स्टीभ एलनर
हालै एक लेखमा भेनेजुयला र त्यहाँका राष्ट्रपति निकोलस मादुरोको एकतर्फी र सन्दर्भहीन चित्रण गरियो । ‘न्यु लेबर फोरम’ मा प्रकाशित उक्त लेखको शीर्षक थियो– मादुरोको भेनेजुयलामा पुँजीवाद र तानाशाही । लेखक थिए गाब्रियल हेटलन्ड । लेखक दनादन आरोप लगाउँछन् – मादुरो सरकारसँग कुनै मुक्तिकामी चरित्र छैन । मादुरोको सरकार र दक्षिणपन्थी विपक्षी समूह ‘एकै सिक्काका दुई पाटा’ हुन् ।
भेनेजुयलाबारे गम्भीर अध्ययन गर्नेले संरा अमेरिकाले थोपरेको आर्थिक नाकाबन्दीका असरहरू पर्गेल्नैपर्छ । वासिङ्टनद्वारा नियोजित आर्थिक युद्धले मादुरो सरकारका चुस्त नीतिहरूको कार्यान्वयनमा भाँजो हाल्दै छन् । तर, अमेरिकी हस्तक्षेपलाई नदेखेझैँ गरी खालि मादुरो सरकारका नीतिहरू बेकार छन् भन्नु भ्रमजाल फैलाउने हर्कतबाहेक केही होइन । लेखक हेटलन्डले त्यही गरेका छन् ।
भेनेजुयलालाई बुझ्ने नै हो भने मादुरो सरकारका नीति र वासिङ्टनका आक्रामक गतिविधि कहाँ बाझिन्छन् भनी केलाउनुपर्छ । हेटलन्डको सेतो नभए कालो भन्ने कोणबाट यथार्थ बुझ्न सकिन्न । अझ भेनेजुयलामा लागु भइरहेको चाभिज्मो विचारका नौला अनुभव त केलाउनै सकिन्न । भेनेजुयलाको राजनीतिक अनुभवबाट पाठ सिक्न सूक्ष्म र आलोचनात्मक आँखा चाहिन्छ ।
भेनेजुयलाविरुद्ध युद्ध
सुरुमै भनिहालूँ – भेनेजुयलाको प्रगतिशील सरकारलाई क्युबा, (लुला दा सिल्भा र डिल्मा रोसेफको) ब्राजिल वा (नेस्टर र क्रिस्टिनाको) अर्जेन्टिनाका प्रगतिशील सरकारलाई हेर्ने आँखाबाट हेर्न मिल्दैन । भेनेजुयलाको स्थिति फरक छ । सन् १९९९ मा ह्युगो चाभेज भेनेजुयलाका ५२ औँ राष्ट्रपति बन्नुभयो । त्यसयता वासिङ्टन र भेनेजुयलाको दक्षिणपन्थी विपक्षी समूहले सरकारविरुद्ध रातदिन विभिन्न अवैध र अर्धवैध चलखेल गर्दै आएका छन् । मादुरोको कार्यकालमा यो चलखेल अचाक्ली भइसकेको छ ।
चलखेलका केही नमुना – सत्ताविद्रोहको प्रयास, हत्या प्रयास, ड्रोन आक्रमण, विद्रोही सरकारलाई मान्यता, भेनेजुयलाको सेनालाई हस्तक्षेप गर्न अमेरिकी उच्चअधिकारीको उक्साहट, विपक्षी समूहलाई छिमेकी देशका सरकारलाई जत्तिकै सहयोग, सत्ता उल्ट्याउने उद्देश्यले व्यापक र लामो सडक हिंसा, भेनेजुयला सरकारसँग व्यापारिक सम्बन्ध तोड्न विश्वभरिका कम्पनी र सरकारहरूलाई आर्थिक प्रतिबन्धमार्फत दबाब, नाकाबन्दी । यी सबै दाउपेचका दस्तावेजी प्रमाण नै पाइन्छन् ।
(टिपोट : मादुरोलाई ड्रोन आक्रमण गरेको विषयमा ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टनले आफ्नो संस्मरणमा उल्लेख गरेका छन् । ट्रम्पले उनलाई ‘काम फत्ते गर, यो पाँचौपल्ट हो’ भनेका थिए । यस्तै विवरण ‘असामान्य धम्की’ (२०२१), ‘कर्पोरेट कू’ (२०२४), ‘समाजवादी भेनेजुयलामा अमेरिकी साम्राज्य’ (२०२२) र ‘भेनेजुयलाबाट खराब खबर’ (२०१८) लगायत पुस्तकमा पनि पढ्न पाइन्छ ।)
