३ भदौ, कञ्चन
रुपन्देहीको कञ्चन गाउँपालिकामा यही भदौ ५ गतेबाट संचालन हुने प्रथम गौतमबुद्ध कप 9ए साइड नकाउट फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ। गौतमबुद्ध सामुदायिक बिकास केन्द्र, कञ्चन ५ पिपरीचापा रुपन्देहीले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो।
रुपन्देहीको कञ्चन गाउँपालिका हरेक खेलकुदहरुका लागि हब बन्दै गइरहेको र गौतमबुद्ध सामुदायिक बिकास केन्द्रले हरेक बर्ष खुल्ला नकआउट फुटवल प्रतियोगिता संचालन गर्दै आइरहेको सन्दर्भमा यस बर्ष देखि प्रतियोगितालाई टाइटल दिएर फुटवल प्रतियोगितालाई व्यबस्थित गर्न लागेको केन्द्रका अध्यक्ष कमल परियारले जानकारी दिनु भयो। कञ्चनमा कुनै न कुनै संघ संस्थाले फरक फरक समय र अवसरहरुमा फुटवल प्रतियोगिता संचालन गर्दै आइरहेको स्मरण्ण गराउदै अध्यक्ष परियारले खेलाडीहरुमा फुटवल खेलमा बिकसित हुदै गइरहेको नयाँ नयाँ इभेन्ट, सिप र कौशलताहरुलाई स्थानीय स्तरमा उदयिमान रहेका खेलाडीहरुमा सिकाई गराउन प्रतियोगिता उपलब्धीमुलक बन्ने बिश्वास ब्यक्त गर्नु भयो।
महिलाहरुको महानपर्व हरितालिका तीजको अवसर पारेर संचालन गर्न लागिएको प्रतियोगितामा विजेता टिमले १ लाख १ हजार १११ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने र उपविजेता टिमले ५५ हजार ५ सय ५५ रुपैया नगद पुरस्कार सहित कप र मेडल प्राप्त गर्ने अध्यक्ष परियारले सम्मेलन मार्फत जानकाारी दिनु भयो। यसैगरी बिधागत रुपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेण्र, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षक र उदियामन खेलाडीको समेत छनौटगरी ट्रफी र नगद पुरस्कार प्रदान गरिने प्रतियोगितामा करिब ११ लाख रुपैया भन्दा बढी खर्च हुने पुर्वानुमान रहेको अध्यक्ष परियारले पत्रकार सम्मेलन मार्फत जानकारी गराउनु भयो। स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने देशले बोकेको मुल नारालाई आत्मसात गरी प्रतियोगितालाई हारजीतको भन्दा पनि मैत्रीपुर्ण र खेलाडी खेलाडी बिचको पारस्परिक सम्बन्ध, एकता, सहकार्य र समन्वयमा आधारित खेलको रुपमा बिकास गर्ने अभ्यास गरिने अध्यक्ष परियारले बताउनु भयो।
पत्रकारहरुको उठाएको जिज्ञासाको जवाफमा अध्यक्ष परियारले प्रतियोगितालाई भव्य रुपमा सफल बनाउन स्थानीय तथा देश बिदेशमा रहेका फुटवल प्रेमी, स्थानीय संघसंस्थाहरुबाट आर्थिक सहयोग प्राप्त भइरहेको र स्थानीय सरकारको रुपमा रहेका वडा कार्यलय र पालिकाबाट आर्थिक सहयोगको आश्वासन भएको बताउनु भयो।
यस्तै १५ दिनसम्म संचालन हुने प्रतियोगितामा भौतिक उपस्थिति जनाएर करिब १० हजार दर्शकहरुले प्रत्यक्ष रुपमा प्रतियोगिताको अवलोकन गर्ने र अनुामनित दर्शकहरुबाट दैनिक रुपमा लिइने ५० रुपैया प्रबेश शुल्कबाट ५ लाख रुपैया आम्दानी हुने खेलकुद संयोजक तथा गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका उपाध्यक्ष रोशन पुनले अनुमान गर्नु भएको छ। प्रतियोगिता संचाचलनका लागि आवस्यक मैदानको ९० प्रतिशत तयारी सकिएको र बांकी तयारी पनि २ दिन भित्र पुर्ण हुने बताउदै खेल संयोजक पुनले लुम्बिनी खेलकुद डटकम, कञ्चन खवर, रेडियो कञ्चन, रेडियो शुद्धोधन र गोल नेपाल प्रतियोगिताको मिडिया पार्टनरको रुपमा रहेको बताउनु भयो।
भदौ २१ गते हरितालिका तीजको अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती सहित मौलिक कला संस्कृतिमा आधारित तीज गीत प्रतियोगिता हुने आयोजकले जनाएको छ। तीज गीत प्रतियोगितामा प्रथम हुने समूहले नगद १० हजार रुपैया, द्वितिय हुने समूहले नगद ५ हजार रुपैया र तृतिय हुने समूहले नगद ३ हजार रुपैया पुरस्कार प्राप्त गर्ने अध्यक्ष परियारले जानकारी गराउनु भयो।
गौतमबुद्ध सामुदायिक बिकास केन्द्रका अध्यक्ष कमल परियारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा केन्द्रका सल्लाहकार, पदाधिकारी, शुभेच्छुक, प्रायोजक र सहयोगदाताहरुको समेत आतिथ्यता रहेको थियो।
प्रतियोगिताका मिडिया संयोजक माधव परियारको समन्वयमा भएको कार्यक्रममा केन्द्रका सचिव हिरालाल बिश्वकर्माले सहजिकरण गर्नु भएको थियो। स्थानीय प्रगतीशिल आमा समूह सहआयोजक रहेको प्रतियोगिता यही भदौ ५ गते देखि २० गते सम्म कञ्चन ५ स्थित पिपरीचापामा रहेको खेलमैदानमा संचालन हुने आयोजकले जनाएको छ।
गौतमबुद्ध सामुदायिक बिकास केन्द्रले आज नै प्रतियोगिताको टाइसिट सेमत सार्वजनिक गरेको छ। प्रतियोगितामा गोर्खा ब्वाईज स्पोर्टसा क्लब, बुटवल, ढावा एफ.सि.कञ्चन, खस्यौली एफ.सि. बुटवल, चाँदनी युवा क्लव, दानापुर, मनोभव एफ.सि. बुटवल, हरैया युवा क्लव, हरैया, न्यु सृजना युवा क्लव करौजिया, विश्व शान्ति युवा क्लव, सालझण्डी, ईभोलुसन क्लव, तामनगर, सुनगाभा युवा क्लव, सुनगाभा, बाणगंगा वेल्फेयर सोसाईटी, कपिलवस्तु, जनज्योति युवा क्लव, डिङ्गरनगर, सौभाग्य युवा क्लव बुटवल, फर्साटिकर युवा क्लव, फर्साटिकर, बुद्ध सेभेन स्टार क्लव, सैनामैना गरी लुम्बिनी प्रदेशका उत्कृष्ट फुटवल टिमहरुले प्रतिस्पर्धा गर्नेछन।