बिलायत जाँदाको आन्तरिक व्यवस्था
वि.सं. १९०६ माघ ४ गते जङ्गबहादुर बेलायत भ्रमणमा निस्के । एक वर्ष बाइस दिनमा उनी नेपाल फर्केका थिए । उनको बेलायत भ्रमणका मूलतः दुई अर्थ लगाउनुपर्ने ‘जङ्गबहादुरको कथा’ का लेखक चित्तरञ्जन नेपालीको राय छ । उनी लेख्छन्, “…अनेक साना ठूला काण्डहरूको सफलताका साथ सामना गरी त्यसको अढाइ वर्षपछि नै बेलायत भ्रमणमा जानुलाई एकातिर उनको साहसिलो काम मान्नुपर्छ भने अर्कोतिर त्यति छोटो अवधिभित्र आफूले स्थापना गरेको शासन प्रणालीप्रति उनको दृढ आत्मविश्वास पनि हो भन्न सकिन्छ, कारण त्यसबेला पनि उनका कतिपय विरोधीहरू भारतमा खुलारूपमा नै रहेका थिए भने देशभित्रै पनि सबै व्यक्तिहरू उनका समर्थक थिए भनी विश्वास गर्न सकिने अवस्था थिएन ।… यसबाट के पनि अनुमान गर्न सकिन्छ भने आफूले गरेको व्यवस्थापनप्रति आफ्नो दृढ आत्मविश्वास भएजस्तै उनले प्रशासनको जिम्मेवारी सुम्पेर गएका आफ्ना भातरदारहरूमाथि पनि उनको पूरा विश्वास रहेछ ।”
यस अध्यायमा लेखकले जङ्गबहादुर बेलायत भ्रमणमा जाँदा राज्य सञ्चालनको कार्यभार कसलाई दिएका थिए भन्ने विषयमा लेखकले अनेक इतिहासका निष्कर्षहरूलाई तथ्य प्रमाणका प्रकाशमा केलाएका छन् र आफ्नो निक्र्योल यसरी दिएका छन्, “…लालमोहरको प्रतिलिपिको बेहोराबाट पनि जङ्गबहादुर बेलायत भ्रमणमा जाँदा उनको अनुपस्थितिमा राज्य सञ्चालनको सम्पूर्ण अभिभारा कमान्डर इन चीफ बमबहादुरलाई नै प्रदान गरिएको स्पष्ट हुन्छ ।”
‘जङ्गकालीन ढुकुटी’
यो लेख लेखकले ‘अर्थ, ढुकुटी वा लेखापद्धति आदिबारे आफ्नो सीमित ज्ञान’ का कारण आफूसँग भएको ऐतिहासिक टिपोटको अर्थ केलाउन नसकी थान्को लगाएको सामग्रीको खुलासा हो । लेखमा लेखकले अनेक ‘गन्थन’ गरेका छन् । राणाकालीन ढुकुटी दाखिलासम्बन्धी ‘टिपोट’ पर्गेल्दै लेखक केही निष्कर्षमा पुग्छन् ।
पहिलो, उनले जङ्गबहादुरका अवैध ३०–४० पत्नी भए पनि वैध पत्नी ६ जना थिए भनी टुङ्गो दिएका छन् । दोस्रो, गगनसिंह राज्यलक्ष्मीका छोरा रणेन्द्रविक्रमका ददा थिए भने जङ्गबहादुर युवराज सुरेन्द्रका ददा थिए । ददा भन्नाले पुरुष धाइ सुसारे बुझिन्थ्यो । जङ्गबहादुरले ‘ददाङ्गी खान्गी’ बुझेबाट यो कुरा पत्ता लागेको हो । तेस्रो कुुरा, त्यस बखतको नेपालमा कानुनीरूपमै नेपाली र भारतीय मुद्रा प्रचलित थियो । नेपाली मुद्रालाई ‘मोहर रु.’ (नेरु./मोहरू) भनिन्थ्यो भने भारतीय मुद्रालाई ‘कम्पनी रु.’ (कं.रु.) भनिन्थ्यो । अङ्ग्रेजहरूले सुरुमा चलाएको भारतीय मुद्रालाई ‘लाठसाहि रुपिँया’ पनि भनिएको हुनुपर्ने र पछि यो नै कं.रु. मा परिणत भएको हुनसक्ने लेखक अनुमान गर्छन् । यो शब्द उनले सोही ‘टिपोट’ मा भेटेका हुन् । साथै अर्को ऐतिहासिक सामग्रीमा फेला परेको ‘नोटरु’ को अर्थ केलाउँदै लेखकले अङ्ग्रेजहरूले चलाएको कागजी मुद्रालाई ‘नोटरु’ उल्लेख गरेका छन् । यो ऐतिहासिक सामग्री मदनशमशेर जबराको ढुकुटीको बेर्जी (ब्यालेन्स) हो ।
