मानव पुर्खाबारे जान्ने खुलदुली छ । त्यसैले पढियो विश्वविख्यात इतिहासकार रोमिला थापरले संयोजन गरेको पुस्तक – हामीमध्ये को हो आर्य ? (ह्विच अफ अस आर आर्यन्स ? रिथिङ्किङ द कन्सेप्ट अफ आवर ओरिजिन) सन् २०१९ मा प्रकाशित यस पुस्तकमा आज ‘आर्य नश्ल’ भनिने प्राचीन जनसमूहबारे विभिन्न कोणबाट विश्लेषण गरिएको छ ।
पुस्तकमा रोमिला थापरसहित पाँच विज्ञका खोजमूलक लेख सङ्कलित छन् । प्राचीन इतिहास केलाउन भाषा वैज्ञानिक, पुरातात्विक तथा वंशाणुगत प्रमाणको अध्ययन गर्ने चलन छ । केही विज्ञले तथ्याङ्क विश्लेषणका लागि पछि कृत्रिम बौद्धिकता (एआई) को समेत प्रयोग हुनसक्ने बताएका छन् । पाँच लेखकमध्ये जर्मन भाषावैज्ञानिक माइकल वित्जेलले ‘आर्यजन’ को भाषा वैज्ञानिक विश्लेषण गरेका छन् । उनी हार्वर्ड विश्वविद्यालयमा संस्कृत भाषाका प्रोफेसर हुन् । इतिहासकी प्राध्यापक जया मेननले पुरातात्विक प्रमाणहरू केलाएकी छिन् । पत्रकार काइ फ्रिजे र वंशाणु वैज्ञानिक राजीव खानले ‘आर्यजन’ वंशाणुगत बनोट तथा वंशाणुगत प्रमाण खोज्ने दिशामा भएको पछिल्लो प्रगतिबारे सविस्तार चर्चा गरेका छन् ।
पुस्तकमा सबैभन्दा लामो लेख, संयोजकको मन्तव्य तथा निष्कर्ष खण्ड इतिहासकार रोमिला थापरले लेखेकी छिन् । भारत र बेलायतका नाम चलेका विश्वविद्यालयमा प्राध्यापन गरिसकेकी थापर इतिहास लेखनको क्षेत्रमा नोबेल पुरस्कार मानिने प्रतिष्ठित क्लुगी पुरस्कारबाट सम्मानित इतिहासकार हुन् । भारतको वैज्ञानिक इतिहास लेखनमा उनको अहम् योगदान छ । पछिल्लोपल्ट भारतमा मोदी फासीवादले थोपरेको ‘हिन्दुत्ववादी’ विचारधाराको विरोधमा थापर एक अभियन्ताको रूपमा सक्रिय रहेको जगजाहेर छ ।
भाषा वैज्ञानिक प्रमाण
पहिले ‘आर्य’ शब्दमा जाऔँ । प्राचीन इरानी ग्रन्थमा ‘ऐरिए’ शब्द आएको छ । त्यस्तै इरानका राजा देरिअस (५१९ ईपू) ले आफूलाई ‘आर्य भाषामा लेख्ने पहिलो व्यक्ति’ बताएका छन् । ‘आर्य’ लाई वेदको भाषा भन्ने गरिन्छ । तर, भाषाविद्हरू वेदको भाषालाई ‘आर्य’ भन्दा पनि ‘इन्डो–आर्य’ भन्छन् । वेदमा कतै पनि ग्रन्थको भाषा जनाउन आर्य शब्दको प्रयोग भएको छैन । बरु एकपल्ट ‘आर्यवाक’ शब्दको प्रयोग भएको छ । यस शब्दको अर्थ ‘आर्य भाषा बोलिने क्षेत्र’ हुन्छ । वैदिक संस्कृत र आजको संस्कृतमा धेरै अन्तर छ । यद्यपि, भाषाविज्ञानले प्राचीन भाषाको गुत्थी खोतल्ने प्रयास गर्दै छ । भारोपेली, अस्ट्रो–एसियाली, तिब्बतो–बर्मेलीलगायत भारतीय उपमहाद्वीपमा प्रचलित भाषाहरूको इतिहास ६० हजार वर्ष पुरानो छ ।
