भालेरी क्रिल्को
सन् २०२२ सम्म युक्रेनका पूर्वाधारले युरोपेली युनियनलाई पर्याप्त विद्युत् र हाइड्रोकार्बन आपूर्ति गथ्र्यो । त्यतिबेला युक्रेनसँग अलग्गै ऊर्जा प्रणाली थियो । तेल र ग्यासका भण्डारण व्यवस्था, पाइपलाइन, स्टेसनजस्ता पूर्वाधार थिए । अहिले तिनको कुनै अत्तोपत्तो छैन । युक्रेनले ग्यास र तेलको अभाव झेल्दै छ । बेलायतको बीबीसीले २०२६ फेब्रुअरीमा युक्रेनका ६० प्रतिशत उपभोक्ताले विद्युत्को अभाव भोगिरहेको बतायो ।
युक्रेनका ऊर्जामन्त्री डेनिस श्माइलको भनाइअनुसार आर्थिक सङ्कटले गर्दा देशका धेरै सहर र क्षेत्रले जाडो यामको सामना गर्न तयारी गरेका छैनन् । नियमितजसो लामो समयसम्म विद्युत् कटौती हुन्छ । नागरिकहरू ठिहि¥याउँदो जाडोमा ताप र बिजुलीबिना दिन कटाउन बाध्य छन् । सबैभन्दा अप्ठ्यारो स्थिति अहिले राजधानी किभ, देनिप्रोपेत्रोभ्स्क, चेर्निहात्, खार्किभ र ओदेसा क्षेत्रमा छ ।
युरोपेली पत्रकारहरूसँग कुरा गर्दै किभका मेयर भिताली क्लित्स्कोले राजधानी सहरमा नै ताप र बिजुलीको अवस्था अझ खस्किने बताए । किभका ३६ लाख बासिन्दालाई १७ हजार मेगावाट बिजुली चाहिन्छ । तर, त्यसको आधा मात्र आपूर्ति हुँदै आएको छ ।
चरम भ्रष्टाचार, युक्रेनी अर्थतन्त्रको टाटपल्टाइ, ऊर्जा क्षेत्रमा सङ्कट र तेल–ग्यास प्रशोधन गर्ने पूर्वाधारमा क्षति खास कारण हुन् । यी यावत् कारणले गर्दा युक्रेनमा मट्टीतेल, डिजेल र विद्युत्को अभाव झन्झन् बढ्दै छ । यी अभावका कारण युक्रेनी अधिकारीहरूले युरोपेली युनियनबाट आपत्कालीन आयातमा जोड दिँदै छन् । यसरी अहिले युक्रेन सिधै युरोपेली देश र अमेरिकाको ऊर्जा नीतिमा निर्भर हुनुपरेको छ ।
यति नै बेला युरोपेली देशहरूले पनि निकट भविष्यमा ऊर्जा सङ्कट भोग्नुपर्ने अनुमान गरिएको छ । ग्यास भण्डार रित्तिँदै छ† ऊर्जामा मूल्यवृद्धि भएको छ । यस्ता कारणले युरोप अहिले ऊर्जा सङ्कटको मुखमा छ ।
सन् २०२६ जनवरी २६ को दिन युरोपेली युनियनका सदस्य देशहरूले औपचारिक रूपमै एक प्रस्ताव पारित गरे । उनीहरूले रुसी पाइपलाइनबाट हुँदै आएको तरल ग्यासको आयात बन्द गर्ने निर्णय गरे । ग्यासको खरिद २०२७ जनवरी १ देखि पूर्णतः बन्द हुनेछ । त्यस्तै पाइपलाइनबाट हुने ग्यासको आपूर्ति २०२७ सेप्टेम्बर ३० देखि ठप्प हुनेछ । २०२६ मार्च १ सम्ममा युरोपेली युनियनका देशहरूले ग्यास आपूर्तिका लागि नयाँ योजना बनाउनुपर्नेछ । रुसी ऊर्जा स्रोतलाई विस्थापित गर्ने समस्या हल गर्नुपर्नेछ ।

