रणजित मल्लका विवाहिता रानी तथा अनेक उपरानीहरूका सन्तति
भक्तपुरमा राजा रणजित मल्लको अन्त्यका साथ भक्तपुर राज्यको समेत पतन हुनुमा उनका अनेकौँ मठ्या छोराहरूको चर्तिकला जिम्मेदार रहेका छन् । उनको एकमात्र उत्तराधिकार युवराज वीरनरसिंह मल्ललाई मठ्या कुमारहरूका जालझेलले कलिलै उमेरमा मृत्युवरण गर्न बाध्य पारिएको कथा कथन भक्तपुरमा प्रसिद्ध छ जससित पृथ्वीनारायणको बाल्यकालमै मित लगाइएको थियो भक्तपुरमा नै ।
त्यस्ता अनेक उपरानीहरूबाट रणजित मल्लका मठ्या छोराहरू धेरै भए । तिनमा ७ जना पछिसम्म जीवित रहेकाले तिनीहरूलाई बस्न एक एक वहालै बनाइदिका थिए राजा रणजित मल्लले । त्यसैले तिनीहरू ७ वहाले भनेर भक्तपुरमा चर्चित भए । उनीहरूलाई बनाइदिएको ७ वहाल भक्तपुर दरबारदेखि पश्चिम दक्षिण खौमाटोलकै परिसरमा पाइन्छन् । भक्तपुरमा गोर्खाली हमला भएताका रणजित मल्लका मठ्या छोराहरूमा धनजुजु, डाटिम्ह जुजु (अच्युत सिंह) र मेल डाटी गरी तीन जनाको चर्चा गरूडनारायणले गरेका छन् आफ्नो संस्मरणमा । तिनमा पनि डाटिम्ह जुजुको त विशेष ढङ्गले बयान गरिएको पाइन्छ । रणजित मल्ल नेपाल छाडेर काशीवासका लागि प्रस्थान गर्न लाग्दा आफ्ना बाबुको बिदाइ दर्शन गर्न राजकुमार अच्युतसिंह सा¥है बिरामी हालतमा नेलसहित कान्तिपुरको वसन्तपुर दरबारमा आइपुग्दा यहीँ उनको मृत्यु भएको घटना भाषा वंशावलीमा पनि परेको छ । यही घटनालाई गरूडनारायणले ‘डाटिम्ह जुजु’ भनेर भक्तपुरमा प्रचलित नामले अच्युत सिंह मल्लको मृत्यु भएको घटनालाई आफ्नो संस्मरणको आखिरीमा बडो मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । यसको पनि खास कारण देखापर्छ । यही घटना उनलाई बुढा राजा रणजित मल्लका साथ काशी जान रोक लगाउने खास कारण बन्यो । यसरी बन्दी राजकुमार अच्युत सिंह बिरामी हालतमा काठमाडौँसम्म आएकै बेला उनको रोग सा¥है भएर कङ्केश्वरी विष्णुमतीको किनारामा लैजाँदा अर्धरात्रिमै उनको प्राण छुट्यो । उनको दाहसंस्कार विष्णुमती पारि विजेश्वरी जाने बाटो माथिको मसानमा भयो । उनकी रानीले सती जाने इच्छा व्यक्त गरेकीले सतीलाई लिन पनि गरूडनारायण नै दुईजना सिपाही लिएर भक्तपुर पुगेका थिए । त्यहाँ दरबारको तालसी चोकमा नजरबन्दमा राखिएकी ती सतीलाई भोलिपल्ट काठमाडौँ ल्याएर उक्त मसानमा सती पोल्ने काम गर्दा गर्दै त्यहाँ मसानको उग्र वातावरणले गर्दा गरूडनारायण अकस्मात् बेहोस भए । उनलाई दुईजनाले बोकेर वसन्तपुर दरबार रणजित मल्ल छेउ पु¥याइदिए ।
अब बुढा राजा रणजित मल्लले गरूडनारायण गोँगललाई आशीर्वादसहित बिदाइ गर्दा बोलेका भावुक वचन उनले आफ्नो संस्मरणमा यसरी टिपेका छन्, “ये गोगोञ्चा । ये बाबु, तँ यस्तो रोगी ऐल्हे तँ घर जाऊ । तैँले मेरो सेवाटहल ढेरै गरिस् । बेलामा भएन क्या गरौँ । अबेलामा दुःखमात्र ढेरै पाइस् । तँलाई लैजाउँ भन्या तेस्तो रोगी । तेरो घरमा बाबु बराजुहरू छँदैछ । जाऊ, घर जाऊ ।” भनी ३ ।४ वेर आग्या हुनु भई, पाषी १ को डोलागरी दुईजना वेगार समाती ल्याई बोकाई भादगाउँ लैजाँदा (म) गरूडनारायणले थाहा सुद्धि पनि पाइन ।”