१५०० देखि ५०० इपू. को अवधिलाई वैदिक अवधि भनिन्छ । वेदमध्ये सबैभन्दा जेठो ऋग्वेद १४०० देखि १२०० इपू.मा लेखिएको प्रस्तुत पुस्तकमा विज्ञहरूले चर्चा गरेका छन् । ऋग्वेद ‘आर्यजन’ भारतीय महाद्वीपको पन्जाबमा आएपछि लिपिबद्ध गरिएको रचना हो । तर, यसमा प्राचीन इरानी (इन्डो–आर्य) का साथै उज्बेकिस्तान÷ताजिकिस्तान हुँदै भित्री एसियाका पहाडी भेग (तियान शान, पामिर) को भाषाको छाप पाइन्छ । साथै, ऋग्वेदमा उत्तरी सिन्धु नदी आसपास बसोबास गर्ने आदिवासी जातिले बोल्ने भाषाका झन्डै ३०० शब्द परेका छन् । यसरी, भाषा विज्ञानका दृष्टिले ऋग्वेद ‘आर्यभाषी’ हरूको बसाइँसराइको साक्षीसमेत बन्न पुगेको छ ।
भाषा वैज्ञानिक वित्जेलले दिएका केही उदाहरण हेरौँ – ऋग्वेदमा मध्य एसिया, इरान–अफगानिस्तानका साथै पन्जाबको विस्तृत भूभागमा बसोबास गर्ने रैथाने जातिका भाषाबाट शब्द सापटी लिइएको छ । त्यस्तै, ऋग्वेद र प्राचीन इरानी ग्रन्थ ‘अवेस्ता’ दुवैमा आएको (यज्ञ गरेपछि पान गरिने) ‘सोम’/‘होम’ (रस) किर्गिज क्षेत्रको पेय पदार्थ थियो । ऋग्वेदमा हिन्दू कुशमा बसोबास गर्ने प्राक–मुण्डा जातिबाट अष्÷आष्÷उष्÷ऊष् जस्ता शब्द आए । त्यस्तै, त्व/त्वी/य जस्ता प्रत्यय पनि त्यहीबाट आए । खासमा ट, ड, ण, ष जस्ता स्वर हिन्दू कुशमा बसोबास गर्ने रैथाने जातिमा निकै प्रचलित थिए । अफगानिस्तान र इरानमा आइसकेपछि ऋग्वेदमा इन्द्र, अथर्वन, गन्धर्व, शर्व, इस्टा (इँटा), उष्ट (उँट), खार (गधा) शब्द परे । ऋग्वेदका कतिपय देवता इरानी ग्रन्थ अवेस्तामा पनि पाइन्छन् । त्यस्तै, ऋग्वेदको ‘सरस्वती’ र अवेस्ताको ‘हरह्वती’÷‘हरज्वती’ इरानकै हेलमन्द क्षेत्रमा पर्ने नदी थियो । गोधुम (गहुँ) यहीबाट ऋग्वेदमा मिसियो । गहुँ खेती प्राचीन प्यालेस्टिनमा ९००० इपू. मा खेती गर्न सुरु गरिएको थियो । ‘संस्कृतभाषी’ हरू भारतीय उपमहाद्वीपमा आइपुग्दा हडप्पा सभ्यता हराइसकेको थियो । तर, यहाँ अफ्रिकाबाट झन्डै ५० हजार वर्षअघि आएर छरिएका विभिन्न जनजातिको बसोबास थियो । प्राचीन वाङ्मयमा अन्य भाषा बोल्नेहरूलाई ‘शुद्र’ वा ‘म्लेच्छ’ भनियो । तैपनि, ऋग्वेदमा प्रायः कृषिसँग सम्बन्धित रैथाने भाषाका सयौँ शब्द लिइयो । भाषाविज्ञान मात्र होइन, माथि उल्लेख ‘संस्कृतभाषी’ हरूको बसाइँसराइ मार्गमा रहेका विभिन्न जातिका मिथक, धर्म र कर्मकाण्डमा पनि यो यात्राको छाप प्रस्ट देख्न सकिन्छ ।

