३ फागुन, कञ्चन
जनआस्था पृथ्वी क्लव, कञ्चन ४, रुपन्देहीको आयोजनामा रवि किरण स्मृति कप भलिवल प्रतियोगिता २०७९ आजबाट शुरु भएको छ। हरेक बर्ष महा शिवरात्रीको अवसर पारेर सञ्चालन गर्दै आएको रवि किरण स्मृति कप भलिवल प्रतियोगिताको छैठौं संस्करणको रुपमा सञ्चालन हुने प्रतियोगितामा विजेता टिमले नगद ५१ हजार १ सय ११ रुपैया सहित कप र मेडल प्राप्त गर्ने छन।
यस्तै प्रतियोगितामा उपविजेता टिमले ३१ हजार १ सय ११ रुपैया प्राप्त गर्ने छ भने प्रतियोगिताको अन्तिम ४ मा पुग्न सफल २ टिमले जनही ५/५ हजार रुपैया प्राप्त गर्ने छन।
प्रतियोगिताको उद्घाटन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चनको समग्र खेलकुद बिकासका लागि खेलकुद बिकास गठन सम्बन्धी कार्यविधि मस्यौदा तयार भइरहेको बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष ढकालले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गरिरहेको कञ्चनको खेलकुद बिकासमा स्थानीय खेलाडी, प्रशिक्षक र निर्णायकहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भयो। खेलकुदको माध्यमबाट कञ्चनलाई सवल र सफल बनाउन युवा खेलाडीहरुलाई समेत साझेदार बन्न आवस्यक रहेको बताउदै अध्यक्ष ढकालले प्रतियोगिताहरुबाट विपक्षीलाई जित्न मात्र नभई एकता, सहकार्यको भावना संगै हरेक कार्य गर्दा सहनशिलता र धैर्यता गर्नु पर्ने सोंचको समेत बिकास हुने बताउनु भयो।
क्लवका सचिव तथा रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष हिमाल थापाले क्लवका सदस्य तथा खेलाडी स्वर्गिय रवि गुरुङ्ग र किरण श्रेष्ठको योगदानको स्मरण गर्दै हरेक बर्ष भलिवल खेलको समेत बिकास र प्रवद्र्धन गर्ने उद्धेश्यका साथ स्मृति कप सञ्चालन गर्दै आइरहेको बताउनु भयो। स्वर्गिय रवि र किरणले क्लवको हरेक पक्षको बिकास र उत्थानका निःस्वार्थ योगदान गर्नु भएको र वहाँहरुको निधनले क्लवले पनि अपुर्णिय क्षति ब्यहोरेको सचिव थापाले स्मरण गर्नु भयो।
क्लवका अध्यक्ष उदय बहादुर आलेको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगर, वडा नं. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्ग, डा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्री, कार्यपालिका सदस्य शुसिला थापा, वडा नं. २ का वडा सदस्य त्रिवेणी थारु, क्लवका पुर्व अध्यक्ष कुल बहादुर क्षेत्री लगायत क्लवका शुभेच्छुकहरुको समेत उपस्थिति रहेको थियो।
१२ भलिवल टिमहरुले सहभागिता जनाएको प्रतियोगिता फागुन ६ गते सम्म सञ्चालन हुने छ। क्लवका सदस्य सदस्य प्रेम सिंह रानाको संचालनमा शुरु भएको उद्घाटन खेल चेतनशिल युवा क्लव र कञ्चन स्पोर्टस एकेडेमी बिच भएको थियो। प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद २ हजार रुपैया पुरस्कार पाउने छन भने उत्कृस्ट ब्लकर,स्पाइकर, सेटर र सर्भरले समेत १/१ हजार रुपैया पुरस्कार पाउने आयोजकले जनाएको छ।