अर्थशास्त्र र सामाजिक विषयको विज्ञ नभए पनि समाजवादबारे आफ्नो धारणा राख्नु उचित होला र ? धेरै कारणले गर्दा उचित हुन्छ भन्ने लाग्छ ।
सुरुमा वैज्ञानिक ज्ञानको आँखाले विषयलाई हेरौँ । खगोल विज्ञान र अर्थशास्त्रबिच विधिको हिसाबले कुनै खास भिन्नता नभए जस्तो लाग्न सक्छ । दुवै क्षेत्रका वैज्ञानिकहरूले निश्चित घटनाहरू समेटिने सर्वमान्य नियमहरू पत्ता लगाउन खोज्छन् । यी घटनाहरूबिचको अन्तरसम्बन्धलाई सकेसम्म बुझ्न सकिने बनाउन खोज्छन् । वास्तवमा विधिमा भिन्नता हुन्छ । परिस्थितिले गर्दा अर्थशास्त्रका नियमहरू पत्ता लगाउन गा¥होे हुन्छ । आर्थिक घटनालाई धेरै तत्वहरूले असर गर्छन् । ती तत्वहरूलाई छुट्टाछुट्टै विश्लेषण गर्न गा¥होे हुन्छ । मानव जातिको कथित सभ्य इतिहास सुरु भएयता धेरै अनुभव भएको छ । यो कुरा सबैलाई थाहा छ । तर, यी अनुभवलाई धेरै हदसम्म आर्थिक कुराले प्रभावित र सीमित पारेको छ । उदाहरणको लागि, इतिहासका धेरैजसो ठुला राज्यहरू अरूलाई कब्जा गरेर बनेका हुन् । कब्जा गर्ने मानिसहरूले कानुनी र आर्थिकरूपमा आफूलाई कब्जा गरेको देशको सुविधासम्पन्न वर्ग तुल्याए । तिनीहरूले जमिन खोसे र जमिनमा एकाधिकार जमाए । तिनीहरूले आफै आफैबाट पुजारी बनाए । पुजारीहरूले शिक्षामा नियन्त्रण गरे, समाजको वर्गविभाजनलाई स्थायी व्यवस्था बनाए । उनीहरूले नयाँ मूल्यमान्यताहरू रचे । ती मूल्यमान्यताअनुसार चलेर मान्छेहरू जानीनजानी उनीहरूको सामाजिक साँचोमा ढल्दै गए ।
इतिहासको चलन त्यस्तो थियो । थोर्सटाइन भेब्लीनले मानव विकासको त्यो चलनलाई ‘परजीवी चरण’ भनेका छन् । हामीले कतै पनि यो चरण वास्तवमै पार गरिसकेका छैनौँ । हामीले देख्न सक्ने आर्थिक तथ्यहरू यही चरणका हुन् । यो हेरेर हामीले निकाल्न सक्ने नियमहरू अन्य चरणहरूमा लागु हुँदैनन् । खासमा समाजवादको वास्तविक उद्देश्य मानव विकासको परजीवी चरणभन्दा अगाडि बढ्नु हो । त्यसैले आजको अर्थशास्त्रले भविष्यको समाजवादी समाजबारे प्रस्ट पार्न सक्दैन ।
दोस्रो कुरा, समाजवाद सामाजिक–सदाचारी लक्ष्यतिर फर्केको छ । विज्ञानले लक्ष्य रच्न सक्दैन । यसले मान्छेको मनमा लक्ष्यहरू रोप्न सक्दैन । विज्ञानले बढीमा कुनै लक्ष्य प्राप्त गर्न साधनहरू जुटाइदिन सक्छ । तर, उच्च सदाचारी आदर्श भएका व्यक्तित्वहरूले लक्ष्य तय गर्छन् । यी लक्ष्यहरू जड नभई जीवन्त र स्वस्थ छन् भने धेरै मानिसले तिनलाई अपनाएर अगाडि बढाउँछन् । नजानिँदो ढङ्गले ती मानिसहरूले समाजको क्रमिक विकास निर्धारण गर्छन् ।
यिनै कारणहरूले गर्दा मानवीय समस्याको कुरामा हामीले विज्ञान र वैज्ञानिक विधिलाई कम आँक्न हुन्न । समाजलाई कसरी सङ्गठित गर्ने भन्ने प्रश्नमा खालि विज्ञहरूलाई बोल्ने अधिकार छ भनी मान्नु हुन्न ।
केही समययता मानव समाज सङ्कटबाट गुज्रिरहेको छ, मानव समाजको सन्तुलन असाध्यै खलबलियो भनेर धेरैले दाबी गर्दै छन् । यस्तो अवस्थामा मानिस आफ्नै जमातप्रति उदासीन हुन्छन् वा आक्रामक हुन्छन् । यस्ता जमात साना वा ठुला हुन्छन् । आफ्नो विचार अलि खुलाउन मलाई यहाँ निजी अनुभव सुनाउन दिनुस् । हालसालै मैले एक विद्वान् मित्रसित अर्को युद्धको खतराबारे मेरो घरमा छलफल गरेको थिएँ । मेरो विचारमा अर्को युद्धले मानव जातिको अस्तित्वलाई खतरामा पार्नेछ । राष्ट्रहरूभन्दा माथि रहने सङ्गठनले मात्र त्यो खतराबाट जोगाउन सक्ने मैले बताएँ । यो सुनेर मेरा पाहुनाले शान्त र नरम भएर मलाई भने, “मानव जाति हराइजाला भनेर तपाईँ किन यति चिन्ता लिनुहुन्छ ?”
