एलन मायर्स
अमेरिकी शासक र तिनका आसेपासेहरू हामीले यो दिन बिर्सेको देख्न चाहन्छन् । ५० वर्षअघि १९७५ को अप्रिल ३० को दिन अमेरिकी साम्राज्यवादले इतिहासकै नमिठो सैन्य पराजय व्यहोर्नुप¥यो । उत्तरी भियतनामी सेना र दक्षिणी भियतनामी राष्ट्रिय मुक्ति मोर्चाका सैन्य दस्ताले हो चि–मिन्ह सहरमाथि पूर्ण नियन्त्रण जमाए । (तिनताका त्यो सहरलाई सैगोन भनिन्थ्यो ।) त्यसपछि ती दस्ता विस्तारै मुक्त भइनसकेका दक्षिणी इलाकाहरूमा छरिएका थिए ।
भियतनामी विजय जापानी, बेलायती, फ्रान्सेली र अमेरिकी साम्राज्यवादविरुद्ध तीन दशकसम्म अविरल सङ्घर्षको फल थियो । त्यो बेला आजको जस्तै संरा अमेरिका सैन्य शक्तिमा विश्वकै शक्तिशाली देश थियो । तैपनि, त्यो अजङ्गको महाशक्ति एउटा सानो, अविकसित र ग्रामीणप्रायः समाजबाट पराजित भयो ।
भियतनामविरुद्ध युद्धमा कुनै बेला अमेरिकाले झन्डै ५ लाख नियमित फौज परिचालन गरेको थियो । त्यसबेला भियतनामी लडाकु र सर्वसाधारण जनताविरुद्ध अमेरिकाले इतिहासमै अकल्पनीय बमबारुद प्रयोग ग¥यो । भियतनाममाथि कैयौँ टन बम खसाल्यो । दोस्रो विश्व युद्धमा संलग्न सम्पूर्ण देशले प्रयोग गरेको बमको तीन गुना बम भियतनाममा अमेरिका एक्लैले खसाल्यो । अमेरिकाले अक्सिजन नष्ट गर्ने डिभोलियन्टजस्ता रासायनिक हतियारको पनि प्रयोग ग¥यो । ती हतियारका कारण आज पनि कैयन् भियतनामीहरू मर्दै छन् भने कतिपयको वंशाणु विकृत भएको छ ।
भियतनामले चीन र सोभियत सङ्घबाट सीमित सैन्य सहायता पायो । तर, त्यो सहायता निणायक स्तरको थिएन । भुइँबाट आकाशमा मार हान्ने रकेटले अमेरिकी हवाई सेनामा क्षति पुग्ने क्रम बढ्यो । तर, त्यो क्षतिले गर्दा अमेरिकाको हवाई युद्ध कहिल्यै रोक्न सकेन ।
जति नै बमबारुद प्रयोग गरे पनि अमेरिकाले भियतनामीहरूको विजय रोक्न सकेन । हातहतियारभन्दा शक्तिशाली अर्थोक नै हुन्छ भन्ने साबित भयो । त्यो शिक्षा वा पाठ हामी सबैले बिर्से हुन्थ्यो भन्ने संसारका सबै साम्राज्यवादीहरू चाहन्छन् ।
हो चि–मिन्ह सहर मुक्त भएपछि प्राविधिक वा सैन्य सामथ्र्यको सीमा सबैलाई छर्लङ्ग भयो । सहरमा बाँकी रहेका अमेरिकीहरू र तिनका भियतनामी दलालहरूलाई लिएर अमेरिकी हेलिकप्टरहरू समुद्री तटमा पर्खिरहेका युद्धपोततिर उड्न थाले । तिनीहरू आकाशमै छँदा तिनलाई राख्न अमेरिकी जलसेनाले खाली हेलिकप्टरलाई समुद्रमा फालेर ठाउँ बनाए ।
