चित्तरञ्जन नेपाली
…राजेन्द्रको राज्यच्युति
माथवरसिंह थापाको हत्यापछि राजाले कान्छी रानीलाई राज्य सञ्चालनसम्बन्धी राजकीय अधिकार सुम्पे । उनको त्यो अधिकार भण्डारखालपर्वसम्म कायम रह्यो । त्यसपछि त्यो अधिकार राजाले युवराज सुरेन्द्रलाई दिए ।
राजा राजेन्द्र ढुलमुले थिए, उनी राज्यको बागडोर आफ्नो हातमा राख्न चाहन्थे । युवराज सुरेन्द्र सकेसम्म छिट्टै राजगद्दीमा बस्न चाहन्थे । कान्छी महारानी युवराजलाई पन्छाएर आफ्ना छोरालाई राजगद्दी चढाउन चाहन्थिन् । युवराज शासनसत्ता प्राप्तिका लागि अनेक उच्छृङ्खल गतिविधिमा लागिरहन्थे । राजाले उनलाई अधिकारविहीन ‘श्री ५ महाराजाधिराज’ को पदवी दिए । त्यसबाट पनि खुसी नभएका युवराजको उच्छृङ्खल गतिविधिले दिक्क भएर एकचोटि मुख्तियार, गुरु पुरोहितलगायत सम्पूर्ण भारदारहरूले राजालाई आ–आफ्नो कामकर्तव्य निर्वाह गर्न असमर्थ भएको निवेदन पत्र दिएका थिए ।
यसअघि काजी रणजङ्ग पाँडेको समयमा १८९७ असारमा नेपाली सेनाका केही सैनिकले टुँडिखेलमा हतियार बिसाएर विद्रोह गरेका थिए । सैनिकहरूलाई जग्गाको रूपमा तलब दिइआएकोमा (तिर्जा प्रथा) को ठाउँमा नगद तलब दिने भनेपछि सैनिकहरूले विद्रोह गरेका थिए । विद्रोहीमध्ये केहीले मुख्तियार र भारदारहरूको घरघरमा गएर आगजनी गरे, पुस्तक–कागजात पानीमा फाले, लुटपाट गरे र केही अधिकारीलाई कुटपिट गरे । पछि राजाले साबिककै रैबन्दी व्यवस्था थामिदिएपछि विद्रोह टुङ्गिएको थियो ।
राजपरिवारको खिचातानीको छाप मुख्यितार, मन्त्री तथा भातरदारमा पनि परेको थियो । गुटबन्दीका कारण भारदारहरूमध्ये फत्तेजङ्ग शाह राजाको पक्षमा थिए, गगनसिंह रानीका कृपापात्र थिए भने जङ्गबहादुर युवराज सुरेन्द्रका मान्छे थिए । (वास्तवमा जङ्गबहादुर र युवराजको उमेरमा १२ वर्ष तलमाथि थियो र जङ्गबहादुर युवराजको पुरुष धाई वा ददा थिए ।) यिनै गुटलाई व्यवस्थापन गर्न कोतपर्वअघिको मन्त्रिमण्डलमा सबै गुटका भारदारलाई ठाउँ दिइएको थियो । युवराज कमजोर हुनाले जङ्गबहादुरको स्थिति बिचमा झुण्डिएको दोलकजस्तो थियो भनी ‘जङ्गबहादुरको कथा’ का लेखक चित्तरञ्जन नेपाली लेख्छन् । कहिले जङ्गबहादुरलाई मन्त्रिमण्डलमा नराखिएको र कहिलेकाही मन्त्रिमण्डलको पाँचौँ वा सेनासम्बन्धी मन्त्री मानिएको देखियो । त्यसबेलाको सेना पनि एवंरितले बाँडिएको थियो । जङ्गबहादुरले गगनसिंह, फत्तेजङ्ग र अभिमान रानाहरूसँगै जनरलको पद पाएका थिए । गगनसिंहको हातमा ७ पल्टन, फत्तेजङ्गको हातमा ३ पल्टन, जङ्गबहादुरसँग ३ पल्टन, अभिमानसिंहसँग २ पल्टन, र काजी दलभञ्जन पाँडेसँग १ पल्टन थिए । यता विदेशीहरूको हकमा भीमसेन थापाको अवसान हुँदासम्म बेलायती रेजिडेन्टको रूपमा ब्रायन हडसन थिए, विसं. १९०० देखि १९०३ सम्म मेजर लरेन्स थिए भने कोतपर्वको बेला रेजिडेन्ट पदमा कोलविन बहाल थिए । उनी भण्डारखालपर्वसम्म रेजिडेन्ट थिए । उनीपछि थोर्सबी रेजिडेन्ट बने ।
