२९ फागुन, कञ्चन
रुपन्देहीको गैडहवा गाउपालिका वडा नं. ८ मा सोमवार ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका वक्ताहरुले कार्य क्षेत्रमा पुरुषकै तुलनामा समान श्रम गर्ने श्रमिक महिलाहरुले अझै पनि समान ज्याला नपाएको बताएका छन ।
कार्यक्रमको शुभारम्भ गर्दै महिला नेतृ तथा बुटवल उप महानगरपालिकाका निवर्तमान उप प्रमुख गुमादेवी आचार्यले ११४ बर्ष अगाडी क्लारा जेट्किनले कारखानामा काम गर्ने महिलाहरुका लागि समान कामका लागि समान ज्यालाको अधिकारको माग गर्दै आन्दोलन गरी अधिकार पाएको दिनलाई नै बिश्वभरका श्रमिक महिलाहरुले उत्सवको रुपमा मनाउदै आएको स्मरण गर्नु भयो। कतिपय श्रमस्थलहरुमा महिलाहरुको श्रमलाई पुरुषको श्रमको तुलनामा कम मुल्यांकन गरेर श्रममा बिभेद भइरहेको र न्याय पुर्ण आन्दोलनका लागि महिलाहरु राजनैतिक, शैक्षिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपमा सशक्तीकरण हुन आवस्यक रहेको बताउदै निवर्तमान उप प्रमुख आचार्यले आफुलाई कमजोर ठानेर नभई "मैले मेरा लागि र मेरो समाजका लागि संघर्ष गर्नु पर्छ र ती संघर्षहरुमा मैले नै अगुवाई गर्नु पर्छ" भन्ने हिम्मत निकाल्न सक्नु पर्नेमा जोड दिनु भयो।
यसैगरी वडा नं. ८ का वडा अध्यक्ष तथा कार्यक्रमका बिशिष्ट अतिथि भुवन बहादुर रानाले समतामुलक समाज निर्माणका लागि महिलाहरुमा एकता, समन्वय र सहकार्य अनिवार्य हुनुपर्नेमा जोड दिनु भयो। समाजमा महिलाहरुको श्रमलाई मुल्यांकन गर्ने दृष्टिकोण परिवर्तन ल्याउनका लागि महिलाहरुमा सशक्तीकरणको आवस्यकता रहेको बताउदै वडा अध्यक्ष रानाले जहाँ जहाँ महिला श्रमिकहरुमाथी ज्यालामा बिभेद देखिएको छ त्यहा श्रमिक महिलाहरुको उद्धारका लागि आवाज उठाउने गरेमा मात्र श्रमिक महिलाहरुले न्याय पाउने उल्लेख गर्नु भयो।
यसैगरी महिला नेतृ बिन्दु श्रीसले समाजमा जात र क्षेत्रमा भन्दा पनि वर्गिय बिभेद भइरहेको बताउनु भयो। बोल्न सक्नेहरुले आफुले पाउने अधिकार सुरक्षित गरिरहेको तर जो बोल्न सक्दैन, जसको राज्यसम्मको पहुँच छैन उनिहरु सधै अन्यायमा पर्दै आइहरहेको उल्लेख गर्दै महिला नेतृ श्रीसले श्रमिक महिलाहरुको अवस्था पनि त्यस्तै रहेको बताउनु भयो। कार्यस्थलमा बोल्न सक्ने महिलाहरुले आफ्नै वर्गका महिलाहरुलाई काम गराएर ज्याला लिदै आइरहेका छन भने बोल्न नसक्ने श्रमिक महिलाहरुले दिनभरी काम गरेर पनि श्रमिक पुरुषको ज्यालाको तुलनामा न्युन ज्याला बुझेर घर फर्किन बाध्य हुनु परेको महिला नेतृ श्रीसले बताउनु भयो।
गैडहवा गाउपालिकाका सामाजिक बिकास शाखाका प्रमुख रचना गौतमले पालिकाबाट महिलाहरुलाई सामाजिक र आर्थिक रुपमा सशक्तीकरणका लागि बिभिन्न सिपमुलक तालिम तथा उद्यमशिल सम्बन्धी कार्यक्रमहरुको योजना बनउदै आइरहेका ती योजना तथा कार्यक्रमलाई महिलाहरुका बिचमा लैजान पालिकामा रहेका महिला तथा आमा समूहहरुले नै माग गर्न आउन आग्रह गर्नु भयो। महिलाहरुको सशक्तीकरणका लागि पालिकाले बार्षिक रुपमा के कस्ता कार्यक्रमहरु संचालन गर्नु पर्छ भन्ने कुराको सुझाव सल्लाह सहित कार्यक्रम र याृजनाहरु लिएर पालिकामा आउन आग्रह गर्दै सामाजिक बिकास शाखाका प्रमुख गौतमले आफ्नो अधिकारको पहिचान गरेर माग्न सक्नु पर्ने ।र फुटेर होइन जुटेर समाज रुपान्तरण सम्भव रहेको बताउनु भयो।
सेतो गुराँस बाल बिकासका लागि पोषण कार्यक्रमका गैडहवाका संयोजक अनु श्रेष्ठले महिलाहरुको न्यायिक अधिकारका लागि स्वयम महिलाहरुनै शैक्षिक, सामाजिक र सांस्कृतिक रुपमा सचेत हुन आवस्यक रहेको बताउनु भयो।
महिलामा लगानी, सभ्य र समुन्नुत समाजको थालनी भन्ने नारासहित आयोजना गरिएको कार्यक्रममा मञ्जु रिजाल, देउराली आमा समुहका अध्यक्ष पार्वती घर्ति मगर, प्रगतिशिल महिला समुहका अध्यक्ष लिला गिरी, लाली गुराँस महिला समुहका अध्यक्ष सरस्वती न्यौपाने हामी सक्छौ साथी सञ्जालका सचिव पुजा सुनार लगायतले श्रमिक महिलाहरुको न्योचित अधिकार र समान ज्यालका लागि अझै पनि संघर्ष गर्नु पर्ने आवस्यकतामा जोड दिनु भएको थियो।
गैडहवा गाउँपालिका वडा नं. ८को कार्यालयको आयोजना तथा महिला सञ्जाल गैडहवा ८ को आयोजनामा भएको कार्यक्रममा सुरक्षित आमा समुह तथा महिला सञ्जाल गैडहवा ८ का हर्की मगर्नीको अध्यक्षता तथा महिला नेतृ राधिका आचार्यको स्वागत र काजल बि.सीको संचालनमा कार्यक्रम भएको थियो। गैडहवा ८ देविनगरमा भएको कार्यक्रममा बिभिन्न महिला तथा आमा समूहद्वारा महिला अधिकार सम्बन्धी सचेतना र्याली सहित गित तथा नृत्य प्रस्तुत गरिएको थियो।