पुरातात्विक प्रमाण
भाषा विज्ञानबाट अब पुरातत्वतर्फ लागौँ । सिन्धु÷हडप्पा सभ्यता २६०० इपू. मा सुरु भएर ७ सय वर्षसम्म अस्तित्वमा रह्यो । त्यसयता त्यो वृहत् पन्जाब क्षेत्रमा ५ मिटर अग्लो माटोको पत्र चढिसकेको छ । सन् १९२० को दशकदेखि त्यहाँ पुरातात्विक उत्खननले गति लियो । त्यस यता ‘संस्कृतभाषी’ हरूको आगमन र त्योभन्दा पनि प्राचीन भारतीय समाजबारे धेरै कुरा खुल्दै गयो । ‘संस्कृतभाषी’ हरूको उद्गम रुसको स्तेपी प्रदेश (कालासागर र उत्तरी क्यास्पियन सागरबिच) मा भएको थियो । तिनको संस्कृतिलाई ‘याम्नाया सभ्यता’ भनिन्छ । ‘संस्कृतभाषी’ घोडा चढ्थे; तिनले रथको आविष्कार गरेका थिए । विकासक्रमका हिसाबले तिनीहरू काँस्य युगका पशुपालक थिए ।
हडप्पाको उत्खननमा ‘संस्कृतभाषी’ को छाप भेटिएन । तिनीहरू घोडाको बलि दिन्थे । हडप्पामा कतै पनि त्यसको अवशेष पाइएन । नगर सभ्यता भए तापनि हडप्पा काँस्य युगको सभ्यता थियो । हडप्पा सभ्यताको अन्त्य (१९०० इपू.) पछि मानिसहरू स–साना गाउँ–बस्तीमा छरिएर बस्न थालेको पाइन्छ । (सतलज–यमुना र गङ्गा–यमुना दोभानमा माटाका भाँडा, तामा–काँसका सामान भेटिए पनि उत्खनन स्थलमा इँटाका भव्य संरचना नपाइएबाट यही कुरा पुष्टि हुन्छ ।) हडप्पा सभ्यतापछि घोडा र फलाम प्रयोगको प्रमाण भेटिन्छ । सिन्धु नदी आसपास १७०० इपू. का घोडा र उँटका हड्डी तथा १३७० इपू. तिर प्रयोग गरिएको फलाम भेटिएको छ । त्यस्तै, गान्धार क्षेत्रमा १५००–२०० इपू. का समाधि भेटिएका छन् । धेरैमा तामा र काँसका वस्तु भेटिएका छन् । फलाम कताकति त्यस्तै घोडाका समाधिमा काँसका घोडा छन् । ककेसस, उत्तर इरान र मध्य एसियामा पनि यही शैलीका घोडाका समाधि भेटिएका छन् ।
उत्खननमा भेटिएका माटोका भाँडाले पनि प्राचीन कथा बोल्छन् । फलाम युगको सुरुआती चरणमा माटाका भाँडा बनाउने प्रविधिमा प्रगति भयो । (कतिपय विद्वान फलामे युगको सुरुआतलाई ‘संस्कृतभाषीहरू’ को आगमनसँग जोडेर हेर्छन् । यो सिद्धान्तमा समस्या के भने धातु, भाँडा वा प्रविधिलाई मान्छेको भाषासँग जोड्नु भरपर्दो हुन्न ।) हुन त कुमालेको चक्र हडप्पा सभ्यताकै देन थियो । तर, पछि भाँडा निर्माणको प्रविधि वा भट्टीमा भाँडा पोल्ने विधिमा परिष्कार भयो । बुट्टा कुँद्ने कलामा पनि उन्नति भयो । भाँडाको सतह चिल्लो हुन थाल्यो र खाना खान मिल्ने गरी तिनको मुख खुला बनाइयो । गङ्गा–यमुना दोभानमा उत्खनन गर्दा भेटिएको भाँडामा फलामका औजारले बुट्टा कुँदेको पाइन्छ । हडप्पापछि पूर्व, पश्चिम र दक्षिणमा फैलिएका रैथाने जातिहरूमा भाँडा निर्माणको प्रविधिमा विविधता आएको पाइन्छ । यसबाट एकै गाउँमा विभिन्न समुदायहरू घुलमिल भएर बस्न थालेको सङ्केत मिल्छ ।