म ढुक्क भएर भन्न सक्छु, आजभन्दा एक शताब्दीअगाडि कसैले पनि यति सजिलै यस्तो कुरा भन्ने थिएन । यस्तो भन्ने मेरा पाहुना आफैमा सन्तुलन ल्याउने प्रयास गरेर असफल भएका थिए । उनले सफल हुने आस मारिसकेका थिए । यो पीडादायी एकान्त र एक्लोपनको उच्छवास हो । आजभोलि धेरै मान्छे यही समस्याबाट पीडित छन् । कारण के हो ? के बाहिर निस्किने बाटो छ ?
यस्तो प्रश्न उठाउन सजिलो छ । तर, निर्धक्क उत्तर दिन गा¥होे छ । तैपनि, मैले आफूले सकेको उत्तर दिने प्रयास गर्नैपर्छ । मलाई थाहा छ, हाम्रा भावना र चाहनाहरू प्रायः बाझिने खालका र धमिला हुन्छन् । तिनलाई सजिलो र सरल सूत्रमा बताउन सकिन्न ।
मान्छे एक्लो र सामाजिक प्राणी दुवै हो । एक्लो प्राणी भएर उसले आफ्नो र आफ्ना नजिकका मान्छेहरूको रक्षा गर्न खोज्छ, आफ्ना निजी आकाङ्क्षाहरू पूरा गर्न खोज्छ र आफ्ना भित्री खुबीहरूको विकास गर्न खोज्छ । सामाजिक प्राणी भएर उसले अरूबाट सम्मान र माया पाउन खोज्छ, तिनको सुखमा साथ दिन खोज्छ, तिनको दुःखमा ढाडस दिन खोज्छ र तिनको जिन्दगानी सुधार्न खोज्छ । यिनै थरीथरी र घरिघरि बाझिने कोसिसहरूले गर्दा मान्छेको चरित्र विशेष हुन्छ । यी कोसिसहरूको जोडजस्तो हुन्छ त्यहीअनुसार व्यक्तिले भित्री सन्तुलन हासिल गर्नसक्छ र समाजलाई सुन्दर बनाउन योगदान गर्नसक्छ । यी दुई प्रेरणाहरू कति बलियो हुने भन्ने कुरा मोटामोटी आमाबाबुबाटै निर्धारित हुनसक्छ । तर, अन्त्यमा देखापर्ने व्यक्तित्व मुख्य गरी वातावरणले बनाउँछ । हुर्किँदै जाँदा मान्छेले आफूलाई यो वातावरणमा पाउँछ । आफू हुर्केको समाजको बनोट, परम्परा र त्यो समाजले रुचाउने विशेष व्यवहारले मान्छेको व्यक्तित्व बनाउँछ ।
विचारको भाषामा भन्नुपर्दा ‘समाज’ भनेको व्यक्तिका प्रत्यक्ष र परोक्ष सम्बन्धहरूको योग हो । यस्तो सम्बन्ध व्यक्तिले आफ्नै समयका र अघिल्लो पुस्ताका मान्छेहरूसँग बनाएको हुन्छ । व्यक्तिले आफै सोच्न, महसुस गर्न, मरिमेट्न र काम गर्न सक्छ । तर, आफ्नो भौतिक, बौद्धिक र भावनात्मक अस्तित्वको लागि ऊ धेरै मात्रामा समाजमाथि निर्भर हुन्छ । कतिसम्म भने उसलाई समाजभन्दा पर राखेर उसको बारेमा सोच्न वा उसलाई बुझ्न सकिन्न । ‘समाज’ ले नै उसलाई खाना, नाना र छाना दिन्छ, काम गर्ने औजार दिन्छ । भाषा, सोच र सोच्ने विषयवस्तु दिन्छ । सानो शब्द ‘समाज’ भित्र लुकेका हिजो र आजका अरबौँ मान्छेहरूका कार्यहरूले र श्रमले मान्छेको जीवन सम्भव बनाउँछ ।
