१ असार, कञ्चन/बिष्णु भट्टराई
अत्याधिक गमीका कारण जनजिवन अस्तब्यस्त बनेको छ। तराइ क्षेत्रमा अचाक्ली गर्मी हुँदा मानिसहरुको दैनिकी प्रभावित बनेको हो । यसरी गर्मीबाट केही क्षणको लागि भएपनि छुटकारा पाउनका लागि मानिसहरु विभिन्न विकल्पहरुको खोजी गरिरहेका छन् । चिसो मौसम खोज्दै कोही पहाड तिर घुम्न निस्कीएका छन् भने कोही रिफ्रेसका लागि रेष्टुरेण्ट, स्वीमिङ्गका लागि विभिन्न ठाउँहरुमा जाने गरेका छन् । साथीभाइ, पारिवारिक रमाइलोका लागि गर्मी मौसममा स्वीमिङ्ग गर्नुको मज्जा भने बेग्लै छ ।
अहिले तराइका अधिकांश सहरमा स्विमिङ्ग स्पटहरु खोलिएका छन् । रुपन्देहीको कन्चन गाउँपालिकाको चापामा लुम्बिनी ग्रिन भ्यू रेष्टुरेण्टको स्वाद सँगै, स्विमिङ्गमा रमाउनेहरुको अर्को रमाइलो आर्गानीक आँप खानु हो । बगैचामा लटरम्म फलेका आँपहरु हेर्दैमा आनन्द । सञ्चालक सन्तोष कुमार थापा आगन्तुकलाई आँप चखाउन पाउँदा उत्साहित देखिन्छन् ।

कन्चन गाउँपालिका–४, चापाटोलमा अवस्थित लुम्बिनी ग्रिन भ्यू रेष्टुरेण्ट २०७३ सालमा सुरु भएको हो । करिब २८ बर्ष पुरानो पुख्र्यैली बगैचामा उनले यो व्यवसाय सुरु गरेका हुन् । लजिङ्ग, फुडिङ्ग सहितको होटल, स्विमङ्ग पूल र गेम साइडमा जिम हाउस, पिङ्ग, क्यारेम बोड लगायतका खेलहरु खेल्न मिल्ने व्यवस्थाले त्यहाँ आउनेहरुले भरपुर मनोरञ्जन लिने गरेको संचालक थापाले बताए । साढे ३ विगाहा क्षेत्रफलमा फैलिएको बगैचामा सिन्दुर आप, दसहरी, माल्ड कपुरी, बम्वे लगायत ८–१० थरीका आँप, अमला, लिची , अम्बा, एभोकाडो, नरीवल, सुपारी लगायतका फलफुलका विरुवाहरु रहेको उनले बताए । त्यस्तै माछा, बंगुर, कुखुरा, हाँस पनि उनले पालेका छन् ।
रेष्टुरेण्ट संचालन गर्नु भन्दा अगाडी यहाँका उत्पादनहरु कोल्ड स्टोरमा राख्ने र बिक्रि गर्ने गरेको उनले बताए । अहिले रुखमा पाकेको आर्गानीक आप पाइन्छ भनेर साथीहरु आउनुहुन्छ, केहीले खरिद गरेर पनि लैजानुहुन्छ– उनले भने । यहाँका अधिकांश ग्राहकहरु बुटवल, भैरहवा, ४ नम्बर, रामापुर लगायतबाट आउने गरेको उनी बताउँदछन् । गर्मि मौसममा स्वीमिङ्ग पुलका कारण दैनिक १ सय देखी १ सय पचास जनासम्म ग्राहकहरु आउने गरेता पनि जाडो मौसममा सन्तोषजनक ग्राहकहरु आएको उनले बताए ।
करिब साढे ४ करोड लगानी रहेको यो व्यवसायमा १० जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएको थापा बताउँदछन् । लगानी ठूलो देखिएपनि एकैचोटी भने लगानी नलगाएको उनी बताउँदछन् । सुरुमा सामान्य लगानीबाट सुरु गरेको यो व्यवसायमा हरेक बर्षको आम्दानीबाट लगानी बढाउँदै लगेको उनले बताए । यसका लागि पारिवारिक सहयोग राम्रो पाएको उनले बताए ।


यी सुविधाहरु सँगै ५ वटा गेष्टरुम पनि रहेको उनले बताए । उनी भन्छन्– ‘सामान्यतया कार्यक्रमहरु गर्नका लागि हल, कोलाहल मुक्त वातावरण, स्वादिष्ट खाना, गेष्टरुम, खुल्ला वातावरण, हरियाली बगैचा लगायतका कारणले ग्राहकहरु राम्रो वातावरणमा विहानदेखी साँझसम्म रमाउन सक्नुहुनेछ ।’ आगामी दिनहरुमा थप सेवा सुविधाहरु थप्दै लैजाने उनले जानकारी दिए ।
प्रयोगपछि खेर जाने बोटलहरुको पर्खाल यहाँको अर्को आकर्षण हो । मुख्य गेटको साइडमा लगाइएको बोटलहरुको पर्खालले यहाँ आउने जो कोहीको ध्यान खिच्ने गरेको छ । निर्माणाधिन यस्ता संरचनामा वियर र रक्सीका बोटलहरुको प्रयोग गरि आर्कषक संरचना बनाइएको छ । यसमा लाइट सिस्टम जडान गरेपछि अझ आर्कषक देखिने थापाले बताए । पहिला बिक्री गर्दा केही रकम प्राप्त हुन्थ्यो, अहिले धेरै सस्तो मुल्यमा विक्री हुने भएकोले यसको सदुपयोग गर्ने सोँचले यो संरचना बनाएको हुँ । यस्तै बोटलहरुको प्रयोग गरि टेवल र चौपारी बनाउने योजना छ– उनले भने ।