चिनियाँ मानवअधिकार अध्ययन समाज (सीएसएचआरएस) को रिपोर्ट (डिसेम्बर २०१९)
संरा अमेरिकाले आफूले आफैँलाई सधैँ लोकतन्त्रको ‘प्रकाशस्तम्भ’ मान्छ । उसले सार्वजनिक गतिविधि र निर्वाचनमा सहभागी बन्न पाउने तथा सरकारमाथि अनुगमन गर्ने जनताको अधिकारको वकालत गर्दै आएको छ । तथापि, संरा अमेरिकी राजनीति र समाजको गहिरो विभाजनको कारण व्यवहारमा भने ठुलो सङ्ख्यामा संरा अमेरिकी नागरिक राजनीतिमा सहभागी बन्नबाट वञ्चित छन् । यसो हुनुको मूल कारण भने त्यहाँको पैसामुखी राजनीति हो । पैसामुखी राजनीतिले जनतालाई प्रजातान्त्रिक हक अधिकारबाट वञ्चित गर्छ । पैसामुखी राजनीतिले मतदाताको वास्तविक चाहना अभिव्यक्त गर्न दिंदैन । त्यसले राजनीतिक असमानताको यथास्थिति कायम राख्छ । हालैका वर्षहरूमा संरा अमेरिकी धनी वर्गले राजनीतिमा आफ्नो प्रभाव बलियो बनाउँदै गएको छ भने राजनीतिमा सर्वसाधारण जनताको प्रभाव भने दिनानुदिन कमजोर हुँदै गएको छ । पैसामुखी राजनीतिले संरा अमेरिकी लोकतन्त्रको पाखण्डी उजागर गरेको छ ।
१. पैसाले संरा अमेरिकी राजनीति प्रणालीलाई सम्पूर्णतः निलेको छ ।
‘पैसा भनेको राजनीतिमा आमाको दूध हो ।’ यो निकै प्रचार गरिएको वाक्यले समकालीन संरा अमेरिकी राजनीतिको आन्तर्यलाई सही र सटिक पाराले वर्णन गरेको छ । पैसा नै संरा अमेरिकी राजनीतिको चालक शक्ति हो । संरा अमेरिकाको बृहत् र जटिल राजनीतिक मेसिन पैसाको इन्धनले मात्र चल्न सक्छ । पैसा नै संरा अमेरिकी राजनीतिको लुब्रिकोन्ट (औजारमा राखिने चिल्लो पदार्थ) हो । पैसाबिना संरा अमेरिकी राजनीति चल्न सक्दैन । पैसामुखी राजनीतिले नै संरा अमेरिकी निर्वाचन, संसद् र सरकार चलाउने गर्छ । अहिले पैसामुखी राजनीति संरा अमेरिकी समाजको दीर्घ रोग बनिसकेको छ ।
यस्तो परिस्थितिमा मतदाताको चाहना अभिव्यक्त गर्ने, राजनीतिक दिशा निर्धारण गर्ने र योग्य नेतृत्व चुन्ने प्रक्रिया ‘निर्वाचन’ नै पैसाको खेल बनिसकेको छ । संरा अमेरिकाको पैसामुखी राजनीतिले त्यहाँको जनमतको अपमान गरेको छ र निर्वाचनलाई धनी वर्गको ‘एकल प्रस्तुति’ (वन म्यान शो) मा परिणत गरेको छ । संरा अमेरिकी निर्वाचनका हरेक कुना–काप्चामामा पैसा गहिरो गरी जोडिएको हुन्छ । कुनै पनि तहको निर्वाचनमा उम्मेदवार बन्न पैसा सङ्कलन गर्नु नै सबभन्दा पहिलो काम हुने गरेको छ । पैसाबिना कुनै पनि राजनीतिक पदको लागि प्रतिस्पर्धा गर्नु असम्भव हुने गर्छ । एक्काइसौँ शताब्दीको सुरुवातसँगै रिपब्लिकन र डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवारले तीव्र गतिमा चुनाव खर्च बढाएका छन् । सन् २००४ मा चुनावमा भएको खर्च ७० करोड अमेरिकी डलर थियो । सन् २००८ मा चुनाव खर्च बढेर १ अर्ब अमेरिकी डलर पुग्यो र त्यसको चार वर्षपछि सन् २०१२ मा भएको निर्वाचनको खर्च २ अर्ब अमेरिकी डलर पुग्यो । सन् २०१६ मा संरा अमेरिकामा भएको राष्ट्रपति र संसदीय