क्रिस हेजेज
रङ्गभेदी राज्य इजरायलका यहुदी चरमपन्थीहरू, कट्टर यहुदीवादीहरू, धर्मान्ध यहुदीहरू, उग्रराष्ट्रवादी र छद्म फासीवादीहरू पृथ्वीबाट गाजाको नामनिसान मेटाउनुपर्छ भनी कुर्लिँदै छन् । तिनको कुरा पत्याउनुहोला !
इजरायलमा यहुदी फासीवादको उदयबारे मैले धेरै समाचार लेखेँ । मैले अतिवादी मेइर काहानको विषयमा खबर लेखेँ । उनलाई कार्यालय चलाउन निषेध थियो । उनको कच पार्टीमाथि सन् १९९४ मा प्रतिबन्ध लगाइएको थियो र त्यसलाई इजरायल र संरा अमेरिकाले आतङ्कवादी घोषणा गरेका थिए । मैले यित्ज्याक रबिनविरुद्ध बेन्जामिन नेतन्याहुले आयोजना गरेका राजनीतिक जुलुसहरू पनि देखेको छु । उनको पार्टीले संरा अमेरिकाका दक्षिणपन्थीहरूको प्रशस्त चन्दा पाएका थिए । रबिनले प्यालेस्टिनीहरूसँग शान्ति सम्झौताको पहल गरेका थिए । त्यसबेला नेतन्याहुका समर्थकहरूले ‘रबिन छिट्टै मरोस्’ भनेर नारा लगाएका थिए । उनीहरूले रबिनको पुत्लालाई नाजी पोशाक भिराएर पुत्ला दहन गरेका थिए । रबिनको व्यङ्ग्यात्मक अन्त्यष्टि गरिएको जुलुसमा नेतन्याहु अघिल्लो पङ्क्तिमा थिए ।
प्रधानमन्त्री रबिनको हत्या १९९५ नोभेम्बर ४ मा एक यहुदी अतिवादीले गरेको थियो । रबिनकी विधवा पत्नी लेहियाले नेतन्याहु र उनका समर्थकहरूलाई आफ्नो लोग्नेको हत्या गरेको आरोप लगाएकी थिइन् ।
नेतन्याहु सन् १९९६ मा पहिलोपल्ट प्रधानमन्त्री बनेका थिए । उनले एभिग्दोर लिबरम्यान, गिदियोँ सार, नाफ्ताली बेनेट र आएलेत शाकेदजस्ता यहुदी अतिवादीहरूलाई हुर्काउनमा आफ्नो राजनीतिक जीवन खर्चिए । उनका बुबा बेन्जियोन यहुदीवादका प्रवर्तक भ्लादिमिर जाबोतिन्स्कीका सहयोगी थिए । जाबोतिन्स्की बेनिटो मुसोलिनीलाई ‘असल फासीवादी’ भन्थे । जाबोतिन्स्की हेरुत पार्टीका नेता थिए । कुनै बेला सो पार्टीले प्यालेस्टिनी भूमि कब्जा गरेर यहुदी राज्य स्थापना गर्न आह्वान गरेको थियो । हेरुत पार्टी स्थापना गर्ने धेरैजसो व्यक्तिहरू इजरायल स्थापना गर्नका लागि सन् १९४८ मा प्यालेस्टिनी जनतामाथि आतङ्ककारी हमला गर्ने गिरोहका सदस्य थिए ।
अल्बर्ट आइन्स्टाइन, हन्ना आरेन्ड, सिड्नी हुक र अन्य यहुदी जातिका विद्वानहरूले हेरुत पार्टीलाई ‘नाजी र फासीवादी दलहरूकै जस्तो सङ्गठन, तौरतरिका, राजनीतिक दर्शन र सामाजिक मुद्दा बोकेको राजनीतिक दल’ भनेका थिए । उनीहरूको त्यो लिखित वक्तव्य ‘द न्यूयोर्क टाइम्स’ ’मा प्रकाशित भएको थियो ।
यहुदीवादी आन्दोलनमा जहिल्यै यहुदीवादी फासीवादका लक्षण थिए । यही फासीवादले अहिले इजरायललाई नराम्ररी गाँजेको छ ।