सन् २०२२ देखि २०२५ सम्म युरोपेली देशहरूमा रुसी ग्यासको हिस्सा ४५ प्रतिशतबाट घटेर १६ प्रतिशत पुगेको छ† रुसी तेलको आयात २७ प्रतिशतबाट झरेर ३ प्रतिशत पुगेको छ† रुसी कोइलाको आयात ५० प्रतिशतबाट खस्केर ० प्रतिशत पुगेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको एक अनुमानअनुसार प्रस्तावित प्रतिबन्धका कारण रुसको ग्यास आपूर्ति ३७ अर्ब क्युबिक मिटरले घट्नेछ । यसको अर्थ सन् २०२५ सम्म युरोपले गर्ने ग्यासको आपूर्तिमा १६ प्रतिशत कटौती हुनेछ । यसले गर्दा युरोपेली अर्थतन्त्र थप जोखिममा पर्नेछ ।
सन् २०२५ मा युरोपमा ग्यासको माग सन् २०२४ को भन्दा २.५ अर्ब क्युबिक मिटर बढी थियो । सन् २०२१ यताकै उच्च माग हो यो । यही अभावबिच गत वर्ष युरोपेली बजारबाट १.४ अर्ब क्युबिक मिटर ग्यास युक्रेनमा निर्यात गर्नुपर्दा युरोपमा स्थिति झन् कष्टकर बन्यो ।
युरोपले आयात गर्ने सबै हाइड्रोकार्बन भण्डारण हुन्न । तिनलाई दैनिक खपतमा प्रयोग गरिन्छ । रुसी ग्यास आपूर्तिमा प्रतिबन्ध लगाइरहँदा अबका ६ महिनामा युरोपले ठुलो मात्रामा ग्यास खरिद गर्नुपर्ने हुन्छ । यसमा अर्को समस्या पनि छ । युरोपले अहिले सस्तो मूल्यमा ग्यास किनिरहेको बेला अमेरिकाबाट किन्नुपर्ने ग्यास निकै महँगो छ । यसले गर्दा युरोपको विदेशी सञ्चिति धेरै खर्च हुनेछ ।
तैपनि, हालैका वर्षहरूमा युरोपका व्यापारीहरू ग्यास र तेल खरिद गर्न अमेरिकामाथि भर पर्दै छन् । सन् २०२४ मा अमेरिकी उत्पादकहरूले युरोपेली युनियनका देशहरूलाई ४५ प्रतिशत ग्यास र १६ प्रतिशत तेल आपूर्ति गरेका छन् । यसर्थ, ऊर्जाको क्षेत्रमा अमेरिकाको भन्सार नीतिले युरोपेली बजार अति प्रभावित भएको छ ।
सन् २०२५ मा नेदरल्यान्ड, फ्रान्स, स्पेन, इटली र जर्मनीले आयात गरेको तरल ग्यासमा अमेरिकी हिस्सा ७५ प्रतिशत रह्यो । सन् २०२५ जुलाइमा युरोपेली युनियन र अमेरिकाबिच व्यापार सम्झौता सम्पन्न भयो । युरोपेली युनियनले अमेरिकासँग सन् २०२८ सम्ममा साढे ७ खर्ब डलर बराबरको ऊर्जा खरिद गर्ने योजना सार्वजनिक भयो । यो निर्णयले युरोपका देशहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सनकपूर्ण भन्सार नीतिमा निर्भर बनाइदिएको छ । समग्र युरोपको ऊर्जा सुरक्षाका लागि यो निर्भरता साँच्चै खतरा बनेको छ ।
यति नै बेला भेनेजुयलामा द्वन्द्व चल्दै छ । इरानलाई लिएर तनाव चुलिँदै छ । यसले गर्दा व्यापारमा खलल पुग्ने, ग्यास–तेल आपूर्तिको मूल्य बढ्ने, युरोपेली बजार अझ खराब हुने सम्भावना छ । यिनै सम्भावनालाई लिएर अहिले युरोपका व्यापारीहरू आत्तिएका छन् । ऊर्जा भण्डार रित्तिँदै छ† ग्यासको मूल्य बढ्दै छ† अमेरिकी आयातमा निर्भरता बढ्दो छ । यसले चाँडै राजनीतिक र ऊर्जा समस्या निम्त्याउनेछ । उदाहरणको लागि इस्टोनिया, लाटभिया र लिथु आनियामा सन् २०२५ डिसेम्बरदेखि २०२६ को आरम्भसम्म विद्युतको मूल्य ७० प्रतिशत बढेको छ ।