‘जङ्गकालीन ढुकुटी’ मा केही परिमार्जन
यस अध्यायमा लेखकले यसअघिको लेखमा आफूले जङ्गबहादुरकी पत्नीहरूबारे राखेको धारणा थप पुष्टि गर्ने तथ्य अघि सारेका छन् । जङ्गबहादुरकी पहिली पत्नीका छोरा सबैभन्दा जेठा भीमजङ्ग थिए । तर, उनकी आमा बाजेकी ल्याइते पत्नीतर्फकी छोरी हुनाले जङ्गबहादुरले दोस्री पत्नीका जेठा छोरा जगतजङ्ग, जीतजङ्ग आदिको लहरमा राखेनन् । लेखकले टुङ्गो लगाएको अर्को तथ्य – जङ्गबहादुर वि.सं. १९१० सम्मै अर्थात् प्राइममिनिस्टर हुँदासम्म ददा वा पुरुष परिचर अथवा अङ्गरक्षकको खान्गी बुझिरहेको विवरणबाट उनी त्यसबेलासम्म राजाका ददा थिए भन्ने स्पष्ट हुन्छ ।
अघिल्लो अध्यायमा ‘लाठसाहि रुपिँया’ बारे आफूले गरेको अनुमान गलत भएको र त्यसबेला नेपालमा नेपाली मुद्राका अलावा लाठसाही रुपिँया, कम्पनी रुपिँया र पटना सिक्का गरी जम्माजम्मी चार मुद्रा चलनचल्तीमा थिए भनी लेखक भूलसुधार गर्छन् । उनले लाठसाही रुपिँया बेलायती पाउन्ड त हैन भन्दै यसलाई अध्ययनको विषय भनी अधुरो छोडेका छन् ।
जङ्गबहादुर : महिलाको पक्षमा
वि.सं. २०६७ मा लेखिएको यस लेखमा नेपाल राज्यको निर्माणबारे लेखकको विवरण रोचक छ । उनी लेख्छन्, “गोर्खा राज्यका राजा श्री ५ पृथ्वीनारायण शाहले संवत् १८०१ सालमा कान्तिपुर राज्यअन्तर्गतको भूभाग (वल्लो) नुवाकोटमाथि विजय प्राप्त गरी सुरु गरेको तथा संवत् १८२६ सालसम्ममा नेपाल उपत्यकाका तीनओटै राज्यहरू (अर्थात् कान्तिपुर, ललितपुर एवं भक्तपुर राज्यहरू) माथि आधिपत्य जमाई उच्च विन्द्रमा पु¥याएको विजय–अभियानलाई उनको शेषपछि उनका छोरा नातिहरूले पनि निरन्तरता प्रदान गरेबाट त्यसको परिणामस्वरूप वर्तमान नेपाल अधिराज्यको स्थापना भई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एवं उत्तर हिमालयदेखि दक्षिण तराईसम्म एकछत्रीय केन्द्रीय राज्यसत्ता कायम भयो ।”
यसरी निर्माण भएको केन्द्रीय राज्यसत्ताले पूर्व राजारजौटामध्ये केहीले कुनै न कुनै रूपमा आफ्नो अस्तित्व जोगाइराखेका थिए । तिनलाई राजस्व सङ्कलन गर्नेलगायत प्रशासनिक अधिकार दिइएको थियो । परम्परागत अधिकारको रूपमा केन्द्रीय राज्यको अनुमतिले तिनलाई राजाको पदवी सन्तान दरसन्तानमा सार्न दिइएको थियो । वि.सं. २०१७ सालको राज्य रजौटा ऐनले सल्यान, जाजरकोट, बझाङ र मुस्ताङ चार राज्यका पूर्व राजाहरूलाई छोडेर अन्य सबै राजारजौटाको विशेषाधिकार घटाइदिएको थियो । गणतन्त्रको स्थापनापछि त त्यो स्थिति पनि रहेन । पूर्व राजारजौटा सबैका विशेषाधिकार खोसियो ।