हडप्पा सभ्यता नष्ट हुनुका धेरै कारण बताइन्छ । तर, हावापानी फेरिनुलाई पुस्तकमा प्रमुख कारण मानिएको छ । उत्खननमा भेटिएका अन्नहरूको अध्ययनले यतै सङ्केत गर्छ । हावापानी फेरिएपछि धान र कोदोको उत्पादन घट्यो । नगरवासीको पेट भर्न मुस्किल भएपछि तिनीहरू ससाना बस्तीमा छरिएको प्रतीत हुन्छ । यसपछिको अवधिलाई भेगीय वा ग्रामीण युग भनिएको छ । मानिसहरूले बसाइ सर्न सजिलो हुने गरी भेँडाबाख्रा पाल्न थाले । भित्री गाउँहरूमा आकाशे वा बर्खे खेती हुन्थ्यो । सुरुसुरुमा साना खहरे खोला आसपास बसेका मानिसहरू विस्तारै नदीको किनारमा सिँचाइको बन्दोबस्त गरी बस्न थाले । हडप्पा भारतीय उपमहाद्वीपको प्रथम नगर सभ्यता थियो भने समयक्रममा गङ्गा नदीको तटमा दोस्रो नगर सभ्यताको सुरुआत भयो ।
वंशाणुगत प्रमाण
अब डीएनए वा वंशाणुगत प्रमाणबारे चर्चा गरौँ । यो प्रमाण अध्ययनका लागि जटिल भए पनि अकाट्य मानिएको छ । भारतको हरियाणास्थित राखिगढीमा हडप्पाकालीन ४५ सय वर्ष पुरानो नरकङ्काल भेटियो । त्यसको डीएनए परीक्षणबाट दुई–चार कुरा प्रस्ट भएको छ । पहिलो हडप्पा सभ्यता ‘संस्कृतभाषी’ वा वैदिक हिन्दुको सभ्यता थिएन । भारतका जातजातिमा अझै पनि हडप्पा सभ्यताका बासिन्दाहरूको वंशाणु व्यापक मात्रामा पाइन्छ । तिनीहरू तथाकथित ‘आर्य’ भन्दा ‘द्रविड’ थिए । वंशाणुका हिसाबले तिनीहरू उत्तर भारतीत्न्दा दक्षिण भारतीयहरूसँग नजिक थिए ।
सन् २०१० मा हावर्ड विश्वविद्यालयका डेभिड राइखको नेतृत्वमा भारतीय अनुसन्धातासहितको एक टोलीले दक्षिण एसियाली जातजातिका पुर्खालाई दुई भागमा बाँड्यो । तिनलाई भारोपेली भाषा बोल्ने ‘उत्तर भारतीय पुर्खा’ (एएनआई) र अस्ट्रो–द्रविड भाषा बोल्ने ‘दक्षिण भारतीय पुर्खा’ (एएसआई) भनियो । वंशाणु विज्ञानका हिसाबले ‘उत्तरी पुर्खा’ पश्चिम युरेसिया (मध्य एसिया) सँग नजिक छन् भने ‘दक्षिणी पुर्खा’ पूर्वी युरेसिया (दक्षिण–पूर्वी एसिया तथा अन्डामान टापुमा बस्ने निग्रो जाति) सँग नजिक छ ।