भक्तपुर युद्धपश्चात् रणजित मल्लका मठ्या छोराहरू सबै बन्दीका रूपमा नेल ठोकेर राखिएका थिए । तिनमा धनजुजुको उल्लेख गरूडनारायणले आफ्नो संस्मरणमा पटकपटक गरेका छन् । बुढा राजा रणजित मल्लको तर्फबाट औपचारिक आत्मसमर्पण गर्न जानेमा अगुवा उनै देखिन्छन् । राजकुमार धनसिंह मल्ललाई नै उनले ‘धनजुजु’ भने दरबारमा प्रचलित नामले चर्चा गरेको प्रसङ्गबाट बुझ्न सकिन्छ । त्यस्तै, अर्को एकजना राजकुमारको नाम पनि उल्लेख गरेका छन् जसको प्रचलित नाम ‘मेल डाटी’ रहेछ । उनको खास नाम के हो खुट्याउन सकिएको छैन । मानक नेपालभाषामा ‘डाटी’ भनेको माहिलो हुन्छ । रणजित मल्लका धेरै रानीहरू हुनाले एकातर्फको माहिलो कुमार ‘डाटिम्ह जुजु’ भनेर चर्चित भए भने अर्को रानीतर्फ माहिलो हुनेलाई यहाँ ‘मेल डाटि’ भनेर प्रचलित सम्बोधन गरेको होला ।
बुढा राजा रणजित मल्ललाई काशीवास जाने बखतमा एक छोराको आशौच वार्नु पर्यो । त्यसैले ने.सं. ८९० माघे सङ्क्रान्तिको अघिल्लो दिन (पौष मसान्त) देखि भक्तपुर छाडेर आउँदा करीब एक महिना जति उनी काठमाडौँमा वसन्तपुर दरबारमै बसेर लाग्दो फागुनमा मात्र यहाँबाट काशीतर्फ प्रस्थान गर्न सकेको कुरा बुझ्न सकिन्छ । त्यसपछि, ज्येष्ठ शुक्ल १०, दशहराको दिन काशी मणिकर्णिका घाटको ब्रह्मनालमा उनी मुक्त भएको कुरा गरूडनारायण गोँगलले लेखेका छन् । यति कुरा उनले पनि पछिबाट सुनेर लेखेका हुन्, आफैले देखेर होइन ।
परन्तु, रणजित मल्लको देहान्त समय गरूडनारायण गोँगलले अलिक भ्रम पर्ने गरी दिएका छन् । उनले दिएको तिथि ज्येष्ठ शुक्ल दशमी दशहराको दिन मिल्दो नै देखिन्छ तर उनले साल वर्ष नदिएकाले यसमा उनलाई पनि याद रहेन कि जस्तो छ । भाषा वंशावलीमा रणजित मल्ल काशीमा देहान्त हुँदाको मिति ने.सं. ८९१ ज्येष्ठ शुक्ल दशहरा भनेर दिइएको छ । यही साल नै पूर्वापर विचार गर्दा ठीक लाग्छ ।
रणजित मल्ल काशीमा जाँदा साथमा कान्छी रानी पनि लगेका थिए । उहाँ पुगेर ‘एउटी छोरी जन्मेर गङ्गालाभ भइन्, फेरि २० दिनमा रानी गङ्गालाभ भइन्’ भनेर भाषा वंशावलीमा दिएकाले यतिञ्जेलको समय अर्को वर्ष लागेर ने.स. ८९१ सालको गर्मीमा (सं १८२८) बुढा राजा रणजित मल्लको मृत्यु भएको कुरामा सन्देह रहँदैन ।
अन्त्यमा, गरूडनारायण गोँगलले आफ्नो यस संस्मरणमा एउटा अत्यन्तै महत्व राख्ने तात्कालिक कुरा छुटाएका छन् अथवा छुटेको छ । त्यो हो कुमार अवधूत सिंहको प्रकरण ।