कोतपर्वअघिको माहोलबारे लेखक लेख्छन्, “त्यस बखत अधिराज्यको विशेषतः राजधानी नगर काठमाडौँको राजनैतिक परिस्थिति एक प्रकारले निकै असहज एवं भयावहजस्तै भएको थियो । नगरको यही परिस्थितिलाई लिएर भनिन्छ त्यस बखत उच्चस्तरीय अधिकारीहरूको जीवनचर्याको सम्बन्धमा एउटा किंवदन्ती प्रचलित थियो – देशको असहज परिस्थितिको कारण बिहान कार्यालय वा राजदरबार जान भनी घरबाट निस्केका अधिकारीले बेलुका सकुशल घर फर्किन सकिन्छ वा सकिँदैन भन्ने आशङ्काले गर्दा परिवारका सदस्यहरूलाई आफ्नो लेनदेन हिसाबसम्बन्धी सबै कुरा बताएर जाने गर्थे रे ।” गगनसिंहको हत्याबारे तत्कालीन बेलायती रेजिडेन्टले पहिल्यै आकलन गरेर सरकारलाई प्रतिवेदन पठाएका थिए ।
कोतपर्वमा नेपालका प्रमुख भारदारहरू काटिए । आवेशमा आएर हनुमानढोका दरबार परिसरको कोतमा भेला भएका भातरदारमध्येबाट ‘मेरा शत्रुहरूलाई मार’ भनी रानी राज्यलक्ष्मीले जङ्गबहादुरलाई आदेश दिइन् । यसकै निहुँमा जङ्गबहादुर र उनका भाइहरूले ‘आफ्ना शत्रुहरू’ सखाप पारे र सत्तारोहणको बाटो सफा गरे । (त्यस रातको घटना विवरण फादर लुडविग स्टीलरले आफ्नो पुस्तक ‘काठमाडौँका पत्रहरू : कोतपर्व’ मा दिएका छन् । उनको निष्कर्षमा लेखक नेपाली सहमत देखिन्छन् ।)
कोतपर्वको भोलिपल्ट १९०३ असोज १० गते प्रमुख भारदारमध्ये जङ्गबहादुरमात्र बचेका थिए । त्यसैले त्यो दिन उनी नेपालका मुख्तियार र सेनाका कमान्डर–इन–चीफ बने । कोतबाट उम्केका र अन्य भातरदार भारत भाग्न थाले । पाल्पामा तैनाथ सबुज पल्टनलाई लेखेको पत्रमा सेनामा मुख्तियार र उच्च भारदारहरू मारिएको हुनाले त्यसको नराकारात्मक असर नपरोस् भनेर राजाले कोतपर्वको जिम्मेवारी आफैले लिए । त्यसबेला फत्तेजङ्ग शाहका भाइ र छोरा पाल्पामै थिए । कतैबाट सुराक पाएर उनीहरू भारत भागिसकेका थिए । पछि जङ्गबहादुरले कमान्डर–इन–चीफको हैसियतमा सबुज पल्टनलाई पत्र लेखेर तिनका जिन्सी मालमत्ता भारततिरै पठाउन आदेश दिए ।
विरोधी जति भारत भागेका हुनाले जङ्गबहादुर शक्तिशाली बने । उच्चस्तरीय अधिकारीहरूको पद रिक्त भयो । त्यसमा जङ्गबहादुरले आफ्नै भात्तिजा र मान्छेहरू भरे । रानीले पनि यसमा उनलाई सहयोग गरिन् । जङ्गबहादुरले आफ्नो मनोकाङ्क्षा पूरा गर्ने उनको आशा थियो । उनको आकाङ्क्षा पूरा गर्दा राजा र युवराजलाई पाखा लगाउनुपर्ने थियो । आफू शक्तिशाली भइसकेको हुनाले जङ्गबहादुरले महारानीको दबाबलाई आलटाल गरिरहे । आजित भएर काजी वीरध्वज बस्नेतसँग मिलेर महारानीले भण्डारखाल बगैँचामा जङ्गबहादुर र उनका भाइहरूलाई बोलाई मार्ने षड्यन्त्र बुनिन् । यसअघि रानीले राजा र युवराजलाई एकै कोठामा सुत्न लगाएर हत्या गर्ने योजना पनि बनाएका थिए । त्यो निकै कष्टसाध्य हुनाले जङ्गबहादुरलाई किनार लगाउने उपाय गरेका थिए ।
