सामन्ती धनी–साहुकारहरू जनतालाई विभिन्न तरिकाले चुस्छन् । त्यसमध्ये रुपैयाँ या मालसामान र गाईवस्तु दिई ब्याज र ब्याजको स्याज खापी दुगुना–चौगुना लिन्छन् । साहुले एकातिर ब्याज लिन्छ भने अर्कोतिर कोसेली पनि खान्छ । हामीलाई थाहा भएअनुसार ब्याज र कोसेली खाने चलन तल लेखिएका छन् –
ढ्याके ब्याज
केही समयपहिले पाँच पैसेलाई ढ्याक भन्ने चलन थियो । साहुले गरीबलाई ऋण दिँदा १ रुपियाँको पाँच पैसा ब्याज लिन्थ्यो । साथै कोसेली पनि खान्थ्यो र सघाउने भनेर सयको २ देखि ५–६ सम्म खेतालासमेत खान्थ्यो । खेताला र कोसेली खाने चलन अझै छ ।
नुने ब्याज
केही वर्षपहिले नेपालमा तिब्बतबाट नुन ल्याइन्थ्यो । नेपालबाट तिब्बतमा जान–आउन सक्ने घाटीहरूसम्म नेपालीले चामल लगी नुन साटेर ल्याउने गर्दथ्यो । ५–६ दिनदेखि १२–१५ दिनसम्म भिर–पखेराको असजिलो बाटो हिँडी नुन बोक्नुपथ्र्याे । धनी–साहुकारले गरीबलाई ऋण दिँदा ब्याजको सट्टा नुनका भारी बोकाउने कबुल गराउँथ्यो । कोसेली पनि खाइन्थ्यो । ठाउँ र मौका हेरी सयको १ खेपदेखि ४–५ खेपसम्म नुनका भारी बोकाउने चलन थियो । कहाली लाग्ने भिरको बाटो भारी बोकेर हिँड्दा कति गरीबका ज्यान गए र जाँदै छन् । भारततिरबाट नुन आउन थालेपछि केही कम भयो तापनि यो चलन अझै छ ।
चोके ब्याज
रूखको हाँगा पलाएको ठाउँलाई चोक भनिन्छ । एउटा रूखमा धेरै चोक हुन्छन् । त्यस्तै १ वर्षको १२ महिनालाई १२ चोक सम्झी साहुले सयको ५ देखि ७–८ सम्म चोके खान्छ । धनी–साहुकारले गरीबलाई ऋण दिँदा यही चलनअनुसार १२ चोक लिन्छ । कतै कतै यसलाई महिनावारी पनि भन्ने चलन छ । यसैलाई चोके ब्याज भनिन्छ । महिनावारी ब्याजलाई चोके ब्याज भनिन्छ ।
धाने ब्याज
साहुले गरीबलाई ऋण दिँदा सयको १० पाथीदेखि २ मुरीसम्म धाने ब्याज कबुल गराउँछ । तर, ब्याजको धान नगदमा फेरि सावाँमा खाप्छ र सरकारी दरअनुसारको ब्याज दर जनाई तमसुक गराउँछ । यसरी लाटा–सोझा जनताबाट चौगुणा असुल गर्छ । यसैलाई धाने ब्याज भनिन्छ ।
तोरी ब्याज
यो पनि धाने ब्याजजस्तै हो । २८ या ३० पाथी तोरीको १ बोरा भन्ने चलन छ । तोरी पाकेपछि बोराको रू. २०० हुनेछ भने १–२ महिना पहिले नै साहुले बोराको रू. ६०–८० सम्ममा ल्याउँछ । त्यस्तै धानको भाउ पनि मुरीको रू. १०–१०० पुग्छ भने साहुकारले १–२ महिनापहिले नै मुरीको २० देखि ४० सम्म बैना दिन्छ । यसरी दुगुना असुल गर्छ । यसलाई छिनुवा पनि भनिन्छ ।
कोसेली–गरीब जनताले आफूलाई चुसाउन आफैँ धनी–साहुकारको पाउ पर्नुपर्छ र दस आंैला जोडी बिन्ती गर्नुपर्छ । यस्तो कसरी भयो ? धनीले रूपियाँ ब्याजमा लगाई शोषण गर्नुपर्ने भए तापनि गरीब ऋण माग्न जाँदा गजक्क परेर फुल्छ र अक्करमा पारी चौगुना लिन दाउ हेर्छ । गरीब जनताले आँसु बहाउँदै साहुको अगाडि अनेक दुःख पोख्छन् र आफूलाई चुसाउन साहुको ढुङ्गोसरि मन पगाल्छन् । अनि मात्रै साहुले चर्को ब्याजका साथै कोसेली र सघाउने लिन कबुल गराउँछ ।
कोसेलीमा ठेकी भनेर सयको ५ मानादेखि १ पाथीसम्म घिउ लिन्छ या ५–६ धार्नीको खसी लिन्छ । आसामी लाहुरे छ भने जुत्ता– कोट या त्यस्तै राम्रा, दामी लुगा र अरू मालसामान ल्याइदिने कबुल गराउँछ । गरीब जनताले जति दुःख गरे पनि धनी साहुकारले सिरीखुरी पार्छ ।
स्रोतः जनताको साहित्य
अप्रिल–मई १९७७