अनुसा थापा
२०८० फागुन २३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृहमन्त्री भए । नेपाली काँग्रेसले फागुन २८ गतेदेखि सदन अवरोध गर्यो । सहकारी ठगीमा रविमाथि छानबिन हुनुपर्ने माग गर्दै लामो समय सदन अवरुद्ध गरियो । रविलाई रोष्टमसम्म जान पनि दिइएन् ।
उनले पटकपटक आफ्नो कुरा राख्न दिन भने तर काँग्रेसले मानेन् । उनले सदन सचिवालयमा पनि बोल्न पाउनुपर्ने माग राख्दै निवेदन दर्ता गराए । काँग्रेसको आरोप थियो,‘रविले सहकारीको पैसा ल्यायो तर फिर्ता गरेन् ।’ अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका छन् ।
काँग्रेस नेतृ तथा सभापति शेरबहादुर देउवापत्नी आरजु देउवा परराष्ट्रमन्त्री भएकी छिन् । ओलीमाथि सरकारी जग्गा हिनामिनाको आरोप छ । यसका प्रमाणहरु पनि बाहिर आइसकेका छन् । उनी स्वयमंले प्रधानमन्त्री हुँदा २०७८ वैशाख ७ गते र वैशाख १३ गते मन्त्रिपरिषद्बाट झापाको गिरीबन्धु टी–स्टेटको जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय गरेका थिए ।
सर्वोच्च अदालतले ओलीको निर्णय उल्टाइदिइसकेको छ । गिरीबन्धुको जग्गा सरकारकै नाममा ल्याउने सर्वोच्चको आदेश छ । आरजुमाथि भुटानी शरणार्थीको आरोप सल्टिसकेको छैन् । उनी तानिने भएपछि हतारहतारमा सरकार नै परिवर्तन गरिएको त स्पष्टै छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनाको मुख्य योजनाकार आरजु भएको बताइन्छ ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले सोही आरोपमा जेलको हावा खाइसकेका छन् । उनी अदालतबाट धरौटीमा छुटेका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुपूगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतिक थापा, बिचौलिया बेचन झा जेलमा छन् । सो प्रकरणको जम्मै प्लानिङ–प्लटिङ गर्ने मुख्य योजनाकारलाई चाँहि परराष्ट्रमन्त्री उपहार दिइएको छ ।
रवि न कुनै सहकारीको सञ्चालक थिए न ऋणी । ग्यालेक्सी टेलिभिजनमा हुँदा उनको नाममा पैसा निकालेको देखिन्छ । ओलीले त आफू प्रधानमन्त्री हुँदा स्वयमं सरकारी जग्गा व्यक्तिको नाममा पास गरेको देखिन्छ । यस्तो ‘संगीन अपराध’ गर्नेलाई जेलको चिसो भुइँमा सुताउनुपर्ने हो कि होइन् ?