अमेरिकी सैन्यशक्तिलाई केले परास्त ग¥यो ?यसमा सबैभन्दा अगाडि आउँछ, भियतनामी जनताको वीरता र धीरताले । भियतनामी प्रतिरोधले अमेरिकी समाजमा आशङ्का र विभाजन बढाउँदै लग्यो । समयक्रममा अमेरिकाभित्रै साम्राज्यवादी युद्धको विरोधको बाटो खुल्यो । अन्ततः त्यो विरोधले विश्वव्यापी रूप लियो ।
एकातिर अमेरिकाले निणायक सैन्य विजय हासिल गर्न नसक्नु र अर्कोतिर राजनीतिक विरोध पनि बढ्नाले अमेरिकी शासकहरूको सोचमा बदलाव आयो । युद्ध लम्बिँदै गयो भने आफूहरूले झन् बढी मूल्य चुकाउनुपर्ने र त्यो क्षतिलाई कसै गरी पूरा गर्न नसकिने उनीहरूले देखे । विश्वभरिका शोषित–उत्पीडित जनता अमेरिका अजेय शक्ति रहेनछ र त्यसलाई प्रतिरोधबाट हराउन सकिने रहेछ भन्ने टुङ्गोमा पुगेको अमेरिकी शासकहरूले बुझे ।
भियतनाम युद्धभन्दा अगाडिभएका सङ्घर्षले पनि युद्धविरोधी आन्दोलनमा मलजल गरिरहेको स्थिति थियो । अमेरिकामा सन् १९४० र १९५० को दशकमा म्याक्कार्थीवादले पाउ जमायो । जताततै ‘कम्युनिस्टविरोधी सन्त्रास’ फैलाइयो र अधिकांश मजदुर युनियनलाई दबाइयो । अश्वेत जनताले मौलिक अधिकारको आन्दोलन चलाएपछि त्यो हौवा घट्दै गयो । सन् १९६० को दशकमा भएका सांस्कृतिक र राजनीतिक जनजागरणले अमेरिकामा युद्धविरोधी लहर ल्यायो । भियतनाम युद्धका विरोधीहरूले विश्वविद्यालयमा युद्धविरोधी कक्षा र बहस चलाए । अमेरिकाका दक्षिणी क्षेत्रमा अश्वेत अधिकारकर्मीहरूले प्रचारप्रसार र प्रत्यक्ष गतिविधिका लागि यही शैली अपनाउँथे । युद्धविरोधीहरूले तिनकै सिको गरे ।
प्रभाव दुवैतिर प¥यो । सन् १९६७ को अप्रिलमा मलाई पनि सिकागो सहरमा अमेरिकी सेनामा भर्ती गरियो । संयोग भनौँ, त्यही दिन बक्सिङ खेलका हस्ती मुहम्मद अलीलाई सेनामा अनिवार्य भर्ती हुन आदेश दिइएको थियो । उनले सार्वजनिक रूपमै इस्लाम धर्मले आफूलाई त्यस्तो युद्धमा जान नदिने घोषणा गरे । यो भियतनाम युद्धप्रतिको उनको नैतिक विरोध थियो ।
मोहम्मद अली गागरमा सागर भर्न सिपालु थिए । उनले भने, “हेर, भियतकङहरूसँग मेरो कुनै झगडा छैन । कुनै पनि भियतकङले मलाई कहिल्यै ‘काले’ भनेको छैन ।” (अमेरिकी सेना र मिडियाले त्यसबेला भियतनामको ‘राष्ट्रिय मुक्तिमोर्चा’ लाई ‘भियतकङ’ भनी प्रचार गर्थे ।) भर्ती हुन भनी सरकारले तोकेको मितिभन्दा एक हप्ता अगाडि अलीले भनेका थिए, “एउटा गरिब राष्ट्रलाई मार्ने र जलाउने काममा सघाउन म यो १० हजार माइल टाढा पर्ने मेरो घरबाट बाहिर निस्किनेवाला छैन । म विश्वका गाढा छाला भएका जनतामाथि चलिरहेको गोरा दासमालिकको दमनलाई जारी राख्न चाहन्न । यदि यो युद्धले मेरा २ करोड २० लाख जनतालाई स्वतन्त्रता र समानता दिन्छ भने मलाई भर्ती गरे हुन्छ, म भोलि नै भर्ती हुनेछु ।”