निर्वाचनमा जम्माजम्मी ६ अर्ब ६० करोड अमेरिकी डलर खर्च भयो । संरा अमेरिकी इतिहासमा त्यो नै आजसम्मको सबभन्दा महँगो निर्वाचन हो । संरा अमेरिकामा हुने मध्यावधि निर्वाचनको खर्च अझ बढी हुने गरेको छ । सन् २००२ देखि २०१४ सम्ममा भएका चार वटा मध्यावधि निर्वाचनमा क्रमशः २ अर्ब १८ करोड, २ अर्ब ८५ करोड, ३ अर्ब ६३ करोड र ३ अर्ब ८४ करोड अमेरिकी डलर खर्च भएको थियो । सन् २०१८ मा भएको मध्यावधि निर्वाचनमा ५ अर्ब २० करोड अमेरिकी डलर खर्च भएको थियो । सन् २०१८ मा सम्पन्न मध्यावधि निर्वाचनमा एक जना सिनेट (माथिल्लो सदन) सदस्य निर्वाचन हुन औसत खर्च १९ करोड ४० लाख अमेरिकी डलर भएको थियो । एक जना प्रतिनिधिसभा (तल्लो सदन) को सदस्य जित्न औसत १५ लाख अमेरिकी डलर खर्च भएको थियो । निकै महँगो चुनाव खर्चले निर्वाचनमा सहभागी बन्ने द्वार निकै होचो बनाएको छ । अत्यधिक बहुमत जनता राजनीतिक निर्वाचनमा सहभागी बन्ने सम्भावना साँघुरो बनाइदिएको छ । ठुलो परिमाणमा पैसा जम्मा गर्न सक्ने केही सीमित मानिस नै मात्र संरा अमेरिकी राजनीतिक निर्वाचनमा सहभागी बन्न सक्नेछन् । फलतः यो अवस्थाले धनी वर्ग र अनेकन मौका खोजिरहेका स्वार्थ समूह (इन्ट्रेस ग्रूप) ले पैसा खर्च गरेर उम्मेदवार जिताउने सम्भावना बढाएको छ ।
सार्वजनिकरूपमा पारदर्शी गरिने चुनावी खर्चबाहेक पनि संरा अमेरिकी चुनावी गतिविधिमा ठुलो परिमाणमा गोप्य पैसा र ‘कालो धन’ पनि प्रयोग हुने गरेको छ । सन् २०१८ मा नेशनल ब्रोडकास्टिङ कम्पनी (एनबीसी) न्युजले प्रसारण गरेको एक समाचारअनुसार संरा अमेरिकी सरकारी कोष विभागले अधिकांश गैरसरकारी संस्थालाई आफ्नो चन्दाको स्रोतबारे जानकारी दिइरहन नपर्ने घोषणा ग¥यो । कोष विभागको सो घोषणाले चुनावी खर्च अझ बढी अपारदर्शी बनायो । सन् २०१० मा संरा अमेरिकी सर्वोच्च अदालतले सङ्घीय चुनाव आयोगविरुद्ध सिटिजन युनाइटेडको मुद्दामा एउटा आदेश जारी गरेको थियो । सो आदेशले राजनीतिक चन्दामा लगाइएको रोकलाई खुकुलो बनाइएको थियो । त्यसयता संरा अमेरिकी निर्वाचनमा ‘कालो धन’ को बाढी नै आयो । ‘कालो धन’ को बाढीले एक पछि अर्को रेकर्ड तोड्दै गयो । सन् २०१० को मध्यावधि निर्वाचनमा १ करोड ६० लाख अमेरिकी डलर बराबरको ‘कालो धन’ ओइरियो । सन् २०१४ को मध्यावधि निर्वाचनमा ‘कालो धन’ को परिमाण ५ करोड ३० लाख अमेरिकी डलर पुग्यो । सन् २०१८ को मध्यावधि निर्वाचनमा उम्मेदवार बाहेक बाहिरका समूहले खर्च गरेको ‘कालो धन’ आकाशिएर ९ करोड ८० लाख अमेरिकी डलर पुग्यो । संसदीय चुनावलाई प्रभावित बनाउने गरी ती बाहिरिया समूहले टीभीमा प्रसारण गर्ने विज्ञापनमध्ये ४० प्रतिशतभन्दा बढी गोप्य चन्दादाताको पैसाबाट सञ्चालित थिए ।
२. पैसामुखी राजनीति संरा अमेरिकी पुँजीवादी प्रणालीको अवश्यम्भावी परिणाम हो ।
