राजन
चुनावी अभियानमा ट्रम्पले ‘अनावश्यक युद्धमा अमेरिका नतान्ने’ वाचा तोड्दै ट्रम्पले इरानका तीन आणविक स्थलहरू (फोर्डो, नतन्ज र इस्फाहान) मा हवाई आक्रमण गरेको छ । अमेरिका इरान र इजरायल युद्धमा प्रत्यक्ष संलग्न भएको छ । यसले अमेरिकी विदेश नीति र नेतृत्वका विषयमा गम्भीर प्रश्नहरू उठाएको छ ः के यस्ता निर्णयमा लोकतान्त्रिक प्रक्रियाअन्तर्गत कङ्ग्रेसको स्वीकृति लिइएको हो ? अमेरिकी सविधानअनुसार अमेरिकी कङ्ग्रेसको स्वीकृतिपछि मात्र यस्तो आक्रमण गर्न सकिन्छ । यसबारेमा अमेरिकाभित्रै ट्रम्पको विरोध भएको छ ।
यो कदमले अन्तर्राष्ट्रिय क्षितिजमा ठुलो तनाव चलेको छ । अमेरिकी भूमिकाले शान्तिप्रेमी र स्थिर विश्वसामु पर्न सक्ने विश्वसनीयतामा चोट पु¥याएको छ । अमेरिकी हस्तक्षेप ट्रम्पका ती समर्थकहरूप्रति धोका भएको छ जसले महँगा र अन्तहीन युद्धबाट अमेरिका पछि हट्ने उनको वाचा सुनेर ट्रम्पलाई मत दिएका थिए । इरान–इजरायल युद्धमा संलग्न हुनुले उनको आफ्नै नीति र वाचासँगको विसङ्गति देखाएको छ । यसले उनका समर्थकमाझ भ्रम उत्पन्न गराउनुका साथै नेताको विश्वसनीयता तथा राजनीतिक नैतिकतामाथि प्रश्न उठेको छ । यस्तो कदमले राष्ट्रपतिमा आवश्यक स्थिरता र दीर्घदृष्टिकोणको कमी पनि झल्काउँछ ।
डोनाल्ड ट्रम्पले हालै दिएको अभिव्यक्ति, “मलाई थाहा छ खोमेनी कहाँ लुकेका छन्, उनी मर्नेछन्” जस्ता धम्कीलगायत, युद्धविरोधी बताउने व्यक्तिले नै इरान–इजरायल युद्धको वकालत गर्नु राष्ट्रपति पदमा बसेको व्यक्तिका लागि एकदमै अशोभनीय व्यवहार हो । शान्तिका पक्षमा नोबेल पुरस्कारको दाबी गर्ने व्यक्तिबाट युद्धको उत्तेजना फैलाउने अभिव्यक्ति न त नैतिक हो, न त राजनीतिकरूपमा विवेकपूर्ण । यसले उनको विश्वसनीयतालाई कमजोर गरेको छ र अमेरिकी नेतृत्वलाई पनि विश्वसामु विवादास्पद बनाएको छ । राष्ट्रपति पदका लागि यस्ता अस्थिर र आक्रामक भनाइ उपयुक्त ठानिँदैन ।
यो विषयलाई ट्रम्पका बारम्बार झूटा तथा विरोधाभाषी दाबीहरूसँग जोडेर हेर्न सकिन्छ । ट्रम्पले विगतमा अनेकौँपटक यस्ता भ्रामक र असङ्गत अभिव्यक्ति दिएका छन् जसले उनको शब्द र कर्मबिचको दूरी स्पष्ट देखाउँछ । यही शैलीमा उनले कैयौँपटक कोभिड १९, चीनसँगको व्यापार, रसिया–युक्रेन युद्ध वा स्वास्थ्य नीतिजस्ता विषयमा पनि आफ्नै भनाइको खण्डन गरेका छन् ।
यसले ट्रम्पको राजनीतिक अभिव्यक्तिमा विश्वसनीयताको अभाव र रणनीतिक अस्थिरता प्रकट गर्छ, जुन झूटा दाबी गर्ने प्रवृत्तिको निरन्तरता हो । यस्तो नेतृत्व विश्व राजनीति र शान्तिका दृष्टिले खतरनाक पनि हुनसक्छ । डोनाल्ड ट्रम्प आफ्नो कार्यकालभरि विवादास्पद अभिव्यक्ति, अतिरञ्जित भाषण र बारम्बार झूटा दाबीहरूका लागि चर्चित रहे । उनले बोलेका धेरै कुरा तथ्य र प्रमाणभन्दा पनि आत्मप्रशंसा, लोकप्रियता वा राजनीतिक फाइदाका निम्ति प्रयोग भएको देखिन्छ । यस्ता अभिव्यक्तिहरूलाई अमेरिकी सञ्चारमाध्यम, तथ्य जाँच निकाय र विश्लेषकहरूले व्यापकरूपमा खण्डन गरेका छन् ।