त्यसैले व्यक्ति समाजमाथि निर्भर हुन्छ भन्ने कुरा स्पष्ट छ । प्रकृतिको यो सत्य मेटाउन सकिन्न । कमिला र माहुरीको कथाजस्तै । कमिला र माहुरीको पूरै जीवन मसिना कुराहरूले निर्धारित हुन्छ । स्थायी र वंशाणुगत चेतनाले निर्धारित हुन्छ । मानव जातिका सामाजिक ढाँचा र अन्तरसम्बन्धहरू अनेकथरी हुन्छन् र फेर्न मिल्ने खालका हुन्छन् । स्मरणशक्ति, कुनै कुरा नयाँनयाँ तरिकाले जोड्न सक्ने क्षमता, मौखिक सञ्चार गर्नसक्ने उपहारले मानव जातिलाई विकास गर्न सम्भव बनाएका छन् । विकास गर्न जैविक आवश्यकता नै हुनुपर्छ भन्ने छैन । यस्तो विकास परम्परा, व्यवस्था र सङ्गठनको रूपमा देखापर्छ । साहित्य, विज्ञान र वास्तुकलाका उपलब्धिहरूमा देखापर्छ । कलाकर्महरूमा देखापर्छ । यसले एक अर्थमा के देखाउँछ भने आफ्नै व्यवहारले मान्छेले आफ्नो जीवनमा प्रभाव पार्न सक्छ र यस प्रक्रियामा सचेत सोचविचार र चाहनाले भूमिका खेल्न सक्छ ।
जन्मिँदा मान्छेले वंशाणुबाट एउटा जैविक गुण पाउँछ । त्यसलाई हामीले अचल र फेर्न नसकिने मान्नुपर्छ । मानव प्रजातिका प्राकृतिक आवश्यकता पनि त्यस्तै हुन्छन्, अचल र अपरिवर्तनीय । आफ्नो जीवनकालमा मान्छेले सांस्कृतिक गुण पाउँछ । यो गुण उसले समाजबाट लिन्छ । सञ्चार गर्ने र प्रभावित हुने विभिन्न विधिको माध्यमबाट यो गुण हासिल गर्छ । समय बित्दै जाँदा यही सांस्कृतिक गुण फेरिँदै जान्छ र यसले धेरै हदसम्म व्यक्ति र समाजको सम्बन्ध तय गर्छ । कथित प्राचीन संस्कृतिहरूको तुलनात्मक अध्ययन गरेर आधुनिक मानवशास्त्रले हामीलाई केही कुरा सिकाएको छ । चलनचल्तीको सांस्कृतिक ढाँचा र समाजको सङ्गठनअनुसार मानिसको सामाजिक व्यवहार फरकफरक हुनसक्छ । समाजको यही पक्षमा मान्छेको भाग्य सुधार्न मरिमेटिरहेका मानिसले आशाको किरण देख्छन् । आफ्नो जैविक गुणका कारण मानिस एकअर्कालाई मार्न विवश छैनन् । क्रूर र आफैले थोपरेको भाग्यको दयामा बाँच्न विवश छैनन् । आशा यही देख्छन् ।
मानव जीवनलाई सकेसम्म सन्तोषप्रद बनाउन समाजको बनोट र मान्छेको सांस्कृतिक चरित्र कसरी फेर्नुपर्छ ? यो प्रश्नबारे सोच्दा हामीले एउटा कुरा सधैँ दिमागमा राख्नुपर्छ । त्यो के भने हामीले केही परिस्थितिहरू फेर्न सक्दैनौँ । माथि पनि भनेँ, मान्छेको जैविक गुण वास्तवमै फेर्न सकिन्न । गएको केही शताब्दीमा प्राविधिक प्रगति भएको छ, जनसङ्ख्या बढेको छ । यसले गर्दा नयाँ परिस्थिति जन्मेको छ र यो परिस्थिति पछिसम्म रहिरहनेछ । जनसङ्ख्याको चाप बढी भएको ठाउँमा मानिसलाई नभई नहुने मालसामानको निम्ति चरम श्रमविभाजन गर्नुपर्छ । साथै त्यहाँ अति केन्द्रीकृत उत्पादन प्रणाली हुनुपर्छ । व्यक्तिहरू वा ससाना जनसमूहहरू आफ्नै खुट्टामा उभिने युग सधैँलाई सक्कियो । उहिलेको कुरा सम्झिँदा मीठो सपनाजस्तो लाग्छ । मानव जाति अहिले उत्पादन र उपभोगको विश्वव्यापी समुदाय बनेको छ । यतिभन्दा मैले धेरै बढाइँचढाइ गरेको छैन ।
