२५ फागुन, कञ्चन
रुपन्देहीको गैडहवा गाउपालिका वडा नं. ४ स्थित गैडातालमा रहेको शिव मन्दिरमा महाशिवरात्री मेला २०८० सम्पन्न भएको छ। मेलाको अवसरमा शिव मन्दिर परिसरमा निर्माण गरिएको बिवाह मण्डपको समेत उद्घाटन गरिएको छ।
मेलाको शुभारम्भ गर्दै गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैडहवामा रहेका हरेक मठ मन्दिर तथा ताल तलैयाहरुलाई पर्यटनको आधार क्षेत्र बनाउन सके गैडहवाको बिकासले गति लिन सक्ने बिश्वास ब्यक्त गर्नु भयो। गैडहवाको बृहत्तर बिकास गैडातालसंग जोडिएकोले स्थानीय तह, प्रदेश र संघको संयुक्त लगानीमा गैडातालको सौन्दर्यकरण गरी पर्यटकिय स्थलको रुपमा बिकास गर्न आवस्यक रहेको भन्दै अध्यक्ष पौडेलले यसका लागि पालिकाको बजेटलेमात्र धान्न नसक्ने बताउनु भयो।
फरक प्रसंगमा अध्यक्ष पौडेलले गैडहवाको भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अब्यबस्थित बसोबासीको समस्या समाधानका लागि वडा नं. ९ नापी कार्यको थालनी भएको बताउदै यही स्थानीय सरकारले सुकुमवासी समस्या समाधान गर्न जनप्रतिनीधि, कर्मचारी, राजनैतिक दल र सरोकारवालाहरुसंगको सहकार्यलाई प्राथमिकता दिइएको बताउनु भयो।
यसैगरी गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ४ का वडा अध्यक्ष सुरेन्द्र सिंह कुर्मीले गैडहवाको ९ वटा वडा मध्ये सबैभन्दा बढी र ब्यबस्थित बिकास वडा नं. ४ मा भएको बताउनु भएको छ। रुपन्देहीको सबैभन्दा ठूलो तालको रुपमा रहेको गैडहवाताललाई पालिकाको मुख्य पर्यटकिय स्थलको रुपमा सुचिकृत नगरेसम्म गैडहवाको समृद्धि सम्भव नहुने वडा अध्यक्ष कुर्मीले बताउनु भयो।
वडा नं. ७ का वडा अध्यक्ष लाल बहादुर केवटले गैडहवा गाउँपालिका बिभिन्न सम्भावना बोकेको स्थानीय तह भएकोले गैडहवामा रहेका बिभिन्न पर्यटकिय स्थलहरुलाई एकिकृत बिकास गर्नु पर्नेमा जोड दिनु भयो। गैडहवा कृषिका लागि मुख्य हब भएकोले पनि यस पालिकालाई कृषि पर्यटनसंग जोडेर आन्तरिक श्रोतहरुको संकलन गर्न सकिने उल्लेख गर्दै वडा अध्यक्ष केवटले गैडहवालाई धार्मिक पर्यटनसंग पनि जोड्न सकिने बताउनु भयो।
कार्यक्रममा गैडाताल गाउँ समाजका अगुवा तथा शिक्षा प्रेमी ईश्वरी अधिकारीले स्थानीय, प्रदेश वा संघ जुनसुकै तहबाट भएपनि गैडातालको भौतिक पुर्वाधार बिकासमा लगानी गरी तालको सौन्दर्यकरण गर्नु पर्नेमा पालिका अध्यक्ष सुरेन्द्र पौडेलसमक्ष आग्रह गर्नु भयो। गैडाताललाई ब्यबस्थित गरी तालको बिचमा बुद्धको प्रतिमा सहित गुम्बा स्थापना गर्न सके लुम्बिनीमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गैडहवामा भित्र्याउन सके पालिकाको आर्थिक श्रोत बढाउन सकिने अधिकारीले बताउनु भयो।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका चन्द्रप्रकाश घर्ति र स्थानीय बावुराम मल्ल लगायतले गैडहवाको बिकास गर्न कोही कसैले पनि कन्जुसाईं गर्न नहुनेमा जोड दिनु भएको थियो।
शिव मन्दिर ब्यबस्थापन समिति, गैडहवा ४ गैडाताल रुपन्देहीका अध्यक्ष चित्र बहादुर सारु मगरको अध्यक्षता तथा सुर्य प्रसाद अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले शिव मन्दिर परिसरमा निर्माण गरिएको विबाह मण्डपको समेत उद्घाटन गर्नु भएको थियो। पालिकाको ५ लाख रुपैयाको लागनीमा उक्त विवाह मण्डप निर्माण गरिएको थियो।