भेनेजुयलाविरुद्ध भइरहेको युद्धको पूर्ण चित्र बाहिर ल्याउन जरुरी छ । हेटलन्डको लेख पढ्दा मादुरो सरकार कोसँग जुधिरहेको छ भन्ने थाहा लाग्दैन । भेनेजुयलाविरोधी युद्धको असर केही विज्ञको मात्र रुचिको विषय होइन । मादुरोको कार्यकाल एकदम असफल भयो भन्ने बहस पनि जोडिएको छ यसमा । दक्षिणपन्थीहरू यस्तै आरोप लगाइरहेका छन् । केही वामपन्थीको बुझाइ पनि यस्तै छ र हेटलन्ड ती नै मध्येको एक हुन् । भेनेजुयलाविरुद्ध चौतर्फी हमला गरिएको छ । विरोधीहरू यो ठुलो दृश्यलाई छोड्छन् । सबैखाले हमलाको कुरा गरिन्न । गरे सकेसम्म थोरैको गरिन्छ । भेनेजुयलाको अर्थतन्त्र थल्लिनुको कारणको रूपमा आर्थिक प्रतिबन्धको उल्लेखसम्म गरिन्छ । यसबाहेक मादुरोका गल्ती र तथाकथित अक्षमतालाई दोष दिइन्छ । मादुरोका यी आलोचकहरू भेनेजुयलाविरोधी विनाशकारी युद्धलाई कम आँक्छन् । वासिङ्टनको आडमा भइरहेका उक्साहटपूर्ण चलखेलबाट भड्केर मादुरोले गल्ती गरिरहेको यी आलोचकको बुझाइ छ ।
देशको जटिल आर्थिक अवस्थालाई सम्बोधन गर्न मादुरो सरकारले ल्याएका नीतिलाई वासिङ्टनले पाइलापाइलामा भाँजो हालिरहेछ । एउटा उदाहरण हेरौँ । तेलको मूल्यमा एकाएक गिरावट आएपछि मादुरो सरकारले विदेशी ऋण लिन अन्य देशसँग सम्झौताको प्रयास ग¥यो । यो सन् २०१७ अगस्टको कुरा हो । मादुरोको प्रयासको घाँटी निमोठ्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी बजारमा हुने भेनेजुयलाको धितोपत्र कारोबारमाथि निषेध लगाए । भेनेजुयलाको तेल कारोबारमा वासिङ्टनले भाँजो हालेपछि जवाफमा मादुरोले सुन निर्यातमा सहारा खोजे । तर, ट्रम्पले सन् २०१८ मा भेनेजुयलाको सुन खरिदमा प्रतिबन्ध लगाइदिए । सँगै, मादुरो सरकारले एउटा क्रिप्टो करेन्सी जारी ग¥यो । नाम थियो पेत्रो । अमेरिकाको नियन्त्रणमा रहेको सिफ्ट प्रणाली छल्न मादुरोले त्यो मुद्रा जारी गरेका थिए । किनभने, सिफ्ट प्रणालीले भेनेजुयला संलग्न हुने लेनदेनमा छिर्के हान्दै थियो । (यसलाई मादुरोले वित्तीय ‘नाकाबन्दी’ भने ।) अमेरिकी कानुनको प्रयोग गर्दै ट्रम्पले पेत्रो मुद्रामाथि प्रतिबन्ध लगाउने आदेश दिए ।
(टिपोट : सन् २०१७ अगस्टको ट्रम्पको आदेश भेनेजुयलाको तेल उद्योगविरुद्ध ‘लक्षित थियो’ भनी धेरै व्यापारी जर्नलहरूले औँल्याएका छन् । त्यही वर्ष ‘द इकोनोमिस्ट’ पत्रिकाले तेल क्षेत्र ‘लगानीहीनताको स्थितिबाट पीडित’ भएको लेख्यो र सन् २०१९ सम्ममा मादुरो सरकार अपदस्त भइसक्ने भविष्यवाणी ग¥यो । त्यो बेला हिटल्यान्डले समेत वासिङ्टनका नीतिहरूले भेनेजुयलाको अर्थतन्त्रमा विनाशकारी असर पारेको लेखेका थिए । उनले लेखेका थिए, “संरा अमेरिकाले (भेनेजुयलाका) उग्र विपक्षीहरूलाई सहयोग मात्र गरेको छैन, उसका