छलफल गर्दै म अब एउटा बिन्दुमा पुगेको छु । यहाँ म हाम्रो समयको सङ्कटको मूल कहाँ छ भनी बताउन सक्छु । सङ्कटको मूल समाजसँग व्यक्तिको सम्बन्धमा छ । व्यक्तिलाई आफू समाजमाथि निर्भर छु भन्ने थाहा छ । यो विषयमा मान्छे अहिलेजत्तिको सचेत पहिले कहिल्यै थिएन । तर, उसले यस निर्भरतालाई सकारात्मक सम्पत्ति मानेर, सुरक्षात्मक शक्ति मानेर अनुभव गर्दैन । बरु यसलाई उसले आफ्नो जन्मजात अधिकारको लागि खतरा ठान्छ । आफ्नो आर्थिक अस्तित्वको लागि पनि खतरा ठान्छ । समाजमा उसको अवस्था कस्तो छ भने ऊभित्रको अहङ्कारी गुणलाई निरन्तर मलजल गरिन्छ । यसको दाँजोमा उसको सामाजिक गुण स्वभावैले कमजोर हुन्छ । उसको सामाजिक गुण खस्किँदै जान्छ । समाजमा जुनसुकै हैसियतमा भए पनि सबै मानिस यही खस्किने प्रक्रियाबाट पीडित भइरहेका छन् । अन्जानमै उनीहरू आफ्नो अहङ्कारको बन्दी बनेका छन् । त्यसैले उनीहरू असुरक्षित र एक्लो महसुस गर्छन् । जीवनको निर्दोष, सरल र सादा आनन्दबाट वञ्चित भएको अनुभव गर्छन् । जिन्दगी छोटो र डरलाग्दो छ । तैपनि, आफूलाई समाजप्रति समर्पित गरेर मात्र मान्छेले जिन्दगीको अर्थ भेट्न सक्छ ।
मेरो विचारमा पुँजीवादी समाजको आर्थिक अराजकता नै खराबीको वास्तविक मुहान हो । हामी उत्पादकहरूको ठुलो जमात देख्छौँ । जमातका सदस्यहरूले सबैको साझा श्रमको फलबाट एकअर्कालाई वञ्चित गर्न लगातार कम्मर कसेको देख्छौँ । बल प्रयोग नगरी कानुनी नियमसामु टाउको नघुमा यस्तो खोसाखोस गरिन्छ । यस अर्थमा धेरैजसो उत्पादनका साधनहरू व्यक्तिका निजी सम्पत्तिहरू हुन् भनी बुझ्नु महत्वपूर्ण छ । कानुनले पनि तिनलाई निजी बनाएको हुनसक्छ । उत्पादनका साधनहरू भनेर समस्त उत्पादक शक्ति बुझौँ । उपभोग्य र थप अत्यावश्यक मालसामान उत्पादन गर्न उत्पादक शक्ति चाहिन्छ ।
सजिलोको लागि अबको छलफलमा मैले उत्पादनका साधनहरूमा मालिकको रूपमा हिस्सेदारी नभएका सबैलाई ‘मजदुर’ भन्ने छु । चलनचल्तीमा मजदुर भनेर अर्कै बुझिन्छ । उत्पादनका साधनहरूको मालिकले मजदुरको श्रम शक्ति किन्न सक्छ । उत्पादनका साधनहरूको प्रयोग गरेर मजदुरले नयाँ मालसामान उत्पादन गर्छ । त्यो सामान पुँजीपतिको सम्पत्ति बन्छ । यो प्रक्रियाको गाँठी कुरा मजदुरले जे उत्पादन गर्छ र ज्यालामा जे पाउँछ, त्यसको सम्बन्ध हो । दुवैलाई वास्तविक मूल्यबाट