योगेन्द्रमान बिजुक्छेँ
आतङ्कवाद या स्वाधीनताको लडाइँ
कुनै स्थान विशेषमा थोरै मानिसहरूको समूहले हतियारसहित गरिने योजनाबद्ध आक्रमण जसले ठुलो क्षति पु¥याउँछ भने त्यसलाई ‘आतङ्कवादी हमला’ भन्ने गरिन्छ । नेपाली शब्दभण्डार (डा. नरेन्द्र चापागाई) का अनुसार ‘आतङ्कवाद मानिसलाई डर देखाएर तथा धम्क्याएर वा त्रास देखाएर हिंसात्मक विद्रोहको रूपमा प्रभुत्व स्थापना वा कार्यसिद्धि गर्ने विचार वा सिद्धान्त’ हो । हुन त आतङ्कवाद (Terrorism) वा आतङ्कवादी (Terrorist) पश्चिमा साम्राज्यवादी र उपनिवेशवादी देशहरूले प्रयोगमा ल्याएको शब्द हो । उपनिवेशकालमा साम्राज्यवादी देशहरूले ल्याटिन अमेरिका, अफ्रिका र एसिया महादेशका निर्धा र निमुखा देशहरूलाई सैनिक बलका आधारमा गैरकानुनीरूपमा निर्ममतापूर्वक दबाएर आफ्नो बसमा पारेका थिए । तीमध्ये धेरै देशका जनताले त्यसको विरोध गरे तर उनीहरूको पनि निर्ममतापूर्वक हत्या गरियो । साम्राज्यवादी देशहरूको अत्याचारलाई सहन नसकेपछि उनीहरूले प्रतिरोधमा सानो स्केलमा भए पनि साम्राज्यवादी सैनिकप्रति प्रत्याक्रमण गर्न थाले । यसैलाई पश्चिमा साम्राज्यवादी देशहरूले आतङ्कवादी हमलाको संज्ञा दिन थालेका थिए । त्यसैले यस शब्दलाई फरक कोणबाट बुझ्नुपर्ने हुन्छ । गरिब देशहरूले आफ्नो देश मुक्तिको लागि गर्ने लडाइँ स्वाधीनताको लडाइँ हो । तर, यसलाई साम्राज्यवादी र उपनिवेशवादीहरूले आतङ्कवादको संज्ञा दिन्छन् । तर, बीसौँ शताब्दीको उत्तराद्र्धमा आएर आतङ्कवादी क्रियाकलापको उद्देश्य र स्वरूप हिजोको स्वाधीनताको लडाइँसँग मात्र सीमित रहेन । आतङ्कवादी हमलाहरू छद्मयुद्धको एउटा हिस्सा भएको प्रतीत भइसकेको छ ।
मस्को हमलामा युक्रेनको हात नभएको दाबी गर्दै अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बी
छद्मयुद्धको नयाँ श्रृङ्खला
दुई शक्ति राष्ट्रबिचको आमनेसामने लडाइँको अवस्थालाई तार्न कुनै स्वार्थ समूह विशेषलाई उकास्दै हातहतियार र पैसा तथा तालिम नै दिएर एक शक्तिले अर्को शक्तिमाथि हाबी हुन कुनै देशका दुई परस्परविरोधी राजनैतिक पक्षहरूबिचमा लडाइँ गराउने कार्य दोस्रो विश्वयुद्धको सङ्घारमै सुरु भइसकेको थियो । सन् १९३६ देखि १९३९ सम्म चलेको स्पेनको गृहयुद्ध यसको ज्वलन्त उदाहरण हो । दोस्रो विश्वयुद्धपछि भने तात्कालीन दुई महाशक्तिहरू अमेरिका र सोभियत सङ्घबिच सुरु भएको शीतयुद्धपश्चात् एक नयाँखाले लडाइँ देखापर्न थाल्यो । विशेषगरी सोभियत सङ्घको नयाँ शक्ति र उसको सहयोगमा तेस्रो विश्वका गरिब देशहरू उपनिवेशबाट मुक्त हुँदै गएपछि अमेरिकाको जासुसी संस्था सीआईएले यसलाई रोक्न व्यवस्थितरूपमै नयाँ नीति अपनायो । समाजवाद स्थापना भएका देश र आफ्नो स्वार्थ भएका देशहरूमा आफ्ना कठपुतली सरकार स्थापना गर्न अमेरिकाले अनेक हठकण्डा अपनाउँदै जन निर्वाचित सरकारहरूलाई समेत सत्ताच्युत गर्ने घृणित, अनैतिक, अप्रजातान्त्रिक र गैरकानुनी युद्धहरू गर्ने नीतिको सुरुवात गर्यो । यस्तो युद्धलाई नै छद्मयुद्ध वा अङ्ग्रेजीमा Covert War/Operation वा Proxy War भनियो ।