“यहाँ जन्मेको विषाक्त उग्र राष्ट्रवादलाई परास्त गर्ने सामथ्र्य अहिले वामपन्थीहरूसँग छैन”, जीभ स्टर्नहेलले सन् २०१८ मै भनेका थिए । उनी नाजी यातनागृहबाट बाँचेका व्यक्ति थिए । उनी विशेषगरी इजरायली फासीवादबारे जान राख्थे । स्टर्नहेलले भनेका थिए, “युरोपले जोडतोडका साथ बहुसङ्ख्यक यहुदी जनतालाई झन्डै सखाप पारेको थियो । यसकारण हामीले सुरुदेखि नै इजरायली फासीवादमा नाजीवादजत्तिकै नश्लवादी रुझान देख्छौँ ।”
गाजालाई सोत्तर पार्ने निर्णय इजरायली फासीवादकै पुरानो सपना थियो । यिनीहरू काहान आन्दोलनकै सन्तती थिए । इजरायलको गठबन्धन सरकार यिनै यहुदी अतिवादीहरूले बनेको छ र यिनैले गाजामा जातीय सफाया चलाइरहेका छन् । दैनिक सयौँको सङ्ख्यामा प्यालेस्टिनीहरूको हत्या भइरहेको छ ।
यहुदी अतिवादीहरू आफ्नो घरबुना फासीवादको भाषा र चिन्ह प्रयोग गर्न माहिर छन् । यहुदी पहिचान र यहुदी राष्ट्रवाद यहुदीवादी फासीवादका रगत र माटो हुन् । यहुदीहरू उत्कृष्ट जाति हुन् भनेर तिनका ईश्वरले नै उद्घोष गरेका छन् । त्यसैले प्यालेस्टिनीहरूको नरसंहारलाई तिनीहरू ईश्वरप्रदत्त अधिकार ठान्छन् । प्यालेस्टिनीहरूलाई नेतन्याहुले बाइबलमा आउने अम्मोनीहरूसँग तुलना गरेका छन् । अम्मोनीहरूलाई इजरायलीहरूलाई मारेको धर्मग्रन्थमा पढ्न पाइन्छ । उग्र यहुदीवादीहरूले आफूले मार्न तयार पार्ने शत्रुहरू (प्रायः उनीहरू मुसलमानहरूलाई शत्रु मान्छन्) लाई लघुमानव ठान्छन् र एवम्रितले दुष्टताका प्रतीक मान्छन् । यहुदी राष्ट्रवादको चमत्कारी घेराबाहिरका सबैले हिंसा र धाकधम्कीको भाषा मात्र बुझ्छन् भन्ने उनीहरूको बुझाइ छ । लाखौँलाख मुसलमान र क्रिस्चियनहरूलाई उनीहरू छप्काउनुपर्ने ठान्छन् । ती मुसलमान र इसाईहरूले इजरायली नागरिकता नै लिएको भए पनि उनीहरूको काँटछाँट हुनुपर्छ भन्ने उनीहरूको विश्वास छ ।
सन् २०२३ अक्टोबर १३ मा इजरायली गुप्तचर मन्त्रालयबाट १० पेजको एउटा खुफिया दस्तावेज बाहिरियो । त्यसमा गाजापट्टिका २३ लाख प्यालेस्टिनीहरूलाई बलजफ्ती निकाला गरेर इजिप्टको साइनाइ प्रायःद्वीपमा सदाका लागि खेद्नुपर्ने सिफारिस गरिएको थियो ।
प्यालेस्टिनीहरूलाई जरैबाट उखेल्न र जातीय रूपमा सफाया गर्न इजरायलले गरेको रगत उमाल्ने आह्वानलाई गम्भीर नमान्नु भयावह खतरा हो । यो आह्वान घुमाउरो छैन, बरु एकदम स्पष्ट छ । नेतन्याहुले आफ्नो ट्वीटमा हमाससँगको लडाइँलाई “आलोकका सन्तान र अन्धकारका सन्तानबिचको सङ्घर्ष, मानव जाति र जङ्गली कानुनबिचको सङ्घर्ष” भनी लेखेका थिए । पछि उनले त्यो ट्वीट हटाएका थिए ।