मोहम्मद अलीले के गर्लान् भनेर सारा जनताको मनमा खुलदुली थियो । सिकागोको भर्ती केन्द्रमा रहेका एक सिपाहीले समाचार सुन्न रेडियो बजाए । अलीले भर्ती हुन अस्वीकार गरेको खबर आयो । यो सुनेर भर्खरै भर्ती भएका एक अश्वेत सिपाही सुस्तरी भुनभुनाए । उनले भने, “धत्तेरिका, मैले पनि त्यसै गर्नुपथ्र्यो ।”
भियतनामी प्रतिरोध कति चर्कियो भने अमेरिका त्यहाँ आफ्नो फौज बढाउन बाध्य भयो । सैनिक भर्ती बढाउनुपर्ने भयो । अमेरिकाले युद्धको विरोध गर्ने र युद्धप्रति सशङ्कित युवाहरूलाई पनि भर्ती गर्नुपर्ने भयो । अमेरिकाका हजारौँ युवा, तिनका साथीसँगी र आफन्तका नजरमा त्यो युद्ध अब सुदूर मुलुकसँगको विचित्र द्वन्द्व होइन, आफ्नै ज्यानका लागि ठाडो खतरा बन्न पुग्यो । साँझपख टीभीको पर्दामा देखाइने युद्धका दृश्य हेरिरहेका अमेरिकीहरू झन्झन् आत्तिन थाले ।
सन् १९५०–५३ को कोरिया युद्धतिरबाट अमेरिकी शासकहरूले एउटा पाठ राम्रै बुझ्न थाले । उनीहरूले फासीवाद जस्तो विपद्ले खतरामा परेका नागरिकहरूको ‘नागरिक सेना’ र तत्कालै खतरा ननिम्तिने‘साम्यवाद’ जस्तो अमूर्त शत्रुको पछाडि लागेका जनता अथवा आफ्नो मुक्तिका निम्ति लडिरहेका उत्पीडित जनताबिचको भिन्नता देख्दै गए । अनिवार्य भर्ती सुरु भएपछि युद्धविरोधी जनप्रदर्शनमा उत्रेका मानिसहरूले आफ्नो विरोध झन् चर्काउन थाले ।
मैले अमेरिकी सेनामा दुई वर्ष (सन् १९६७–१९६८) बिताएँ । त्यसबिच म अमेरिकामै तैनाथ रहेँ । युद्ध गलत हो भनी सहयोद्धा सिपाहीहरूलाई मनाउनु त्यसबेला चुनौतीको काम थिएन । बरु हामीले युद्धको विरोधमा के गर्न सकिन्छ भनी सिपाहीलाई केही गर्न भन्यौँ । यसै बेला देशभित्र र बाहिर रहेका सबै अमेरिकी सैन्य छाउनीहरूमा वितरण हुने गरी युद्धविरोधी पत्रिका ‘समाचारपत्र’ (वास्तवमा खबरपत्र) प्रकाशित भयो ।
न्युजर्सीमा रहेको फोर्ट डिक्समा हामीले आफ्नो अन्तिम अस्त्र प्रयोग ग¥यौँ । त्यो छाउनीमा पैदल सिपाहीलाई तालिम दिने गरिन्थ्यो । त्यसलाई फौजमा सेनाको ‘अन्तिम अस्त्र’ भन्ने चलन थियो । सन् १९७० को दशक भर्खरै सुरु हुँदै थियो । ‘विद्यार्थी परिचालन समिति’ युद्धविरोधी सङ्गठनमध्ये सबैभन्दा सचेत र जुझारु थियो । त्यस समितिले एउटा ‘जीआइ प्रेस सेवा’ चलायो । विभिन्न युद्धविरोधी सैन्य सामग्री प्रकाशित भइरहेको बेला त्यो ‘सेवा’ ले महत्वपूर्ण सूचना, सन्देश र सहकार्यको खबर दिन्थ्यो । पछिपछि त्यसप्रकारका सयौँ प्रकाशन छापिन थाले ।
