तराईका विभिन्न जिल्लामा कम्युनिस्ट पार्टीको अगुवाइमा ऐतिहासिक किसान आन्दोलन भएको थियो । पुँजीवादी प्रजातन्त्रको भ्रम र छलछामलाई चिर्न बारा, रौतहट, सप्तरी, सिराहमा भएको किसान आन्दोलनको जानकारी दिन ‘ऐतिहासिक किसान आन्दोलन एक अध्ययन’ पुस्तक प्रकाशित गरिएको थियो । यो रचना पहिले नै प्रकाशित भएको थियो । यो पुस्तक २०६४ फागुनमा नेक्राकिसङ्घले प्रकाशित गरेको थियो –सं.)
आर्थिक समस्या र वर्ग सङ्घर्ष
समानताको सङ्घर्षले रौतहट र बारा जिल्लाको कुना काप्चाका किसानहरू सङ्गठित पारेर पार्टी सङ्गठनले एक नयाँ लहर चलायो । पार्टीले किसान सङ्गठनको भेललाई आर्थिक सङ्घर्षमा मोड्ने निर्णय गर्यो र ‘पुरानो कर्जा रद्द गर’ भन्ने नारा दियो । त्यस नाराले गरिब किसानहरू खुसी भए, मध्यम किसानहरूले फाइदा देखे भने धनी किसान मारबाट बच्न पार्टीप्रति भक्ति देखाउन थाले । पुस्तौँ पुस्ताको जालसाजी ऋणमा डुबेका गरिब किसानहरू पार्टीको नारालाई सुनेर भन्न थाले वास्तवमा नेपाल कम्युनिस्ट पार्टी गरिब किसानको आफ्नै पार्टी हो । मध्यम किसानहरू पनि सामन्ती ऋणले दबिएका थिए, उनीहरूले पार्टीको नारालाई उचित देखे । आफ्नो भलो उनीहरूले पार्टीमा लागेरै हुन्छ भन्ने देखेर पार्टीमा सामेल हुन थाले । धनी किसानहरूले पनि गरिब र मध्यम किसानलाई ऋण दिइराखेका हुन्थे । पार्टीको नारा सुन्नासाथै सङ्घर्ष सुरु हुने कुरा थाहा पाए । यसकारण, तिनीहरू पनि पार्टीमा सामेल भए । धनी किसानहरूले पार्टी र किसानहरूको शक्ति समानताको सङ्घर्षमै देखिसकेका थिए ।
पार्टीले ‘पुरानो कर्जा छोडी देऊ’ र ‘डेढा ब्याज छोडी देऊ’ भन्दै जिल्लामा व्यापक पर्चा छ¥यो, जुन कुरा किसानहरूको नसानसामा घुस्न थाल्यो । पार्टीको नाराबाट किसानहरूले पुरानो ऋणबाट मुक्ति पाउने र डेढा ब्याजको बोझबाट सास फेर्न पाउने आशा देख्न थाले । जिल्लाका तमाम किसानहरू फेरि समानताको सङ्घर्षमा जस्तै एकगठ भए र पार्टीको चारैतिर सङ्गठित भए । सामन्त सरकार समानताकै सङ्घर्षमा अलि निराश भइसकेका थिए । फेरि नयाँ नाराले तिनीहरू झनै निराश भए भने किसानहरूमा असीम उत्साह थपिए ।
रौतहट र बारा जिल्लाको शोषणका तरिकाहरू
बारा जिल्लाका किसानहरू हटुवई, पटुगिरि, गडीवानी, चलिसाह, पथल पुजाइ, सलामी दस्तुर, सिपाही गिरी, बटैया, बेदखली, जनौरी–हतौरी, जालसाजी, किर्ते डेढा ब्याज आदि विभिन्न खालको शोषणको जाँतोमा पिल्सिएका थिए । पार्टीले यी सबै प्रकारका शोषणको विरोधमा नारा लगायो, सुतिरहेका किसानहरूलाई घच्घच्याएर उठायो । पार्टी कार्यकर्ताहरूले शोषणका तरिकाहरूको छानबिन गर्न थाले । बारामा एक मन धान ऋण लियो भने साढेदस पसेरी अथवा साँवाभन्दा ब्याज बढी लिन्थ्यो । त्यहाँ गरिने शोषण निम्न प्रकारका थिए ः