यी यहुदी कट्टरपन्थीहरूले प्यालेस्टिनी समस्याको अन्तिम समाधानबारे आफ्नो विचार अघि सार्न थालेका छन् । उनीहरूले आक्रमणको पहिलो दुई हप्तामा गाजामाथि १२ हजार टन विष्फोटक पदार्थ खसालिसकेका छन् । त्यसमा परेर गाजाका कम्तीमा पनि ४५ प्रतिशत घरहरू ध्वस्त र नामेट भइसकेका छन् । यो राष्ट्रसङ्घले दिएको आँकडा हो । संरा अमेरिकाले नै भन्यो भने पनि उनीहरू रोकिने मनोदशामा छैनन् ।
“सैन्य कारबाहीमा सर्वसाधारणले मूल्य चुकाएकोमा इजरायली नेताहरूले स्वाभाविक ठानेको अहिले अमेरिकी अधिकारीहरू बुझ्दै छन्”, ‘द न्युयोर्क टाइम्स’ ले लेख्यो ।
उसले लेख्यो, “अमेरिकी समकक्षीहरूसँग कुरा गर्ने बेला इजरायली अधिकारीहरूले संरा अमेरिका र उसका साझेदारहरूले दोस्रो विश्वयुद्धमा कसरी जर्मनी र जापानमाथि विनाशकारी बमबारी गर्न बाध्य भएका थिए भनी तर्क गर्ने गर्छन् । ती देशलाई पराजित गर्न कसरी उनीहरूले हिरोशिमा र नागासाकीमा अणुबम खसालेका थिए भन्छन् ।”
उद्देश्य एकदम स्पष्ट छ । उनीहरू ‘प्यालेस्टिनी कुजातहरू’ लाई नष्ट गरेर ‘शुद्ध’ इजरायल चाहन्छन् । उनीहरू गाजालाई फोहर फाल्ने रछ्यान बनाउन उद्दत छन् । गाजाका प्यालेस्टिनीहरूलाई कि त मारिनेछ, कि भने इजिप्टको सीमानजिकै शरणार्थी शिविरमा कोचिनेछ । प्यालेस्टिनीहरूलाई लघारेपछि मोक्ष प्राप्तिको बाटो खुल्नेछ । यहुदी अतिवादीहरू अल–अक्सा मस्जिदलाई ध्वस्त गर्नुपर्छ भन्दै कुर्लिरहन्छन् । अल–अक्सा मस्जिद मुसलमानहरूको तेस्रो पवित्रस्थल हो । सन् ७० मा रोमन सेनाले सो स्थानमा रहेको दोस्रो यहुदी मन्दिर ध्वस्त गरेपछि त्यसको खण्डहरमा अल–अक्सा मस्जिदको निर्माण गरिएको थियो । यहुदी चरमपन्थीहरू अल–अक्सा मस्जिद हटाएर त्यसको स्थानमा ‘तेस्रो’ यहुदी मन्दिर स्थापना गर्नुपर्छ भन्छन् । प्यालेस्टाइनको पश्चिम किनारा क्षेत्रलाई यहुदीवादीहरू ‘जुडिया र सामारिया’ भन्छन् र त्यसलाई इजरायलले औपचारिक रूपमै कब्जामा लिनुपर्छ भनी आह्वान गर्छन् । प्यालेस्टिनीहरूलाई लघारेपछि इजरायलमाथि उग्रवादी ‘सास’ र ‘एकीकृत तोरा’ यहुदीवादले धार्मिक कानुन थोपर्नेछ । यसरी इजरायल इरानको यहुदी रूप बन्नेछ ।