वि.सं. १९१३ राजा सुरेन्द्रविक्रम शाहले जङ्गबहादुरलाई ‘कास्की र लमजुङ राज्यहरूका महाराज’ बनाएर लोप भइसकेका राज्य ब्युँताएका थिए । यही नजिकै मुस्ताङ राज्य थियो । लो मन्थाङ राज्यको नेपाली नाम मुस्ताङ राखियो र पछि यो जिल्लाका रूपमा रह्यो । यसको जनसङ्ख्या मात्र ५ सय थियो ।
तिब्बती शासक खलककै एक व्यक्ति मुस्ताङ आएर बसेका थिए । उनका छोराले स्थानीय आदिवासी सरदारलाई युद्धमा मारेपछि मुस्ताङी राजवंश स्थापित भएको थियो । त्यो सन् १३८० को कुरा थियो । पछि त्यो अन्य चौबिसी राज्यसरह स्वाधीन राज्य बन्यो । पृथ्वीनारायणको ‘विजय अभियान’ पश्चिमतिर फैलाउने क्रममा लमजुङ र तनहुँले बाटो दिएनन् । त्यसैले उनले मुस्ताङको सहयोगमा चौबिसे ठकुरीहरूलाई घेर्ने योजना बनाए तर कार्यान्वयन गर्नुअघि नै उनको मृत्यु भयो । बहादुर शाहले जुम्लाले खोसेको मुस्ताङी भूमि फिर्ता दिलाउने सर्तमा मुस्ताङको बाटो प्रयोग गरेर बाबुको ‘विजय अभियान’ अघि बढाए । वि.सं. १८४७ मा राजा रणबहादुर शाहको पालामा मुस्ताङ पनि नेपाललाई सिर्तो तिर्ने गरी नेपालमा गाभियो एक करद–राज्यको रूपमा ।
वि.सं. १८२२ सम्ममा नेपालमा राणा शासनले पैठ जमाइसकेको थियो । त्यो वर्ष मुस्ताङका तत्कालीन राजाको मृत्यु भयो । राजाका दुई भाइ थिए । पारिवारिक परम्पराअनुसार माहिला भाइ लामा थिए । दाजुको मृत्युपछि उनी गृहस्थ जीवनमा फर्किन चाहे । त्यसैले उनले भाउजूसँग बिहे गरी राज्य चलाउन पाऊँ भनेर निवेदन दिए । त्यसलाई स्वीकार गरी जङ्गबहादुरले सनद जारी गरे । यो थाहा पाएर विधवा रानीले आफू देवरसँग बिहे गर्न मञ्जुर नभएको, बरु आफैँ राज्य चलाउन पाऊँ भनी केन्द्र सरकारलाई निवेदन लेखिन् । सो निवेदनअनुसार जङ्गबहादुरले आफ्नो पूर्व निर्णय बदर गरेर मुस्ताङी रानीको पक्षमा अर्को आदेश जारी गरे । यसरी उनले आजको भाषामा एकल महिलाको पक्षमा निर्णय गरेको ‘जङ्गबहादुरको कथा’ का लेखक चित्तरञ्जन नेपाली लेख्छन् ।
यो अध्यायको शीर्षक अलि भ्रामक लाग्छ । किनभने, मुस्ताङी रानीको प्रसङ्गलाई लिएर नारीहरूप्रतिको जङ्गबहादुरको समग्र सोचलाई सामान्यीकरण गर्नु सही हुँदैन । नारीहरूप्रतिको सामन्ती चिन्तनबाट उनी कसैगरी मुक्त नभएको तथ्य उनका पत्नीहरूको विवरणबाट पुष्टि हुन्छ । मुस्ताङी रानीको सन्दर्भमा जङ्गबहादुरले जातीय परम्परालाई ध्यान दिएको मान्नु बढी समीचीन हुन्छ ।
‘जङ्गबहादुरको कथा’ : पढ्दा लागेका कुरा
‘जङ्गबहादुरको कथा’ जङ्गबहादुरको ‘पूर्ण कथा’ होइन । यसमा उनको जीवनका धेरै महत्वपूर्ण अध्यायहरू छुटेका छन् । भारतको सैनिक विद्रोह वा ‘गदर’ दबाउन जङ्गबहादुरको नेतृत्वमा भएको ‘लखनउ लुट’, पश्चात् विद्रोही नेतालाई नेपालमा दिइएको शरण र बेलायतबाट ‘नयाँ मुलुक’ को रूपमा प्राप्त निजी बिर्ता, जङ्गबहादुरको बेलायत भ्रमणको प्रभाव, मुलुकी ऐनको तर्जुमा, अङ्ग्रेजहरूसँग मिलेर गरिएको तिब्बतमाथिको चढाइ, गोर्खा भर्ती, अङ्ग्रेजहरूको खुशामद, जङ्गबहादुरको शङ्कास्पद मृत्युजस्ता विषयहरूबारे लेखक मौनप्रायः छन् ।
