शासक दल र शासक दलका नेताहरू साँच्चै बदनाम भएका भए तिनीहरू कसरी निर्वाचनमा बढी मत पाएर चुनिए ? यो प्रश्नबारे सार्वजनिक बस, गल्ली, चिया पसल र उपत्यकाका भोजहरूमा छलफल भइरहेको दुई तीन वर्ष भयो ।
शासक दलका नेता र कार्यकर्ताहरूलाई मुखमुखै लाग्ने मतदाताहरूलाई शासक दलका नेताहरूले रिसाएर भन्ने गर्छन्, “तिमीहरूले हाम्रो पार्टीलाई निर्वाचन घोषणापत्र हेरेर मत दिएका होइनौ; हाम्रो पैसा, उपहार र आफ्ना छोराछोरीहरूले काम पाउने आशाले हामीलाई मत दिएका हौ । देशले काम त तत्कालै दिनसक्ने अवस्था नै छैन । यसकारण, लाखौँ युवाहरूलाई विदेश पठाएर काम गराउन राहदानी (पासपोर्ट) दिएका हौँ ।”
तत्कालै प्रतिउत्तरमा एक युवकले रिसाएर भन्यो, “हाम्रो घर–खेत बन्धकी राखेर लाखौँ रूपैयाँ लिएर पासपोर्ट लिएका हौँ, त्यसमा पनि एक महिनादेखि भिसा (स्वीकृति पत्र) आइपुगेको छैन भनी झुलाउँदै छौ ।”
झोकाझोक, भनाभनको स्थिति र हातपात हुने सम्भावना भएपछि चिया पसलेले विनम्र भएर बोल्यो, “तपाईंहरू म्यानपावर कम्पनीको अफिसमा गएर कुरा गर्नुस् न … । भोको मानिस र आफ्नो सम्पत्ति खर्च गर्ने मानिस त रिसाउनु स्वाभाविक नै हो नि !” झोकाझोकको स्थितिले नराम्रो परिस्थिति सिर्जना हुने शङ्काले दुवै पक्ष बाहिर गए । बाँकी भएका युवाहरूमध्ये एकले भन्यो, “एक दिन म्यानपावर कार्यालयमै आगो लाग्नेछ र त्यसका कर्मचारीहरूको घरघरमा गएर धर्ना दिनेछ, आन्दोलन हुनेछ ।
××× ××× ×××
बसमा उठेर यात्रा गर्ने यात्रुहरूले त्यस्तै वादविवाद र छलफल गरेको सुनिन्छ । भोज खाँदै गरेका एक जना अधबैँसे मानिस विदेशमा गएको छोराले पैसा नपठाएको झोकमा कराउँदै थियो, “अब हामी सबै विदेशमा गएर अनसन गर्ने । हामी लोग्ने–स्वास्नीले काम नपाएसम्म त्यही बस्ने ।”
एक युवकले नेवारी भाषामा अलि ख्यालठट्टा गर्दै सोध्यो – “ए, काका, तपाईं विदेशमा के काम गर्नुहुन्छ नि !”, “मेरो छोरो मैले जन्माएको हो, तिनीहरूले जे जे काम दिन्छन्, सबै काम गर्ने, मोटर दियो भने मोटर चलाउने, हवाईजहाज दियो भने नेपालसम्म उडाएर ल्याउने” काकाले जवाफ दियो ।
यति भन्दाभन्दै अभिभावक भुइँमा लोट्यो† कुरा चलाउने युवाले ‘लौ काका घर जाऔँ’ भन्दै सम्हालेर घरतिर लग्यो ।
चारैतिर भोजमा जम्मा भएका महिलाहरू आपसमा साउती गर्दै थिए – ‘के गर्ने ? चोक चोकका घरहरू एक एक गरेर विदेशीहरूले किन्दै छन् । टोल टोलमा स्वदेशीहरूभन्दा विदेशीहरू बढ्दै छन् ।”
यसको जवाफ कसैले दिन सकेनन् र लामालामा सुस्केरा हाल्दै एकले अर्कोलाई घर जाने सङ्केत गर्दै आ–आफ्ना घरतिर लागे ।
××× ××× ×××
देशको स्थिति यस्तै छ । यस्तो स्थिति आउनुमा सरकारमा गएका सबै राजनीतिक दलका नेताहरू जिम्मेवार छन् । पैसाले मतदाताहरूको मत किन्ने प्रवृत्ति लागु गर्नुमा नेताहरू सबभन्दा पहिले जिम्मेवार छन् । सरकारमा पुग्नेहरूले जिल्ला जिल्लामा व्यवसायिक सीपमूलक तालिम दिएर जनतालाई रोजगारी दिने काम सुरु गर्नुपर्ने थियो, त्यो भएन ।
शासक दलका नेताहरूबिच पद कसले पाउने भन्नेबारे छलफल हुन्छ । उनीहरू जनताको काममामबारे छलफल गर्नुभन्दा पदाधिकारीहरू खाली ठाउँमा आ–आफ्ना मानिस भर्न नाम टिप्दै गर्छन् ।
प्रदेशका मुख्य मन्त्रीहरूले आ–आफ्ना प्रदेशमा कुन कुन क्षेत्रमा के–कस्ता उत्पादनको सम्भावना छ भन्नेबारे आफ्ना विशेषज्ञ र मन्त्रीहरूलाई अनुसन्धान गर्न दिनुपर्ने हो । केन्द्रलाई मात्रै दोष दिएर अजिङ्गरले जस्तो केही नगरी बस्नुको अर्थ प्रदेशको सिद्धान्तको विषयमा चिन्तनकै अभाव देखिन्छ । प्रदेशहरूले सङ्घीय सरकारहरूको नक्कल गरेको खण्डमा यो एक पुस्ता नालायक साबित हुनेछ ।
यसकारण, हरेक प्रदेशले आ–आफ्नो परिस्थितिअनुसार मौलिक योजना बनाओस् भन्ने जनताको अपेक्षा होला । प्रदेशले पालिकाहरूलाई विनापक्षपात सम्भावना भएका कार्यहरूमा सहयोग गर्दा व्यावहारिक हुने बुद्धिजीवीहरू बताउँछन् ।
-अनलाइन मुजदुरको सम्पादकियबाट