१९ बैसाख, भक्तपुर
नेपाल क्रान्तिकारी मजदुर सङ्घको आयोजनामा १३६ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार जुलुस प्रदर्शन तथा जनसभा भयो । भक्तपुर नगरको सूर्यमढीबाट सुरु भएको जुलुस प्रदर्शन दत्तात्रय, गोल्मढी, सुकुलढोका, टौमढी, वंशगोपाल हुँदै टेखापुखुमा गएर जनसभामा परिणत भएको थियो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “दुई सय वर्ष अगाडि युरोप र अमेरिकामा पुँजीपतिवर्गको नाफा दिन दुगुना रात चौगुना बढिरहेको थियो । त्यसबेला युरोपका मजदुर कामको समय घटाउने र ज्याला बढाउने मागसहित आन्दोलनमा उत्रेका थिए । सरकारसँग मजदुरहरूको माग थियो –‘आफ्ना माग पूरा गर या गद्दी छोड’ । नेपालमा अहिले केही पुँजीपतिवर्ग वर्षको ५०–६० अर्ब रूपैयाँ नाफा कुम्ल्याउने भएको सार्वजनिक भयो ।”
“सन् १८८६ मई १ मा संरा अमेरिकाको सिकागो सहरका मजदुरहरू कामको समय घटाउने र ज्याला बढाउने मागसहित आन्दोलनमा उत्रेका थिए । मई १ को यो आन्दोलनबाट दुई ओटा विषय सिक्न सकिन्छ । एक, आन्दोलनले मुक्ति र उपलब्धि प्राप्त ग¥यो । आठ घण्टा कामको समय, ज्याला वृद्धि, सङ्गठन खोल्ने, मतदान र उम्मेदवार हुने अधिकार प्राप्त भयो । दोस्रो, सरकारी गुप्तचर आन्दोलनमा घुसेर उपद्रव मच्चाइने र त्यही निहुँमा आन्दोलनलाई डबाउने । पञ्चायतविरोधी आन्दोलन, महाकाली सन्धिविरोधी आन्दोलन, प्रतिगमनविरोधी आन्दोलनमा सरकारका गुप्तचर घुसपैठ भएका थिए । आन्दोलनकारीहरू सरकारी गुप्तचर घुसपैठ हुनेबारे सचेत हुनु जरूरी छ”, सचिव सुवालले थप्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल र बेलायती भारतसँग नालापानीमा युद्ध भएको थियो । त्यो युद्धमा स्वार्थीहरूले अङ्ग्रेजलाई नालापानीको मुहान देखाए । अङ्ग्रेजले नालापानीको मुहान थुनेपछि नेपाली फौजले खानेपानी पाएनन् । सन् १८१६ मा भएको सुगौली सन्धिमा नेपाली भूभाग गुम्यो । अङ्ग्रेजले नेपाली युवालाई बेलायती सेनामा भर्ती गरी ‘भाडाको सिपाही’ बनायो । संयुक्त राष्ट्र सङ्घको लागि अमेरिकी राजदूतले गोर्खा भर्तीलाई ‘भाडाका सिपाही’ भनी हेला गरे । अहिले करोडौँ नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइएको गोर्खा भर्तीकै सिलसिला हो । नेपाल मजदुर किसान पार्टीले गोर्खा भर्ती र वैदेशिक रोजगारी दुवै खारेज गर्नुपर्ने आवाज उठाउँदै आएको छ ।”
एमसीसी सम्झौता अमेरिकी कानुन र नीति पालना गर्नुपर्ने अमेरिकी स्वार्थको लगानी भएकोले यो सम्झौता खारेज गर्न गराउन नेमकिपाले आवाज उठाउँदै आएको सचिव सुवालले स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी राष्ट्रपतिमा दोस्रो पटक निर्वाचित भएका ट्रम्पले नाटो देशका प्रमुखहरूसँग क्यानाडा वास्तविक देश नभएको र संरा अमेरिकाको प्रदेश बन्न सक्ने दाबीलाई गरेको लाई क्यानाडाका जनतासँगै विश्वका न्यायप्रेमी देशहरूले विरोध गर्दै छन् । अमेरिका विश्व स्वास्थ्य सङ्गठन, जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, संरा सङ्घको मानव अधिकार समितिबाट बाहिरिएको मानवताविरोधी हो ।”
संरा अमेरिकाको ऋण ३६२ खर्ब डलर पुगेको सार्वजनिक भएको र ट्रम्पले अमेरिकालाई पुनः बलियो बनाउन अन्य देशहरूलाई भन्सार कर बढाएको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “यसले अमेरिकी जनतालाई दुःख हुनेछ । अमेरिकाको ज्यावलको रूपमा रहेको अन्तर्राष्ट्रिय मुद्राकोषले चीनलाई उत्पादनमा राजकीय संलग्नता घटाउन सुझाव दियो । यो पुँजीवादलाई मलजल गर्ने अमेरिकी बाटो हो ।”
उहाँले थप्नुभयो, “संरा अमेरिकाले जापान र दक्षिण कोरियालाई एसियामा रहेका अमेरिकी सैन्य अखडाको खर्च व्यहोर्नुपर्ने दबाब दिँदै छ । अमेरिकी जनताको हितको निम्ति ट्रम्पले संसारको ९०२ ठाउँमा रहेका अमेरिकी सैन्य अखडा फिर्ता गर्नु जरूरी छ । यी सैन्य अखडाको लागि अमेरिकाको वार्षिक २० खर्ब डलर खर्च भइरहेको छ । ट्रम्पले नाटो देशहरूलाई आ–आफ्नो कुल गार्हस्थ उत्पादनको ५ प्रतिशत सुरक्षा खर्चबापत बुझाउन दबाब दिँदै छन् ।”