सबैभन्दा महत्वपूर्ण पक्ष अङ्ग्रेजहरूसँगको जङ्गबहादुरको सम्बन्धबारे पुस्तकमा कताकति मात्र उल्लेख हुनु हो । ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ जस्तो व्यापक राजनीतिक फलक बोकेको पुस्तकका लेखकबाट जङ्गबहादुरको सवालमा पनि यस्तै विस्तीर्ण अध्ययन अपेक्षित थियो । चीनविरुद्ध अफिम युद्ध गरेकोमा बेलायती रवैया नरुचाएका काजी रणजङ्ग पाण्डेको सरकार गिराउन अङ्ग्रेजहरूले खेलेको भूमिकाबारे लेखक नखुलेको देखिन्छ । कोतपर्व हुनुपछाडि अङ्ग्रेजहरूको चलखेलबारे पुस्तकमा उल्लेख छैन । जङ्गबहादुरले आफ्ना भाइको हातबाट शक्तिशाली भारदार गगनसिंहको हत्या गराउनुभन्दा ठीक एक दिनअघि तत्कालीन रेजिडेन्ट कोलविन र उनका डाक्टरले काठमाडौँ छोड्नु काकताली हुनसक्दैन ।
चित्तरञ्जन नेपालीको समग्र इतिहासकारितामा जस्तै उनको यस पुस्तकमा पनि तत्कालीन सामाजिक र आर्थिक जीवनको वर्णन छैन । त्यस्तै उनले विभिन्न हत्याकाण्डका आर्थिक–सामाजिक कारण खोतल्न भ्याएका छैनन् । उनको ध्यान बढी ऐतिहासिक तिथि–तथ्याङ्कमा गएको छ ।
(यस मानेमा इतिहासकार लुडविग स्टीलरको पुस्तक बढी विश्लेषणात्मक छ । आफ्नो पुस्तक ‘काठमाडौँका पत्रहरू : कोतपर्व’ मा उनी जङ्गबहादुरको उदयको चित्र उतार्छन् । सारमा, उनको विचारलाई यसरी राख्न सकिन्छ : ‘नेपाल राज्यको स्थापनादेखि नै सैनिक पेसा फस्टायो । बिर्ता वा ज्यालाका रूपमा जमिन पाइने, भूमि विस्तार भइरहँदा आयआर्जन बढाउँदै लग्न पाइने र सामाजिक बन्धनबाट पनि अलि उन्मुक्ति पाइने हुँदा भारदारहरूका लागि त्यो लोभलाग्दो पेसा बन्यो । नेपाल–अङ्ग्रेज युद्धमा गएर नेपालले आफ्नो भूमि गुमाउनुप¥यो र बढ्दो सैनिक सङ्ख्यालाई पुग्दो जमिन उपलब्ध भएन । यसले गर्दा उपलब्ध स्रोतसाधन हत्याउन दरबारभित्र र भारदारहरूबिच हानथाप बढ्यो । भीमसेन थापाले जसोतसो तिनीहरूलाई थामेका थिए । तर, उनको निधनपछि यो हानथाप र मारकाट चर्कियो । उनीपछिका मुख्तियारहरू पनि प्रायः षड्यन्त्रमा परेर मरे । सत्ता सङ्घर्षको सिलसिला अन्ततः कोतपर्वमा गएर विस्फोट भयो ।’ तत्कालीन घटनाक्रमबारे स्टीलर कोतपर्व पेचिलो स्थितिको उपज थियो† जङ्गबहादुर कोतमा पुग्दा सामान्य र सतर्क ढङ्गले मात्र गएका थिए भनी लेख्छन् । तर, कुनै बृहद् षड्यन्त्रको तानाबाना नबुनी जङ्गबहादुर जस्ता चतुर व्यक्तिले बित्थामा गगनसिंहको हत्या गराएका थिए भनी सोच्नु तर्कसङ्गत प्रतीत हुन्न । यो कुरा स्टीलर आफैँले पनि स्वीकार गरेका छन् । उनको वर्णनमा बाह्य हस्तक्षेपको उति चर्चा छैन । उनी ब्रायन हड्सनपछि आएका रेजिडेन्टहरूले दरबारी राजनीतिलाई नजिकबाट नियालेको तर हस्तक्षेप नगरेको लेख्छन् !)