क्रियाकलापले भेनेजुयलाको सङ्कटलाई सिधै चर्काएका पनि छन् । संरा अमेरिकाले अमेरिकी र युरोपेली बैङ्कहरूलाई भेनेजुयलासँग कारोबार नगर्न दबाब दिएको छ । यसले गर्दा भेनेजुयला आवश्यक खर्चको अभावमा छटपटिएको छ । अमेरिकी आर्थिक प्रतिबन्ध अन्य देशको समर्थनमा अझ कसिलो बन्दै गएको छ । त्यसले पनि सङ्कट चुलिएको छ ।” राष्ट्रपति ओबामाले सन् २०१५ मा भेनेजुयलालाई अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि ‘खतरा’ घोषणा गरेका थिए । सन् २०१७ अगस्टमा ट्रम्पको कारोबार बन्द गर्ने आदेश आयो । यी दुई आदेशले निम्त्याएको विपत्ति निकै महत्वपूर्ण छ । भेनेजुयलाका दक्षिणपन्थीहरू र तिनकै होमा हो मिलाउने केही वामपन्थी भनाउँदाहरू सन् २०१९ को जनवरीमा अमेरिकाले लगाएको मुख्य आर्थिक प्रतिबन्धभन्दा अगाडि नै भेनेजुयलाको आर्थिक सङ्कट चुलिइसकेको दाबी गर्छन् । (सन् २०१९ को त्यो आदेश भेनेजुयलाको तेल निर्यात खस्काउने दाउ थियो ।) उनीहरू अमेरिकालाई चोख्याउँदै भेनेजुयलाका जनताको पीरव्यथाको दोष मादुरोका गलत नीति र भ्रष्टाचारलाई दिन्छन् । तर, जोन बोल्टनको स्वीकारोक्ति अर्कै छ । ट्रम्पले लगाएका आर्थिक प्रतिबन्धहरू ‘सरकारी तेल कम्पनीको उत्पादन भरसक कम गर्न’ र ‘मादुरो सरकार गिराउन’ तर्फ लक्षित थिए भन्छन् बोल्टन ।)
राष्ट्रपति ट्रम्पको अहिले दोस्रो कार्यकालमा छन् । यसअघि बाइडेन सरकारले शाभरोन लगायत केही बहुराष्ट्रिय कम्पनीलाई भेनेजुयलासँग कारोबार गर्न ‘लाइसेन्स’ दिएका थिए । बिस्तारै तेल उद्योग तङ्ग्रिँदै पनि गएको थियो । उत्पादन बढ्दै थियो । यी ‘लाइसेन्स’ लाई सहज बनाउन मादुरोले तेल नीतिमा फेरबदल गरेका थिए । तर, फ्याट्टै ट्रम्प आइहाले । उनले ती ‘लाइसेन्स’ लाई नवीकरण गर्न मानेनन् ।
यी त केही उदाहरण मात्र हुन् । वासिङ्टनले कसरी भेनेजुयलाका प्रयासहरूको घाँटी निमोठ्यो ? मादुरोका विकल्प कसरी सीमित हुँदै गए ? माथिका उदाहरणबाट स्पष्ट हुन्छ । मादुरोसँग अरू विकल्प के हुन सक्थे ? यो पनि घोत्लिनुपर्ने विषय हो ।
उपलब्धि र छुट
निश्चय नै मादुरो निजी क्षेत्रसँग नजिक भए । यसलाई लेखक हेटलन्डले ‘पुँजीपतिसँग घाँटी मिलाइ’ भने । मादुरोले पुराना र उदीयमान दुवैथरी व्यापारीहरूसँग सहकार्य गरे । गर्नु हुन्थ्यो वा हुँदैनथ्यो, बहसको विषय हो । मेरो विचारमा हाम्रो छलफल यी सहकार्यका सर्तहरूमा केन्द्रित हुनुपर्छ । तबमात्र वर्तमान अवस्थामा यी सहकार्य कति उचित कति अनुचित भनी किटान गर्न सकिन्छ । सिधै मादुरो बिके भनी दाबी गर्नु ठाडो र जड कुरो हुनेछ । हेटलन्डले मादुरोलाई वर्तमान परिबन्दले ‘समाजवादी रूपान्तरण’ तर्फ जान नदिएको स्वीकारेका छन् । तर, उनले निजी क्षेत्रसँग सहकार्य गरेकै हुन् भने एउटा प्रश्न उठ्छ – त्यसो भए उनले कुन बाटो लिने त ?