षड्यन्त्रबारे सुइँको पाएर राजाले यसको जानकारी जङ्गबहादुरलाई दिएर उनी र उनका भाइहरूलाई बचाए । यसका लागि राजाले विजयराज पण्डितलाई प्रयोग गरेका थिए । षड्यन्त्रकारी वीरध्वज बाटैमा मारिए । राजा राजेन्द्रले भण्डारखालपर्व हुनुअगावै आफ्ना विरोधीहरूलाई ‘मार्नू दबाउनू’ भनी अधिकार दिएका थिए । राजाले आफूविरुद्ध षड्यन्त्रको गन्ध थाहा पाएर जङ्गबहादुरलाई पनि सतर्क गराएका थिए । अर्कोतिर विजयराजले रानीको पक्ष छोडेर आफूतिर लागेको हुनाले राजा सुरेन्द्रबाट पछि सन्तान दरसन्तानसम्म ‘गुरु’ को पदवी पाए ।
भण्डारखालपर्व विफल भएपछि रानी राज्यलक्ष्मी छोराहरूलाई साथ लाएर १९०३ असोजमा काशी जान बाध्य भइन् । सुरक्षित यात्राका लागि रानीले राजालाई सँगै काशी लिएर गइन् । राजा राजेन्द्रले केही समयपछि देश फर्किने सोचेको भए पनि घटनाक्रम अन्तै मोडियो । काशीमा कोतपर्व र भण्डारखालपर्वबाट बाँचेर भागेर धेरै विरोधी भारदारहरू जम्मा भएका थिए । तिनको चियो गर्न जङ्गबहादुरले आफ्ना चरहरूलाई पनि काशी पठाए । जङ्गबहादुरको गुप्तचर सञ्जाल बलियो हुनाले उनलाई मार्न भनेर काशीबाट पठाइएका हत्याराहरूको षड्यन्त्र विफल भइरह्यो । निर्वासित भारदारले त्यहाँ राजालाई जङ्गबहादुरविरुद्ध भड्काउन थाले । राजा वाचा गरेको समयमा नेपाल नफर्केपछि युवराज सुरेन्द्र र जङ्गबहादुरले एकअर्कालाई घात नगर्ने धर्मपत्र आदानप्रदान गरे । यसबेला राजाका जेठा छोरा युवराज सुरेन्द्र राजप्रतिनिधि मात्र थिए ।
काशी पुगेको तीन महिना नपुग्दै राजा राजेन्द्र जङ्गबहादुरका विरोधी बनिसकेका थिए । जङ्गबहादुरलाई एक पत्रमा राजाले लेखे, “.. सधैँ एकता र मित्र कसैको पनि रहन सक्तैन.. ।” एकातिर उनले जङ्गबहादुरलाई फकाउने गरी पत्र लेखे । अर्कोतिर उनले जङ्गबहादुर र उनका भाइहरूलाई पक्रेर आफूकहाँ ल्याउन, ल्याउन नसके मार्न राजधानीस्थित पल्टनहरूलाई पत्र लेखी पठाए । पत्र ल्याउने मान्छेहरू पक्राउ परे र राजाको पोल खोलियो । त्यसबारे छलफल गर्न बसेको भारदारी सभाले राजालाई गद्दीबाट बर्खास्त ग¥यो । यसमा त्यसबेला काठमाडौँमा उपस्थित सम्पूर्ण भारदार र पल्टनका हाकिमहरूकोे सही थियो । सभाको निर्णयअनुसार १९०४ जेठ १३ गते युवराज सुरेन्द्रको राज्याभिषेक भयो ।
गद्दीच्युत भएको सुनेपछि क्रूद्ध भएका राजाले सुगौलीमा बसेर विरोधीहरूलाई एकगठ गर्न थाले । उनी व्यापक सैनिक कारबाहीबाट आफ्नो अभीष्ट पूरा गर्न चाहन्थे । यसै सिलसिलामा उनले देशका १७ पल्टनको नाममा आफ्नो पक्ष लिन लालमोहर पत्र जारी गरे । नेपाली सेनाले त्यसलाई त्यति वास्ता गरेन । गुमेको अधिकार पुनःस्थापना गर्न सेनाले सघाउला भनेर उनी सुगौली छोडेर अलौ नामक स्थानमा आएर बसेका थिए । यसको