
२६ साउन, कञ्चन
रुपन्देहीको कञ्चनमा डेंगी जापनिज इन्सफ्लाइटिस कीटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नस्ट गर्ने अभियान सञ्चालन गरिने भएको छ। कञ्चनका ५ वटै वडाका टोल बिकास, आमा समूह, क्लव, कर्मचारी, जनप्रतिनीधि, राजनैतिक दलहरु लगायतको सहभागितामा उक्त अभियान सञ्चालन हुने कञ्चन गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ।
विद्यालय शिक्षा कार्यक्रम, समुदाय परिचालन तथा सरोकारवालाहरुसंग गरिएको अभिमुखीकरण कार्यक्रममा सहभागीहरुले पालिकालाई डेंगी रोग उन्मुलन पालिका बनाउन लामखुट्टेको बासस्थान खोजौं र नस्ट गरौं भन्ने अभियानलाई अगाडी बढाउन प्रतिवद्धता जनाएका हुन। अभियानमा वडा भित्रका टोल बस्तीहरु, विद्यालय, सरकारी कार्यालयहरु, ग्यारेज/वर्कसप, कवाडी सामान राख्ने स्थानहरुमा प्रत्येक हप्ताको शनिवार अनिवार्य रुपमा प्रचार प्रसार, माइकिङ्ग तथा लामखुट्टेको बासस्थान खोजीगरी लार्भा नस्ट गर्ने कार्य गरिने कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ढाल बहादुर जि.सी.ले जानकारी दिनु भएको छ।
अभियान अन्तर्गत हरेक हप्ताको तेश्रो शनिवार देखि असोज मसान्तसम्म जनप्रतिनीधिहरु, कर्मचारी, शिक्षक, विद्यार्थी, प्रहरी, टोल बिकास समिति, नागरिक समाज, उद्योग वाणिज्य संघ, युवा क्लव, होटल व्यबसायी, ग्यारेज सञ्चालक महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरु आमा समूह आदीको सहभागिता रहने गजेडी स्वास्थ्य चौकीका इन्चार्ज गिताराम रिजालले जानकारी दिनु भएको छ।
यसैगरी हरेक शुक्रवार १० बजे १० मिनेट कार्यक्रम अन्तर्गत जनप्रतिनीधिहरु तथा सम्बबन्धित कार्यालय तथा विद्यालयका कर्मचारी, शिक्षक, विद्यार्थी तथा विद्यालय व्यबस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुको सहभागितामा सरकारी कार्यालय, विद्यालय, संघ संस्था तथा सम्पुर्ण सेवा प्रदायक कार्यालय परिसरमा कार्यालयको काम सुरु हुनु भन्दा अगाडी अनिवार्य रुपमा सरसफाई अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत माधवराज पाख्रेलले जानकारी दिनु भएकोछ।
लामखुट्टेको बासस्थान खोजौं लार्भा नस्ट गरौं अभियान अन्तर्गत पाँच वटै वडा र विद्यालयहरुमा विद्यलय स्वास्थ्य शिक्षा कार्यक्रम, प्रचार प्रसार तथा पैरवी र माईकिङ्ग जस्ता कार्यहरु समेत सञ्चालन गरिने छ। विद्यालय स्वास्थ्य शिक्षा कार्यक्रम अन्तर्गत व्यवहार परिवर्तन ल्याउने उद्देश्यले विद्यालय स्तरमा स्वास्थ्य शिक्षा तथा द्रुत कार्यक्रम संचालन गर्ने अन्तरगत विद्यालय साथी शिक्षा कार्यक्रम, विद्यालय घर सन्देश प्रवाह तथा सरसफाई सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने शिक्षा शाखा प्रमुख रमेश भूसालले जानकारी दिनु भएको छ। यस्तै डेंगी, जापानिज इन्सेफ्लाईटिस लगायत कीटजन्य रोगहरुको नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने सम्बन्धि बिभिन्न स्थानीय भाषामा जिङ्ङ्गलहरु तयार गरि एफ.एम. रेडियो, स्थानीय टेलिभिजन तथा सामाजिक संजाल मार्फत प्रचार प्रसार गरिने स्वास्थ्य शाखा प्रमुख जि.सी.ले जानकारी दिनु भएको छ।