ल्याटिन अमेरिकामा विकासमुखी रणनीति चल्छ । विकासको मामिलामा खासगरी वाम झुकाव राख्ने धेरै सरकारले निजी क्षेत्रसँग सहकार्य गर्छन् । मादुरोको सरकार कष्टकर स्थितिमा छ । यस्तो बेला त्यहाँ गैरसमाजवादी विकल्प मात्र बाँकी हुन सक्छ । मादुरो ‘विकासमुखी मुद्दामा राष्ट्रपति बनेका होइनन्’ भनी हेटलन्ड आरोप लगाउँछन् । तर, आफ्नो दाबी पुष्टि गर्ने हेटलन्डसँग कुनै प्रमाण छैन । सन् २०२५ को वार्षिक सम्बोधनमा मादुरोले एउटा रोचक घोषणा गरे – सुपरमार्केटमा बिक्री हुने ८५ प्रतिशत खाद्य पदार्थ ‘भेनेजुयलामै बनेको’ हुन्छ । आजभन्दा १० वर्षअघि स्थिति यसको ठिक उल्टो थियो । ८५ प्रतिशत खाद्य पदार्थ विदेशबाट आउँथ्यो । कहाँबाट आयो यो परिवर्तन ? सरकार र कृषि क्षेत्रबिचको ‘रणनीतिक गठबन्धन’ बाट । यसको संयोजन अहिले भेनेजुयलाका कृषि मन्त्रालयका साथै उद्योग तथा राष्ट्रिय उत्पादन मन्त्रालयले गर्छन् ।
कठोर आलोचना गर्ने हो भने मादुरोको दाबी सही निस्किन सक्छ । अथवा, ती दाबीलाई चुनौती दिने प्रमाण जुट्ला । वा भनौँ, विकासमुखी नीतिका कमजोरीहरू पनि देखिएलान् । तर, हेटलन्डले धेरै कुरा बेवास्ता गरेका छन् ।
उदाहरण हेरौँ । जस्तो, हेटलन्ड सरकारले प्रवद्र्धन गरिरहेका कम्युनहरूबारे मौन छन् । (भेनेजुयलामा सामुदायिक उत्पादन समितिहरूलाई कम्युन भनिन्छ ।) मादुरो ‘वामपन्थीको भेषमा नवउदारवादी हुन्’ भन्ने हेटलन्डको आरोप कम्युनको अस्तित्वबाट झूटो साबित हुन्छ । धेरै वर्ष मादुरोले कम्युनलाई कम आँकेका थिए । पछिल्लोपल्ट उनले कम्युनहरूलाई टेवा दिएका छन् । सन् २०२३ लाई मादुराले ‘कम्युन वर्ष’ घोषणा गरे । क्रिस गिल्बर्टले यसबारे विस्तृत छानबिन गरेका छन् । उनको पुस्तकको नाम हो – ‘कम्युन वा नास्ति ! भेनेजुयलाको सामुदायिक आन्दोलन र उसको समाजवादी अभियान’ । गिल्बर्टले आफ्नो निजी अवलोकनका साथै देशभरि गरेका अन्तर्वार्ताका आधारमा यो पुस्तक लेखेका हुन् । पुस्तकमा मादुरोले निर्णायक जनसमर्थन प्राप्त गर्नुपछाडिका कारण खुलाइएको छ । सन् २०२२ मार्चमा कम्युनार्ड सङ्घको स्थापना भयो । त्यसले देशलाई नयाँ दृष्टिकोण दियो । नयाँ दृष्टिकोणका प्रस्ताव थिए एन्जेल प्रादो । उनी एल माइजल कम्युनका प्रमुख हुन् । यो भेनेजुयलाको सर्वथा सफल कम्युन हो । कम्युनार्ड सङ्घको अधिवेशन यही कम्युनले आयोजना गरेको थियो ।