कर्मचारीतन्त्रको माथिल्लो तहले दमनकारी नीति लिएपछि अमेरिकी सेनामा युद्धविरोधी गतिविधि झन् फैलिँदै गयो । आफ्नो कमान्डमुनि ‘विध्वंसक’ गतिविधि बढेको थाहा पाए बटालिन कमान्डरले त्यसलाई आफ्नो बढुवाको लागि खतरा ठान्थ्यो र त्यस्ता गतिविधि गर्ने ‘अगुवा’ लाई भरसक टाढाका अनेक छाउनीमा सरुवा गथ्र्यो । सरुवामा पर्नेहरूले युद्धविरोधी गतिविधि फैलाउन झन् ठुलो मौका पाए । त्यसबेलाको परिस्थितिबारे कर्नेल रोबर्ट हाइन्लले १९७१ जून ७ को दिन ‘सशस्त्र बल जर्नल’ मा लेखे, “अमेरिकी सशस्त्र बलको मनोबल, अनुशासन र युद्धतत्परता केही अपवादलाई छोडेर यो शताब्दी र सम्भवतः अमेरिकी इतिहासकै न्यूनतम एवम् खराब अवस्थामा छ । प्रत्येक सूचकाङ्कले भियतनाममा रहेको हाम्रो सेना पतनको सङ्घारमा पुगेको देखाउँछ । सैन्य टुकडीहरूले लड्न अस्वीकार गर्दै छन्† कतिपय लडाइँ टार्दै छन्; कतिपयले आफ्ना उच्च अफिसरको हत्या गर्दै छन्; कतिपय लागुपदार्थ सेवन गर्दै छन् । कतिपय सैन्य टुकडी झन्डै विद्रोह गर्ने स्थितिमा पुगेका छन् । अरू ठाउँमा भन्दा भियतनाममा स्थिति अत्यन्त नाजुक छ ।”
छोटकरीमा अमेरिकी शासकहरू भियतनाममा रहेका सैन्य दस्तामा मात्र होइन, युद्धले आफ्नो समग्र सशस्त्र सेनामा पारेको असरले गर्दा आत्तिएका थिए । राष्ट्रपति निक्सनले युद्धलाई ‘भियतनामीकरण गर्ने’ कार्यक्रममार्फत स्थिति सुधार्न खोजे । अमेरिकी फौजलाई भियतनामबाट फिर्ता बोलाउँदै त्यहाँ पर्याप्त हतियार र खर्च दिएर कठपुतली ‘भियतनाम गणतन्त्र’ को स्थापना गर्ने र त्यसले अमेरिकाको पक्षमा लडाइँ जारी राख्ने उनको सोच थियो । युद्धलाई ‘भियतनामीकरण’ गर्ने कार्यक्रमको वास्तविक अर्थ यही थियो ।
अमेरिकी कोणबाट हेर्दा यति आशा गर्नु पनि लाचारी नै थियो । सन् १९७३ मा अमेरिकी थलसेनाले भियतनामी भूमि छोड्न थालेपछि यो सत्य झन् स्पष्ट हुँदै गयो । सन् १९७५ को सुरुतिर मुक्तिसेनाले निर्णायक आक्रमण थाल्यो । अमेरिकाको ‘आरभिएन’ सेना छिन्नभिन्न भयो ।
भियतनामी विजयको प्रभाव हामीले बिर्सेका छैनौँ । आज पनि पुँजीवादी शासकहरू त्यो पराजयको प्रभावबाट उम्किने प्रयास गर्दै छन् । अमेरिकामा यो प्रभावलाई ‘भियतनाम सिन्ड्रोम’ भनिन्छ, मानौँ त्यो कुनै दूर्भाग्यपूर्ण रोग थियो । वास्तवमा आफ्ना शासकहरूले एउटा प्रमुख सैन्य द्वन्द्वबारे निर्लज्जतापूर्वक झूटो बोलेका रहेछन् भनी अमेरिकाका बहुमत जनताले बुझेको त्यो एउटा कटु यथार्थ थियो । त्यसले गर्दा पछिपछि अमेरिकी जनताले आफ्नो सरकारले गर्ने सैन्य कारबाहीलाई शङ्काको आँखाले हेर्न थाले ।