अहिलेको लडाइँ प्यालेस्टिनी भूमिमाथि पूर्णतः इजरायली नियन्त्रण कायम गर्न सानो पाइला हो । इजरायलका अवैध यहुदी बस्तीहरू, निषेधित सैन्य क्षेत्रहरू, बन्द राजमार्ग र सेनाले पश्चिम किनाराको ६० प्रतिशत भन्दा बढी भूमि कब्जा गरिसकेको छ । प्यालेस्टिनी गाउँ र नगरहरू यातनागृहमा फेरिइएको छ । इजरायलले कब्जा गरिसकेको भूमिमा बसोबास गर्ने र इजरायली नागरिकता लिइसकेका प्यालेस्टिनीहरूविरुद्ध इजरायलले ६५ भन्दा बढी विभेदकारी ऐन पास गरेको छ । पश्चिम किनारामा बस्ने प्यालेस्टिनीहरूको निरन्तर हत्या गरिँदै आएको छ । यस्तो हत्या यहुदी गुन्डादलहरूले गर्ने गर्छन् । उनीहरूले प्यालेस्टिनीहरूको हत्या मात्र गर्दैनन्, बरु घर र विद्यालयहरू तोडफोड गर्छन् र प्यालेस्टिनीहरूसँग बचेखुचेको जमिन खोस्ने गर्छन् । अक्टोबर ७ को हमासको प्रतिकारपछि यता इजरायली सेना र यहुदी बासिन्दाहरूले पश्चिम किनारामा मात्र १३३ भन्दा बढी प्यालेस्टिनीहरूको हत्या गरिसकेका छन् । यसका साथै प्यालेस्टिनी सेनाले हजारौँ प्यालेस्टिनीहरूलाई पक्राउ, कुटपिट र अपमानित गर्ने र बन्दी बनाउने गरेको छ ।
इजरायलमा शासक फासीवादीहरूको विचार नमान्ने यहुदी पनि छन् । तिनीहरू आफ्नो देशले गरिरहेका आततायी हिंसाको निन्दा गर्छन् । अहिले यस्तो सहधर्मीहरूलाई शासकहरूले ‘यहुदी विश्वासघाती’ भन्दै छन् । पत्रकार, मानवअधिकारकर्मी, बुद्धिजीवी, कलाकार, महिलावादी, उदारवादी, वामपन्थी, दोस्रो लिङ्गी र शान्तिवादीहरूलाई संसारभरिका फासीवादीहरूले आफ्नो शत्रु मान्दै आएका छन् । तिनीहरू जहिल्यै फासीवादीहरूको निसानामा पर्छन् । नेतन्याहुले अघि सारेको योजनाअनुसार न्यायपालिकालाई निस्क्रिय बनाइनेछ । सार्वजनिक बहस कमजोर पारिनेछ । नागरिक समाज र विधिको शासनको नामनिसान रहनेछैन । ‘विश्वासघाती’ करार गरिएका नागरिकहरूलाई लघारिनेछ ।
फासीवादीहरू जीवनको गरिमालाई मान्दैनन् । उनीहरू आफ्नै जातिका मानिसहरूलाई समेत आफ्नो नर्कलोकको निर्माणका लागि बलि चढाउन पछि पर्दैनन् । इजरायलका चरमपन्थी सत्ताधारीहरूले इजरायली कारागारमा थुनिएका हजारौँ प्यालेस्टिनी बन्दीहरूसँग हमासले कैदमा राखेका इजरायली बन्दी साटासाट गर्ने सम्भावना थियो । आफ्ना नागरिक छुटाउन नै हमासले इजरायलीहरूलाई बन्दी बनाएको बुझिएकोे छ । तर प्रमाणहरूले यसको अर्कै पाटो उजागर गरेका छन् । हमासका लडाकुहरू इजरायल घुस्ने बेला इजरायली सेनाले जानाजान हमास लडाकुहरूमाथि मात्र होइन, तिनीहरूको कब्जामा परेका इजरायली बन्दीहरूमाथि पनि गोली दागेको थियो ।
‘द ग्रेजोन’ मा म्याक्स ब्लुमेन्थल लेख्छन्, “अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमाथि आकस्मिक हमला गरेपछि इजरायली सेनाले प्यालेस्टिनी लडाकुहरूको साथमा आफ्नै नागरिकहरूको पनि हत्या गरेको प्रमाणहरू प्राप्त भएको छ । इजरायलकै प्रत्यक्षदर्शीहरूले दिएका अनेक बयानहरूबाट यो कुरा प्रमाणित भएको हो ।”