संरा अमेरिका पुँजीवादी देश हो । संरा अमेरिकाको लोकतन्त्र भनेको पुँजीपति वर्गले शासन गर्ने राजनीतिक प्रणाली हो । त्यसकारण संरा अमेरिकी लोकतन्त्रले स्वभावतः पुँजीपति वर्गको चाहना प्रतिनिधित्व गर्छ । संरा अमेरिकी लोकतन्त्रले उनीहरूकै स्वार्थको सेवा गर्छ । संरा अमेरिकी लोकतन्त्रको सबभन्दा प्रमुख विशेषता भनेको चुनाव भनिन्छ । संरा अमेरिकामा त्यहाँका पुँजीपति वर्गका आवश्यकता पूरा गर्न सक्ने राजनीतिक नेतालाई नै राज्यसत्ता चलाउन दिन निर्वाचनमार्फत राष्ट्रिय नेतृत्वमा पु¥याइन्छ । यो लक्ष्य हासिल गर्न संरा अमेरिकाले विभिन्न तहका निर्वाचनमा उम्मेदवार बन्न खोज्ने व्यक्ति र मतदातालाई रोक्ने जटिल खालको राजनीतिक र चुनावी प्रणाली बनाएको छ । यो प्रणालीले धनी वर्गका आवश्यकता पूरा गर्न सक्ने उम्मेदवारलाई मात्र चुनाव जित्न दिन्छ । पहिले संरा अमेरिकाले मतदाता बन्न आवश्यक पर्ने योग्यतामै धेरै प्रकारका बाधा अड्चन थोपरेको थियो । ठुलो सङ्ख्यामा संरा अमेरिकी नागरिक (जस्तै जातीय अल्पसङ्ख्यक समुदाय र महिला आदि) लाई मतदानको अधिकारबाट वञ्चित गरिएको थियो । समयान्तरमा पुँजीपति वर्गले पैसालाई निर्वाचनमा नियन्त्रण गर्ने सबभन्दा महत्वपूर्ण औजार बनायो । बीसौँ शताब्दीको सङ्घारमा, विशेषतः सन् १९६० को दसकपछि आमसञ्चारको लोकप्रियता र विकाससँगै चुनावमा पैसाको आवश्यकता लगातार बढ्यो । गरिबका प्रतिनिधिलाई उम्मेदवार बन्नै गा¥हो बनाउन समाजको तल्लो तहबाट राजनीतिक सहभागिता निषेध गर्ने प्रमुख माध्यम नै पैसा बन्यो । धनी मानिसहरूले आफ्नो योग्य राजनीतिक एजेन्ट छान्छ, उसैलाई उम्मेदवार बनाउँछ र पैसा उठाएर उसैलाई विजयी बनाउँछ । यस्तो प्रणालीको कारण आर्थिक स्वार्थ र राजनीतिक शक्तिबिचको सम्बन्ध स्वभावतः बलियो हुन पुग्यो । राजनीतिक निर्वाचनमा सहभागी बनेर धनी मानिसले आफ्ना आर्थिक स्वार्थको राजनीतिक सुनिश्चितता खोज्छ । पैसाको सहायतामा राजनीतिक नेताहरू निर्वाचनमा सहभागी बन्छन् । राष्ट्रिय स्रोतको वितरणमा आफ्नो प्रभुत्व कायम राख्न राजनीतिक व्यवस्थामा धनी वर्गले आफ्नो बलियो प्रभाव बनाएको हुन्छ र केन्द्रीय तहदेखि स्थानीय तहसम्मका सबै सरकारमा आफ्नो स्वार्थको वकालत गर्न सक्ने प्रवक्तालाई निर्वाचनबाट निर्वाचित गर्छ । सामाजिक धनमा धनी वर्गको सबभन्दा ठुलो हिस्सा हुने भएकोले राजनीतिक नेताहरूका आर्थिक आवश्यकता उनीहरूले पूरा गर्न सक्छ । धनी वर्गले पनि उनीहरू (राजनीतिक नेताहरू) लाई आफ्नो राजनीतिक प्रतिनिधि बनाइदिन्छ । सूचना प्रविधिको विकाससँगै राजनीतिक नेताहरूलाई सामान्त्न्दा सामान्य चुनावमा सहभागी बन्न र जित्न समेत धेरैभन्दा धेरै पैसाको खाँचो परेको छ । त्यसकारण, पुँजीवादी पार्टीको राजनीतिमा पैसा नै आरम्भबिन्दु र अन्तिम बिन्दु हुने गर्छ । संरा अमेरिकाका दुई प्रमुख राजनीतिक दलका उम्मेदवारहरू पुँजीपति वर्गभित्रका भिन्न भिन्न खेमाका प्रतिनिधिमात्र हुन् ।
