१८ माघ, लुम्बिनी/दिनेश प्रसाद लोध
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नगरस्तरिय २ दिने बेमौसमी तरकारी खेती तालिम तथा बीउबिजन वितरण कार्यक्रम सम्पन्न भएको छ।
कृष्ण सामुदायिक विकास केन्द्रको आयोजना र लुम्बिनी साँस्कृतिक नगरपालिकाको सहयोगमा किसानहरुलाई बेमौसमी तरकारी खेती कसरी गर्ने र रोगहरुबाट कसरी बचाउने, बिउहरुलाई बेमौसममा कसरी उमार्ने, बिउलाई कसरी मलजल दिई रेखदेख कसरी गर्ने भन्नेबारे आधारभुत सिप दिइएको हो। तालिममा कृषि शाखाका राजन चौधरीले प्रशिक्षण दिनु भएको थियो। सिकेको सिपलाई सहीढंगबाट प्रयोग गरिएको अवस्थामा बेमौसमी खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिने कृषि शाखाका चौधरीले बताउनु भएको थियो।
यसैगरी तालिमको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उप प्रमुख कल्पना हरिजनले तालिमबाट सिकेको सिपलाई सही रुपमा सदुपयोग गरी आत्मनिर्भर बन्नु पर्ने आग्रह गर्दै बेमौसमी तरकारी खेती गर्दा उत्पादति बस्तुहरुले उचित मुल्य पाउने बताउनु भएको थियो।
कृष्ण सामुदायिक विकास केन्द्रका अध्यक्ष गरिबुल्लाह फकिरको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख मनीराम पौडेल केन्द्रका सदस्य कोपिला पौडेल, सविना चौधरी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नम्बर १,२,४,९,१२,१० का ८६ जना कृषकहरुको सहभागी रहेको थियो भने कार्यक्रममा कृषकहरुलाई लैका, घिरौला, काउली, फर्सी, करेला, बोडीको विउ वितरण गरिएको थियो । तालिममा राजेन्द्र चौधरीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।