अब याम्नाया सभ्यताका बासिन्दातर्फ फर्कौँ । डीएनएका दुई हिस्सा हुन्छन् – mtDNA र Y-chromosomal वंशावली । पहिलो हिस्साले आमाको वंश बताउँछ भने दोस्रोले बाबुको वंश बताउँछ । याम्नाया सभ्यताका बासिन्दाको Y-chromosomal वंश थियो R1a1a । यो वंश पूर्वी युरोप, मध्य एसिया र दक्षिण एसियामा पाइन्छ । खासमा यसका दुई हाँगा छन् । युरोपमा R1a1a-Z280 पाइन्छ भने दक्षिण एसियामा R1a1a-Z93 पाइन्छ । झन्डै ४ हजार वर्षअघि यही R1a1a-Z93 वंशका पुरुषहरू हुल बाँधेर भारतीय उपमहाद्वीपमा प्रवेश गरे । किन पुरुष मात्र ? किनभने, यहाँका आमाहरूको वंश (mtDNA) पूर्वी एसियालीहरूसँग नजिक पाइन्छ । अझ सजिलो भाषामा भन्ने हो भने भारतका आदिमाताहरू इरानका आदिमातासँग भन्दा बढी चीनका आदिमातासँग नजिक छन् र भारतका आदिपिताहरू मध्य एसियाका आदिपितासँग नजिक छन् । यहाँनिर रोचक के छ भने मध्य एसियाका आदिपितानिकट पुर्खा ‘उत्तर भारतीय पुर्खा’ हुन् । यसलाई अझ विस्तारपूर्वक चर्चा गरौँ ।
सिन्धु सभ्यताका बासिन्दा ‘दक्षिणी पुर्खा’ थिए । तिनमा इरानका कृषक र भारतका ‘प्राचीन दक्षिण भारतीय पुर्खा’ (एएएसआई) को गरी दुईथरी वंशाणु पाइयो । यतिमात्र होइन, यही मिश्रणले ‘उत्तरी पुर्खा’ को वंशाणुमा ७० प्रतिशत स्थान ओगटेको छ । खासमा दक्षिण एसियाका सबैजसो जातजातिको वंशाणुमा औसत २५ प्रतिशत इरानी छाप पाइन्छ । यसको अर्थ कुनै बेला भारतभरि ‘प्राचीन दक्षिण भारतीय पुर्खा’ छरिएर बसेका थिए । यिनीहरू अफ्रिकाबाट झन्डै ५० हजार वर्षअघि भारतीय उपमहाद्वीपमा आएका थिए । पछि यिनमा ९००० इपू.मा इरानबाट आएका कृषकहरूको वंशाणु मिसियो ।
झन्डै ४ हजार वर्षअघि भारतीय महाद्वीपमा आएका ‘संस्कृतभाषी’ पशुपालक R1a1a-Z93 ले खासगरी ‘उत्तरी पुर्खा’ का आदिआमाहरूसँग बिहेवारी गरे । यो मिश्रण हडप्पा सभ्यताको पतन (१९०० इपू.) पछि निकै बाक्लो भएको डीएनए प्रमाणले देखाउँछ । पाकिस्तानको स्वात उपत्यकामा गरिएको अध्ययनबाट ९०० ईपू.मा त्यहाँ स्तेपीका आगन्तुकहरूको डीएनए हिस्सा २० प्रतिशतमात्र पाइएको छ । अहिले R1a1a-Z93 ले ‘उत्तरी पुर्खा’ को वंशाणुमा ३० प्रतिशत स्थान ओगटेको छ । विशेषतः उत्तर भारतका तथाकथित उच्च जातका बाहुन–क्षेत्री–जाट–राजपूतमा R1a1a-Z93 वंशाणु पाइन्छ । दक्षिण र पूर्वी भारतका धेरै जातजातिमा स्तेपीबाट आएका पशुपालकहरूको प्रभाव उति परेन ।
सन् २०१९ मा दक्षिण तथा मध्य एसियाका वंशाणुगत बनोटको विषयमा एउटा विशद अध्ययन भयो । विश्वका ११७ वैज्ञानिकले यस भेगमा भेटिएका विगत ८ हजार वर्षका ५२३ वटा प्राचीन डीएनएको तुलना गरे । यही अध्ययनको सार थियो माथि उल्लेख R1a1a-Z93 को भारत यात्रा ।