अर्को वर्ष मादुरोले प्रादोलाई कम्युनमन्त्री नियुक्त गरे । प्रादोले भेनेजुयला सरकार र शासक दलसँग मतभेद राख्दै आएका थिए । अझै पनि उनी राज्यको खिलाफमा छन् । उनी भेनेजुयलामा ‘पुँजीवादी राज्य’ को अवशेष बाँकी रहेको बताउँछन् । राज्य कम्युनलगायत अन्य लोकबलसँग जुधिरहेको बताउँछन् । प्रादो र कम्युनहरूको अनुभव र मादुरो सरकारबारे हेटलन्डले गरेको चित्रण मेल खाँदैनन् । हेटलन्डले मादुरोलाई निर्णयक समर्थन गर्ने भेनेजुयलाभित्र र बाहिरका लेखक तथा राजनीतिज्ञहरूको नामै लिएका छैनन् । बरु उनले हालै निर्मित कम्युनहरूबारे लम्बेतान चर्चा गरेका छन् । यी कम्युन चाभेजलाई समर्थन गर्ने वामपन्थीहरूले बनाएको बताउँदै हेटलन्डले मादुरोलाई दानवीकरण गरेका छन् ।
दमन र सन्दर्भ
सन् २०२४ जुलाई १८ को राष्ट्रपतिको चुनावमा विरोध प्रदर्शनहरू भएका थिए । हेटलन्डले आफूखुसी केही विचार टिपेर यसबारे ती प्रदर्शनबारे विचार राखेका छन् । उनी लेख्छन्, “सरकारले ती विशाल शान्तिपूर्ण प्रदर्शनलाई निर्ममतापूर्वक दबायो† झन्डै २ हजार प्रदर्शनकारीहरूलाई पक्राउ ग¥यो ।” यो चित्रणको विपरीत पाटो पनि छ । सत्य दुवै चित्रणबिच कतै हुन सक्छ ।
जुलाई २९–३० गते ठूलो आन्दोलन भयो । तेस्रो दिन महान्यायाधिवक्ता तारिक विलियम साबले प्रचुर प्रमाणसहित केही आरोप लगाए । दुई दिनभरि दक्षिणपन्थी विपक्षी समूहले अनेक आपराधिक तथा षड्यन्त्रपूर्ण क्रियाकलाप गरेको र विभिन्न राष्ट्रिय प्रतीकमा प्रहार गरेको बताए । ११ मेट्रो रेल, २८ मेट्रो बस, २७ प्रहरी गाडी, २७ मूर्ति, ५७ शैक्षिक संस्थान, १० राष्ट्रिय निर्वाचन परिषद्का भवन–पूर्वाधार र १० सत्तासीन दलका पार्टी कार्यालयहरूलाई आन्दोलनकारीले तारो बनाएका थिए । चाभेज सत्तामा आउनुभन्दा अगाडि साब मानवअधिकारवादी नेता थिए । दुईदिने आन्दोलनपछि उनले प्रतिपक्षीले चलाएको हिंसाको भत्र्सना गरे । यसलाई गम्भीर भएर हेर्नुपर्छ ।
हेटलन्डको मनोगत आरोपको अर्को उदाहरण पनि छ । उनी भेनेजुयलामा राजनीतिक दमन चलाइएको र मैले त्यसलाई समर्थन गरेको बताउँछन् । तर, यो दाबी पुष्टि गर्न उनले कुनै प्रमाण दिएका छैनन् । आरोप सङ्गीन छ । त्यसैले तथ्य नकेलाई यत्तिकै यस्तो आरोप लगाउनु सही होइन । मैले ‘दमनमा मादुरोको पन्जा खोल्ने नीति दुःखदायी भए पनि त्यो धेरथोर सही थियो’ भनेको हेटलन्ड लेख्छन् । मेरो भनाइ अलि फरक थियो । खासमा मैले यस्तो लेखेको थिएँ, “मादुरोले ‘पन्जा’ खोलेको र उदारवादी प्रजातन्त्रको मान्यता अङ्गीकार नगरेको केही वामपन्थीहरूको गलत बुझाइ छ । केही घटनाका हकमा यो आलोचना सही छ तर त्यसलाई सन्दर्भमा राखेर हेर्नुपर्छ ।”