भाषा वंशावलीमा रणजित मल्लको काशीवासमा साथै जाने उनकी एउटी रानी र अवधूत सिंहको चर्चा पाइन्छ । रानी रणजित मल्लको अन्तिम अवस्थामा भक्तपुरदेखि साथ लिएकी कान्छी रानी हुन् भनेर गरूडनारायणको संस्मरणबाट ज्ञात हुन्छ । अवधूत सिंह रणजित मल्लको मठ्या कान्छा छोरा हुन् । यिनी आफ्नो बाबुको साथ लागेर काशी गएको कुरा गरूडनारायण गोँगलले चर्चै गरेका छैनन् तर यो कुरा उनलाई अवश्य नै थाहा थियो । उनले यो कुरा जानाजान छुटाएको कुरा यहाँ उजागर गर्नुपर्ने हुन्छ ।
काशीमा बाबुको देहान्तपछि अवधूत सिंह नेपालमा गोर्खाली सत्ताको विरूद्धमा लागेकाले उनलाई वागी घोषित गरियो । प्रस्तुत संस्मरण लेख्तासम्म भक्तपुर राज्य पतन भएको २० वर्ष व्यतीत भएको र काठमाडौँमा नायबबहादुर शाहले नेपालको शासन सम्हालिराखेका थिए । त्यतिखेर, अवधूत सिंहलाई राजनीतिक शरण दिएर सहायता गर्ने पर्वत राज्यका राजा कीर्तिबम मल्ल पनि बहादुर शाहको हातबाट परास्त भइसकेका थिए । तसर्थ, बागी घोषित भएर असफल जीवन भोगिरहेका अवधूत सिंहका बारेमा मौन रहनु संस्मरणकार गोँगलको राजनीतिक बाध्यता अनुमान हुन्छ । यिनी भक्तपुरे राजकुमार अवधूत सिंहको राजनीतिक चरित्र र भूमिकाबारे बेग्लै छलफल गर्नुपर्ने त छँदै छ ।
भाषा वंशावलीमा यस संस्मरणको प्रभाव
भाषा वंशावलीको नामले नेपालको मध्यकालिक अर्थात् पछिल्ला मल्लकालिक इतिहासका कण्डिकाहरू बढ्ता विस्तारका साथ लेखिएका छन् । तिनमा भक्तपुर प्रकरण लेख्ता गरूडनारायण गोँगलको संस्मरणले प्रमुख भूमिका निर्वाह गरेको पाइन्छ । उनले आफ्नो आँखा देखालो संस्मरण कहिलेदेखि इतिहासका जिज्ञासुहरूलाई सुनाउँदै गरे होलान्, त्यसको प्रभाव पछिल्ला वंशावलीकारहरूमा पर्न गएको ऐतिहासिक निक्र्यौल गर्न सकिन्छ ।
भाषा वंशावलीहरूमा भक्तपुरमाथि पृथ्वीनारायण शाहको हमलाको शैलीगत विस्तार हेर्दा त्यसमा गरूडनारायणको प्रभाव देखिने गरी घटनाक्रम पाइन्छ । तर, तिनमा गरूडनारायणले प्रस्तुत संस्मरणमा दिएजस्ता तथ्यपरक विवरणको भने नितान्त अभाव देखापर्छ । त्यसको लागि त यही चश्मदीद बयानकै अनुसरण गर्नुपर्ने छ ।
यिनै गरूडनारायण गोँगलका छोरा सुब्बा हृदयरत्न नेपालको जङ्गबहादुर कालिक प्रशासनमा अत्यन्त प्रभावशाली पुरूष देखिनाले यिनैमार्फत यस संस्मरणको सारभूत बयान प्रचारित भएको कुरामा विश्वास गर्न सकिने अवस्था पनि छ ।
हुन त भाषा वंशावली सबभन्दा पहिले कसले सम्पादन गरेका हुन्, त्यसको आधिकारिक अभिलेखन अझसम्म भेटिएको छैन । इतिहासकार बाबुराम आचार्यले यसको प्रवर्तक काठमाडौँ मन्जेश्वरी निवासी बुद्धिमान सिंहलाई मानेका छन् । तथापि, काठमाडौँ उपत्यकामा प्रभावशाली दर्जावालका घरैपिच्छे केही न केही फरक ढाँचामा पाइने यस्ता वंशावलीहरूको सङ्ग्रह गरी तिनको आधारभूत तथ्य छानबिन गर्ने कार्य राष्ट्रियस्तरमा नहुनाले अझसम्म भाषावंशावलीको ऐतिहासिकीकरण (Historicization) गर्ने पक्ष यहाँ अधुरै रहेको छ । कुनै कुनै विदेशी अध्येताले यसतर्फ जिज्ञासा राखे तापनि यस्ता कुरा तिनका बुत्ताभित्र पर्नै सक्तैन तर जहाँसम्म भाषा वंशावलीमा भक्तपुर खण्डको अन्तिम प्रकरणका लागि चर्चित गरूडनारायण गोँगलको संस्मरणले यसतर्फ उदाहरणीय भूमिका निर्वाह गरेको मान्न सकिन्छ ।
