२० जेठ, भक्तपुर
भक्तपुर नगरपालिकाले संस्थागत विद्यालयका प्रधानाध्यापकहरुसंग राय–सुझाव संकलन गरेको छ। शुक्रबार भनपा सभाकक्षमा प्रअहरुको भेला गरेको छ । भक्तपुर नगरपालिकाको आ.व. २०८०/८१ को बजेट तर्जुमासम्बन्धी राय–सुझाव संकलन गर्ने उद्देश्यले भेलाको आयोजना गरी आयोजितसंस्थागत विद्यालयका प्रधानाध्यापकहरुसंग रचनात्मक सुझाव संकलन गरेको हो।

भेलामा नगर प्रमुख सुनिल प्रजापतिले बजेटलाई स्थानीय आवश्यकता र मागअनुसार प्रभावकारी बनाउन भक्तपुर नपाले वडागत तह र विभिन्न सरोकारवालाहरुबाट सुझाव संकलन गर्ने कार्य चालु रहेको बताउँदै छलफलबाट उठेका सुझावलाई प्राथमिकताको आधारमा आगामी बजेटमा समावेश गरिने बताउनुभयो । भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरेको लगानीका कारण आज शिक्षामा भक्तपुरले फड्को मारेको बताउँदै नपा प्रमुख प्रजापतीले शिक्षा र आर्थिक विकासमा अन्तरसम्बन्ध रहेको बताउनुभयो ।
‘भक्तपुरका विद्यालयले सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्न सके देशभरिका विद्यार्थीहरुको शैक्षिक गन्तव्यस्थलको रुपमा भक्तपुरको विकास हुने उल्लेख गर्दै नपा प्रमुख प्रजापतीले सरकारमा गएका राजनीतिक दल तथा नेतामा ख्वप विश्वविद्यालयको विषयमा आश्वासन मात्र बाँड्ने तर कहिल्यै पूरा नगर्ने मानसिकता रहेको र भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणमा गरिरहेको गतिविधि अन्य पालिकाहरुको लागि अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास भइरहेको समेत बताउनुभयो ।

कार्यक्रममा सहभागी प्रधानाध्यापक तथा प्रतिनिधिहरुले भक्तपुरको शैक्षिक रुपान्तरणको निम्ति छुट्टै नीति तथा कार्यक्रम आवश्यक भएको, भक्तपुर नपाको विभिन्न गतिविधिहरुमा संस्थागत विद्यालयहरुलाई पनि सहभागी गराउनुपर्ने, नयाँ विद्यार्थी भर्ना गर्दा लब्धांक पत्र अनिवार्य गर्नुपर्ने, अनियमित रुपमा उठाइएका शुल्कबारे अनुगमन गर्नुपर्ने, उत्कृष्ट विद्यार्थी सम्मानको लागि बजेट छुट्याउनुपर्ने, प्रश्नपत्र निर्माणबारे तालिम, एसईई तयारी परीक्षाको व्यवस्था गर्नुपर्नेलगायतका सुझावहरु राख्नुभएको थियो ।

कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्यले संस्थापक विद्यालयले पनि नियमित रुपमा वार्षिक लेखापरीक्षण गराउनुपर्ने भन्दै सामुदायिक र संस्थागत विद्यालयले भक्तपुरको शैक्षिक विकासमा अझ क्रियाशील भएर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