सूचना पाएर जङ्गबहादुरले सैनिक कारबाही गरी पूर्वराजा र उनको दलबललाई १९०४ असार १५ गते अलौमा दबायो । पूर्वराजा राजेन्द्रलाई पहिले भक्तपुर दरबारमा राखियो र पछि कडा पहराअन्तर्गत हनुमानढोका दरबारको छुट्टै लङमा राजकीय सम्मानसाथ राखियो । अलौपर्वपछि उनीमात्र कमजोर नभई भारतमा निर्वासित जङ्गबहादुरका विरोधीहरूको गतिविधि पनि शिथिल हुन गयो । राजा राजेन्द्रलाई कैद गरेको बहानामा भारतस्थित पूर्वभारदारहरूले माथवरसिंह थापाका छोरालाई मुख्तियार बनाएर केही गतिविधि चलाएका थिए । यस कार्यका नेता फत्तेजङ्गका भाई चौतरिया गुरूप्रसाद शाह थिए । यी गतिविधिबाट चिताएको कार्य नभएपछि अन्ततः उनी आत्मसमर्पण गरी नेपालमा आए र शान्तिसँग बस्न थाले । यसपछि पनि विसं. १९१६ मा महारानी राज्यलक्ष्मीले एक व्यक्तिलाई काठमाडौँमा पठाएर जङ्गबहादुरको हत्या गर्ने प्रयास गरेकी थिइन् । यी प्रयास विफल भएपछि नेपालमा विरोधी गतिविधिहरू शून्यप्राय हुन पुगे । यसपछि पूर्वराजामाथिको नियन्त्रण र नजरबन्द खुकुलो हुँदै गयो ।
‘राजेन्द्रको राज्यच्युति’ शीर्षकको यस पाठको पटाक्षेप गर्दै लेखक लेख्छन्, “कोतपर्व, अलौपर्व आदि विभिन्न हत्याकाण्डहरूमा प्रत्यक्ष वा परोक्ष रूपमा सक्रिय सहभागी भइ आफ्नो बुद्धि, बर्कत, धैर्य, साहस एवं कूटनीतिपूर्ण चालबाजीद्वारा उपर्युक्त सबै घटनाहरूमा सफलता प्राप्त गरी तत्कालीन प्राइममिनिस्टर एन्ड कमान्डर–इन–चीफ जङ्गबहादुर (कुँवर) राणाले नेपालको शासन व्यवस्थाको उच्च स्थानमा आफूलाई एक अत्यन्त शक्तिशाली प्रशासकको रूपमा स्थापित गरी देशमा सुदृढ प्रशासन लागु गरेपछि १८९४ साल साउनमा तत्कालीन मुख्तियार भीमसेन थापाको पदच्युत भएपछि त्यसबेलादेखि करिब एक दशकसम्म नेपालमा व्याप्त अशान्ति, असुरक्षा एवं असहज राजनैतिक परिस्थितिको अन्त्य भई देशमा एक प्रकारले शान्तिमय वातावरण स्थापित हुन गयो भन्न सकिन्छ । किन्तु, यस प्रकार अनेक सङ्घर्ष एवं षड्यन्त्रहरूको सामना गरी देशमा शान्ति स्थापना गर्ने तिनै प्राइममिनिस्टर जङ्गबहादुर राणाले पछि गएर आफू कास्की र लमजुङ राज्यहरूका ‘श्री ३ महाराज’ समेत हुनुको साथै नेपालको प्रशासन पद्धतिलाई आफ्नै परिवारभित्र मात्र सीमित हुने गरी ‘रोल व्यवस्था’ लागु गरेबाट त्यसको दुष्परिणामस्वरूप एक शताब्दीसम्म नेपाल राणा परिवारको एकतन्त्री निरङ्कुश जहाँनिया शासनको घेराभित्र जकडिन पुगेकोले उनले स्थापना गरेको शान्ति कालान्तरमा ‘मुर्दा शान्ति’ मा परिणत भई जनताको निम्ति अस्वीकार्य हुन पुग्यो । यस हिसाबबाट विचार गर्दा नेपालको आधुनिक इतिहासको त्यस कालखण्डमा भएको ‘जङ्गबहादुरको राणाको अभ्युदय’ लाई एउटा ‘आवश्यकीय अनावश्यक व्यक्तिको अभ्युदय’ को रूपमा लिनुपर्ने देखिन्छ । साथै एउटा राष्ट्रको निम्ति ‘मुर्दा शान्ति’ वा ‘ज्यूँदो अशान्ति’ दुवै स्वीकार्य नहुने तथ्य पनि त्यत्तिकै विचारणीय देखिन्छ ।”