त्यसयता अमेरिकी शासकले नयाँ नीति नै बनाए । कतै सैन्य आक्रमण गर्दा बहुमत जनताले चनाखो भएर कान ठाडो पार्नुभन्दा अगाडि नै भरसक टुङ्ग्याइहाल्ने नीति लिइयो । विश्वभरि नै सैन्य हस्तक्षेप गर्ने क्षमता पुनःस्थापित गर्न अमेरिकी शासकहरूले अनिवार्य भर्ती हटाउनुपर्ने र आफ्नो सेनालाई ‘स्वयंसेवक’ सेनाको रूपमा पुनः गठन गर्नुपर्ने देखे । यसको अर्थ मूलतः गरिब र उत्पीडित अल्पसङ्ख्यक जातिका युवालाई ‘स्वतःस्फूर्त भर्ती हुन’ सामाजिक र आर्थिक दबाबमा पार्ने नीति लिइयो ।
अनिवार्य भर्ती खारेज गर्नु अमेरिकी साम्राज्यवादको इतिहासमा एउटा ठुलो धक्का थियो । आज आधा शताब्दीपछि पनि अमेरिकी शासकहरू अनिवार्य भर्तीको नीति पुनः लागु गर्ने बाटो खोज्दै छन् ।
भियतनामबाट शासकहरूले अर्को पनि पाठ सिके । गाजा र पश्चिम किनारमा इजरायलले चलाइरहेको जातिसंहारक युद्धविरुद्ध प्यालेस्टिनी जनताको पक्षमा विश्वव्यापी ऐक्यबद्धताको लहर उर्लियो । यो देखेर अमेरिकी सरकार जुन हर्कतमा उत्रियो त्यो हेर्दा शासकहरूले भियतनामबाट पाठ सिकेको प्रस्ट हुन्छ । विश्वविद्यालयहरूमा धर्ना कसेर विद्यार्थीहरूले आन्दोलन चलाएपछि सरकार तुरुन्तै चरम दमनमा उत्रियो । दमनको शैली हेर्दा शासकहरू भियतनाम युद्धको बेला जस्तै विरोधको स्वर चर्किने र फैलिने डरले अत्तालिएको साबित हुन्छ । यही डरले गर्दा सरकार वाक् स्वतन्त्रतालाई दबाउने र प्रदर्शनकारीहरूमाथि सनकपूर्ण आक्रमण गर्ने प्रयासमा देखिन्छ । जसरी साम्राज्यवादी प्रचारमाध्यमले भियतनाम युद्धलाई सही ठह¥याउन ‘साम्यवाद’ लाई सरापेका थिए आज यहुदीवादी जातिसंहारका पक्षपोषकहरू विरोधमा उत्रिने प्रत्येक स्वरलाई ‘यहुदीविरोधी’ भनी गाली गर्दै छन् ।
न्यायको पक्ष लिनेहरूले पनि भियतनामी विजयबाट शिक्षा लिएका छन् । त्यसकारण पनि आज प्यालेस्टिनको पक्षमा यति ठुलो जनउभार उठ्न सकेको हो । आन्दोलनकारीहरूले प्यालेस्टिनको पक्षमा सुरुमा विश्वविद्यालयहरूमा धर्ना कसेपछि ठुला र अझ मुखर जुलुस तथा प्रदर्शन हुँदै बढीभन्दा बढी जनतासम्म पुग्ने नीति लिए । भियतनाम युद्धबारे थोरै वा केही पनि थाहा नपाएका असङ्ख्य शोषित–उत्पीडित जनता विश्वभरि छरिएका छन् । तर, साम्राज्यवाद अजेय छैन र दृढ सङ्घर्षबाट त्यसलाई पराजित गर्न सकिन्छ भनी तिनले बुझिसकेका छन् । ‘नलडे हारिन्छ’ भनी युद्धविरोधी जनताले बुझिसकेका छन् ।
(स्रोत : एमआर अनलाइन । सम्यक)