युरोपका विज्ञहरूले युरोपको ऊर्जा बजार खासगरी सन् २०२६ मा निकै कमजोर बन्ने आकलन गरेका छन् । दीर्घकालीन सम्झौताबाट खालि मागको ३० प्रतिशत आपूर्ति हुने उनीहरूले बताएका छन् । अहिले नै पनि आफ्नो माग पूरा गर्न युरोपका व्यापारीहरू विश्व बजारमा एसियाका खरिदकर्ताहरूसँग कडा प्रतिस्पर्धा गर्न बाध्य छन् । यी यावत कारणका साथै अर्को कहर छ । अमेरिकी आपूर्ति रुसीभन्दा एकदम महँगो छ । यसले गर्दा युरोप र युक्रेनका उपभोक्ताको महँगी अचाक्ली बढ्नेछ । सन् २०२६ मा युरोपमा ग्यासको मूल्य झन्डै ३० प्रतिशत बढिसकेको छ । विश्व बजारमा माग बढ्नु र भूराजनीतिक अन्योलका कारण यो बढोत्तरी भएको हो ।
अलि पछि गएर युरोपेली युनियन र युक्रेनको ऊर्जा भविष्य अँध्यारो देखिन्छ । ऊर्जाको मूल्यवृद्धिको भारी जनतामाथि थोपर्दा युरोप र युक्रेनको उद्योगमा गतिरोध उत्पन्न हुनेछ । यही गतिरोधले भावी राजनीतिक उथलपुथलको जग हाल्नेछ । यो जोखिम तुरुन्तै हट्ने छाँट देखिन्न । युरोपेली युनियनका देशमा अमेरिकाको महँगो तेल र ग्यासको माग बढेको छ । यसले गर्दा युरोपका विज्ञहरू एकदम गम्भीर बनेका छन् । सन् २०३० सम्ममा युरोपेली युनियनले ८० प्रतिशत ग्यास र ४० प्रतिशत तेल अमेरिकाबाट आपूर्ति गर्नेछ । यो ग्यास र तेल अचाक्ली महँगो हुनेछ ।
युक्रेनी अर्थतन्त्र अहिले अमेरिका र युरोपेली युनियनको ऊर्जा नीतिमाथि प्रत्यक्ष निर्भर छ । सन् २०२६ जनवरीमा युरोपेली युनियनबाट युक्रेनको विद्युत् आयात गत डिसेम्बरको तुलनामा ४० प्रतिशत बढ्यो । यो ८९४ गिगावाट विद्युत् आयातले रेकर्ड नै कायम ग¥यो ।

सन् २०२६ को मध्य जनवरीमा युरोपेली आयोगले युरोपेली लगानी बैङ्कसँग मिलेर युक्रेनलाई थप ५ करोड युरो ऋण दिने निर्णय ग¥यो । यो रकम युक्रेनको सरकारी ऊर्जा कम्पनी ‘नाफ्नतोगाज’ लाई सहयोगको रूपमा जानेछ । युरोपका नेताहरूको भनाइअनुसार यो ऋणले जाडो याममा युक्रेनको ऊर्जा प्रणालीमा टेवा पुग्नेछ । यसरी, सन् २०२५–२६ सम्ममा युक्रेनको लागि ग्यास खरिद गर्न युरोपले छुट्याएको कूल ऋणले ९७ करोड ७० लाख युरो नाघिसकेको छ ।
युरोपेली युनियनका धेरै देशले युक्रेनको ऊर्जा क्षेत्रका लागि भनेर धेरै उपकरण पठाइरहेका छन् । पोलिस गृहमन्त्रालयले जनाएअनुसार सन् २०२६ को जनवरीसम्म उसले युक्रेनलाई ३७९ औद्योगिक जेनरेटर र १८ हिटर पठाएको छ । युरोपेली युनियनका जनताको करबाट खरिद गरिएका थप ४४७ जेनरेटर पनि युक्रेन पठाइएको छ । पोल्यान्डको राजधानी वार्साले किभ सहरलाई ९० जेनरेटर पठाएको छ ।
