समाजवादको निर्माणको लागि नैतिक प्रोत्साहनको महत्वलाई ध्यानमा राख्दै हामीले चेतनास्तर फरक–फरक भएका समूहहरूको उपस्थितिलाई पनि विशेष याद गर्नुपर्छ । कुनै न कुनै रूपमा समाजवादको निर्माण कार्यमा भाग नलिने मुट्ठीभर मानिसहरूलाई एकातिर पन्छाएर हेर्दा पनि स्पष्ट देखिन्छ– अगुवाहरू र जनताबिचको सामाजिक चेतनामा समानुपातिक विकास भएको छैन । अगुवाहरू जनताको तुलनामा वैचारिकरूपले अगाडि छन् र जनतालाई नयाँ जीवनका मूल्य– मान्यताहरूसम्बन्धी जानकारी छ । तर, उनीहरू त्यसबाट यथेष्ट मात्रामा परिचित भने छैनन् । अगुवाहरूमा उनीहरूको अग्रीम दस्ताको उत्तरदायित्वको कारणले गुणात्मक परिवर्तन आउँछ । यसले उनीहरूमा बलिदान हुने क्षमता प्रदान गर्छ । तर, जनता भने वस्तुको एक अंशमात्र देख्न सक्ने हुनाले दुविधाग्रस्त हुन्छन् । त्यसैले उनीहरूलाई प्रोत्साहन र सीमित घनत्वका दबाबको आवश्यकता रहन्छ । हो, यही हो सर्वहारावर्गको तानाशाही भनेको । सर्वहारावर्गको तानाशाही पराजित वर्गमाथि मात्रै लागू हुने होइन, बरू विजयी वर्गका व्यक्तिहरूमाथि पनि लागु हुन्छ ।
सम्पूर्ण सफलता प्राप्त गर्नको लागि यी सबै कामहरू गर्नु र विविध उपायहरू प्रयोग गर्नु जरूरी छ । विशेषगरी क्रान्तिकारी संस्थानहरू (Revolutionary Institutions) जस्ता संस्थागत रूप र संयन्त्रहरू निर्माण गर्नु आवश्यक छ । क्रान्तिलाई संस्थागत रूप दिने अवधारणा भनेको भविष्यतिर एकसाथ अगाडि बढिरहेका करोडौँ मानिसहरूको विशाल लस्करको छविसँग मेल खान्छ । यसलाई समानान्तर नहरहरूको सामञ्जस्यपूर्ण सङ्गीतमय जलप्रवाह वा राम्ररी तेल राखिएका मेसिनहरूको लयात्मक आवाजको रूपमा तुलना गर्न सकिन्छ, जसले भविष्यतिर अगाडि बढिरहेको यस मार्चलाई मलजल दिन्छ । यही कुराले यिनै सबका बिच, अगुवाका रूपमा अग्रीम पङ्क्तिमा बसी अगाडि बढिरहेकाहरूलाई प्राकृतिक छनोटको अवसर प्रदान गर्छ । जसले निर्माण हुँदै गइरहेको समाजमा आफ्ना कर्तव्यहरूको पालना गर्छन्, तिनीहरूलाई पुरस्कार प्रदान गरिन्छ र जसले निर्माण हुँदै गरेको समाजविरुद्ध आपराधिक काम गर्छन् तिनीहरूलाई सजाय दिइन्छ ।
सरकार र समुदायबिच पूर्ण एकात्मकता
क्रान्तिलाई संस्थागत रूप प्रदान गर्ने काम अहिलेसम्म गर्न सकिएको छैन । हामी केही नयाँ उपायहरू खोज्ने प्रयासमा छौँ जुन नयाँ उपायहरूले गर्दा सम्पूर्ण समुदाय र सरकारबिच पूर्ण एकात्मकता उपलब्ध होस् । यस्ता उपायहरूको रूपमा समाजवादको निर्माणका विशेष स्थितिहरूमा अपनाइएको पनि छ, उदाहरणको लागि संविधानसभा । यस्ता उपायहरू अपनाइँदा नयाँ निर्माण भइरहेको समाजमाथि पुँजीवादी प्रजातन्त्रका बदनाम संरचनाहरू सकेसम्म प्रत्यारोपण नगर्ने प्रयासहरू पनि गरिँदै छन् ।