यस्तो छद्मयुद्धमा हतियार र सेनाको मात्र प्रयोग गरिँदैन, बरु आर्थिक प्रलोभन र लेनदेन, प्रपोगन्डा, राजनैतिक आन्दोलनहरू पनि हुन्छन् । आज संयुक्त राज्य अमेरिका छ्दमयुद्धको कारण बदनाम छ । युक्रेनको जननिर्वाचित यानुकोभिजको सरकारलाई सन् २०१४ मा सडक आन्दोलनबाट अपदस्त गराएको घटना र जेलेन्सिकीलाई उक्साएर नाटोमा सामेल गराउने प्रपञ्चले निम्त्याएको युक्रेन–रुस द्वन्द्व अमेरिकाले गराउने छद्मयुद्धको ताजा उदाहरण हो । छद्मयुद्धकै सिलसिलामा सन् ८० को दशकसम्म आइपुग्दा अमेरिका आतङ्कवादी समूह स्थापना गर्ने हदसम्म पुग्यो । अल काइदा यसको ज्वलन्त उदाहरण हो । सन् २०११ मा ट्युनिसियाबाट सुरु भएको अरब सिप्रिङ भनिने आन्दोलन सन् २०१५ मा सिरियासम्म आइपुग्दा बसर अल असादलाई पदच्युत गर्न अमेरिकाले नै ISIS को स्थापना गरेको बारेमा धेरै चर्चा परिचर्चा नचलेको होइन ।
गत मार्च २२ मा हमला गरिएको मस्कोस्थित क्रकर्स सिटी हल
रुसमा आतङ्कवादी हमलाको श्रृङ्खला
सोभियत रुस आकारमा एक विशाल देश भएकोले जातीय विविधतामा धनी हुने नै भयो । कुल जनसङ्ख्याको ८० प्रतिशत रुसी जाति भए पनि अन्य २० प्रतिशतमध्ये १८० अन्य जातजाति रहेको मानिन्छ । जसमा तातार मुस्लीम, जर्जियन, चेचेन, युक्रेनी, बेलारुसी, ताजकि, उज्बेक, यहुदी आदि हुन् । समाजवादी बन्दोबस्त रहेको सोभियत सङ्घको ७० वर्षको इतिहासमा यी विभिन्न जातजातिहरूमा कुनै ठुलो द्वन्द्वका घटनाहरूका बारेमा विरलै सुन्नमा आउँथ्यो । तर, सन् १९९० मा सोभियत सङ्घको विघटन भएर समाजवादी बन्दोबस्तलाई भत्काउन उद्यत रहेका बोरिस यल्सिन र गोर्भाचोभजस्ता देशघातीहरूको कारणले पुँजीवादी प्रणालीको सुरुवात गरायो । यसले अमेरिकी र अन्य पश्चिम युरोपका साम्राज्यवादीहरूलाई चलखेल गर्ने थप मौका जुरायो । सोभियत सङ्घ र वरिपरिका समाजवादी देशहरूलाई टुक्रा टुक्रा पारी समाजवादी बन्दोबस्त समाप्त पार्ने र सोभियत रुसलाई विश्वको नक्साबाटै मेट्ने षड्यन्त्रमा निरन्तर छद्मयुद्ध गराइरहेको अमेरिकाले जातीय द्वन्द्वको माध्यमले थप टुत्याउने चाल चलाइरह्यो ।
रुस पछि सन् १९९२ मा युगोस्लाभियालाई ६ टुक्रामा विभाजन गर्न सफल भयो । सन् १९९४ मा क्यास्पियन सागर र कृष्ण सागरबिचको एक सानो क्षेत्र चेचेनियाका मुस्लिम समुदायलाई विद्रोह गरायो । त्यस्तै, जर्जियलालाई नाटोमा समावेश गरी रुसलाई दक्षिणबाट पनि घेर्ने नीति लियो । यसरी रुसलाई क्रमशः कमजोर बनाउँदै सिध्याउने अमेरिकी षड्यन्त्रकै सिलसिला चलिरहँदा सन् १९९९ मा यल्सिनको राजिनामापश्चात् भ्लादिमीर पुटिन राष्ट्रपति बने । भनिन्छ, महाशक्तिबाट अधोगतिमा लागिसकेको देशलाई जसरी पनि बचाउन सोभियत जनताले एक दृढ इच्छाशक्ति भएको नेताको खोजी गरेपछि पूर्व केजीवीका प्रमुख पुटिनलाई छाने । पुटिनको सत्तारोहनपछि रुसविरुद्धको चलखेललाई विस्तारै निस्तेज पार्ने कोसिसहरू भए । अत्तालिएका अमेरिकी साम्राज्यवादले नाटो विस्तारको प्रपञ्च सँगसँगै छद्मयुद्धको नयाँ रूपमा आतङ्कवादी हमलाको पनि तयारी गरेको प्रस्ट हुन्छ । एउटा प्रतिवेदनको आधारमा हेर्ने हो भने विगत एक दशकदेखि त्यस्तो हमलाहरूको श्रृङ्खला रुसका विभिन्न सहर र स्थानहरूमा भएको देखिन्छ । सन् २०१६ मा दुई स्थान, २०१७ मा दुई स्थान, २०१८ मा दुई स्थान, सन् २०१९ मा एक स्थान र पछिल्लो हमला