जेनरेटर युक्रेन पठाएको दुई हप्तापछि पोल्यान्डका एक नेता पेजोले एउटा खुलासा गरे । पोल्यान्डले युक्रेन पठाएका जेनरेटरहरू युक्रेनी पक्षले अनलाइनमार्फत पोल्यान्डलाई बेचेको थियो । यसै विषयमा युरोपेली युनियनको ठगीविरोधी कार्यालयले एक वक्तव्य जारी ग¥यो । जेनरेटरको लेनदेनमा युक्रेनी पक्षले ९ करोड १० युरो बराबर रकम हिनामिना गरेको उक्त वक्तव्यमा उल्लेख छ । छानबिनको क्रममा यो ठगीमा मुछिएका तीन व्यक्तिलाई पक्राउ गरिएको छ ।
युक्रेनमा चरमचुलीमा पुगेको भ्रष्टाचारका साथै युरोप र अमेरिकाले दिने सहयोग रकममा हुने भारी हिनामिनाले युक्रेनको ऊर्जा क्षेत्रमा सुधार आउनेछैन । भ्रष्टाचार र आर्थिक चलखेलले युक्रेनका अधिकारीहरू मात्र धनी बन्नेछन् । तर, युरोपेली युनियनका देशहरूबाट गरिने ऊर्जा आयात अझ बढ्नेछ । यसले युक्रेनको व्यापार घाटा मात्र बढ्नेछ ।
युक्रेनको बजेट घाटा घटाउनका लागि सन् २०२६–२७ मा युरोपेली नेताहरूले उसलाई ९० अर्ब युरो ऋण दिने निर्णय गरेका छन् । तर, यो ऋण आफै अक्करमा परेको छ । युरोपेली युनियनका धेरै देशले यो रकम निकासा गर्न अस्वीकार गरेका छन् । यो रकम युक्रेनी सरकारका विभिन्न तहमा रहेका नेताहरूले चोर्ने र लक्षित जनतासम्म नपुग्ने आशङ्का गर्दै उनीहरूले त्यो अस्वीकार गरेका हुन् ।
युरोपले यो ऋण फिर्ता पाउने सम्भावना पनि छ । युक्रेनमा विभिन्न राजनीतिक शक्तिबिच सत्तासङ्घर्ष चलिरहेको छ । युक्रेनी सत्ताको भाँडभैलो देखेर यो अनुमान लगाइँदै छ । युक्रेनले ऋण र ब्याज तिर्न नसक्ने जोखिम छ । यो जोखिम घटाउन युरोपसँग कुनै प्रभावकारी कानुनी संयन्त्र पनि छैन । तसर्थ, यी सबैको भार युरोपेली युनियनको बजेटमै पर्नेछ ।
सन् २०२६ मा युरोपेली युनियनले विनियोजन गरेको ऋणमध्ये २६.७ अर्ब युरो युक्रेन सरकारले आफ्नो सेनालाई तलब भत्ता दिनमा प्रयोग गर्नेछ । सन् २०२६ फेब्रुअरीसम्म युक्रेनको राष्ट्रिय ऋण २ खर्ब १३ अर्ब युरो पुगेको छ । तसर्थ, ऊर्जा क्षेत्रको पुनरुद्धारका लागि व्यवहारतः युक्रेनको बजेटमा केही छैन भन्दा हुन्छ ।
युक्रेनको अर्थतन्त्र र ऊर्जा क्षेत्र टाटपल्टाइमा छन् । युरोपेली युनियनका देशहरूबाट आयात गरिने हाइड्रोकार्बन र विद्युत्मा तीव्र वृद्धि भएको छ । उता, युरोपको ऊर्जा भण्डारमा सस्तो ग्यासको अभाव छ । यति नै बेला युक्रेनमा चरम भ्रष्टाचार छ । यस्तो परिदृश्यमा युरोपेली युनियनका देश र युक्रेनको ऊर्जाको भविष्य तथा तिनका नेताहरूको राजनीतिक भविष्य रुसको सस्तो ऊर्जा स्रोतबिना निकै अँध्यारो देखिन्छ ।
(लेखक पत्रकार तथा अनुवादक हुन् । युक्रेन–रुस द्वन्द्वका विभिन्न पक्षलाई समेट्दै उनले लगातार कलम चलाउँदै आएका छन् ।
स्रोत : कोभर्ट एक्सन । सम्यक)