जङ्गबहादुरको उदयबारे चित्तरञ्जन नेपालीकै पदावली केलाऔँ । उनी लेख्छन्, ‘आवश्यकीय अनावश्यक व्यक्तिको अभ्युदय’ । जङ्गबहादुर केका लागि आवश्यक थिए ? किन अनावश्यक ठहरिए ? यी प्रश्नको जवाफ लेखकले स्पष्टरूपमा दिएका छैनन् । स्टीलरको विश्लेषणबाट धेरै उद्धरण दिएका लेखक नेपाली उनकै निष्कर्षमा सहमत देखिन्छन् । यस अर्थमा जङ्गबहादुर राणाले अङ्ग्रेज–नेपाल युद्धपछि नेपालमा मौलाएको राजनीतिक जमोटलाई निकासा दिएको अर्थमा; दरबारी षड्यन्त्र र मारकाटबाट नेपाली राजनीतिलाई त्राण दिएको अर्थमा ‘आवश्यकीय व्यक्ति’ भनेको हुनुपर्छ । स्टीलरको कोण पनि त्यही हो । जङ्गबहादुर कसरी ‘अनावश्यक व्यक्ति’ भए । यसको आंशिक जवाफ लेखक नेपाली आफैँले दिएका छन् । उनी लेख्छन्, ‘एक शताब्दीसम्म नेपाल राणा परिवारको एकतन्त्री निरङ्कुश जहाँनिया शासनको घेराभित्र जकडिन पुगेकोले उनले स्थापना गरेको शान्ति कालान्तरमा ‘मुर्दा शान्ति’ मा परिणत भई जनताको निम्ति अस्वीकार्य हुन पुग्यो ।’ जङ्गबहादुर राणाको उदयको परिणाम यो हो । लेखकले परिणाम हेरेर स्रोतलाई ‘अनावश्यक’ भनेका हुन् भने यही अर्थ लाग्छ । तर, उनी आवश्यक नै थिएनन् भन्ने हो भने तत्कालीन परिदृश्यमा जङ्गबहादुरबिना मुलुकले कसरी निकास पाउन सक्थ्यो त भनी लेखकले कुनै विकल्प सुझाएका छैनन् । त्यसैले पाठकका हिसाबले पहिलेकै अर्थ मान्नुपर्ने हुन्छ किनभने आफ्नो पदावलीलाई अथ्र्याउन वरिष्ठ लेखक तथा इतिहासकार चित्तरञ्जन नेपाली हामीमाझ अब जीवित छैनन् ।
सन्दर्भ सामग्री :
जङ्गबहादुरको कथा, चित्तरञ्जन नेपाली (वि.सं. २०७०)
काठमाडौँका पत्रहरू : कोतपर्व, लुडविग स्टीलर (सन् १९८१)
नेपालको विश्लेषणात्मक इतिहास, ढुण्डिराज भण्डारी (वि.सं. २०४६)
आधुनिक नेपाल – भाग १, ऋषिकेश शाह (सन् १९९०)
समाप्त