१७ बैशाख, भैरहवा
जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतबाट खटिएको प्रहरी टोलीले जिल्लाका बिभिन्न स्थानहरुमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउदै गरेको करिब ११ लाख ९० हजार १७० रुपैया बरावरको सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले यही बैशाख १५ र १६ गते जिल्लाका बिभिन्न स्थानहरुबाट बेवारिसे अवस्था रहेका महिलाले लगाउने १६८० वटा भित्री बस्त्र, १७९ वटा कुर्ता सुरुवाल, ११ वटा साडी, ४७ वटा चप्पल, १७ वटा फ्रिजको ग्याँस, १२० वटा भेटेनरी औषधी, १ बोरा चिनी, पान मसला, सुर्ति, कमला पसन्द लगायतका सामानहरु गरी करिब ९ लाख ३९ हजार ७८० रुपैया बराबरको सामान बरामद गरेको छ।
यस्तै इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरी टोलीले हिजो आइतवार सिद्धार्थनगर नगरपालिका वडा नं. १ वाइपास चोकबाट १३ वटा साडी, २ वटा कुर्ता सुरुवाल, २ थान सर्टको कपडा र ३ थान पाइन्टको कपडा गरी अन्दाजी ५० हजार रुपैया बराबरको कपडाहरु बरामद गरेको छ।
यसैगरी प्रहरी चौकी मैनिहवा, पाण्डेपिप्रहवाबाट खटिएको प्रहरी टोलीले यही १४ र १५ गते जिल्लाका बिभिन्न स्थानहरुबाट १४ वटा तन्ना, १२ वटा साडी, ५८ वटा सरफ, ६३ वटा स्प्राईट र कोक, १७ प्याकेट मिठाई, साबुन, सुपारी, मेहेन्दी, कोलगेट, तरकारी लगायत गरी अन्दाजी ७० हजार ३९० रुपैया बराबराको किराना सामानहरु र लु १२ प २११७, लु ३ प ५६७९ नम्वरको मोटरसाईकल, लु ६ प ६९४४ नम्वरको स्कुटी गरी करिब २ लाख ३९० रुपैया बराबरको सामान बरामद गरी आवस्यक कार्वाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहियामा पठाइएको भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टले जानकारी दिनु भएको छ।