क्रान्तिलाई संस्थागत रूप दिने कार्यलाई विस्तारै–विस्तारै अगाडि बढाउने उद्देश्यले केही प्रयोगहरू गरिँदै छन् । तर, यसमा कुनै हतारोपना भने देखाइएको छैन । यसरी प्रयोग गर्दै अगाडि बढ्ने हाम्रो क्रमलाई एउटा डर त्रासले अत्यधिकरूपमा अवरोध खडा गरिरहेको छ । त्यो डर–त्रास हो – कहीँ औपचारिक रूप र आकृतिहरूले हामीलाई आफ्नो उद्देश्यबाट विचलित पार्ने त होइनन् ? कहीँ औपचारिक संरचनाहरूले हामीलाई जनताबाट, आफ्नो सबैभन्दा महत्वपूर्ण क्रान्तिकारी उच्च अभिलाषाबाट अलग्याउने त होइनन् ? मानिसलाई आफ्नै एकलकाँटेपनाबाट मुक्त गर्ने उच्च अभिलाषाबाट हामीहरू विचलित हुने त होइनौँ ?
क्रान्तिकारी संस्थानहरूको अभावको स्थितिलाई हामीले विस्तारै विस्तारै समाप्त पार्दै लानु पर्दछ । यसको अभाव हुँदाहुँदै पनि अहिले व्यक्तिहरू एउटै उद्देश्यका लागि सङ्घर्षरत छन् र व्यक्ति–व्यक्तिकै जागरूक समीकरणको रूपमा जनसमूहले इतिहास निर्माण गर्दै छ । बाह्यरूपमा सरसरती हेर्दा समाजवादअन्तर्गत व्यक्तिलाई निर्धारित आदर्शअनुकूल स्तरीकरण (Standardization) गरिएको जस्तो देखिनसक्छ तर वास्तवमा भन्ने हो भने समाजवादअन्तर्गत व्यक्ति अलि बेसी नै पूर्ण हुन्छ । व्यक्तिको पूर्णतातिर अगाडि बढ्ने संयन्त्र निर्माण नभइसकेको स्थितिमा पनि यस्तो सामाजिक संरचनाअन्तर्गत व्यक्तिले आफूलाई अभिव्यक्त गर्ने र आफूलाई निर्माण गर्ने सम्भावनाहरूको क्षितिज निकै असीमितरूपमा फराकिलो हुन्छ ।
उत्पादन र व्यवस्थापनका सबै संयन्त्रहरूमा व्यक्ति वा समूहको सचेत सहभागितालाई घनीभूत गर्ने काम तथा यसलाई प्राविधिक र वैचारिक शिक्षासँगै जोड्ने काम अहिले पनि आवश्यक छ ता कि व्यक्तिले अनुभव गर्न सकोस् । यी सबै प्रक्रियाहरू एक–अर्कासँग घनिष्ठरूपमा अन्योन्याश्रित छन् र यिनीहरूको प्रगति पनि समानान्तर छ । यसरी एकलकाँटेपनाका हथकडीहरू चुँडाली सकेपछि उसले आफ्नो सामाजिक स्थितिप्रति सम्पूर्ण जागरूकता प्राप्त गर्नेछ; जुन वास्तवमा आफूलाई सिङ्गो नवमानवको सिर्जनाको रूपमा स्वीकार्ने पूर्ण आत्मज्ञान प्राप्त गर्नु बराबर हो ।
