सहकारी संस्थाको सिद्धान्त स्थानीय जनता सदस्य भएर कृषि, घरेलु तथा साना उद्योगलाई जोड दिने हो । बढी ब्याज दिने लोभ देखाएर सर्वसाधारण जनताको बचत ठगी गरेका रकम सञ्चालक र सम्बन्धितहरूको घैघरानाबाट सहकारी पीडितहरूको बचत असुलउपर गरिनुपर्दछ ।
वैदेशिक रोजगारीमा पठाइएका र बिचल्लीमा परेका पीडितहरूलाई सम्बन्धित म्यानपावर कम्पनीहरूबाट क्षतिपूर्ति दिलाइनुपर्दछ । युद्धग्रस्त इजरायलमा पठाइएका विचल्लीमा परेका नेपालीहरूलाई पनि सम्बन्धित म्यानपावर कम्पनीहरूबाटै उद्धार गराइनुपर्दछ ।
देशको सन्तुलित विकास नगरी जिल्ला–जिल्लाबाट काठमाडौँ उपत्यकामा बसाइँसराइ गराइएको कारण पहिरो र डुबान बढेको र जनधनको क्षति बढेको हो । सडक, पुल, भवन र अन्य संरचना कमजोर गरी बनाउने सम्बन्धित इन्जिनियर र ठेकेदारहरूलाई पनि जवाफदेही बनाइनुपर्छ ।
भूर्गशास्त्रीका अनुसार काठमाडौँ उपत्यकाको माटो अन्यत्रबाट ल्याएर थुपारिएको जस्तो कमजोर छ, खँदिलो र बलियो छैन । ढुङ्गा, गिट्टी, बालुवा, सिमेन्ट, डन्डी दिनको २५ हजारभन्दा बढी टिपर काठमाडौँ उपत्यकामा भित्याएर बनिरहेको सडक, पुल, भवनलगायत संरचनाको भार यहाँको जमिनले थेग्न सक्ने छैन । कालान्तरमा यहाँको जमिन भासिएर उपत्यकावासीहरू एक चिहान हुने सम्भावना छ ।
राजनीतिक परिवर्तन हुन एक ऐतिहासिक युग लाग्छ । बेलायती र फ्रान्सेली पुँजीवादी क्रान्ति सयौँ वर्ष लागेको थियो । बेलायती उपनिवेशवादविरुद्धको अमेरिकी स्वतन्त्रता आन्दोलन पनि दुईसय वर्ष लागेको थियो । बेलायती उपनिवेशविरुद्ध भारतको स्वतन्त्रता आन्दोलन पनि दुई सय वर्ष लम्बिएको थियो ।
काठमाडौँ उपत्यकामा पृथ्वीनारायण शाहको आक्रमण भएयता नेपालको विकास अवरुद्धजस्तै भयो । १०४ वर्षको राणा शासन नेपालको लागि अन्धकार युग थियो । नेपालमा त्यतिबेलै विद्यालय र विश्वविद्यालय सुरु गरिएको भए नेपाली युवा अहिले वैदेशिक रोजगारीको नाममा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न जानुपर्ने थिएन ।
सहकारी संस्थाले सदस्यका छोराछोरीलाई खेलकुद, साहित्य, सङ्गीत, नृत्य, चित्रकला आदि प्रशिक्षण दिएर सुसंस्कृत बनाउनु उपयुुक्त हुनेछ । नयाँ पुस्तालाई विज्ञान, गणित, नेपाली र अङ्ग्रेजी भाषामा पोख्त बनाउन सहकारी संस्थाले शिक्षकहरूको व्यवस्था गर्नु आवश्यक छ ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको निःस्वार्थपूर्वक सेवा गर्नुभएको चित्त नबुझेकाहरूले उहाँलाई भारत प्रवासमा गोली हानेर हत्या गर्ने दुष्प्रयास गरे भने देशभित्र झूटा ज्यान मुद्दा लगाएर भक्तपुर काण्ड रचेर फासीको मागसमेत गरेका थिए । सिंहदरबार सञ्चालन गर्न गएका सबैलाई साम्राज्यवादी र विस्तारवादीहरूले कठपुतली बनाउँदै छन् ।
सहकारीका सदस्यहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारीमा राख्नु जरुरी छ । अमेरिकी साम्राज्यवादले इजरायली फासीवादलाई हतियार पठाएर प्यालेस्टिनी भूमि कब्जा र जातीय सफाया गराउँदै छ भने युक्रेनलाई रुसविरुद्ध लडाउँदै छ । संसारका न्यायप्रेमी जनताले युद्धको विरोध गर्दै छन् । नेपाली जनताले पनि युद्धको विरोध गर्नु जरुरी छ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद प्रेम सुवालले २०८१ असोज १९ गते झीगु ख्वप साकोसको सत्रौँ साधारणसभामा राख्नुभएको मन्तव्यको सार–सं)
पच्चीस खर्ब बढी रुपैयाँ ऋण : शासकहरूको विकास !
अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति जटिल छ । इजरायलले प्यालेस्टिनीहरूको भूमि कब्जा गर्न जातीय सफाया गर्दै छ । इजरायली आक्रमणबाट दसौँ हजार प्यालेस्टिनीहरूको मृत्यु भयो भने लाखौँ घाइते र हजारौँको सङ्ख्यामा बेपत्ता छन् । २३ लाख जनसङ्ख्या भएको प्यालेस्टिनीहरूको गाजा क्षेत्रको आधाभन्दा बढी घर ध्वस्त पारियो भने ८० प्रतिशत व्यापारिक भवनहरू बमबारीबाट भत्किए । ८५ प्रतिशत विद्यालय भवन, ३६ मध्ये १७ अस्पताल, ६५ प्रतिशत सडक सञ्जाल र ६५ प्रतिशत कृषि भूमि इजरायली बमबारीबाट क्षति भयो ।
इजरायली आक्रमणबाट मारिएकामध्ये आधा प्यालेस्टिनी महिला र बालबालिका छन् भने १२५ जना पत्रकारलगायत हजारौँको सङ्ख्यामा डाक्टर, नर्स, इन्जिनियर, लेखक, खेलाडी, कलाकारहरू मारिए । इजरायलले केही दिनअघिदेखि लेबनानविरुद्ध पनि लडाइँ सुरु ग¥यो । इरानले इजरायली आक्रमणको प्रतिरोध गर्दै छ । यसरी संसारमा तेस्रो विश्व युद्ध हुने त होइन भन्ने आशङ्का बढ्दो छ ।
अमेरिकी सरकारले संसारका ९०२ ठाउँमा सेना र हतियार तैनाथ गरेको छ । अमेरिकी नीति र कानुन पालना गर्नुपर्ने एमसीसी सम्झौतालाई नेपाल सरकारले संसद्को बहुमतबाट पारित गराएपछि नेपाल पनि युद्धको बाछिटामा पर्ने सम्भावना बढ्यो ।
नेपाली युवालाई ‘भाडाको सिपाही’ बनाउने गोर्खा भर्ती सम्झौता र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नु जरुरी छ ।
राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायत भ्रमणबाट फिर्तापछि अङ्गे्रजभक्त भएका थिए । यसकारण, माक्र्सले जङ्गबहादुर राणालाई ‘बेलायतको पाल्तु कुकुर’ भन्नुभएको थियो ।
पृथ्वीनारायण शाहले बेलायती भारत सरकारसँग बन्दुक सहयोग लिएर काठमाडौँ उपत्यकामा आक्रमण गरेका थिए भने आफ्नै मितबुबालाई विश्वासघात गरी भक्तपुर कब्जा गरेका थिए । पृथ्वीनारायण शाहको आक्रमणयता काठमाडौँ उपत्यकामा उल्लेखनीय विकास भएन बरु विनास भयो । काठमाडौँ, ललितपुर र भक्तपुरको वास्तुकला, दरबार क्षेत्र लिच्छवी र मल्लकालीन विकास हो । अहिले सरकारमा गएकाहरू देश विकास भएको दाबी गर्छन् तर देशलाई २५ खर्ब ऋणमा डुबाएर केही सडक र पुल बनाउनु कसरी विकास हुन सक्छ ? यसैलाई भनिन्छ–‘आफ्नो खुट्टाले नहिँडी अर्काको लौरो टेकी हिँड्नु !’
चाडपर्वमा स्वास्थ्यलाई ध्यान दिई खानु जरुरी छ । चाडपर्वको भोजपछि बिरामीको सङ्ख्या बढ्ने अस्पतालहरूको अभिलेख छ । धुमपान, मद्यपानबाट टाढा रहनु स्वास्थ्यको लागि हितकर हुनेछ । गुणस्तरहीन तयारी पत्रु खानेकुरा र पेय पदार्थ खानुभन्दा घरमा बनाइएको खानु स्वस्थ्यकर हुनेछ ।
(नेपाल मजदुर किसान पार्टीका सचिव एवम सांसद प्रेम सुवालले २०८१ असोज १७ गते ख्वप बचत तथा ऋण सहकारी संस्था लि. अतिरिक्त क्रियाकलाप उपसमितिको आयोजनामा सम्पन्न कसिमला पाँय प्रतियोगिता समापन कार्यक्रममा राख्नुभएको मन्तव्यको सार–सं)