अर्को कुरा प्रधानमन्त्री पत्नी हुँदैमा अपराध गर्दापनि कारबाही नहुने ? कानुन सानालाई मात्र हो ? एउटै आरोपमा कोही जेलमा त कोही परराष्ट्रमन्त्रीको कुर्सीमा । जनतालाई यति हीनताबोध भएको छ कि बयान गरिसाध्य छैन् । जनताको शिर निहुँरिएको छ । नेपालीमा एउटा चर्चित उखान छ,‘अर्काको आङको जुम्रा पनि देख्ने, आफ्नो आङको भैंसी पनि नदेख्ने ।’ यो उखान काँग्रेसका नेताहरुसँग मिल्छ ।
काँग्रेसका महामन्त्री गगन थापा सदनमा बुरुकबुरुक उफ्रिन्छन् । अरुमाथि हिलो छ्याप्न उनी ‘नम्बर वान’ छन् । रविमाथि सहकारीको आरोप लागेपछि सबैभन्दा बढी कराउने उनी नै हुन् । अहिले उनको आवाज नै निस्किँदैन् । आरोपकै भरमा अरुको ‘खाल’ निकाल्ने खोज्ने उनी आरजुको हकमा किन चुप ? यही हो नैतिकता ? गगनले यसको जवाफ दिनुपर्छ ।
नेपालीलाई नक्कली भुटानी बनाएर अमेरिका पठाएकोजस्तो संगीन आरोपमा मुछिएकी आरजुलाई परराष्ट्रमन्त्री बनाउँदा उनी के हेरेर बसेका थिए ? यहाँ त आफ्नो पक्षको हुनुपर्छ, जे गरेपनि ठीक । अनि यस्ताले विकास गर्छन् । सरकार ढल्नुप्रति सर्वसाधारणको बुझाइ,‘रविले २५ वटा भ्रष्टाचारको फाइल खोल्ने भो, आरजुलाई र ओलीलाई समात्ने भएपछि सरकार ढालियो ।’
नेकपा माओवादी, रास्वपा, एकीकृत समाजवादी पार्टीलगायत अन्य पार्टी मिलेर तिनलाई सदनमा छिर्न दिन नहुने सर्वसाधारण बताउँछन् । यस्ता गम्भीर आरोप लागेकालाई सदनमा छिर्न दिने हो भने जनताको इमान पानीपानी हुन्छ । भुटानी प्रकरण सहकारी ठगीजस्तो होइन् ।
मानव बेचबिखन सामान्य कुरा होइन् । देशको नेतृत्व भएर सरकारी जग्गा हिनामिना गर्नेलाई कुनै छुट हुनुहुँदैन् । ‘अपराधी’ हरुलाई सजाय हुनैपर्छ । अपराधीहरु जोगाउने थलो सदन र सत्ता नबनोस् । जसले अपराध गर्छ, उसले सजाय भोग्नैपर्छ । एउटालाई कानुन लाग्दा अर्कोलाई उम्काउने काम नहोस् ।
२०८४ को चुनावमा काँग्रेस र एमाले त शून्य नै हुन्छ । पार्टीका नेताहरु आफ्नो नेतृत्वसामु चुइक्क बोल्न सक्दैनन् । अनि के को नेता ? यहाँबाट के प्रमाणित भयो भने काँग्रेसमा आरजु र एमालेमा ओलीको विरोधमा बोल्न सक्ने कोही रहेनछन् । गलतलाई गलत र सहीलाई सही भन्न नसकेसम्म यो अवस्था रहिरहन्छ ।
अपराधीहरु सत्तामा गइरहन्छन् । आरजुको कारणले काँग्रेसको पत्तासाफ हुने भयो । ओलीले त एमालेलाई तहसनहस बनाइसके । अब खरानी हुन मात्र बेर छ । २०७९ मंसिर ४ गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा काँग्रेस पहिलो पार्टी बन्यो । जनताले ८९ सीटमा काँग्रेसका उम्मेदवारलाई जिताए ।
तर, परराष्ट्र खाने आरजु बनिन् । उनी मनोनित सांसद हुन् । प्रधानमन्त्रीको श्रीमती भएकै कारण परराष्ट्रमन्त्री बनाइयो । अनि जनताको मतदानको कदर भयो ? जनताले त प्रत्यक्ष चुनेर जनप्रतिनिधि पठाएका थिए । यद्यपि, प्रधानमन्त्रीपत्नी भएकैले फल खान दिइयो । काँग्रेसमा आरोप नलाग्या व्यक्तिहरु पनि छन् ।