विभिन्न स्वार्थ समूहका गतिविधिले पैसामुखी राजनीतिको प्रष्ट अर्थ व्याख्या गर्छ । स्वार्थ समूह भन्नाले आफ्ना साझा लक्ष्य र स्वार्थपूर्ति अधिक बनाउन साझा राजनीतिक लक्ष्य, आर्थिक हित र सामाजिक पृष्ठभूमिका मानिस वा समूहहरू मिलेर बनेको समूह हो । संरा अमेरिकी संविधानको पहिलो संशोधनले स्वार्थ समूहहरूलाई संवैधानिक मान्यता प्रदान ग¥यो । स्वार्थ समूहको ध्येय भनेको सत्ता सञ्चालनमा सहभागी बन्ने र सरकारी शक्ति केन्द्रबाट आफ्ना स्वार्थको विस्तार र रक्षाको लागि आवश्यक नीतिहरू बनाउन उत्साहित गर्ने वा दबाब दिने हो । दुईखुट्टे सङ्घीय प्रणाली भएको र व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको शक्ति विभाजन भएको संरा अमेरिकाको विशिष्ट राजनीतिक प्रणालीका कारण त्यहाँ स्वार्थ समूहहरूलाई खेल्ने प्रशस्त ठाउँ छ । त्यसकारण, संरा अमेरिकी राजनीति र सबै तहका सरकारमाथि प्रभाव वा दबाब दिन सम्भव भएको हो । संरा अमेरिकी प्रशासन, संसद् र न्यायिक प्रणालीमा स्वार्थ समूहहरूले गहिरो जरा गाडेका छन् । स्वार्थ समूह, राजनीतिक पार्टी र सरकार संरा अमेरिकी राजनीतिका तीन खम्बा बनेका छन् । स्वार्थ समूहहरूले काम गर्ने धेरै तरिका छन् । उनीहरूले पैसा खर्चेर, प्रत्यक्षरूपमा निर्वाचन प्रक्रियामा सहभागी बनेर र निर्वाचन जित्न कोही उम्मेदवारलाई सहयोग गरेर कानुन निर्माण र सरकारका निर्णयलाई प्रभावित बनाउन सक्छन् । उनीहरू जनमत सिर्जना गर्न सक्छन्, प्रचारबाजीबाट सरकारको निर्णय प्रक्रियालाई प्रभावित बनाउन सक्छन् । उनीहरू रेडियो र टीभीमा भाषण गर्छन्, पत्रकार सम्मेलन आयोजना गर्छन्, चलचित्र बनाउँछन् र अरू पनि धेरै उपायमार्फत सरकारका निर्णयमा प्रभावित बनाउने गर्छन् । संसद् र निर्णय गर्ने अधिकारीहरूलाई प्रभावित बनाएर सरकारी निर्णयमा स्वार्थ समूहहरूले प्रत्यक्ष प्रभाव पार्छन् । संरा अमेरिकी सरकार र संसद्को निर्णय प्रायशः विभिन्न स्वार्थ समूहबिचको प्रतिस्पर्धाको नतिजा हुने गर्छ ।
स्वार्थ समूहहरू पैसामुखी राजनीतिका मौलिक पक्ष हुन् । स्वार्थ समूहका गतिविधिलाई पैसाबाट अलग बनाउन सकिंदैन । स्वार्थ समूहका गतिविधि एउटा ‘केन्द्र’ बनेको छ जहाँ पैसा र शक्तिबिच मिलन हुन्छ । उनीहरूको काम भनेको पैसालाई राजनीतिक प्रभावमा परिवर्तन गर्नु हो । जति धेरै पैसा हुन्छ, स्वार्थ समूहले त्यत्ति नै बढी राजनीतिक प्रभाव बलियो बनाउन सक्छ । अनि पैसा सबै धनीकै हातमा हुन्छ । गरिब जनताले पनि स्वार्थ समूह त बनाउन सक्छन् । तर, आर्थिक स्रोतको अभावमा ती स्वार्थ समूहले कहिल्यै पनि प्रभाव पार्न सक्दैनन् । व्यापारीहरूको समूह वा उद्योग सङ्गठनले नै वास्तवमा बलियो प्रभाव पार्ने हो किनभने ती समूहसँग प्रशस्त पैसा हुन्छ । उदाहरणको लागि सन् २००० देखि २०१० को बिचमा संरा अमेरिकी उद्योग सङ्गठनले श्रमिक सङ्गठनको तुलनामा दस गुणा बढी चुनावमा खर्च ग¥यो । सन् २०१० पछि उद्योग सङ्गठन र