सन्दर्भमा राखेर हेर्नु सही ठह¥याउनु होइन । एउटा चरम उदाहरण हेरौँ । कसैले नेटोको पूर्वी विस्तारले गर्दा रुसी नेताहरू धेरै पहिलेदेखि चनाखो हुँदै आएका थिए भन्न सक्छ । यसो अर्थ ‘उसले युक्रेनबारे भ्लादिमिर पुटिनले गरेको निर्णय सही छ भनेको हो’ भन्न मिल्दैन ।
‘गा¥हो खेल खेल्ने’ र ‘पन्जा खोल्ने’ मादुरो नीतिको मैले आलोचना गरेकै हुँ । भेनेजुयलाको कम्युनिस्ट पार्टी (पीसीभी) को मुख्य हिसालाई छोडी सानो हिस्सालाई मान्यता दिने सरकारी निर्णयले मादुरो सरकारलाई बेफाइदा हुने पनि भनेकै हुँ । किनभने, मुख्य पार्टीमा मुख्यमुख्य सबै कम्युनिस्ट नेताहरू थिए । यसअघि पनि विरोधी दलविरुद्ध यस्तै नीति लिइएको थियो । यसले संविधानमा चोट पुग्छ पनि भनेकै हुँ ।
निर्णायक समर्थन
हेटलन्डले मेरो विचार भाँचकुँच गरे । भेनेजुयला सरकारबारे लेख्ने वामपन्थी भनाउँदाहरूको स्थिति यस्तै छ आज । मादुरालाई दानवीकरण गर्ने र आँखा चिम्लेर विश्वास गर्ने कित्ता मात्र भेटिन्छ । यसले गर्दा मादुरोको समर्थन खुम्चिन पुग्छ ।
लेखको सुरुमै हेटलन्डले मविरुद्ध आरोप लगाएका छन् – मैले मादुरोलाई ‘सचेत पार्दैै’ उनको प्रतिरक्षा गरेँ रे । त्यसपछि उनको प्रश्न छ – के मादुरो प्रजातान्त्रिक वैधता भएका साम्राज्यवादविरोधी क्रान्तिकारी हुन् ? यसको जवाफमा उनले तथ्यलाई मसिनो गरी केलाएका छैनन् । बरु ‘सचेत पारेका’ स्थान खोज्दै हेटलन्ड मेरो मुख्य तर्कलाई गलत भन्छन् । अनि प्रकारान्तरले उनी मादुरोको सरकारलाई मजदुर वर्गविरोधी र भ्रष्ट बताउँछन् । तर, मेरा ‘सचेत गराइ’ बिच मैले गरेको मादुरो र केही हदसम्म चाभेजको आलोचनालाई हेटलन्ड बेवास्ता गर्छन् । अनुकूल समयको मौका छोपी रूपान्तरण प्रक्रियालाई तीव्र नपारेको र भ्रष्टाचारविरुद्ध निर्णयक प्रहार नगरेको आरोप मेरो थियो ।
