२५ फागुन, गैडहवा
रुपन्देहीको गैडहवा गाउपालिकामा ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला अधिकार तथा महिला हिंसा सम्बन्धी सचेतनामुलक र्याली सहित सडक नाटक प्रदर्शन गरिएको छ। गैडहवा गाउँपालिका वडा नं. ९ को आयोजना तथा हामी सक्छौ साथी सञ्जाल गैडहवा ९ कोसंगको संहकार्यमा भएको कार्यक्रममा वक्ताहरुले महिलाहरुको क्षमता, दक्षता र सक्षमताको आधारमा अधिकार प्राप्तीका लागि महिला शसक्तीकरणमा जोड दिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा गैडहवा गाउपालिकाका उपाध्यक्ष माधुरी जैसवालले हामीसंग क्षमता छ तर पनि समाजले महिलाहरु प्रति हेर्ने दृष्टिकोण सधै कमजोर भएकै कारण महिलाहरु पछाडी पर्दै आइरहेको बताउनु भयो। समाजमा प्राप्त हुने हरेक अवसरहरुलाई नतृत्व लिनका लागि हरेक महिलाहरु शसक्तीकरण हुन आवस्यक रहेको उल्लेख गर्दै जहाँ महिलाहरुको अगुवाईमा काम हुन्छ त्यहा सभ्य र पारदर्शी हुनुका साथै आत्म बिश्वास पनि बढ्दै जाने उपाध्यक्ष जैसवालले बताउनु भयो ।
यसैगरी कार्यक्रमका बिशिष्टि अतिथि तथा प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले समाजमा हुने हरेक किसिमको हिंसा र दुर्ब्यबहारका बिरुद्ध संघर्ष गर्न महिलाहरु भित्र रहेको आत्म बिश्वासलाई बाहिर ल्याउन सक्नु पर्ने बताउनु भयो। जवसम्म आफु भित्र रहेको क्षमता, आत्म बिश्वास र सक्षमतालाई ब्यबहार ल्याउने हिम्मत गरिदैन तवसम्म समुदायले महिलाहरुप्रति हेर्ने दृष्टिकोण सदैव नकरात्मक हुने उल्लेख गर्दै प्रमुख प्रशासकिय अधिकृत पन्थीले महिलाहरुको शसक्तिकरण र उनिहरुको हक अधिकारबारे सक्षम बनाउन पालिकाले निरन्तर सहयोग गर्ने बताउनु भयो।
यसैगरी सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४ रुपन्देहीका सचिव हिमा बेलवासेले समान कामका लागि समान ज्यालको नारा लिएर अमेरिकी महिला मजदुर क्लारा जेट्किनले गरेको मजदुर आन्दोलन प्रतिफल नै आजको दिनलाई बिश्वभर श्रमिक महिलाहरुले उत्सवको रुपमा मनाइरहेको बताउनु भयो। कामगरी खाने महिलाहरुको न्यायिक संघर्षका लागि ११४ बर्ष अगाडी उठाएको मुद्धा अहिले पनि समय सान्दर्भिक रहेको तर अझैपनि समान कामका लागि समान ज्यालालाई कायर्नन्वय हुन नसकेको सचिव बेलवासेले बताउनु भयो।
कार्यक्रममा सहायक महिला बिकास निरीक्षक शान्ता गिरी, उमा ढकाल, राधाकृष्ण टोल बिकास संस्थाका अध्यक्ष तथा प्रगतिशिल आमा समूहका अध्यक्ष मैना गिरी, समयमाई आमा समूहका अध्यक्ष सरस्वती चौधरी लगायतले आफ्नो अधिकारका लागि सामाजिक, सांस्कृतिक, आर्थिक, शैक्षिक रुपमा सशक्तीकरण हुन आवस्यक रहेको बताउनु भएको थियो।
यस्तै कार्यक्रमको अध्यक्षता गर्दै गैडहवा वडा नं. ९ का वडा अध्यक्ष मिना थापा क्षेत्रीले आफुलाई कमजोर बनाएर होइन कुनै पनि अवसरलाई मैले बाहेक अरु कसैले पनि ग्रहण गरेर सफल रुपमा अवतरण गराउन सक्दैन भन्ने दृढताका साथ अघि सर्ने हिम्मत गरे असम्भव भन्ने केही नभएको बताउनु भयो। सबैभन्दा ठूलो साहस अनि आफु भित्रको आत्मवललाई प्रस्फुटन गर्ने हिम्मत निकाल्ने हरेक ब्यक्ती समाजको नजरमा पर्ने भएकोले पनि मैले त सक्दिनँ, केही जान्दिनँ भनेर पछि हट्ने होइन भन्दै वडा अध्यक्ष क्षेत्रीले म सक्छु भन्ने भावनाका साथ अगाडी बढ्नु पर्नेमा जोड दिनु भयो।
वडा नं. ९ को वडा कार्यलय परिसरमा भएको कार्यक्रममा गैडहवाका बिभिन्न आमा समूह, टोल विकास संस्था, अगुवा, हामी सक्छौं साथी सञ्जाल, बाल बगैचा, सम्बाद समूह, ग्रेजुएट समूह लगायतले महिला अधिकार, महिला हिंसा, दुर्ब्यबहार, बलत्कार तथा सामाजिक बिकृति र बिसंगती बिरुद्ध लेखिएका प्ले कार्ड सहित र्याली गरेका थिए। यस्तै कार्यक्रममा हामी सक्छौ साथी सञ्जालद्वारा लागु पदार्थ दुर्ब्यसनी बिरुद्धको सचेतना मुलक सडक नाटक समेत प्रदर्शन गरिएको थियो
वडा अध्यक्ष मिना थापा क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पुनम सुनारले स्वागत गर्नु भएको थियो भने वडा सचिव पार्वती ज्ञवाली र हामी सक्छौं साथी सञ्जालका पुजा सुनारले कार्यक्रम संचालन गर्नु भएको थियो।