नापिन्छ । श्रम सम्झौता ‘खुला’ हुन्छ भनिन्छ । तर, मजदुरले जे पाउँछ त्यो उसले उत्पादन गरेको सामानको वास्तविक मूल्य हेरेर दिइन्न । बरु उसको न्यूनतम आवश्यकता हेरेर दिइन्छ । रोजगारीका लागि प्रतिस्पर्धा गर्ने मजदुरहरूको सङ्ख्याअनुसार पुँजीपतिहरूलाई चाहिने श्रम शक्ति हेरेर दिइन्छ । सिद्धान्तमै पनि मजदुरलाई उसले उत्पादन गरेको मूल्यअनुसार ज्याला दिइन्न भनी बुझ्नु महत्वपूर्ण छ ।
निजी पुँजी थोरै मान्छेको हातमा जम्मा हुन खोज्छ । यसको एउटा कारण पुँजीपतिहरूबिचको प्रतिस्पर्धा हो । अर्को, प्राविधिक विकास र बढ्दो श्रमविभाजनले ससाना उत्पादकहरूको घाँटी रेट्दै ठुला उत्पादकहरू जन्माउन टेवा दिन्छ । यसले गर्दा निजी पुँजीको अल्पतन्त्र जन्मिन्छ । यो निकै शक्तिशाली हुन्छ । यसलाई प्रजातान्त्रिक तवरले सङ्गठित गरिएको राजनीतिक समाजले समेत नियन्त्रण गर्नसक्दैन । यो सत्य हो किनभने संसदीय निकायका सदस्यहरू राजनीतिक दलले छनोट गर्छन् । राजनीतिक दलहरूलाई निजी पुँजीका मालिक वा पुँजीपतिहरूले खर्च दिन्छन् वा अन्य तरिकाले प्रभावित गर्छन् । पुँजीपतिहरूले यथार्थमा मतदातालाई संसद्बाट अलग पार्छन् । फलस्वरूप व्यवहारमा जनप्रतिनिधिहरूले जनताको विपन्न तप्काको हकहितको पुग्दो रक्षा गर्दैनन् । त्यसमाथि अहिलेको परिस्थितिमा निजी पुँजीका मालिकहरूले सूचनाका मुख्य स्रोतहरूमा अनिवार्यरूपमा प्रत्यक्ष वा परोक्ष नियन्त्रण गर्छन् । पत्रपत्रिका, रेडियो, शिक्षा आदि यस्ता स्रोत हुन् । त्यसैले एक्लो नागरिकले वस्तुगत निष्कर्ष निकाल्न र आफ्नो राजनीतिक हकको बुद्धिमानी प्रयोग गर्न अति नै गा¥होे हुन्छ । धेरै बेला त असम्भव हुन्छ ।
अहिलेको अर्थतन्त्र पुँजीको निजी स्वामित्वमा आधारित छ । यसका दुइटा मुख्य सिद्धान्त छन् । पहिलो, उत्पादनका साधनहरू (पुँजी) व्यक्तिको सम्पत्ति हुन्छ र मालिकले त्यसलाई आफूखुसी उडाउँछन् । दोस्रो, श्रम सम्झौता खुला हुन्छ । यस अर्थमा निश्चय नै चोखो पुँजीवादी समाज भन्ने हुँदैन । लामो र तीतो राजनीतिक सङ्घर्ष गरेर मजदुरहरूले केही कामहरूमा ‘खुला श्रम सम्झौता’ को स्वरूप सुधार्न सफल भएका छन् । यो ध्यान दिनुपर्ने कुरा हो । तर, समग्र तस्बिर हेर्ने हो भने आजको अर्थतन्त्र ‘चोखो’ पुँजीवादभन्दा त्यति धेरै फरक छैन ।