हेटलन्डले आँखा खोल्नुपर्छ । उनले माओ त्सेतुङको ‘जनताबिचको अन्तर्विरोधको सही हल गर्नेबारे’ पढ्नुपर्छ । ‘दोयम’ र ‘परस्परविरोधी अन्तर्विरोध’ बिच दिइएको भेद बुझ्नुपर्छ । मेरो विचारमा मादुरो र ‘पिसिभी’ बिचको तनाव ‘दोयम’ खालको हो । मादुरोले एउटा पक्ष लिँदा पार्टीमा फुट आयो । अहिले यो जोड्नै नसकिने स्थितिमा पुगेको छ । सुक्ष्म विश्लेषणमा ध्यान नदिँदा ‘मित्र र शत्रु’ बारे माओको सिद्धान्त मनन नगर्दा गम्भीर बहसमा बाधा पुग्छ । यस्तो स्थितिमा करिब २५ वर्ष लामो चाभेजमय शासनबाट बहुमूल्य शिक्षा लिनमा गल्ती हुनेछ ।
सारमा भन्छु – मादुरो सरकारका कमीकमजोरीलाई लुकाउन मिल्दैन । तर, ती कमजोरी किन भए भनी सन्दर्भमा राखेर हेर्नु पनि उत्तिकै आवश्यक छ । साम्राज्यवादी आक्रामकता बढेसँगै वास्तविक परिवर्तन ल्याउने सरकारको क्षमतामा कमी आएको पक्कै हो । साम्राज्यवादी जालझेलकै कारण सामाजिक, राजनीतिक तथा आर्थिक उद्देश्य हासिल गर्नमा कठिनाइ आएकै हो । आफ्नो शासनको सुरुतिरै चाभेजले निजी क्षेत्रसँग सहकार्य खोज्नुपर्ने देखेका थिए । खासगरी देश र विदेश दुवैतिरका बैरीहरूको आक्रमणको सामना गर्न चाभेजले त्यो आवश्यकता बोध गरेका थिए । सङ्घर्षमा संलग्न सबैले यस्तो सहकार्यले भ्रष्टाचार मौलाउन सक्ने नदेखेका होइनन् । गठबन्धनमा सामेल हुने इतर पक्षले परिवर्तनको प्रक्रियालाई रोक्न वा उल्ट्याउन दबाब दिने पनि देखेका थिए ।
त्यसयता भेनेजुयला सरकार नीतिगत रूपमा कहाँकहाँ चुक्यो र राजनीतिक अवसरवादलाई कसरी बुझ्ने भन्ने विषयमा आलोचनाको खाँचो छ । तर आलोचकहरूले के पनि ध्यानमा राख्नुपर्छ भने मादुरोले भोगिरहेको चुनौतीको पहाड चाभेजको सरकारले सामना गरेभन्दा धेरै अग्लो छ । सन् २००२–०३ तिर चाभेललाई अलि सजिलो भएको थियो । मादुरोका चुनौती हेरौँ – सन् २०१५ सुरु भएसँगै तेलको मूल्य ह्वात्तै घट्यो† सन् २०१५ मा ओबामाको आदेशपछि वासिङ्टन झन् आक्रामक भएर आयो† बलिदान र कठोर जीवन लम्बिँदै जाँदा जनताको उत्साहमा पनि कमी आयो ।
यो सन्दर्भमा गम्भीर गल्ती भएका हुन् । चाभेजमय शासनमा चरम ध्रुवीकरण भइरहेको सन्दर्भमा सङ्घर्षका कमीकमजोरीलाई आन्दोलनभित्रकै घटकले स्वीकार गर्नुपर्छ । यसको अर्थ सत्तारुढ दल र उसका सहयोगी दलहरूले नै आफ्ना कमीकमजोरी स्वीकार्नुपर्छ । अलि खुकुरो राजनीतिक माहोल हुन्थ्यो भने स्थिति अर्कै हुने थियो । भेनेजुयला सरकारमाथि वामपन्थी खेमाबाट ठाडो र निराधार प्रहार भयो भने, विद्यमान चुनौतीको गम्भीरता नबुझी आलोचना गरियो भने त्यो भेनेजुयलाका लागि प्रत्युत्पादक हुनेछ ।
स्रोत : एमआर अनलाइन
अनुवाद : गणेश