ब्लुमेन्थलले जनाएअनुसार तुभल एस्केपा एउटा सुरक्षा समूहका सदस्य हुन् र उनले इजरायली सेना तथा किबुत्ज गाउँका बासिन्दाहरूबिच सम्पर्कसूत्र खडा गरेका थिए । एस्केपाले इजरायली अखबार हारेत्जसँग कुरा गर्दै भने, “मानिसहरू हतास हुन थालेपछि मैदानमा रहेका कमान्डरहरूले जटिल निर्णयहरू लिए । उनीहरूले आफ्नै बासिन्दाहरूको घरघरमा बमबारी गर्न थाले र आतङ्ककारीहरूसँगै तिनलाई आश्रय दिने इजरायलीहरूलाई एकै घान पार्न थाले ।”
सो पत्रिकाअनुसार इजरायली कमान्डरहरूले ‘बाध्य भएर हेडक्वाटरमा हवाइ बमबारीको लागि अनुरोध गरेका थिए’ । ‘आतङ्ककारीहरूलाई धपाउन’ गाजातिर जाने इरेज नाकामा रहेको आफ्नै इलाकामा उनीहरूले बमबारी गर्न भनेका थिए किनभने त्यो इलाका हमासका लडाकुहरूको नियन्त्रणमा गइसकेको थियो । त्यहाँ रहेको इजरायली छाउनीमा निजामति कर्मचारीहरू तथा सैनिकहरू बसोबास गर्दै आएका थिए ।
सन् १९८६ मा इजरायलले हनिबल निर्देशिका नामक सैनिक नीति ल्यायो । कार्थेजका प्राचीन जर्नेलको नाममा त्यो नीतिको नाम राखिएको थियो । हनिबलले रोमनहरूको हातमा पर्नुभन्दा विषपान गर्नु उचित ठानेका थिए । हेजबुल्ला नामक सङ्गठनले दुई इजरायली सिपाहीलाई बन्धक बनाएपछि त्यो निर्देशिका जारी गरिएको थियो । उक्त निर्देशिकामा इजरायली सैनिकलाई शत्रुको हातमा पर्नबाट रोक्न नियमहरू तय गरेको छ । यसको लागि जस्तोसुकै हदसम्म जानू र आवश्यक परेको खण्डमा शत्रुको हातमा परिसकेका सहकर्मी सैनिक तथा सर्वसाधारणको हत्या गर्न पनि पछि नपर्नू भन्ने आदेश छ ।
सन् २०१४ मा इजरायलले गाजामाथि बमबारी गरेको थियो । त्यसलाई ‘अपरेसन प्रोटेक्टिभ एज’ भनिन्छ । त्यसबेला हनिबल निर्देशिका लागु गरिएको थियो । २०१४ अगस्ट १ का दिन हमासका लडाकुहरूले लेफ्टिनेन्ट हादर गोल्डिन नामक इजरायली अफिसरलाई पक्राउ गरेका थिए । यसको प्रतिवादमा इजरायलले गोल्डविनलाई बन्धक बनाएर राखिएको इलाकामा २ हजार बम, क्षेप्यास्त्र र तोप प्रहार गरेको थियो । त्यसमा परेर १०० प्यालेस्टिनी सर्वसाधारणसँगै गोल्डिन पनि मारिएका थिए । उक्त निर्देशिकालाई सन् २०१६ मा खारेज गरिएको मानिन्छ ।
गाजा सुरुआत मात्र हो । अबको पालो पश्चिम किनारा हो ।
प्यालेस्टिनीहरू यो कहरपूर्ण रातमा पिल्सिँदै गर्दा रमाइरहेका इजरायलीहरू ढिलोचाँडो आफू पनि त्यो कहरबाट गुज्रिनुपर्नेछ ।
स्रोत : ‘ग्लोबल रिसर्च’ बाट
अनुवाद : सम्यक)