तिनलाई दिएको भए हुन्थ्यो परराष्ट्रमन्त्री । आरजुलाई मन्त्री बनाउनु नै काँग्रेस सकिनु हो । अब कसैले काँग्रेस पार्टी छ भनेर नभनेपनि हुन्छ । विपक्षी दलहरु अब एकजुट हुनुपर्छ । जनता उनीहरुको पक्षमा छन् । सदन अवरोध गर्नुपर्छ । प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई कुनैपनि हालतमा सदनमा जान दिनुहुँदैन् ।
हामी सानो छौं भनेर विपक्ष दल आत्तिने होइन् । अपराधीहरुलाई सजाय दिन जोडतोडका साथ लाग्ने हो । यिनीहरुलाई थुनाउन सक्यो भने साना दल जनताको नजरमा ठूला हुन्छन् । साना दलले के बुझ्नुपर्छ भने सलाईको काटी पनि सानो हुन्छ । तर, त्यसले पार्ने प्रभाव ठूलो छ ।
पूरा जंगल खरानी बनाइदिन सक्छ । वर्तमान गृहमन्त्री रमेश लेखक पटकपटक भौतिक पूर्वाधार तथा यातायातमन्त्री भए । उनी अन्य मन्त्री पनि भए । उनले भ्रष्टाचार गरेर अंकुत सम्पत्ति कमाएको बताइन्छ । त्यस्तो भ्रष्टाचारीलाई गृहमन्त्रीको जिम्मेवारी दिइएको छ । जसलाई आफ्नै भ्रष्टाचार लुकाउन हम्मेहम्मे परेको छ, उसले अर्काको भ्रष्टाचार खोल्छ ?
काँग्रेस, एमाले र राप्रपाले धेरै भ्रष्टाचार गर्यो, जनतामाथि शोषण गर्यो, देशको भूभाग विदेशीलाई बेच्यो भनेर २०५२ फागुन १ गते माओवादीले जनयुद्ध शुरु गर्यो । माओवादीको जनयुद्ध १० वर्ष चल्यो । १७ हजार नेपाली शहिद भए । २०६४ चैत २८ को चुनावमा माओवादी बहुमत नजिक पुगेको थियो ।
१३८ चाहिने ठाउँमा माओवादीले १२१ निर्वाचन क्षेत्रमा प्रत्यक्ष जित्यो । थोरै ठाउँमा हार्यो । पछि काँग्रेस र एमाले मिलेर माओवादीलाई टुक्राटुक्रा बनाए । माओवादीमाथि जनताको जुन अपेक्षा थियो, त्यो पुरा गर्न सकेन् । माओवादीका नेताहरु पनि व्यक्तिगत स्वार्थमा रमाउन थाले ।
बिलासिता खोज्न थाले, भ्रष्टाचारी बने । जसका कारण माओवादीलाई जनताले पत्याउनै छोडे । माओवादीबाट आश उठेपछि जनता रवितर्फ मोडिए । टेलिभिजनको रंगीन दुनियाँबाट एक्कासी राजनीतिमा हाम्फालेका उनलाई जनताले गत निर्वाचनमा २१ सीट दिए ।
जनताको चाहना भ्रष्टाचारीहरुलाई कारबाही हुनुपर्छ भन्ने मात्र हो । जनताले अरु केही खोजेका छैनन् । किन कि आज नेपाल विश्वमै बद्नाम बन्यो । जनताको नाम लिएर जनतामाथि नै शोषण भयो । जसले भ्रष्टाचार गर्छ, उसलाई जेलको चिसो भुइँमा लगेर सडाउनैपर्छ ।
जनताले खाईनखाई तिरेको करमा भ्रष्टाचार गर्नेहरुको सम्पत्ति राष्ट्रियकरण हुनुपर्छ । भ्रष्टाचार गर्नेलाई कारबाही हुनैपर्छ, चाहे त्यो जुनसुक दलको होस् । ओलीसँगै एमालेका नेता सति गए, आरजुसँगै काँगेसका नेता । देश र जनताका लागि बोल्ने एक चित्रबहादुर केसी छन् । बिचरा, उनको आवाज कसले सुन्ने ? यहाँ त जसको शक्ति, उसैको भक्ति छ ।
भक्तपुर