२७ जेठ, एजेन्सी ।
काठमाडौँ । शनिबार राति इन्टर मिलानविरुद्ध फाइनल खेलमा उत्रिँदा म्यानचेस्टर सिटी इतिहासमा पहिलोपटक च्याम्पियन्स लिगको उपाधि जित्दै यो सिजन ट्रेबल पूरा गर्ने सोचमा हुनेछ । फाइनल खेल इस्तानबुलको एटाटुर्क ओलम्पिक स्टेडियममा नेपाली समय अनुसार आइतबार बिहान १२ः४५ सुरु हुनेछ । पेप ग्वार्डिओलाको टोलीले यसअघि नै प्रिमियर लिग र एफए कपको उपाधि उचालिसकेको छ । पछिल्ला तीन वर्षमा सिटी च्याम्पियन्स लिगको फाइनलमा पुगेको यो दोस्रो पटक हो । यसअघि, सन् २०२०–२१ सिजनको फाइनलमा चेल्सीसँग पराजित भएको थियो । ‘हामीले पहिलोपटक यो उपाधि जित्न बाटो पहिल्याउनै पर्छ,’ सिटीका प्लेमेकर केभिन डी ब्रुयना भन्छन्, ‘यदि हामीले यो गर्न सक्यौँ भने खेलाडी, क्लब र फ्यानहरुका लागि ठुलो उपलब्धि हुनेछ ।’
ट्रेबल जित्ने म्यानचेस्टर युनाइटेड मात्र एक्लो इंग्लिस क्लब हो। युनाइटेडले १९९८–९९ सिजनमा प्रिमियर लिगसँगै एफए कप र च्याम्पियन्स लिगको उपाधि जितेको थियो । शनिबारको फाइनल खेलमा सिटी उत्कृष्ट लयमा मैदानमा उत्रिनेछ । टोली सबै प्रतियोगिताका पछिल्ला २६ खेलमा अपराजित रहेको छ भने युरोपमा यो सिजन १२ मध्ये सात खेल जित्दै अपराजित रहेको छ ।
ग्वार्डिओला पनि सन् २०११ मा बार्सिलोनासँग उपाधि जितेपछि पहिलोपटक युरोपियन उपाधि जित्ने आशमा छन् । बार्सिलोनसँग त्योभन्दा दुई वर्षअघि उनले ट्रेबल जितेका थिए ।
कागजमा, उनको अहिलेको सिटीको टोली सन् २००८–०९ सिजनको बार्सिलोनाभन्दा सशक्त देखिएको छ । बार्सिलोना फाइनलसम्म पुग्दा एक खेलमा हार बेहोर्दै ३२ गोल गर्दै १३ गोल खाएको थियो । यता सिटीले एक खेल बाँकी छँदा ३१ गोल गरेर मात्र ५ गोल खाएको छ । ग्वार्डिओला भन्छन्, ‘मसँग पहिले लियोनेल मेस्सी थिए, अहिले मेरो साथमा अर्लिङ हालान्ड छन् । मेरो सफलता यही नै हो । मैले ठट्टा गरेको छैन । यही नै सत्य हो ।’ जोसे मोरिन्होको नेतृत्वमा रहेको इन्टरले सन् २०१० को सेमिफाइनलमा ग्वार्डिओलाको बार्सिलोनालाई हराउँदै फाइनलमा पुगेको थियो । टोलीले सो सिजन आफैँ ट्रेबल जितेको थियो । तर इटालियन टोलीले प्रतियोगितामा पहिलो पटक सिटीको सामना गर्दैछ । ‘च्याम्पियन्स लिग अद्भूत प्रतियोगिता हो,’ ग्वार्डिओला थप्छन्, ‘यो एउटा सपना हो, पक्कै पनि । यसलाई जित्नका लागि तपाईंसँग सही लगाव र इच्छाशक्ति आवश्यक छ ।’
चौथो युरोपियन उपाधि जित्ने दाउमा इन्टर
तीन पटकको युरोपियन च्याम्पियन यो सिजन इटालियन सिरी ए मा तेस्रो स्थानमा सीमित भएको थियो । उसले यो सिजन लगातार दोस्रो सिजन कोप्पा इटालियाको उपाधि भने जितेको छ ।
