काठमाडौँ, २५ असोज । नेपालका समाचार पत्रहरूमा हरेक दिन कर छली, सहकारी संस्थाको ठगी र कर्मचारीहरूको भ्रष्टाचारले ठाउँ लिएको पाइन्छ । तर, प्रधानमन्त्री र मन्त्रीहरू सुन्छन् उपचार नगर्दा नै घटनाहरू बढ्दै छन् ।
जान्ने बुझ्नेहरू भन्छन्, “नाइके खोटो भयो भने जमातै खोटो हुन्छ ।” प्रधानमन्त्रीहरू देश विदेशमा पनि फरक फरकका छन् । कुनै खाली कुरा गर्ने, आश्वासन दिने र आफ्नै गफाडीहरूकै घेरामा हुने र कुनै राति १२ बजेसम्म खाँदै पिउँदै गर्ने । सिंहदरबार त १० बजेदेखि ४ बजेसम्म पो हो त !
केही मन्त्रीहरू आफ्ना मानिसहरू खाली ठाउँमा भर्तीमा जोड दिन्छन्, योग्य, अयोग्य, खप्पिस र कर्तव्यनिष्ठता ‘आदर्श’ मात्र हो भन्ठान्छन् ।
केही नातागोता र कार्यकर्ता ‘बिचौलिया होइन’ दलाल हो दलाल विदेशी शत्रुका ! निर्वाचनमा पैसा बाँड्ने र उम्मेदवार बनाउने उनीहरू नै हुन्छन् ।
जनप्रतिनिधिहरूकै खोट र बिरामकै कारण उपसचिव र सो सरह, शाखा अधिकृत र सो सरह, नायव सुब्बा र सो सरह तथा मतियार बिचौलिया धेरै छन् । नपत्याए सूची हेरौँ !
‘कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना’ र ‘स्थानीय तहमा राजस्व छली अत्यधिक’ शीर्षकमा ‘राजस्व हिनामिनामा संलग्न’ को सूची निम्न छन् :
जनप्रतिनिधि – १४
उपसचिव र सो सरह – ११
शाखा अधिकृत वा सो सरह – २३
नायव सुब्बा र सो सरह – ३
मतियार बिचौलिया – ६५
(नेपाल समाचारपत्र, २३ असोज, २०८१)
मतियार वा बिचौलिया शासक पार्टीका कार्यकर्ता, निर्वाचनका सहयोगी र नातागोता गुप्तरूपमा विरोधी दलका कार्यकर्ता । यसरी समाजमा प्रजातन्त्र र गणतन्त्रको हुर्मत लुटिँदै छ । राष्ट्रपति र प्रधानमन्त्रीलाई साक्षी राखेर कारबाही गर्ने आशा गर्छन् जनता !
दसैँ के लुट्ने अवसर हो ?
हो, दसैँमा दुर्गा मातालाई साछी राखेरै २१ औँ शताब्दीको सुकिला र बुद्धिजीवी हवाई सेवाका व्यवसायी वा लक्ष्मी माताका भक्तहरूले देशको सडक भत्ताभुङ्ग भएको बेला लुटको हिसाबले हवाईजहाजको टिकटको दुई गुणा÷चार गुणा मूल्य बढाउँदै छन् । धन्य ! ‘सफल’ व्यवसायीहरूको सेवा र उपहार नेपाली जनतालाई ! यसलाई लुट नसम्झे के सम्झने !?
समाचारको शीर्षकमा भनिएको छ, ‘बजार अनुगमनमा तीव्रता’ र ‘एउटै सामानको एकै दिनमा तीनपटक मूल्य परिवर्तन ।’
मालसामान लुकाएर वा जबरजस्ती चलिरहेको बजार मूल्त्न्दा बढी लिनुलाई नै ‘कालो बजार’ भनिन्छ । त्यस्ता व्यापारी, पसले र व्यवसायीलाई ‘काला व्यापारी’ भनिन्छ ।
‘दसैँको बेला, मुग्लान जाने मेला’
२२ असोज, २०८१ को ‘कान्तिपुर’ दैनिकको उपर्युक्त शीर्षकले उल्टिँदै गएको देश र जनताको बिजोग, तल झर्दै गएको देशको अर्थतन्त्र र अर्थमन्त्री तथा सरकारी आर्थिक विशेषज्ञहरूको बुद्धिको टाटपल्टाइको उदाङ्गो भएको देखाउँछ ।
देश विदेशमा बसेका हर नेपाली दसैँमा घर या देशमा फर्कने गर्छन् । तर, २२ असोजको ‘कान्तिपुर’ दैनिकले लेख्यो, नेपालीहरू लाम लागेर भारत पस्दै छन् कामको निम्ति !
खोइ नेपालका दिग्गज पूर्व र वर्तमान अर्थमन्त्रीहरू रामशरण महत र प्रकाशशरण महत !
विदेशमा पढ्दैमा कुनै दलको अर्थमन्त्रीहरूको गिद्दी ठुलो हुन्छ र देशलाई आर्थिकरूपले सबल बनाउँछ भन्ने सत्य होइन ।
विदेशमा पढ्दैमा अर्थतन्त्रको राम्रो जानकारी हुन्छ भन्ने हो भने बेलायती अर्थशास्त्रका पिता एडम स्मिथ र उनको देशको अर्थतन्त्र किन तल झर्दै गयो ? विश्वको अब्बल सम्झिएको संरा अमेरिकाको अर्थतन्त्र किन तल झर्दै छ ? आ–आफ्नो अर्थतन्त्र सुधार्न उनीहरू युक्रेन र इजरायल–प्यालेस्टिनमा युद्धको व्यापार गर्दै छन् । बुद्धिजीवीहरूको सम्झदारीलाई पनि आधुनिक बनाऔँ ।