भक्तपुर नगर निवेशमा सघाउ
मध्यकालको आरम्भदेखि नै भक्तपुर एउटा सुदृढ गढको रूपमा विस्तार तथा विकसित हुँदै आएको नगर हो । यसका चौतर्फी अग्ला पर्खालद्वारा घेरिएर बिचबिचमा अनेकौँ प्रवेशद्वार – लंक्वाठहरू थिए । यस्ता ढोकाहरूमध्ये पूर्व र पश्चिमका दुइटा खास ढोकाहरूको प्रस्ट चर्चा गरूडनारायण गोँगलको यस संस्मरणमा पाइन्छ ।
भक्तपुर नगरको मूलढोका यसको पूर्वतर्फ रहेको सङ्केत यसले दिएको छ । यसै मूल ढोकाबाट गोर्खाली सेनालाई राति प्रवेश गर्न स्थानीय एक पक्षले मद्दत गरेको कुरा संस्मरणमा उल्लेख छ । त्यसपछि खौमा टोलस्थित इटाछेँ ढोका, पश्चिमतर्फ तिनै गोर्खाली सेनाले खोलेर पृथ्वीनारायण शाह र सेनापति शूरप्रताप शाहलाई नगर प्रवेश गराएको घटना पनि यहाँ चर्चित पाइन्छ । त्यसका साथै भक्तपुर राजकुलसित अति नजिक रहेको इन्द्रायणी ढोकाको प्रसङ्ग पनि सङ्घर्षको क्रममा नै बुझ्न सकिन्छ । तिनका अतिरिक्त एउटा तेखाचो ढोकाको चर्चा गरिएको छ । जयप्रकाश मल्लको सन्दर्भ दिएर जसलाई पछि स्वरूप बदलेर अहिले भार्वाचो ढोका उभिएको छ । यसरी भक्तपुर नगर निवेशका आठ ओटा ढोकाहरूमध्ये चार ओटाको चर्चा गरूडनारायण गोँगलले यहाँ गरेका छन् ।
भक्तपुर नगर मध्यकालको अन्तसम्म २४ टोलहरूमा विभक्त रहेको थियो । तिनमा पश्चिमतिर रहेका खौमा टोल र तेखाचो टोल दुइटाको मात्र गरूडनारायण गोँगलले चर्चा गरेका छन्, यहाँस्थित नगर प्रवेशद्वारका प्रसङ्गमा ।
राजकुल भक्तपुरको भौतिक स्वरूप : सङ्क्षिप्त चर्चा
भक्तपुर दरबारमा उहिले चोकहरूको गन्ती सङ्ख्या ९९ रहेको किंवदन्तीमा प्रसिद्ध छ । तर, ती चोकहरूको सविस्तार उल्लेख भएको दस्ताबेज आजभोलि उपलब्ध छैन । केबल जनजिभ्रोमा ९९ चोक भनेर चर्चा गरिन्छ । गरूडनारायण गोँगलले आफ्नो संस्मरणमा भक्तपुर दरबारभित्रका १२ ओटा चोकहरूको प्रसङ्गवस चर्चा गरेका छन् । ती चोकहरूमा मूलचोक, बेक्व चोक, जःह्रुं चोक, दुधल चोक, लक्ष्मीराज चोक, तुं चोक, हिटी चोक, हिटी लिवि चोक, महादेउ चोक, चिंकअट चोक, तालसिचोक र चौकोट चोकहरू पर्छन् ।
मूलचोक
भक्तपुर दरबारमा एकमात्र अत्यन्त चालू रहने मूल चोक हो जहाँ तलेजु भवानी मन्दिर रहेको छ । गोर्खाली हमलामा सबैभन्दा बढ्ता मानिस ११ जना यसै चोकमा मारिएको भनेर गरूडनारायणले चर्चा गरेका छन् । त्यतिखेरको युद्ध अवशेष भनेर यहाँ काठका निनाल खम्बाहरू प्रभावित रहेका चिनाउने गर्छन् अचेल पनि । मल्लकालमा राजकीय सभास्थल यही चोकमा हुने गरेको कुरा इतिहास प्रसिद्ध नै छ । यहाँ पस्ने स्वर्णद्वारले नै सबै आगन्तुकलाई पहिलेबाटै प्रभाव पार्दछ । यसद्वारलाई राजा रणजित मल्लले ने.सं. ८७४ मा निर्माण गरेका हुन् ।
