९ साउन, भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग तीन दिने नेपाल भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य तथा छोङछिङ नगरपालिकाको पार्टी समितिका सचिव यूआन चियाच्युनले भेटघाट गर्नुभयो ।
जनताको सेवा गर्ने चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवबाट नेपाली जनताले सिकेको चर्चा गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले चीनबाट सम्पदा संरक्षण, फोहरमैला व्यवस्थापन, रासायनिक मल कारखाना स्थापनालगायत विषयमा सिक्न सक्ने बताउनुभयो ।
नेपाल र चीनबिचको मैत्रीपूर्ण सम्बन्ध धेरै पूरानो भएको उल्लेख गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले चीन–नेपालबिचको उच्चस्तरीय भ्रमणले दुई देशबिचको मित्रतालाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चिनियाँ प्रतिनिधिमण्डलका नेता युआन चियाच्यूनले चीनको पूरानो मित्रसँग भेटघाटको अवसर पाएको उल्लेख गर्नुहुँदै नेमकिपाले जनताको सेवा गर्ने राजनैतिक प्रतिवद्धता र सांस्कृतिक सम्पदा संरक्षणमा समर्पणबाट आफू प्रभावित भएको बताउनुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको २० औँ महाधिवेशनले चीनको भविष्यको बाटो कोरेको बताउनुहुँदै नेता युआनले अब त्यो बाटो सफलतापूर्वक अगाडि बढाउन योग्य र साहसिला कार्यकर्ताहरूको चयनमा पार्टीले जोड दिइरहेको बताउनुभयो । चिकपाको २० औँ महाधिवेशनले पार्टी निर्माणमा राजनैतिक, वैचारिक र साँगठनिक काम तथा अनुशासनको पक्षमा जोड दिएको बताउनुभयो ।
भ्रष्टाचारविरोधी आन्दोलनलाई अगाडि बढाइरहेको उल्लेख गर्नुहुँदै नेता युआनले समग्रमा २० औँ महाधिवेशनले पार्टीमा राष्ट्रपति सि चिनफीङको नेतृत्व र विचार स्थापित गरेको बताउनुभयो ।

भेटघाटमा नेमकिपाको तर्फबाट केन्द्रीय सचिव पे्रम सुवाल र केन्द्रीय सदस्य सुनिल प्रजापति सहभागी हुनुहुन्थ्यो भने चिकपाको तर्फबाट टोली नेतासँगै विदेश विभाग उपप्रमुख कुओ थचउ, छोङछिङ नगरको पार्टी स्थायी समिति सदस्यहरू छन मिङपो र लुओ लीन तथा पार्टी विदेश विभागको दक्षिण एसियाली व्यूरो प्रमुख छन सिउपीन सहभागी हुनुहुन्थ्यो ।
भेटघाट अघि पोलिटव्यूरो सदस्य यूआनलाई भक्तपुर दरबारस्क्वारमा भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति, वाग्मती प्रदेश सांसद् सुरेन्द्रराज गोसाई, उपप्रमुख रजनी जोशी, कार्यकारी अधिकृत विजयकुमार शर्मा, कार्यपालिका सदस्य र वडा सदस्यहरूले स्वागत गर्नुभएको थियो ।
प्रतिनिधि मण्डलले भक्तपुरको सिंहध्वाका दरबार, पचपन्नझ्याल दरबार, पा“चतलेको मन्दिर अभिरुचीपूर्वक अवलोकन गरेको थियो । प्रतिनिधि मण्डललाई स्थानीय जनताको सांस्कृतिक टोलीहरूले परम्परागत बाजा र नृत्यमार्फत स्वागत गरेका थिए भने परम्परागत पोशाकमा दुईतिर उभिएका महिला र विद्यार्थीहरूले ताली बजाएर स्वागत गरेका थिए ।
नेता युआनको संक्षिप्त जीवनी
सन् १९६२ मा चीनको उत्तरपूर्व प्रान्त चिलीनमा जन्मनुभएका नेता युआनले पेइचिङ् अन्तरिक्ष विज्ञान प्रतिष्ठानबाट स्नातक र जर्मन अन्तरिक्ष केन्द्रबाट अन्तरिक्ष विज्ञानमा स्नातकोत्तर गर्नुभएको थियो । सन् १९९० मा चीनको अन्तरिक्ष विज्ञान कार्यक्रममा सहभागी हुनुभएका नेता युआनलाई चिनिया अन्तरिक्ष यान ‘सनचउ’ का डिजाइनर मानिन्छ ।
सन् २००७ मा वैकल्पिक केन्द्रीय सदस्यको रूपमा सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि उनी चिनिया अन्तरिक्ष कार्यक्रमका उपप्रमुख थिए । सन् २०१७ मा केन्द्रीय सदस्य हुँदै नेता युआन सन् २०२२ मा सम्पन्न चिकपाको २० औँ महाधिवेशनपछि पोलिटव्युरो सदस्यमा छानिनुभयो । छोङ्छिङ् नगरको पार्टी सचिव हुनुअघि उनले पश्चिमी चीनको निङशिया स्वाशासित क्षेत्र र पूर्वी चीनको चचियाङ् प्रान्तमा पनि नेतृत्वदायी तहमा बसेर काम गरिसक्नुभएको छ ।