घसान कानाफानी
(सन् १९३६ मा बेलायतशासित प्यालेस्टिनमा जन्मेका घसान कानाफानी ३६ वर्षको उमेरमा सन् १९७२ मा शरणार्थी अवस्थामा लेबनानको राजधानी बेरुतमा मारिए । इजरायलले कारबम विस्फोट गराई १७ वर्षीय भान्जीसहित उनको हत्या ग¥यो ।
घसान लेखक, उपन्यासकार, कथाकार, चित्रकार, पत्रकार र चिन्तक थिए; कम्युनिस्ट थिए । क्रान्तिकारी योद्धा थिए । उनी अरब जगतका सतिसाल साहित्यकार थिए । उनलाई मानिसहरू ल्याटिन अमेरिकाका मार्खेजसँग तुलना गर्छन् । ‘घामले डामेका मान्छेहरू’, ‘हाइफा फर्किँदा’, ‘आमा साद’ जस्ता कालजयी उपन्यासका रचयिता घसान कम्युनिस्ट पार्टीका प्रवक्ता पनि थिए । मजदुरको यस अङ्कमा हामी उनको मर्मस्पर्शी कृति ‘घामले डामेका मान्छेहरू’ मा सङ्कलित एउटा कथा ‘गाजाको चिठी’ प्रकाशित गर्दै छौँ ।)
प्यारो मुस्तफा,
तिम्रो चिठी पाएँ । चिठीमा तिमीले सेक्रामेन्टोमा मलाई आफूसँगै राख्न आवश्यक पर्ने सबै तारतम्य मिलाएको लेख्यौ । त्यहीँको क्यालिफोर्निया विश्वविद्यालयमा सिभिल इन्जिनियरिङ विभागमा मेरो दर्खास्त स्वीकार गरिएको खबर पनि पाएको छु । साथी, यी सबैको लागि मैले तिमीलाई धन्यवाद दिनैपर्छ । तर, यो खबरले तिमी मर्माहत हुनेछौ भन्ने मलाई थाहा छ । यसमा कुनै शङ्का छैन । फेरि यो कुरा भन्न मलाई कुनै किसिमको सङ्कोच पनि लागेको छैन । बरु निर्धक्क भन्छु, जीवनलाई आजजस्तो स्पष्ट मैले कहिल्यै देखेको थिइनँ । सकिन साथी, मैले आफ्नो मन फेरिसकेँ । तिमीले लेखेको ‘हरियाली, पानी र रूपासेहरू’ को देशमा तिमीसँगै म आउन सक्दिन । हो, म यही बस्छु । यो ठाउँ छोडेर कहिल्यै अन्त जानेछैन ।
हाम्रो जीवनले अब एउटै बाटो नलिने भयो । यसमा म अलि दुःखी पनि छु, मुस्तफा । हामीले सँगसँगै जीवन बिताउने वाचा गरेको तिमी बरोबर सम्झाइरहन्थ्यौ । तिम्रो कुरा आज पनि मेरो कानमा ठोक्किरहन्छ । हामी चिच्याउने गथ्र्यौँ, “हामी धनी बन्नेछौँ” तर, अब मैले गर्नसक्ने केही रहेन साथी । कायरो विमानस्थलको यात्रु कक्षमा तिमीसँगै उभिएको म अझै पनि सम्झिन्छु । मैले तिम्रो हात चरप्प समातेको थिएँ र हामीले गडगडाइरहेको मोटरतिर एकटक हेरेका थियौँ । त्यतिखेर सबथोक कानै खाने मोटरझैँ समयसँगै नाचेजस्तो लागेको थियो । तिमी ठीक मेरो अगाडि थियौ । गोलाकार तिम्रो अनुहार मौन थियो ।
अनुहारमा अलिकति उमेरका धर्साहरू थपिएको बाहेक गाजा साजियाको कोठामा हुर्किँदै गर्दा पनि तिम्रो अनुहार जस्ताको तस्तै रह्यो । कुनै कसर नराखी हामीले एक अर्कालाई बुझ्यौँ, सँगै हुर्कियौँ र अन्तिमसँग पनि सँगै राख्ने कसम खायौँ । तर…
