नो एकधु्रवीय प्रभुत्व धरमराउन थालेपछि संरा अमेरिका रङ्गीन क्रान्तिका नाममा विभिन्न देशको सरकार परिवर्तन गराउन छद्म युद्धमा लागेको यथार्थ नयाँ पुस्ताले बुझ्नुपर्छ ।
२०८२ असोज १२ गते