बुटवल ।
राष्ट्रिय जनमोर्चा, बुटवल उपमहानगरपालिकाको तेस्रो नगर सम्मेलन नया नेतृत्व चयन गर्दै विहिवार बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले पदम प्रसाद श्रेष्ठको अध्यक्षतामा १३ पूर्ण र ४ बैकल्पिक गरि १७ सदस्यिय नगर कार्य समिति सर्वसम्मत चयन गरेको सो पार्टीले जनाएको छ । जसको उपाध्यक्षमा माया खनाल, सचिवमा गंगालाल सापकोटा, कोषाध्यक्षमा गोपाल गैरे, सहसचिवमा गोपाल वञ्जाडे निर्वाचित भएका छन् । यसैगरि सदस्यहरुमा शशी पौडेल, दिलप्रसाद नेपाली, रेनु सिंह, मुक्ति सापकोटा, कृष्ण बराइली, भोला भुसाल, विष्णु विक, अमृता पुन रहेका छन् । बैकल्पिक सदस्यमा दिपक योगी, विष्णुमाया बेल्वासे, शेरबहादुर थापा र एकल रिजाल चयन भएका छन् । सम्मेलनले सल्लाहाकारमा कृष्णप्रसाद पोखरेल, दिपक थापा, राप्रसाद पाण्डे, रामबहादुर विक, उमलाल वञ्जाडे, गनीराम विसी, थम्मन बहादुर पुलामीलाई चयन गरेको छ ।
सम्मेलनको उद्घाटन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहार तथा रुपन्देही अध्यक्ष बद्रे आलमले निष्ठा र नैतिकताको राजनीति हराउँदै गएको वर्तमान अवस्थामा जनताका समस्याहरु समाधान गर्ने आन्दोलन कमजोर बनेको बताउनुभएको छ । पछिल्ला दिनहरुमा देखा परेका अराजनैतिक क्रियाकलापले पार्टीहरुले निष्ठा गुमाएको जिकिर गर्दै जनताको पक्षमा बोल्ने र संघर्ष गर्ने उभ्याउन कार्यकर्ताहरुलाई आलमले आग्रह गरे । उहाँले बाहिरी शक्तिको चलखेलमा गणतन्त्र र धर्मनिरपेक्षतालाई खतम गर्ने षडयन्त्र भैरहेको बताउँदै गणतन्त्रको रक्षाको प्रश्न जटिल बनेको धारणा राख्नुभएको छ । आलमले आफ्नो पार्टीले जनताको माझमा सधै निष्ठाको राजनीति गरेको दावी गर्दै संघीय प्रणालीले मुलुकलाई अधोगति तिर जान्छ भन्ने आफूहरुको भनाई प्रमाणित हुदै गएको बताउनुभयो ।
नगर अध्यक्ष पदम प्रसाद श्रेष्ठको अध्यक्ष्ता, उपाध्यक्ष कृष्ण प्रसाद पोखरेलको स्वागत र सचिव गंगालाल सापकोटोको सञ्चालनमा भएको कार्यक्रममा विभिन्न शुभेक्षुक संगठनका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । नव निर्वाचित अध्यक्ष श्रेष्ठले समापनका अवसरमा पार्टीलाई जनताको माझमा जनताको साथमा लैजानको लागि बलियो संगठनको आवश्यकता पर्ने हुँदा त्यसमा सबैलाई सक्रिय भएर लाग्न आग्रह गर्नुभएको छ । अन्य पार्टी र संगठनलाई हेरेर होइन आफ्नो पार्टीको नीति र कार्यक्रममा विचलित नभएर लाग्न पनि उनले सो अवसरमा जोड दिनुभयो ।