रोलक्रममा व्यतिक्रम
विसं. १९०३ मा जङ्गबहादुर मुख्तियार भएका थिए तर त्यसको १० वर्षपछि मात्र विस १९१३ मा गएर राणा शासनको रोलक्रम सुरु भयो । भाइ बमबहादुर राणालाई मुख्तियार बनाएर १९१३ साउन ५ गते जङ्गबहादुर ‘कास्की र लमजुङका महाराज’ भए । राजा सुरेन्द्रले ‘कास्की र लमजुङको महाराजा’ जङ्गबहादुरका सन्तान दरसन्तानमा जाने र मुख्तियारको पद उनका भाइहरू र पछि जङ्गबहादुरका छोरा जगतजङ्ग राणामा जाने लालमोहर जारी गरे । अर्को वर्ष बमबहादुरको मृत्यु भयो । रोलक्रमअनुसार त्यो पदका हकवाला जङ्गबहादुरका भाइ कृष्णबहादुरलाई जान्थ्यो । तर, जङ्गबहादुर आफैले त्यो पद हत्याए र पहिलो राणा श्री ३ महाराज एवम् प्राइममिनिस्टर एन्ड कमान्डर–इन–चीफ बने । उनले रोलक्रममा विसं. १९१७ र १९२४ मा हेरफेर गरे । पहिलो संशोधन बमबहादुरको मृत्युपछि उनको पद हत्याउनाले भाइहरूबिच आफूप्रति शङ्का–उपशङ्का नपलाओस् भनेर उनीहरूलाई आश्वस्त पार्न गरिएको लेखकको ठहर छ । जङ्गबहादुरका थप छोराहरूलाई समावेश गर्न पनि त्यो संशोधन गरिएको थियो ।
प्रश्न उठ्छ – विसं. १९१४ पछि किन तीन वर्षसम्म रोलक्रममा संशोधन गरिएन ? यसबिच भारतमा सिपाही विद्रोह सुरु भएकोले त्यसलाई दबाउने कार्यमा जङ्गबहादुर व्यस्त रहनाले यो विलम्ब हुन गएको थियो ।
विसं १९२४ को दोस्रो संशोधन भने जङ्गबहादुरका नातिहरूलाई रोलक्रममा राख्ने इच्छाले गरिएको लेखकको निक्र्योल छ । ‘कास्की र लमजुङको महाराजी’ पद आफ्ना सन्तानहरूमा राख्दा पछि गएर पाका काकाहरू मुख्तियार बन्ने र आफ्ना जवान छोराहरू ‘महाराज’ बन्दा खटपट उत्पन्न हुनसक्ने† अर्कोतिर नेपाल राज्यभित्र कास्की र लमजुङलाई अलग र स्वाधीन राज्यको रूपमा पुनःस्थापित गर्न खोजे केन्द्र सरकारलाई मान्य नहुने निश्चित थियो । यी सम्भावना देखेर जङ्गबहादुरले ‘कमान्डर–इन–चीफ’, ‘महाराज’ र ‘प्राइममिनिस्टर’ (मुख्तियार) ती नै पदलाई एकै देखाउन खोजे । यसरी मात्र भाइ बमबहादुरको मृत्युपछि मुख्तियारी हत्याउने आफ्नो (न)काम जायज देखिन सक्थ्यो । त्यसैले जङ्गबहादुरको मृत्युपछि तत्कालीन कमान्डर–इन–चीफ रणोद्दीपसिंहले ‘कास्की र लमजुङको श्री ३ महाराज र प्राइममिनिस्टर’ पद दाजुका छोरा जगतजङ्गबाट छलबाट खोसे भनी आरोप लगाउनु जायज होइन भनी लेखक निष्कर्ष दिन्छन् । यहाँनिर लेखकले कटाक्ष गरेको बुझिन्छ । उखानै छ – सिस्नो रोपेर तुल्सी उम्रिन्न ।
जङ्गबहादुरले राणा शासनको जुन ‘थिति’ बसालेका थिए, उनकै जीवनकाल र उपरान्त पनि त्यसमा व्यतिक्रम वा क्रम भङ्गता उत्पन्न भयो । ‘जङ्गबहादुरको कथा’ पुस्तकमा समावेश यस अध्यायको सार यही हो ।
(बाँकी भोलिको अङ्कमा)
श्रोतः कथाकार चित्तरञ्जन नेपालीद्वारा लिखित ‘जङ्गबहादुरको कथा’बाट