ट्रम्पको पहिलोपटक राष्ट्रपति पद सम्हालेदेखि नै उनले गरेको झूटको चर्चा व्यापक थियो । ट्रम्पले कोरोना महामारी सुरु हुँदा “हामीकहाँ पूर्ण नियन्त्रणमा छ, चिन्ता छैन, सबै ठीक हुन्छ” भनेका थिए । उनले जनतासामु भने यसलाई सामान्य ज्वरोसरह चित्रित गर्दै “एकदिन यो चमत्कारसरह गायब हुन्छ ।” यो दाबीपछि विश्वभर महामारी फैलिएर लाखौँको मृत्यु भयो, तर ट्रम्पले सुरुमा सायद राजनीतिक क्षतिबाट जोगिनकै लागि यथार्थलाई ढाक्न खोजे ।
अन्तर्राष्ट्रिय सम्बन्धमा पनि ट्रम्पले यथार्थभन्दा बढी आश्वासन दिए । ट्रम्पले बारम्बार २४ घण्टामा युक्रेन–रुस युद्धको अन्त्य गरिदिने बताएका थिए । तर, अहिलेसम्म युद्ध अन्त्यको कुनै छनक छैन । यही शैलीमा भारत–पाकिस्तान युद्धसम्बन्धी समस्याको समाधान पनि उनीसँग रहेको दाबी ट्रम्पले गरेका थिए । सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई काश्मीर विवादमा मध्यस्थता गर्न आग्रह गरेको भनेर ट्रम्पले दाबी गरेका थिए । तर, भारतले तुरुन्तै ट्रम्पको यो दाबीलाई अस्वीकार ग¥यो ।
अर्थनीतिमा पनि ट्रम्पको शैली अलग थियो । उनले दाबी गरे, “मैले शुल्क नीति (Tariffs) को प्रयोग पुनःआविष्कार गरेँ । अघिल्ला राष्ट्रपति र अर्थशास्त्रीहरूले यसको प्रभाव बुझेनन् ।” तर, शुल्क नीति त शताब्दीयौँ पुरानो उपकरण हो, जसको प्रयोग अन्तर्राष्ट्रिय व्यापारमा सधैँ हुँदै आएको हो । ट्रम्पको चीनविरुद्धको शुल्क नीतिले अमेरिकी उपभोक्ता र किसानलाई असर गर्नुका साथै व्यापार घाटा अझ बढ्यो ।
डोनाल्ड ट्रम्पका अनगिन्ति दाबीहरू धेरैजसो आत्मप्रशंसा, प्रचारबाजी वा भ्रम फैलाउने उद्देश्यले गरिएको देखिन्छ । यस्ता दाबीहरूले अमेरिकी जनता मात्र नभएर विश्वसमुदायलाई पनि भ्रमित पार्ने खतरा बोकेको छ । यस्ता झूट वा अर्धसत्य भनाइहरूका कारण उनीमाथि ‘Compulsive Liar’ अर्थात् ‘आवश्यकभन्दा बढी झूट बोल्ने व्यक्ति’ को आरोप लाग्नु अनौठो होइन ।
यो स्तरसम्म बारम्बार झूटा दाबी गर्ने व्यक्तिलाई अमेरिकाजस्तो शक्तिशाली र लोकतान्त्रिक मुलुकका जनताले राष्ट्रपति बनाउनु साँच्चै नै धेरैलाई अचम्म लाग्न सक्छ । कसरी झूट, अतिरञ्जना र तथ्यहीन अभिव्यक्तिहरू सार्वजनिकरूपमा बारम्बार व्यक्त गर्ने व्यक्तिले संसारकै शक्तिशाली देशको नेतृत्व पाए ? भन्नेबारेमा विश्वभरका धेरै मानिसहरू आश्चर्यचकित छन् ।
यदि जिम्मेवार नेतृत्वमा यथार्थ, प्रमाण र पारदर्शिता नहुने हो भने लोकतन्त्र कमजोर हुन सक्छ भन्ने कुरा ट्रम्पको कार्यकालले उदाहरणका रूपमा देखाएको छ । त्यसैले ट्रम्प राष्ट्रपति बन्नु केवल एउटा व्यक्तिको उदय होइन, यो समाजभित्रको गहिरो विभाजन, असन्तुष्टि र सञ्चार माध्यमको भूमिकासँग जोडिएको गम्भीर चित्र हो, जसलाई हामीले आलोचनात्मक दृष्टिले बुझ्न आवश्यक छ ।
डोनाल्ड ट्रम्पका झूटा र अतिरञ्जित दाबीहरूबाट नेपालले पनि पाठ सिक्नुपर्छ । नेपाली नेताहरूले चुनावताका धेरै हावादारी आश्वासन दिने तर कार्यान्वयन नहुँदा जनताको विश्वास खस्केको छ । यस्तो प्रवृत्ति लोकतन्त्रको मूल आधार–जवाफदेहिता र पारदर्शिताप्रति चुनौती हो, जसले दीर्घकालीन असन्तोष जन्माउँछ । लोकतन्त्रमा नेताले मात्र होइन, नागरिकहरूले पनि चेतनशील, जानकारीयुक्त र जिम्मेवार हुन जरुरी हुन्छ भन्ने वास्तविकता ट्रम्पको निर्वाचनले हामीलाई सिकाउँछ । यदि मतदाता स्वयं सत्य र असत्य छुट्याउन नसक्ने अवस्थामा छन् भने लोकतन्त्रको आधार नै कमजोर हुनसक्छ ।