राजधानी मस्कोस्थित क्रोकस सिटिहल थिएटरमा मार्च २२ शुक्रबारको हो । पश्चिमा राजनैतिक विश्लेषक तथा विभिन्न विश्वविद्यालयका सुरक्षा मामिलाका विज्ञहरूले रुसमाथि भएका यी आतङ्कवादी हमला हुनुको कारण औँल्याइएकोमा एउटै देखिन्छ । जस्तैः– रुस सन् २०१५ मा सिरियाको गृह युद्धमा सामेल हुनु र ८० को दशकमा अफगानिस्तानमा सैनिक हस्तक्षेप गर्नु तथा चेचेन विद्रोह दबाउनु । तर, यी सबै द्वन्द्वमा अमेरिकाको प्रत्यक्ष र अप्रत्यक्ष संलग्न रहेको कुरालाई त्यस विश्लेषणमा उल्लेख गरिएको छैन । घटना क्रमले देखाउँछ, अफगानिस्तानबाट सोभियत सैनिक फिर्ता गराउन बीन लाडेनको अलकाइदा जन्माएको अमेरिकाले नै हो, सिरियामा ISIS जन्माएको अमेरिकाले हो (यो प्रस्ट दाबी पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पको हो) । त्यसरी नै पहिलो चेचेन द्वन्द्व (१९९४–१९९६) मा CIA ले पैसा, हतियार र तालिम तथा अन्य बन्दोबस्तीका सामानले चेचेन विद्रोहलाई सघाएको धेरै प्रतिवेदनहरूले देखाएकै हो ।
मस्को हमलामा संलग्न भनिएका ISIS–K खोर्सानका चार आतङ्ककारीहरू ।
क्रोकस सिटिहल थिएटरमा जे भयो
गत शुक्रबार २२ मार्चमा राजधानी मस्कोमा भएको आतङ्कवादी हमलालाई लिएर निकै चर्चा परिचर्चा हुँदै छ । चाखलाग्दो कुरा घटनाको केही दिनअगाडि अमेरिकी जासुसी निकायहरूले रुसका सुरक्षा अधिकारीहरूलाई मस्कोमा केही दिनभित्रमा धेरै मानिस जमघट हुने स्थानहरूमा यस्तो हमला हुनसक्ने सूचना पाएकोले सतर्क हुन खबर गरेको तर रुसी अधिकारीहरूले त्यसलाई बेवास्ता गरेको दाबी गरे । यसले घटना घटाउनमा सीआईए र युक्रेनकै हात हुनसक्नेमा झन् शङ्का उब्जायो । राष्ट्रपति पुटिनले हमला गर्ने चारजनालाई युक्रेनमा भाग्न लाग्दा गिरफ्तार गरेकाले उनीहरू युक्रेनबाट परिचालित भएको शङ्का व्यक्त गर्दा युक्रेनी अधिकारीहरूले ‘हामी हारजीतको फैसला युद्ध भूमिमै गर्छौँ न कि यस्तो आतङ्कवादी हमलाको माध्यमले’ भन्ने जवाफ दिए । तर, घटनाक्रमले देखाउँछ, युक्रेनले रुसी भूमिभित्र घुसपैठ गराएर टारगेट किलिङ तथा बम विस्फोटका घटनाहरू पनि गराउँदै आएको देखिन्छ । गत वर्ष अप्रिल २ मा सेन्टपिटर्सबर्गको एक रेस्टुराँमा रसियन ब्लगर भ्याडुलेन तातास्कीको हत्या पनि यसैको श्रृङ्खला थियो । रुसको निजी सैनिक समूह वागनर ग्रुपका प्रमुख प्रिगोजिनको गत वर्ष जून महिनाको विद्रोहसमेतलाई यही सिलसिलामा हेर्नुपर्ने हुन्छ । अर्को चाखलाग्दो तथ्य घटना घटेको केही घण्टामा अमेरिकी राष्ट्रिय सुरक्षा प्रवक्ता जोन किर्बीले यस घटनामा युक्रेनको कुनै हात नरहेको खुलासा गर्यो, जसलाई चोरको खुटा काटभन्दा चोरले खुटा उचालेजस्तो भयो । घटनाका बारेमा अनुसन्धान गर्ने रुसी अधिकारीहरूको जिम्मा हो घटनामा को संलग्न छ छैन भन्ने प्रमाणको आधारमा निष्कर्ष निकाल्ने ।
पश्चिमाले रुसमाथि गरेको चर्को आर्थिक नाकाबन्दी युरोपीय देशहरूमाथि उल्टै हानी हुँदै जानु र युक्रेनलाई मोहरा बनाई गरिएको छद्मयुद्धमा पश्चिमाहरू कमजोर हुँदै जानुले अटालिएका पश्चिमाहरूले आतङ्कवादी हमलाको सहारा लिएको होइन भन्न गा¥हो छ ।
पूर्वराष्ट्रपति ट्रम्प जसले ISIS को स्थापना पूर्वराष्ट्रपति बाराक ओबामाले गरिएको दाबी गर्छन् ।