“जहाज उड्न अझै सवा घण्टा बाँकी छ । त्यसरी आकाशतिर नहेर । सुन ! अर्को वर्ष तिमी कुवेत जानेछौ । गाजाबाट जरा उखेलेर क्यालिफोर्नियामा आफ्नो जरा गाड्न त्यहाँ तिमीले आफ्नो कमाइ जम्मा गर्नेछौ । सँगै सुरु ग¥यौँ र अघि पनि सँगै जानुपर्छ ।…”
त्यतिखेर मबेगले चल्मलाइरहेका ओठ नियालिरहेथेँ । कतै नरोकिकन फर्फरी बोल्नु तिम्रो बानी थियो । कताकता तिमी आफ्नो यात्रादेखि पूरै खुसी नभए जस्तो लाग्यो मलाई । आफू बिदेशिनुका तीनवटा बलिया कारणसम्म बताउन सकेनौ तिमीले । म पनि यो उल्झनबाट गुज्रेको छु । तर, एउटा स्पष्ट विचार सधैँ आइरह्यो : यो गाजा नै त्यागेर किन नजाने ? किन नभाग्ने ? जे होस् तिम्रो अवस्था सुध्रिन थाल्यो । मलाई नदिए पनि कुवेतको शिक्षा मन्त्रालयले तिमीलाई एउटा ठेक्का दियो । गरिबीको घनचक्करमा थिएँ म । तिमीले अलिकति पैसा पठाइदियौ । त्यसलाई ऋणको रूपमा लिन भन्यौ किनभने अरूबाट पैसा लिँदा मेरो चित्त नदुखोस् भन्नेमा तिमी सावधान थियौ । मेरो पारिवारिक रामकहानी सबै तिमीलाई थाहा थियो । उता स्कूलमा पढाएबापत हुने कमाइले आमा, विधवा भाउजू र उहाँका चार सन्तान पाल्न धौधौ थियो । यो कुरा तिमीबाट लुकेको थिएन ।
“ध्यान दिएर सुन । मलाई पत्र लेख्नू दिनदिनै.. घण्टाघण्टामा.. पलपलमा ! जहाज उड्ने बेला भयो अब ! बिदा है ! अर्को भेट नहुञ्जेलसम्म !”
चिसो ओठले मेरो गाला छोएर तिमीले मुन्टो फर्कायौ र विमानतिर लाग्यौ । पर गएर मतिर हेर्दा तिम्रो आँखाभरि आँसु थियो ।
पछि मलाई पनि कुवेतको शिक्षा मन्त्रालयले एउटा ठेक्का दियो । त्यहाँ म जसरी बाँचे तिमीलाई केस्राकेस्रा थाहा छ । म रिट्ठो नबिराई सबै कुरा खुलाई तिमीलाई चिठी लेख्थेँ । त्यहाँ मेरो जीवन कुनै चिप्ले किराजस्तो चिपचिपे र रित्तोरित्तो थियो । घाँटी अँठ्याउने एकाङ्कीपनमा म कतै हराएको थिएँ । दूषित दैनिकीमा अल्झिएको, भलभली बगिरहेको समय कुनै अनकन्टार रातको सुरुआतजस्तो अँध्यारो भविष्यसँग जसोतसो जुध्दै थिएँ । सबथोक बाफिलो र चिपचिपे थियो । जिन्दगी नै चिप्लिरहेको थियो । महिनाको अन्तिम दिनसम्म पुग्ने घिड्किसो थियो ।