यो काम स्वाधीन श्रमको माध्यमद्वारा एवं कला–संस्कृतिको माध्यमबाट आफ्नो मानवीय स्थितिको अभिव्यक्तिद्वारा ठोसरूपमा व्यवहारमा अनुवाद गरिसकेपछि व्यक्तिको आफ्नो निजी स्वभावमा फेरबदल आइसकेपछि सम्भव हुनथाल्छ । संस्कृतिको रूपमा आफूलाई विकसित गर्नका लागि श्रमले एउटा नयाँ हैसियत प्राप्त गर्ने स्थितिमा पुग्नुपर्छ । त्यो स्थिति हो, माल (Commodity) को रूपमा मानिसको अस्तित्व समाप्त हुने अवस्था र सामाजिक कर्तव्य पूरा गर्नका लागि सम्पूर्ण अवसर प्राप्त हुने एउटा व्यवस्था स्थापित हुने स्थिति । हो, तब उत्पादनका साधनहरूमाथि समाजको स्वामित्व भइसकेको हुन्छ र मेसिन भनेको कर्तव्य पूरा गर्ने माध्यमको रूपमा मात्रै बाँकी रहेको हुन्छ ।
तब मानिसले त्यस्तो असुविधापूर्ण स्थितिबाट आफूलाई र आफ्नो सोच–विचारलाई मुक्त गर्न थाल्छ, जुन असुविधापूर्ण स्थितिमा श्रमद्वारा उसका आफ्ना शारीरिक आवश्यकताहरूलाई सन्तुष्ट गर्ने जरूरत नै पूर्वसर्तको रूपमा रहेको हुन्छ । आफ्ना पशुवत् आवश्यकताहरू पूरा गर्न श्रम गर्नैपर्ने बाध्यताबाट छुट्कारा पाएपछि उसले मुक्तभावले आफूलाई आफ्ना चिन्तन र कर्मलाई पुनर्मूल्याङ्कन गर्नथाल्छ । अन्ततः उसले आफ्नै श्रमद्वारा श्रृजित वस्तुमा आफैँद्वारा गरिएका कर्महरूमा ऐनामा जस्तै हेर्ने क्रममा महसुस गर्न थाल्छ, आफू पनि सम्पूर्ण हैसियतसहितको मानव हुँ । अब उसले आफ्नै अस्तित्वको एक अंशलाई बिक्री भइसकेको श्रम–शक्तिको रूपमा त्याग्नुपर्छ भन्ने कुनै आवश्यकता रहँदैन किनकि यो श्रम शक्ति त उसको आफ्नोमात्रै भइरहँंदैन । यो श्रम–शक्ति त उसको आफ्नो मुक्तिको द्योतकको रूपमा रहन्छ र यो आफ्नै प्रतिबिम्बको रूपमा निर्मित नयाँ समाजमा आफ्नो सामाजिक कर्तव्य पूरा गर्नको लागि दिइएको आफ्नो योगदानको रूपमा रहन्छ ।
हामीहरू एकातिर श्रमलाई सामाजिक कर्तव्यपालन गर्ने नयाँ हैसियत प्रदान गर्नको लागि र प्राविधिक विकाससँग जोड्नको लागि सबै सम्भव उपायहरू गरिरहेका छौँ, जसले बृहत्तर स्वतन्त्रताका स्थितिहरू जन्माउँदै जानेछन् । अर्कोतिर, हामीले श्रमलाई त्यस्तो स्वैच्छिक श्रमसँग गाँस्ने उपाय लागू गरिरहेका छौँ, जुन माक्र्सवादी विवेचनामाथि आधारित छ । त्यो माक्र्सवादी विवेचना हो मानिसले आफ्ना सम्पूर्ण मानवीय स्थितिहरू तबमात्र प्राप्त गर्न सक्छ, जब शारीरिक आवश्यकताले बाँधिएर आफू स्वयंलाई माल (Commodity) को रूपमा बेचेर उत्पादन गर्नुपर्ने बाध्यता उसलाई हुनेछैन । के कुरा स्पष्ट छ भने अहिले स्वैच्छिक श्रमको स्थिति हुँदाहुँदै पनि श्रमका बाध्यात्मक पक्षहरू पनि छन् । अहिले पनि मानिसले आफूलाई चारैतिरबाट घेरिरहेका बाध्यात्मक पक्षहरूलाई सामाजिक चरित्रको