उत्पादन नाफाको लागि गरिन्छ, उपभोगका लागि होइन । काम गर्न चाहने र योग्य सबैले सधैँ रोजगारी पाउने बन्दोबस्त हुन्न । ‘बेरोजगारहरूको सेना’ सधैँ कायम राखिन्छ । रोजगारी गुम्ने डरले मजदुर निरन्तर कामिरहन्छ । बेरोजगार र थोरै कमाउने कामदारहरूले गर्दा बजारले धेरै नाफा दिन्न । त्यसैले, उपभोग्य सामानको उत्पादन सीमित हुन्छ र यसले धेरै पिरव्यथा ल्याउँछ । प्रविधिको उन्नतिले सबैको कामको बोझ घटाउनुको साटो बेलाबेला बेरोजगारहरूको सङ्ख्या थप्दै जान्छ । नाफाको भोक र पुँजीपतिहरूबिचको हानथापले गर्दा पुँजीको सञ्चय र उपयोग अस्थिर हुँदै जान्छ । यसले झन्झन् चर्का सङ्कटहरू ल्याउँछ । असीमित हानथापले धेरै श्रम खेर जान्छ । व्यक्तिको सामाजिक चेतना खस्किँदै जान्छ, लङ्गडो बन्छ ।
व्यक्तिको स्खलनलाई.. म पुँजीवादको सबैभन्दा खराब दुष्टता मान्छु । हाम्रो समग्र शिक्षा व्यवस्था यो दुष्टताबाट पीडित छ । विद्यार्थीको मनमा नचाहिँदो प्रतिस्पर्धाको भावना भरिन्छ । भावी करियर वा पेसाको तयारीको रूपमा उसलाई सफलताको पुजारी बन्ने तालिम दिइन्छ । यो सफलता भनेको जे चीज पनि आफ्नो बनाउने तलतल हो ।
यी चरम दुष्टताहरू हटाउने एउटै उपाय छ भन्ने विचारमा म सहमत छु । यसको लागि समाजवादी अर्थतन्त्र स्थापना गर्नुपर्छ । साथमा सामाजिक भलाइप्रति समर्पित शिक्षा व्यवस्था लागु गर्नुपर्छ । यस्तो अर्थ व्यवस्थामा उत्पादनका साधनहरूको मालिक समाज आफै हुन्छ र योजनाबद्ध ढङ्गले तिनको उपयोग गरिन्छ । योजनाबद्ध अर्थतन्त्रले समाजको आवश्यकता हेरेर उत्पादन गर्छ । त्यसले काम गर्न योग्य सबैबिच कामको बाँडफाँट गर्नेछ । प्रत्येक छोरामान्छे, छोरीमान्छे र बालबालिकाको जीवन सुनिश्चित गर्नेछ । शिक्षाले व्यक्तिका भित्री खुबीहरूलाई मलजल गर्नेछ र उसको मनमा अरू मानिसप्रति जिम्मेवारीको भावना फुलाउने प्रयास गर्नेछ । आजको हाम्रो समाजमा यसको सट्टा शक्ति र सफलताको पूजा आराधना गर्न सिकाइन्छ ।
योजनाबद्ध अर्थतन्त्र नै समाजवाद होइन भनी सम्झिराख्न आवश्यक छ । योजनाबद्ध विकासले मात्र व्यक्तिलाई पूर्ण दास बनाउन सक्छ । समाजवाद हासिल गर्नका लागि केही जटिल सामाजिक र राजनीतिक समस्याहरू हल गर्नुपर्छ । राजनीतिक र आर्थिक शक्ति एक ठाउँमा केन्द्रित हुँदै जाँदा कर्मचारीतन्त्रलाई सर्वशक्तिमान र अहङ्कारी बन्नबाट कसरी रोक्न सकिएला ? व्यक्तिका हकअधिकार कसरी जोगाउने र कर्मचारीतन्त्रको शक्ति सन्तुलनमा राख्ने प्रजातान्त्रिक हक कसरी सुनिश्चित गर्ने ?
सङ्क्रमणको हाम्रो युगमा समाजवादका लक्ष्य र समस्याहरूबारे प्रस्ट हुनुले ठुलो महत्व राख्छ । अहिलेको स्थितिमा यी समस्याहरूबारे खुला र निर्बाध छलफल शक्तिशाली निषेधविरुद्ध आएको छ । यो पत्रिकाको स्थापनालाई म एउटा महत्वपूर्ण जनसेवा मान्छु ।
– मन्थली रिभ्यु, न्यु योर्क, मे, १९४९
सङ्क्षेपीकरण – सुरेश