२९ फागुन,बुटवल
लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिव १ खर्बको परियोजना सञ्चालन गर्ने तयारी गरेको छ । देवदहमा निर्माण भएको विश्वविद्यालयको शैक्षिक एवं प्रशासनिक भवनको सोमबार उद्घाटन कार्यक्रममा बोल्दै पदाधिकारीहरुले देवदहमा महत्वपूर्ण परियोजना निर्माणको प्रक्रिया शुरु भएको बताएका हुन् ।
भवनको उद्घाटन गर्दै पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी बौद्ध विश्वविद्यालय विश्वकै आकर्षणको शैक्षिक केन्द्र बन्ने बताउनु भयो । बौद्ध दर्शनको प्राध्यापन बुद्ध जन्मेकै स्थानमा गर्न पाउनु विश्वका अध्येताका लागि महत्वपूर्ण रहेको भन्दै यसको प्राज्ञिक विकासमा सरकारको विशेष भूमिका हुनुपर्ने वहाँले बताउनु भएको हो ।
बौद्ध विश्वविद्यालयलाई सरकारी दायित्वबाट सञ्चालन गर्ने योजनासहित ऐन संसोधन गर्नमा आफ्नो प्रयत्न रहेको स्मरण गर्दै नेता पौडेलले विश्वविद्यालयलाई मुलुककै नमुना उच्च शिक्षाको केन्द्र बनाएर लैजानुपर्ने बताउनु भयो ।
विश्वविद्यालयको प्राज्ञिक विकासका लागि देवदहमा एक खर्बको परियोजना शुरु भएको भन्दै वहाँले त्यो परियोजना सम्पन्न गर्ने दायित्व सबैको रहेको उल्लेख गर्नु भयो । “यो विशाल संरचना हो, १ खर्ब लागतमा सम्पन्न हुनेछ, वहाँले भन्नुभयो,“पूर्वाधार निर्माणको चरणलाई सबै पक्षले सहयोग गर्नुपर्छ, धुलो धुवा सहेरै विकास हुने हो ।” विश्वविद्यालयको देवदहमा जग्गा व्यवस्थापनमा रजिष्टरसहितका पदाधिकारीहरुले गरेको मिहनेतको वहाँले प्रशंसा गर्नु भयो ।
पूर्व मन्त्री एवं सांसद छविलाल विश्वकर्माले देवदहकै विशाल पूर्वाधारको निर्माण विश्वविद्यालयले गर्न लागेको भन्दै सबै पक्षबाट यसमा सहयोगको अपेक्षा रहेको बताउनु भयो । देवदहबासीका लागि देवदह शैक्षिकग्रामका रुपमा स्थापित हुने भन्दै यसको निर्माण सम्पन्न हुँदा अन्र्तराष्ट्यि आकर्षणको केन्द्र बन्ने वहाँले बताउनु भयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्यले देवदहमा २० हजार विद्यार्थीले अध्ययन गर्न मिल्नेगरी सुविधा सम्पन्न संरचनाहरु निर्माण हुने बताउनु भयो । “हामीले ५० करोडको लागतमा गुरुयोजना बनाएका छौं, अव यसै अनुरुपका पूर्वाधारहरु निर्माण हुनेछन, वहाँले भन्नु भयो ।
विश्वविद्यालयको देवदह शैक्षिक केन्द्रमा १६ हजार विदेशी र ४ हजार नेपाली विद्यार्थीले अध्ययन गर्ने उपकुलपति बज्राचार्यले बताउनु भयो । विश्वविद्यालयको पूर्ण संरचना तयार हुँदा स्थानीयलाई प्रत्यक्ष लाभ हुने उत्पादनमुखी शैक्षिक कार्यक्रमहरु सञ्चालन हुने वहाँले बताउनु भयो ।
विश्वविद्यालयका रजिष्टर डा. तिलकराम आचार्यले लुम्बिनी, देवदह र बुटवललाई तीन शैक्षिक केन्द्रका रुपमा विकास गर्नेगरी विश्वविद्यालयले योजना बनाएको बताउनु भयो । आफूले आठ वर्षको अवधिमा पूर्वाधार र शैक्षिक विकासका कामलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै विश्वविद्यालय निर्माणका लागि हरतरहले निरन्तर अघि बढिरहने बताउनु भयो ।
देवदहमा ९२ विगाहा जमिन प्राप्तीका लागि ६ वर्ष संघर्ष गरेको स्मरण गर्दै वहाँले देवदहबासीबीच गरिएका पूर्वाधार निर्माणका प्रतिवद्धताहरु पूरा गर्दै लगिने बताउदै देवदहमा विशाल परियोजनाको निर्माण शुरु गरिएको र वहाँले ससानो एजेण्डामा विकासमा अवरोधक नबन वहाँले आग्रह गर्नुभयो।
विश्वविद्यालयले देवदहमा ९ वटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने भवन, अस्पताल, प्राथमिक तथा आधारभूत विद्यालय, छात्रावास, शिक्षक तथा कर्मचारी आवास केन्द्र, अनुसन्धान केन्द्र, संग्राहलय, गेष्ट हाउस भिल्लासहितका संरचना बन्नेछन् । रंगशालासहित पर्यटकीय आकर्षण गर्ने संरचना बौद्ध संस्कृति झल्किने शैलीमा बन्ने गरी डिजाइन गरिएको छ । पूर्वाधार निर्माणका लागि स्रोत जुटाउन विश्वविद्यालयले बोर्ड अफ ट्रष्टी बनाउने जनाएको छ ।
पूर्वाधार निर्माणका लागि केही दातृ निकायले प्रतिवद्धता जनाइसकेको बताउदै रजिष्टर डा. तिलकराम आचार्यले यो संरचना बन्दा विदेशी विद्यार्थीहरु पढ्नका लागि नेपाल आउने वातावरण सिर्जना हुने बताउनु भयो ।
सोमबार उद्घाटन गरिएको भवन झण्डै सवा सात करोडको लागतमा आठ महिना मै तयार भएको हो । एक वर्ष निर्माण अवधि रहेपनि कम्पनीले समयावधि अगावै निर्माण सकेको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्राईले देवदहबासीले दिएको जमिनमा पूर्वाधार निर्माण शुरु भएको भन्दै खुसी व्यक्त गर्नुभयो । विश्वविद्यालय सभाका सदस्य कपिल लामाले बौद्ध शिक्षासहितका कार्यक्रम सञ्चालन गरी विद्यार्थी संख्या बढाउदै लैजानुपर्ने बताउनु भयो । डिन कार्यालयका कार्यकारी निर्देशक उकेशराज भुजुले समुदायलाई जोड्दै विश्वविद्यालयले देवदहमा शैक्षिकसहितका कार्यक्रम सञ्चालन गरिरहेको बताउनु भयो ।
देवदहमा भवन निर्माणसंगै लुम्बिनी बौद्ध विश्वविद्यालयका संरचना तीन स्थानमा विस्तार भएका छन् । लुम्बिनी, बुटवल र देवदहबाट शैक्षिक कार्यक्रम सञ्चालन गरेको विश्वविद्यालयमा हाल ३० वटा शैक्षिक कार्यक्रम सञ्चालित छन् । विश्वविद्यालयमा २ हजार १३ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।