रूपमा रूपान्तरित गरिसकेको छैन । अहिले पनि अनेक स्थितिमा उसले वातावरणका दबाबअन्तर्गत श्रम गर्दछ जसलाई फिडेल क्यास्त्रो नैतिक दबाब भन्नुहुन्छ । सामाजिक वातावरणको कुनै पनि प्रत्यक्ष दबाबविना, तर नयाँ आनीबानीको सिर्जनासँग जोड्दै जोड्दै, श्रमरत मानिसले आफ्नो श्रमको बारेमा धारणा फेर्दैफेर्दै सम्पूर्ण आत्मिक पुनर्जन्मको स्थितिसम्म पुग्नुपर्छ । श्रमको सम्पर्कमा हुने यो आत्मिक परिवर्तन नै साम्यवाद (Communism) हो ।
जसरी अर्थव्यवस्थामा यन्त्रवत् ढङ्गले आफै कुनै परिवर्तन आउँदैन, त्यस्तै चेतनामा पनि कुनै परिवर्तन यन्त्रवत्रूपले आफै आउंँदैन । परिवर्तन कहिले मन्दगतिले हुन्छ, त्यो पनि निकै व्यवस्थित–सङ्गीतमय ढङ्गले हुँदैन । कहिले परिवर्तनको काल द्रुतगतिले बढ्छ र कहिले होशियारीका साथ पाइला चाल्नुपर्ने हुन्छ अनि कहिलेकाहीँ त पछाडि पनि हट्नुपर्ने पनि हुन्छ ।
मैले पहिले पनि सङ्केत गरिसकेको छु, हामीले त्यस्तो अति शुद्ध सङ्क्रमणकालको अवधिसँग व्यवहार गरिरहेका छैनौँ, जुन सङ्क्रमणकालीन अवधिबारे माक्र्सले आफ्नो कृति ‘गोथा कार्यक्रमको आलोचना’ (Critiqe of the Gotha Program) मा परिकल्पना गर्नुभएको थियो । हामीहरू त त्यस्तो नयाँ अवधिमा छौँ, जुन अवधिका बारेमा उहाँले पूर्व–कल्पनासमेत गर्नुभएको थिएन । हो, त्यो नयाँ अवधि भनेको साम्यवादतिर सङ्क्रमणको प्रथमकाल वा समाजवादको निर्माणको समय हो । हिंसात्मक वर्गसङ्घर्षको मध्यान्हको चर्को घामबिच अगाडि बढिरहेको यो समय र यो प्रक्रियाअन्तर्गत पुँजीवादका तत्वहरू पनि क्रियाशील छन् । ती पुँजीवादी तत्वहरूको परिवर्तनको प्रक्रियासम्बन्धी पूर्ण ज्ञान अहिले पनि अस्पष्टताको कुइरोबिच हराइरहेको छ ।
त्यसमाथि यो अस्पष्टतासँगै माक्र्सवादी दर्शनको विकासमा अवरोधको रूपमा रहेको, यस सङ्क्रमणकालसम्बन्धी व्यवस्थित विवेचना र उपचारमा बाधा व्यवधान खडा गरिरहेको तथा राजनैतिक अर्थशास्त्रको विकास गर्न असमर्थ हुँदै आएको पाण्डित्यपूर्ण अभिमान (Scholasticism) लाई यसमा जोड्ने हो भने हामीले महसुस गर्नुपर्ने हुन्छ– हामीहरू अहिले पनि शिशुकालमै छौँ र अधिक गहन आर्थिक तथा राजनीतिक सिद्धान्तहरूको निर्माण गर्नुभन्दा अगाडि हामीले यस कालका सम्पूर्ण मुख्य–मुख्य विशिष्टताहरूको बारेमा अध्ययन गर्नु जरूरी छ ।