त्यो वर्षको आधाआधीतिर यहुदीहरूले मध्य साभा जिल्लामाथि बमबारी गरे र गाजामाथि, हाम्रो गाजामाथि पनि हमला गरे† गोलाबारुद बर्साए । त्यो घटनाले मेरो दैनिकी बिथोल्न सक्थ्यो । तर, मैले चासो दिनुपर्ने केही पनि थिएन । मैले गाजा छोड्दै थिएँ । धेरै समयदेखि मेरो अन्तर आफैँ पीडित थियो । म गाजा र यहाँका बासिन्दालाई घृणा गर्थेँ । यो अङ्गभङ्ग सहरमा जता हेरे पनि बिरामीले फुस्रो रङले कोरेको रुग्ण चित्रको झल्को आउँथ्यो । मैले मेरी आमा, भाउजू र उहाँका छोराछोरीको जीवन धान्न थोरै रकम पठाउने नै थिएँ । तर, सात वर्षदेखि मेरो नाकमा भरिएको यो पराजयको दुर्गन्धबाट टाढा त्यो हराभरा क्यालिफोर्नियामा पुगेपछि यो अन्तिम साइनोबाट पनि म आफूलाई मुक्त गर्ने थिएँ । दाइका छोराछोरी, भाउजू र आमासँग मलाई बाँध्ने मेरो सहानुभूतिले नै मलाई गहिराइमा डुबुल्की मार्नबाट रोक्नु हुँदैन । म बिसिरहेको यो गहिरो अन्धकुपबाट मलाई झन् तल धकेल्नु हुँदैन । म भाग्नै पर्छ !
तिमी त मेरो भावना बुझ्छौ मुस्तफा । तिमी आफैँ पनि यो भोगाइबाट गुज्रेका हौ । गाजासँग यो कस्तो गलत तवरले परिभाषित साइनो हो, जसले उडान लिने हाम्रो उत्साह खुइलाइरहेको ? हामीले यसको अर्थ केलाउने गरी यतातिर किन नघोत्लिएको ? यो पराजयलाई हामीले पछाडि किन नछोडेको ? त्यसका घाउहरूलाई च्यात्तै छोडेर हामीलाई प्रगाढ सान्त्वना दिनसक्ने उज्ज्वल भविष्यतिर किन नलम्केको ? किन ? कारण यही हो भनी हामी भन्न सक्दैनौँ ।
जून महिनाको बिदामा म घर गएँ । आफ्नै मालसामान जम्मा गरेँ । म सबैसित आत्मीय बिदाइ लिन चाहन्थेँ । जीवनलाई राम्रो र चहकिलो अर्थ दिने साना ती हर चीजतिरको यात्रा थाल्न चाहन्थेँ । मैले चिनेको गाजा फेरिएको थिएन । छालले चिपचिपे बालुवा भरिएको तटमा वधशालाको ठीक अघिल्तिर हुत्याएको खिया लागेको खबटेकीराको खुम्चिएको ओठजस्तो बन्द गाजा । डरलाग्दो दुस्वप्नको भङ्गालोमा आत्तिएको सुताहा दिमागभन्दा पनि जर्जर थियो गाजा । गाजाका साँघुरा गल्लीहरूको विचित्र गन्ध उस्तै थियो । उस्तै थियो हार र गरिबीको गन्ध । घरघरका बल्झेजस्ता बार्दलीहरू उस्तै थिए । उही गाजा ! तर, मान्छेलाई उसको घरपरिवार र सम्झनाहरूतिर तान्ने धुमिल धागो के हो ? जस्तो च्याङ्ग्राको बथानलाई पानीको छहराले तान्छ ! मलाई थाहा छैन ।
यत्ति थाहा छ मलाई, त्यो बिहान म आमालाई भेट्न घर गएँ । त्यहाँ पुग्दा भाउजू भेटिनुभयो । बर्बरी आँसु झार्दै उहाँले मलाई कसैगरी गाजाको अस्पतालमा भर्ना भएकी घाइते छोरी नादियाले मलाई भेट्न चाहेको हुनाले त्यही साँझ नादियालाई भेट्न भन्नुभयो । तिमी चिन्छौ नि नादियालाई ? १३ वर्ष पुगेकी मेरा दिवङ्गत दाजुकी फूलबुट्टे छोरी !