श्रमिक सङ्गठनले राजनीतिक क्षेत्रमा गर्ने खर्चको सीमा बढाइयो । तर, त्यस अवस्थामा धेरै श्रमिक सङ्गठनले अझै पनि राजनीतिक खर्च बढाउन सकेनन् । किनभने उनीहरूले पहिले नै आफ्नो अधिकतम क्षमता खर्च गरिसकेका थिए । उता उद्योग सङ्गठनहरूको राजनीतिक खर्च भने ठुलो परिमाणमा बढ्यो । उनीहरूको राजनीतिक प्रभाव पनि तीव्र गतिमा विस्तार भयो । उद्योग सङ्गठनहरूले राजनीतिक लगानी बढाउनुको मूल ध्येय भनेको नीति निर्माणमा आफ्नो प्रभाव अधिकतम बलियो बनाउनु हो ।
प्रभाव पार्नु (लबिङ) गर्नु पैसामुखी राजनीति कार्यान्वयन गर्ने सबभन्दा महत्वपूर्ण बाटो हो । संरा अमेरिकी राजनीतिमा यसरी प्रभाव पार्नु एउटा छुट्टै खालको राजनीतिक प्रक्रिया हो । प्रभाव पार्न (लबिङ) मा हुने भ्रष्टाचार संरा अमेरिकी राजनीतिक प्रणालीको अन्तरनिहीत कमजोरी हो । लबिङ प्रक्रियाको वैधानिक आधार भनेको संरा अमेरिकी संविधानको पहिलो संशोधन हो । पहिलो संविधान संशोधनकै आधारमा संरा अमेरिकाले लबिङलाई वैधानिकता दिंदै कानुनहरू बनायो । सन् १९३८ को विदेशी एजेन्ट पञ्जीकरण ऐन, सन् १९४६ को लबिङ नियमनसम्बन्धी सङ्घीय नियमावली, सन् १९९५ को लबिङ उजागरण कानुन, सन् १९९८ को लबिङ उजागरण प्राविधिक संशोधन ऐनले प्रभाव पार्ने यस्ता गतिविधिलाई नियमन गर्ने कानुनी आधार बनाएको छ । यी कानुनले संरा अमेरिकामा विभिन्न स्वार्थ समूहहरू बनाउन, एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्न, संसदीय कानुन र सरकारी निर्णयमा प्रभाव पार्न वैधानिकता दिन्छ । तसर्थ, लबिङ प्रक्रिया संरा अमेरिकी राजनीतिक प्रक्रियाकै अत्यन्त महत्वपूर्ण प्रक्रिया बनेको छ । स्वार्थ समूहहरूले संरा अमेरिकी सदनका सदस्य र उनीहरूका सहयोगीलाई प्रभावित बनाउन लबिङको काम गर्ने कम्पनीलाई काममा लगाएको हुन्छ । लबिङ गर्ने त्यस्ता कम्पनीहरूमार्फत विधेयक निर्माण र संशोधनमा प्रभाव पारेर आफ्नो स्वार्थपूर्ति गर्न खोज्छन् । बितेका चालिस वर्षमा संरा अमेरिकामा लबिङ व्यवसायको तीब्र विकास भएको छ ।
एक प्रकारले विस्फोटक वृद्धि भएको छ । सन् १९७१ मा संरा अमेरिकाभरिमा १७५ वटा मात्र दर्ता भएका लबिङ कम्पनी थिए । सन् १९८१ मा यो सङ्ख्या बढेर २५ सय पुग्यो । सन् २००९ सम्म आइपुग्दा यो सङ्ख्या १३ हजार सात सय पुग्यो । यसको अर्थ संरा अमेरिकाका माथिल्लो र तल्लो दुवै सदनका प्रत्येक सांसद बराबर २० भन्दा बढी लबिङ गर्ने कम्पनीहरू छन् । हालै उपलब्ध (तर अपूर्ण) तथ्याङ्कअनुसार वाशिङ्टन डीसीमा मात्र दुई हजारभन्दा बढी लबिङ गर्ने कम्पनीहरू छन् । लबिङमा स्वार्थ समूहले गर्ने खर्च दिनानुदिन बढिरहेको छ । सन् १९९८ मा लबिङ कम्पनीहरूमा १ अर्ब ४४ करोड अमेरिकी डलर बराबर खर्च भएको थियो भने सन् २०११ मा त्यो खर्च बढेर ३ अर्ब ३३ करोड पुगेको छ । अर्थात् बितेका १४ वर्षमा यो खर्च १३१ प्रतिशतले बढेको छ ।
स्रोत :अमेरिकाको प्रजातन्त्र