उपर्युक्त चोकहरूका अतिरिक्त भक्तपुर दरबारका अभिन्न अङ्गहरू, भण्डारखाल, तौ चपली, इपाछेँ र चौकोट आदि संस्थानको पनि प्रासङ्गिक बयान प्रस्तुत संस्मरणमा भेटिन्छ । तिनमा सबैभन्दा अग्लो चौकोट दरबारको चर्चा भक्तपुर युद्धको सिलसिलामा लेखकले रोचक ढङ्गमा दिएका छन् । तर, यही खण्ड अचेल भक्तपुर दरबारमा नपाइने भएर सबैले इतिहासमा नै चित्त बुझाउनुपर्ने भएको छ ।
भक्तपुर दरबार मध्यकालिक नेपालको सबैभन्दा पुरानो र सबभन्दा बढ्ता क्षेत्रफल ओगटेर बनेको हुनाले समसामयिक इतिहास बुझ्न यसको भौतिक विस्तारका बारेमा पनि क्रमिक अध्ययन हुनु आवश्यक छ । परन्तु, अचेल यस दरबारको अत्यधिक भाग नष्ट भएर खण्डहरसमेत देख्न नपाइने हुनाले यसका पुराना अवयवहरूको यथासम्भव खोजखबर अत्यन्त आवश्यक हुन्छ । गरूडनारायण गोँगलको प्रस्तुत संस्मरणले यसतर्फ पनि सघाउ पु¥याउँछ ।
भक्तपुर राज्यको अन्तिम प्रशासनिक ढाँचा
गरूडनारायण गोँगलको संस्मरण अध्ययन गर्दा भक्तपुर राज्यको समकालिक प्रशासनिक ढाँचाबारेमा केही जान्न सकिन्न्छ । राजाको तर्फबाट प्रतिनिधित्व गर्दै जनसमक्ष देखापर्ने पदाधिकारीलाई ‘छरिदार’ भनिन्थ्यो । उनले राजदण्ड बोकेर हिँड्ने भएकाले त्यतिखेर ‘छरिदार’ शब्द प्रचलित रह्यो । यसलाई प्राचीन कालको ‘प्रतिहार’ कै उत्तराधिकारको रूपमा लिन सकिन्छ । भक्तपुरमा रणजित मल्लको पाला ‘छरिदार’ मा हेमनारायण नियुक्त भइराखेको र उनले नै दरबारमा हजुरिया (राणाकालिक शब्द) सरह काम गरेको हामी देख्तछौँ ।
त्यस बखतको अर्को सरकारी पद हो ‘कोतवार’ अथवा ‘कोटवाल’ को काम कर्तव्यबारे पनि संस्मरणमा सूचित गरिएको पाइन्छ । त्यतिखेर भक्तपुरमा यसलाई ‘कोतायजू’ भनेर बोलचालको नेपालभाषामा सङ्केत गरिएको छ । रणजित मल्लको अन्तिम समयमा ‘कोतायजू’ जयसिंह दुईले भक्तपुरको २४ टोल टोलमा गएर राजाको चुइंकी वाचन गरेको घटना संस्मरणमा नाटकजस्तै बयान गरिएको छ ।
साथै, भक्तपुरमा रणजित मल्लका सभासद्हरूमा काजी जसराज भडेल र जगन्नाथसिंह प्रधानको उल्लेख गरूडनारायणले गरेका छन् । त्यतिखेर भक्तपुरको शासकीय मण्डलमा अरू काजी प्रमाणहरू पनि हुनन् । तिनको चर्चा गरूडनारायणले गरेका छैनन् । उपर्युक्त दुईजना पनि यहाँ चर्चित हुनाको कारण यी दुवैजना राजा रणजितको आत्मसमर्पणपछि गोर्खालीहरूले मारेका हुनाले मात्र हो कि जस्तो छ ।
अन्तमा, भक्तपुर दरबारमा ‘खजान्ची’ र ‘खरिदार’ दुइटा पदहरू रहेको पनि प्रस्तुत संस्मरणबाट ज्ञात हुन्छ । त्यतिखेर रणजित मल्लको खजान्चीमा भाजुधन नियुक्त देखिन्छ भने खरिदारमा चुकुन जोशी रहेका छन् । यिनीहरूका बारेमा अन्य कुरा प्रस्तुत संस्मरणबाट जान्न सकिँदैन । त्यस्तै, मल्ल दरबारमा ‘कोठा मोचा’ भन्ने एउटा पद पनि प्रचलित पाइन्छ । उनले राजाको निजी सेवा टहल गर्ने हुनाले अति विश्वासपात्र हुनु स्वाभाविक छ । कान्तिपुरका राजा जयप्रकाश मल्ल भक्तपुरमा शरणार्थी भएर रहँदा पनि उनको कोठा मोचाहरू साथै लिएर गएको उदाहरण पठनीय छ ।