२० कार्तिक, कञ्चन
श्री निश्चल कृषि सहकारी संस्था लिमिटेड, कञ्चन ४ अस्नैया रुपन्देहीको नवौं साधारण सभा सोमवार सम्पन्न भएको छ।
साधारण सभा उद्घाटन गर्दै कञ्चन गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा सभाका प्रमुख अतिथि केशर बहादुर खत्रीले कञ्चनमा किसानहरुको मुख्य समस्या सिंचाई र प्रयाप्त रासायनिक मलको अभाव रहेको बताउनु भयो। कञ्चनको कृषि सम्बन्धी समस्या समाधान गर्न पालिकाले बिशेष योजना बनाएर अगाडी बढीरहेको बताउदै वडा अध्यक्ष खत्रीले वडाको हरेक क्षेत्रको बिकासमा वडा र पालिका सदैव सकारात्मक रहेको बताउनु भयो।
यसैगरी कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य तथा कार्यक्रमका बिशिष्ट अतिथि सुशिला थापाले सहकारी मार्फत शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक बिकास गर्न सकिने बताउनु भयो। आजको सानो बचतले भोलीको ठूलो समस्याहरु समाधान गर्न सहज हुने उल्लेख गर्दै सहकारीबाट लिएको कर्जालाई उत्पादन क्षेत्रमा लगानी गर्न सकेमात्र आयश्रोतको आधार तयार हुने बताउनु भयो।
कञ्चन गाउपालिकाका प्रशासन तथा सहकारी शाखा प्रमुख गिरीराज अर्यालले थोरै थोरै शक्तीहरुको सञ्चय नै सहकारी भएको बताउनु भएको छ। भकारीको रुपमा रहेको सहकारीमा सदस्यहरुमा भएको थोरै थोरै शक्ती अर्थात पैसा बचत गर्दा ठूलो पुँजीको रुपमा बिकास हुने र उक्त पुँजीबाट सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने बिभिन्न योजनाहरुमा लगानी गर्न सकिने प्रशासन प्रमुख अर्यालले बताउनु भयो।
सहकारीको स्थापनाको संक्षिप्त इतिहासबारे जानकारी दिदै सहकारीका संचालकहरुले सदस्यहरुको बचत हिनामिना गरेर सदस्यहरुलाई बिचल्ली बनाएको र कतिपय ब्यक्तीहरुले बिभिन्न वित्तिय संस्थाहरुबाट लिएका कर्जा तिर्नु हुदैन भन्ने गलत प्रचार गर्दै हिड्नेहरु प्रति सजग हुन समेत प्रशासन प्रमुख अर्यालले बताउनु भयो।
कार्यक्रममा संस्थाका अध्यक्ष जगी लाल थापाले संस्थाको बार्षिक प्रतिवेदन तथा कार्ययोजनाहरु प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरिबेक्षण समितिका संयोजक ठाकुर गौतमले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रममा बागेश्वरी टोल बिकास संस्थाका अध्यक्ष झविलाल थापाले समेत शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको कार्यक्रममा शैक्षिक सत्र २०७९/०८० मा उच्चत्तम जिपिए लिएर कक्षा १२ उत्तिर्ण हुने शेयर सदस्य कमला सलामीकी छोरी प्रियंका सलामी र शेयर सदस्य चुरीमाया थापाका छोरा रोमियो थापालाई सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष जगी लाल थापाको अध्यक्षता तथा उपाध्यक्ष केशरसिंह रानाको स्वागतमा सम्पन्न साधारण सभामा शेयर सदस्य धनसिंह रानाले कार्यक्रम संचालन गर्नु भएको थियो। कार्यक्रम श्री निश्चल कृषि सहकारी संस्था लिमिटेडको कार्यालयमा सम्पन्न भएको थियो।
१५८ जना शेयर सदस्य रहेको उक्त निश्चल कृषि सहकारी संस्थाले आ.व. २०७९/०८० मा २ लाख ९ हजार ८४९ रुपैया खुद नाफा गरेको थियो भने संस्थाको शेयर पुँजी ८ लाख १६ हजार रुपैया र निक्षेप ३२ लाख ५६ हजार १२१ रुपैया रहेको छ। साधारण सभाले आ.व. २०८०/०८१ मा संस्थाको शेयर पुँजी १५ लाख रुपैया बनाउने कार्यायोजना समेत पारित गरेको छ।