त्यो साँझ मैले एक किलो स्याउ किनेँ र नादियालाई भेट्न अस्पतालतिर लागेँ । आफ्नै मुखले भन्न नसकेर आमा र भाउजूले मबाट केही न केही त लुकाउनुभएको छ भन्ने मलाई थाहा थियो । आँखै आँखाले उहाँहरू आपसमा कुरा गरिरहनुभएको थियो । उहाँहरूको इसारा मैले बुझ्न सकिरहेको थिइनँ । नादियालाई माया गर्नु मेरो अम्मल बनिसकेको थियो । यही अम्मलका कारण म पराजय र विस्थापनमा शरणार्थी शिविरहरूमा हुर्किरहेको नयाँ पुस्ताका सबैलाई माया गर्ने गर्छु । यो पुस्ता सुखद जीवन भनेको सामाजिक नियम मिच्नु हो भन्ने मानसिकतामा हुर्किरहेको छ ।
त्यो क्षण के भयो कुन्नि ? मलाई हेक्का छैन । म त्यो शान्त र श्वेत कोठामा पसेँ । खासगरी क्रूर, पीडादायी घाउका कारण बिरामी हुने बच्चाबच्ची सन्तजस्ता देखिन्छन् । नादिया ओछ्याउनमा पल्टिएकी थिई । ठूलो सिरानीको आड दिएर उसको टाउको अलि उठाइएको थियो । सिरानीमा उसको कपाल बाक्लो भुत्लाजस्तो सर्वत्र फैलेको थियो । उसका ठुलाठुला आँखाहरूमा गहिरो मौनता थियो । उसको मुहार शान्त थियो, स्तब्ध थियो, तर मुखर थियो । जस्तो यातनाले गरेको कुनै देवदूतको मुखाकृति हुने गर्छ । नादिया बच्ची नै थिई । तर, ऊ आफ्नो उमेरभन्दा अर्कै देखिई । ठूली धेरै ठूली देखिई ।
“नादिया !”
मै बोलिरहेको हुँ वा मपछाडि उभिएर कोही बोलिरहेको हो, मैले पत्तै पाइन । तर, उसले मतिर आफ्नो नजर उठाई । तातो चियाको कपमा चिनीका टुक्रा हराएजस्तै म उसका आँखामा हराएँ । ओठमा हलुका मुस्कानसँगै उसको बोली फुट्यो ।
“काका ! भर्खर कुवेतबाट आउनुभएको ?”
उसको बोली घाँटीमै अड्कियो । हातले ओछ्यान दबाउँदै ऊ अलि माथि उठी र घाँटी मतिर तन्काई । मैले उसको पिठ्युँ सुम्सुम्याएँ र ऊनजिकै बसेँ ।
“नादिया ! मैले कुवेतबाट तिमीलाई उपहार ल्याइदिएको छु । धेरै उपहार ल्यादिएको छु । निको भएर तिमी ओछ्याउनबाट बाहिर नआउँदासम्म म पर्खिरहनेछु । तिमी मेरो घर आउनू । म तिमीलाई ती सबै उपहार दिउँला । तिमीले चिठीमा रातो ट्राउजर मगाएकी थियौ नि ! किनेर ल्याइदिएको छु ।”
के भनौँ के नभनौँको स्थितिमा मैले ढाँटेँ । तर, बोल्दै गर्दा पहिलोचोटि मलाई आफूले सत्य बोलिरहेझैँ प्रतीत भयो । बिजुलीको झट्का लागेजस्तो नादिया थरथर कामी । भयावह मौनतामा आफ्नो शिर झुकाई । उसको आँसुले मेरो हात भिज्यो ।
“रातो ट्राउजर चाहिन्छ कि चाहिन्न ? भन नादिया !”
उसले मतिर हेरी र बोल्न खोजी । तर, ऊ रोक्किई, दाँत बाँधी । मलाई उसको स्वर टाढा कतै बजेजस्तो लाग्यो ।
“काका !”