तर, अहिलेसम्म नतिजा प्राप्त गरिसकेको सिद्धान्तले भने समाजवादी निर्माणका दुईवटा स्तम्भहरूमाथि जोड दिन्छ, एउटा स्तम्भ हो : नवमानवको सिर्जना, अर्को स्तम्भ हो : प्रविधिको विकास । यी दुबै स्तम्भहरूको विकासका लागि हामीले धेरै नै काम गर्न बाँकी छ । तर, जहाँसम्म प्रविधिलाई आधारभूत जग बनाउने धारणाको सवाल छ, यसमा बिलम्बको कुनै औचित्य छैन । यस सवालमा संसारका विकसित देशद्वारा देखाइएको बाटोमा अगाडि बढ्नु जरूरी छ, तर कसैको अन्धतापूर्ण पिछलग्गू बन्नु हुँदैन । त्यसैले फिडेल क्यास्त्रोले बारम्बार आफ्ना सम्पूर्ण जनताको विशेषगरी अगुवा दस्ताको प्राविधिक र वैज्ञानिक प्रशिक्षण एवं निर्माणमाथि जोड दिँदै आउनुभएको हो ।
भौतिक र आत्मिक आवश्यकताबिच विभाजन
उत्पादनको प्रक्रियासँग प्रत्यक्ष सम्बन्ध नहुने विचारको क्षेत्रमा भौतिक आत्मिक आवश्यताहरूबिच विभाजन रेखा खिच्न सजिलो छ । लामो समयदेखि मानिसले कला र संस्कृतिद्वारा आफ्नो एकलकाँटेपनाको स्थितिबाट आफूलाई मुक्त गर्ने प्रयास गर्दै आइरहेको छ । आठ घण्टा वा आठ घण्टाभन्दा बढी श्रमको अवधिको क्रममा जब उसले एउटा मालको रूपमा आफ्नो श्रमलाई बेच्छ, तब ऊ दिनदिनै मर्ने गर्छ अनि आफ्नो आत्मिक सिर्जनाको क्रममा उसले आफ्नो पुनर्जन्म प्राप्त गर्छ । तर, यो उपचारमा पनि त्यही रोगका किटाणुहरू यथावत् रहिरहन्छन् : व्यक्तिको एकान्त अस्तित्वले संसारसँग तारतम्य स्थापित गर्ने प्रयास गर्ने व्यक्तिवादका किटाणुहरू । हो, उसले आफ्नो व्यक्तिवादको रक्षा गर्ने प्रयत्न गर्छ, जुन व्यक्तिवाद त्यहाँको वातावरणद्वारा पीडित र प्रदूषित भइरहेको हुन्छ । अनि एउटा निष्कलङ्क र पवित्र बनिरहने आकाङ्क्षाका साथ उसले अद्वितीय व्यक्तिले जस्तै सौन्दर्यमूलक विचारप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्छ ।
यो प्रक्रिया आफै पनि उसको पलायनको प्रयास हो । मूल्यको सिद्धान्त अब उत्पादन सम्बन्धहरूको प्रतिविम्ब मात्रै होइन । एकाधिकारी पुँजीपतिहरूले मूल्यको सिद्धान्तलाई अत्यन्त जटिल खालको जालले घेरेर आफ्नो क्रीतदास बनाइसकेको छ, यसका लागि प्रयोग गरिएको तरिका विशुद्ध रूपले अनुभवजन्य नै किन नहोस् । यसअन्तर्गत त्यस्तो खालको कलाको माग गर्छ, जसमा कलाकारहरू माथिल्लो ढाँचा (Superstructure) द्वारा थोपरिएको शिक्षाबाट अनुकूलित हुन्छन् । त्यस्तो ढाँचा विपरीत हिँड्ने विद्रोहीहरूलाई व्यवस्थाका यन्त्रहरूले पराजित गरिसकेको हुन्छ र केवल अद्वितीय प्रज्ञावान् व्यक्तिले मात्रै आफ्ना कृतिहरूको सिर्जना गर्नसक्ने स्थिति हुन्छ । बाँकी अरू सबै व्यक्तिहरू निर्लज्ज भाडाका नोकरचाकर भएर रहन्छन् या निर्मम कुल्चाइमा पर्छन् ।