इन्टरविरुद्धको खेलमा सिटीले जित्ने धेरैले अनुमान गरे पनि इन्टर त्यति कमजोर भने छैन । प्रतियोगिताका १२ खेलमा इन्टरले सबैभन्दा बढी ८ वटा क्लिन सिट राखेको छ । गोलकिपर आन्द्रे ओनाना उत्कृष्ट लयमा देखिएका छन् ।
सिमोनी इन्झागीको टोलीको आक्रमण पनि सशक्त देखिन्छ । लाउटारो मार्टिनेजले यो सिजन ५८ खेलमा २८ गोल गर्नुका साथै ११ वटा गोलको अवसर सिर्जना गरिसकेका छन् । इटालियन टोलीसँग एडिन जेको र रोमेलु लुकाकुजस्ता अनुभवी खेलाडी पनि छन् ।
‘मेरो लागि यो सबैभन्दा महत्त्वपूर्ण खेल हो । मेरा खेलाडीका लागि पनि यो त्यतिकै महत्त्वपूर्ण छ,’ इन्झागी भन्छन्, ‘हामीले वर्षभरि गरेको मिहिनेतको प्रतिफल हो यो ।’ अर्जेन्टिनी फरवार्ड मार्टिनेज भन्छन्, ‘मलाई आशा छ, हामी उत्कृष्ट प्रदर्शन गर्नेछौँ र नतिजा हाम्रो पक्षमा पार्दै ट्रफीलाई मिलान ल्याउनेछौँ । हाम्रो लागि यो ठुलो सपना हो । यो कठिन छ तर हामीमात्र एक कदम टाढा छौँ ।’
सबैको नजर हालान्डमाथि
म्यानचेस्टर सिटीका स्ट्राइकर अर्लिङ हालान्डले प्रिमियर लिगमा पहिलो सिजन उत्कृष्ट लयमा बिताइरहेका छन् । उनी यो सिजनमात्र बोरुसिया डर्टमण्डबाट सिटी आइपुगेका हुन् । उनले एकै सिजनमा प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान भंग गरिसकेका छन् । लिगमा उनले ३६ गोल गरेका छन् सबै प्रतियोगितामा प्रत्यो ७८ मिनेटमा एक गोलको औसतले ५२ गोल गरेका छन् । नर्वेजियन खेलाडी फुटबल राइटर्स एसोसिएसन ९एफडब्लूए० द्वारा वर्षको उत्कृष्ट पुरुष खेलाडी खेलाडी घोषित गरेका छन् । उनी प्रिमियर लिगको उत्कृष्ट खेलाडीको साथै उत्कृष्ट युवा खेलाडीको उपाधि एकै पटक जित्ने पहिलो खेलाडी पनि हुन् । हालान्ड पनि आफ्नो ट्रफी क्याबिनेटमा च्याम्पियन्स लिगको उपाधि थप्न आतुर छन् । प्रतियोगितामा उनको गोलको औसत प्रत्येक ६३ मिनेटमा एक गोल छ । उनले सेमिफाइनलमा गोल गर्न असफल भए पनि प्रतियोगितामा उनले गरेको १२ गोल कुनै पनि खेलाडीले इंग्लिस क्लबका लागि गरेको सर्वाधिक गोल हो । यसअघि सन् २००२–०३ सिनजमा रुड भान निस्टलरोयले सन् २००२–०३ सिजनमा यो उपलब्धि हासिल गरेका थिए। उनी सन् १९९९ मा ओली गनर सोल्क्सायरपछि च्यापियन्स लिगको फाइनल गोल गर्ने पहिलो नर्वेजियन खेलाडी पनि बन्ने ताकमा रहेका छन् ।
सिटी र इन्टरको फाइनल यात्रा
म्यानचेस्टर सिटी समूह जीको शीर्ष स्थानमा रहँदै प्रतियोगिताको नकआउट चरणमा पुगेको थियो । दोस्रो स्थानमा रहेको डर्टमण्डभन्दा सिटी ५ अंकले अघि रहन सफल भएको थियो ।