उसले आफ्ना हात तन्काई, औँलाले सेतो कम्मल माथि हटाई र आफ्ना खुट्टातिर देखाई । उसको खुट्टा काटिएको थियो ।
साथी… नादियाको खुट्टालाई म कहिल्यै भुल्न सक्दिन । पूरै खुट्टा चोइटिएको थियो । भुल्दै भुल्दिन ! न म उसको शोक बिर्सिन सक्छु । उसको शोक उसको मुहारमा ढलेको थियो, सदासदाका लागि उसको व्यक्तित्वमा घोलिन पुगेको थियो । त्यो दिन म गाजा अस्पतालबाट बाहिर निस्केँ । मेरा हातहरू त्यो स्याउमा चप्केजस्ता भएका थिए । नादियालाई दिन ल्याएको कोसेली एउटा मौन ठट्टा बन्न पुगेको थियो । चर्को घामले सारा गल्लीहरूलाई रगताम्य बनाएजस्तो लाग्यो । गाजा एकदम नयाँ बन्यो मुस्तफा ! तिमीले–हामीले गाजाको यो रूप कहिल्यै देखेनौँ । हामी बस्ने शाजियाको घरअगाडि तहतह बनाएर राखिएका ढुङ्गाहरूले अर्कै अर्थ दिए । मानौँ आफ्नो अर्थ कसै न कसैले निकाल्लान् भनेर ती ढुङ्गा त्यहाँ बसेका हुन् । जुन गाजामा हामी बाँचेका थियौँ र जहाँका असल मानिसहरूसँगै हामीले पराजयका सात वर्ष बिताएका थियौँ अब नयाँ बनेको थियो । मलाई यो नयाँ कामको थालनी जस्तो लाग्यो । यो थालनी मात्र हो भन्ने मैले किन सोचे थाहा छैन ।
घर फर्किँदै गर्दा म हिँडिरहेको सफाद सहरतिर जाने मूल सडक मलाई एउटा सुदूर यात्राको सुरुआत मात्र लाग्यो । गाजाका सबथोक मलाई दुःखमा चल्मलाइरहेका तर आँसु चुहाएर पनि नबसेका जस्ता लागे । गाजा मेरो लागि चोइटिएको खुट्टामाथिको दाबीभन्दा पनि एउटा चुनौती जस्तो बन्यो !
म गाजाका सडक र गल्लीमा गएँ । गल्लीहरूमा आँखै तिर्मिराउने घाम पसारिएको थियो । आफ्ना भाइबहिनीलाई बमबारी र आगोको लप्काबाट जोगाउन तिनीहरूमाथि ओत बनी हाम्फाल्दा नादियाले आफ्नो खुट्टा गुमाएको कुरा मलाई अरूले बताए । त्यो दिन उनीहरूको टोलमा ठुलो बमबारी भएको थियो । नादियाले आफूलाई जोगाउन सक्थी । ऊ टाढा कतै भाग्न सक्थी । आफ्नो खुट्टा बचाउन सक्थी । तर, ऊ भागिन ।
किन ?
अहँ साथी, म सेक्रामेन्टो आउँदिन । यसमा मलाई कत्ति पनि पछुतो छैन । फेरि मैले हाम्रो बाल्यकालमा सुरु गरेको यात्राको बिट पनि मार्नेछैन । गाजा छोड्ने बेला तिमीले महसुस गरेको त्यो धमिलो भावना, त्यो झिनो भावना तिमीभित्र झाङ्गिनुपर्छ । त्यो फैलिनुपर्छ । आफँैलाई पाउन तिमीले त्यसलाई यहाँ पराजयका यी कुरूप खण्डहरहरूबिच खोज्नुपर्छ ।
म तिमीकहाँ आउँदिन । तर, तिमी हामीकहाँ फर्किनुपर्छ ! फर्क साथी, नादियाको खुट्टाबाट सिक । चोइटिएको उसको सङ्ग्लो खुट्टाबाट जीवन के हो सिक । बाँच्नुको महत्व केमा छ, बुझ ।
फर्क साथी ! हामी सबै तिमीलाई पर्खिरहेका छौँ ।
अनुवाद : सुरेश