सामुदायिक विद्यालयका शिक्षकहरूसँग सम्झौता गर्ने र सम्झौताअनुसार काम नगरी शिक्षकहरूलाई सडकमा ओराल्ने प्रधानमन्त्रीहरू ओली, देउवा र पुष्पकमल दाहाललाई जवाफदेही बनाउनुपर्ने आवश्यकता औँल्याउँदै सचिव सुवालले सडकमा ओर्लेका शिक्षकहरूले विद्यालय शिक्षा निःशुल्क गर्नुपर्ने र ख्वप विश्वविद्यालयको विधेयक पारित गर्नुपर्ने विषय पनि उठाउनु उपयुक्त हुने सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “आवासीय चिकित्सकहरूलाई सरकारी स्केल तलब पु¥याउन मेडिकल कलेजलाई १०० बाट १५० विद्यार्थी भर्ना गराउने सहमतिले गुणस्तरीय शिक्षा कायम हुन कठीन हुनेछ । सहकारी संस्थामा बचत ठगीमा परेकाहरू, लघुवित्त पीडितहरू, मिटरब्याज पीडितहरू पनि सडक आन्दोलनमा छन् । सरकारहरूले जनता सडकमा आउन नपर्ने गरी समयमै सम्बोधन गर्नुपर्दछ । नेपालमा सरकारको उपस्थिति पुष्टि भएन ।”
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले शासक दलहरू मजदुर–किसानकै बहुमत लिएर संसद्मा गएर पुँजीपतिवर्गको सेवा गरिरहेको बताउनुभयो ।
मे दिवसको इतिहासबारे चर्चा गर्दै उहाँले माक्र्स, एङ्गेल्स, लेनिन, स्तालिन, माओको विचार लागु नगर्ने दलहरूले हँसिया र हथौडाको चिह्न राखेकोमा निन्दा गर्नुभयो ।
मजदुर वर्गले आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको नारा लगाउनुको अर्थ सस्तो मनोरञ्जन नभई अध्ययन, चिन्तन–मननको लागि समय मागेको हो, उहाँले स्पष्ट गर्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ, भक्तपुरका अध्यक्ष उपेन्द्र सुवालले निश्चित सिद्धान्त तथा दर्शनले लैस भएर सङ्गठित नभएसम्म देशमा परिवर्तन नहुने बताउनुभयो । उहाँले माक्र्सको शिक्षा ग्रहण गर्दै क्रान्तिको बाटोमा अघि बढ्न देशका सम्पूर्ण मजदुर–किसानलाई आह्वान गर्नुभयो ।
नेपाल क्रान्तिकारी सिकर्मी सङ्घका अध्यक्ष बिक्रम ढुकुछुले नेपाली काठ वनजङ्गलमा सडिरहेको बेला विदेशी काठ आयात भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले नेपाली काठ प्रयोग गर्दा प्रशासनिक झमेला तेस्र्याएर विदेशी काठ प्रयोग गर्न सजिलो पारेकोमा खेद प्रकट गर्नुभयो ।
औद्योगिक मजदुरहरूको तर्फबाट विचार राख्दै दीपा खत्रीले सरकारले आफूले बनाएको कानुनको पालना गराउनमा उदासिनता देखाएको हुनाले धेरै औद्योगिक मजदुरले सरकारले तोकेको न्यूनतम ज्यालाभन्दा पनि कम ज्यालामा मजदुरी गरिरहेको बताउनुभयो ।
औद्योगिक क्षेत्रमा महिलाहरूलाई पुरुषको तुलनामा कम ज्याला दिएर लैङ्गिक विभेद गर्ने गरेको उहाँले बताउनुभयो ।
आयोजक समितिका विष्णुराम दुमरुले स्वागत गर्नुभएको उक्त कार्यक्रममा रमेश दुमरूले पनि बोल्नुभएको थियो ।
सभामा जनगायक विनोद विश्वकर्मा, श्रमिक कला सदनका कलाकार आदिले क्रान्तिकारी गायन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बाल विकास, प्रभात, गणेश मावि एवम् ख्वप माविका कलाकारले विभिन्न प्रगतिशील गीतमा नृत्य प्रस्तुत गरेका थिए ।
¥यालीमा संसारका मजदुर एक होऔँ !, अमेरिकी साम्राज्यवाद मुर्दावाद !, बाँच्न पाउने ज्यालाको बन्दोबस्त गर !, कालाबजारियालाई कारबाही गर !, भारतीय विस्तारवाद मुर्दावाद !, लगानी बोर्ड खारेज गर !, एमसीसी सम्झौता खारेज गर !, गोर्खा भर्ती खारेज गर !, सन् १९५० को सन्धि खारेज गर !, सहकारी ठगहरूलाई कारबाही गर !, ठुलठुला उद्योग र बैङ्क राष्ट्रियकरण गर !, ठुलठुला अस्पताल र कलेज राष्ट्रियकरण गर !, नेपाल मजदुर किसान पार्टी जिन्दावाद ! लगायतका नारा लगाइएको थियो ।