३ चैत्र, कञ्चन
कञ्चन गाउँपालिकाको आयोजना तथा उत्पिडित नागरिक उत्थान केन्द्र, बाणगंगा नपा, कपिलबस्तु्को समन्वयमा संचालित ५ दिने बेमौसमी तरकारी खेती सम्बन्धी तालिम शुक्रवार देखि शुरु भएको छ।
तालिमको शुभारम्भ गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सरकारमा रहेका बिभिन्न दलहरुले जनयुद्धको मर्म नबुझेकै कारण पार्टीको उद्धेश्य र योजना अनुरुप सम्बोधन गर्न नसक्दा जनयुद्धका घाइते, अपाङ्ग, बेपत्ता परिवार, शहिद परिवारका सदस्य तथा द्वण्द पिडित परिवारहरुमा निराशा उत्पन्न भइरहेको बताउनु भयो। कञ्चनमा रहेका जनयुद्धका घाइते, अपाङ्ग, बेपत्ता परिवार, शहिद परिवारका सदस्य तथा द्वण्द पिडित परिवारहरुलाई कृषिमा ब्यबसायिक रुपमा आत्मनिर्भर बनाउने उद्धेश्यका साथ पालिकाले बार्षिक कार्ययोजनामै समावेश गरे तालिमको ब्यबस्था गरिएको उपाध्यक्ष थापा मगरले बताउनु भयो।
यसैगरी कार्यपालिका सदस्य कुमारी घर्ति मगरले माओवादी जनयुद्धका कारण प्राप्त उपलब्धीलाई संस्थागत गर्नु आजको अनिवार्य रहेको बताउदै माओवादी केन्द्रको नेतृत्वमा भएको राज्य ब्यबस्था परिवर्तनलाई सत्ता साझेदार दल तथा अन्य दलहरुले आत्मसात गर्न नसक्नु अहिलेको मुख्य कमजोरी रहेको बताउनु भयो।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य हस्त बहादुर साँवर, कार्यक्रम संयोजक नारायण भुसाल लगायतले परमपरागत कृषि प्रणालीलाई आधुनिकीकरण र ब्यबसायिक बनाई तरकारी खेतीमा आत्म निर्भर बनाउन सकेमात्र जनयुद्धका घाइते, अपाङ्ग, बेपत्ता परिवार, शहिद परिवारका सदस्य तथा द्वण्द पिडित परिवारहरुले आफुलाई आत्मसम्मानित भएको महसुस गर्ने बताउनु भयो।
उत्पिडित नागरिक उत्थान केन्द्र, बाणगंगा नपा, कपिलबस्तु्का अध्यक्ष प्रेम बिश्वकर्माको अध्यक्षता तथा सचिव गणेश परियारको संचालनमा भएको तालिममा कृषिविज्ञ सरद पोख्रेलले प्रशिक्षण दिनुहुनेछ। कार्यक्रम कञ्चन गाउँपालिकाको दियो सभाहलमा सञ्चालन भइरहेको छ।