गाउँबाट बिस्थापित भै शहर पस्ने क्रम बढेसंगै अहिले पूर्वी नवलपरासीका गाउँहरु रित्तिन थालेका छन् ।
पूर्वी नवलपरासीमा ६० प्रतिशत बासिन्दा स्थायी रुपमै गाउँ छाडेर शहर केन्द्रित भएका छन भने रोजगारीको सिलसिलामा २० प्रतिशत र बाँकी २० प्रतिशत मात्रै त्यो पनि बुढाबुढी, बयस्क र रोजगारी भएकाहरु मात्र गाउँमा बसोबास गरेका बुलिङटार गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष बिष्णुविर जर्घामगरले बताए ।
पहाडी दुई गाउँपालिका मध्ये बुलिङटारको जनसंख्या २०६८ को जनगणनामा १९ हजार १२२ थियो त्यो अहिले २०७८ को जनगणनानमा घटेर १४ हजार ६३७ को हाराहारीमा पुगेको छ भने त्यो पनि शहर केन्द्रित भएकाहरुले बसाई सराई नल्याएर गाउँकै ठेगानामा विवरण भर्दा यस्तो भएको हो । गाउँमै स्थायी बसोबास गर्नेको संख्या त चार हजारको हाराहारीमा रहेको बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले बताए ।
उता बौंदीकाली गाउँपालिकाको २०६८ को जनगणनामा १९ हजार रहेको जनसंख्या अहिले २०७८ मा करिव १० हजारको हाराहारीमा पुुगेको गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताए । बौदीकाली गाउँपालिकाले त बजेटमै गाउँ फर्कनेलाई घर र २५ हजार, निःशुल्क शिक्षा दिने घोषणा गरे पनि त्यो अनुुसार गाउँ फर्कनेको संख्या भन्दा गाउँ छाड्नेको संख्या बढ्दै गएकोले यो सबैका लागि चिन्ताको बिषय भएको अध्यक्ष ओझाको भनाई छ ।
पहाडी गाउँपालिकासंगै शहरसंगै जोडिएका थप दुई गाउँपालिका हुप्सेकोटको वडा नं.२, ५ र ६ र विनयीत्रिवेणी गाउँपालिकाको वडा नं ३ का ८० प्रतिशतले गाउँ छाडेको र शहर केन्द्रित भैसकेका हुुप्सेकोट गाउँपालिकाका वडा नं. ५ का वडाध्यक्ष पदम रानामगरले बताए । अहिले पनि गाउँ छाडेर शहर केन्द्रित हुने उत्तिकै बढिरहेको छ । ती वडाहरुबाट बसाईसराई गरेर उनीहरु धेरै आफ्नै पालिकाका सुगम ठाउँमा बसोबास गरिरहेका तथ्याङ्कले देखाउँछ ।राई गरेर उनीहरु धेरै आफ्नै पालिकाका सुगम ठाउँमा बसोबास गरिरहेका तथ्याङ्कले देखाउँछ ।
कतिपय रोजगारीको खोजीमा विदेशिनु परेको छ भने कतिपय गाउँमा रोजगारी नै नभए पछि शहर झरेर भए पनि पेट पाल्न सजिलै पाईने आशाले पनि झरेको पाइन्छ र जसका कारण ग्रामीण भेगका सर्वसाधारण सहर केन्द्रित हुने क्रम बढेको छ । स्वास्थ्य, शिक्षा, रोजगारी लगायतका सेवा सुविधा खोज्दै नवलपरासी पूर्वको पहाडी भेगबाट राजमार्ग केन्द्रित स्थानीय तहमा सर्वसाधारणको बसाइँसराइ बढेसँगै राजमार्गले छोएका स्थानीय तहमा जनसंख्याको चाप बढेको गैंडकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी बताउँछन् ।
पछिल्लो दश वर्षको अवधिमा जिल्लाका ग्रामीण भेगबाट सहरी क्षेत्रमा बसाइँसराइ बढेपछि बुलिङटार र बौंदीकाली गाउँपालिकाको जनसंख्या ऋणात्मक देखिएको छ । बौदीकाली गाउँपालिका र बुलिङ्गटार गाउँपालिकाको जनसंख्या पछिल्लो दशवर्षको अवधिमा घटेको छ भने हुप्सेकोट गाउँपालिकाको जनसंख्या पनि बिस्तारै घट्दो क्रममा रहेको छ । मुख्य राजमार्गले छोएका गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको जनसंख्या पछिल्लो दश वर्षमा ह्वात्तै बढेको छ ।
पहाडी भेगबाट राजमार्ग आसपासका स्थानीय तहमा बसाइसराइ बढेपछि ग्रामीण भेगमा जनसंख्या ऋणात्मक अवस्थामा पुगेको हो । गाउँमा किन जनसंख्या घट्दैछ त्यसतर्फ स्थानीय तहले गम्भीर भएर सोच्नु पर्ने प्राध्यापक कोइरालले बताए । गाउँमा जनसंख्या टिकाउने हो भने पूर्वाधारको विकास सँगसँगै कृषिमा आधारित रोजगारी बढाउने तर्फ स्थानीय तह लाग्नु पर्ने समाजशास्त्रका अर्का प्राध्यापक टोला भुर्तेलले बताए । “शिक्षामा आमूुल परिबर्तन र कृषिमा आधारित रोजगारीलाई प्राथमिकता दिन सकियो भने जनसंख्या गाउँमा पनि टिक्छ”, भुर्तेलको भनाई थियो ।
गाउँपालिकाले बसाइसराई रोक्न नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित निर्यातमुखी अर्थतन्त्रलाई जोड दिइए पनि सार्थकता पाउन नसकेको बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीको भनाई छ ।
‘गुणस्तरीय शिक्षा र रोजगारीका लागि पहाडबाट गाउँ नै रित्तिने गरी बसाइसराइ बढिरहेको छ यसलाई रोक्न हामीले नीति तथा कार्यक्रममा नै उल्लेख गरेर शिक्षामा रुपान्तरण र कृषिमा आधारित रोजगारलाई जोड दिएर कार्यक्रम ल्याएका छौ’, अध्यक्ष प्रकाश ओझाले भने ।