१. हटुवई
जमिनदार या साहुमहाजन र सामन्तहरूकहाँ किसानहरू ऋण लिन जाँदा तौलेर दिने मानिसलाई हटुवई भनिन्थ्यो । त्यो त्यही शोषककै कर्मचारी या दलाल हुन्थ्यो । हटुवईले एकमन धान ऋण तौलेर किसानलाई दिन्थ्यो । तर, किसानले पछि मङ्सिरमा ऋण तिर्दा पक्का (पाकेको) सबा सेर धान त्यस हटुवेलाई चोखै दिनुपर्दथ्यो । त्यस्तो चलनलाई बारामा हटुवई भनेर किसानहरू घृणा गर्थे ।
२. पटुगिरी
जमिनदार या सामन्तको बही खाता लेख्ने कारिन्दालाई बारामा पटुवारी भनिन्थ्यो । किसानले ऋण माग्न जाँदा बही खातामा उसैले हिसाब राख्ने, कागज लेख्ने र सही छाप गराउने काम गथ्र्यो । १ मन धान ऋण किसानले लिँदा पछि ऋण तिर्ने समयमा पटुबारीले किसानसँग सवासेर धान अलग्गै लिन्थ्यो । त्यसप्रकारले चुस्ने तरिकालाई बारामा पटुगिरी भनिन्थ्यो । किसानहरू यस पटुगिरीलाई पनि मन पराउँदैनथे ।
३. गडिवानी
किसानसँग खेत खलिहान र घरमा गएर सामन्त र जमिनदारहरूले ऋण असुल गर्दथे । ऋण असुल गर्न गएको गाडावानले एकमन ऋणको सवासेरको दरले भाडा या कर ऋण लिने किसानबाट असुल गथ्र्यो । त्यसप्रकारको नाजायज शोषणलाई गडिवानी भनिन्थ्यो ।
४. चलिसाह
बारामा चलेको तौलअनुसार २ पसेरीलाई १ धरा र ४ धराको १ मन हुन्छ । किसानले सामन्त या जमिनदारसँग १० मन या ४० धरा धान ऋण लिएमा २ सेर धान यादगारको निम्ति भनेर त्यस ऋणबाट झिक्ने गरिन्थ्यो । ४० धराबाट यसरी गरिने शोषणलाई चलिसाह भनिन्थ्यो ।
५. पथल पुजाइ
पथल भनेको स्थानीय भाषामा स्थानीयहरू ढक–ढुङ्गा या सेरलाई भन्ने गर्दथे । पुजाइको अर्थ पूजा हो साहु या शोषकको । शोषकलाई किसानले ऋण तिर्न ल्याउँदा तौलिलिने ढक या सेर राख्ने तराजुमा ५ मुठ्ठी धान चढाउँथे । एक मुठ्ठी पक्का धानको एक पाउ हुन्थ्यो । त्यो ५ मुठ्ठी धान ढकको पूजाको नाममा तराजुमा राखिन्थ्यो । तर, त्यो ५ मुठ्ठी या एक पाउ धान राखेरै सेर चढाएर किसानको ऋण तौलेर लिन्थ्यो । ढक या सेरलाई महादेव मानिन्थ्यो । त्यही महादेवको पूजाको नाममा एक पाउ बढी भएको सेरले तौलेर किसानहरूलाई चुस्थे । शोषकहरूको चुस्ने यस तरीकालाई पथल–पुजाइ भनिन्थ्यो । २ पसेरी या एक धराले ४ चोटि जोख्दा ४ पाउ या १ सेर किसानको बढी तौलमा माथ्र्यो ।
६. सलामी दस्तुर
किसानले जमिनदारकहाँ मालपोत अथवा दाम या मालगुजारी तिर्न जाँदा जमिनदारलाई सलामी चढाउनुपथ्र्यो । सलामीलाई ५ रूपैयाँ लाग्थ्यो । यसप्रकार मालपोत तिर्न जाँदा पनि छुट्टै जमिनदारले ५।– रूपैयाँ चुस्थ्यो ।
त्यस्तै मालपोतको स्रेस्ता राख्ने अलग्गै कर्मचारी जमिनदारकहाँ रहन्थ्यो । त्यसलाई पटवारी पनि भन्ने गरिन्थ्यो । मालपोत तिर्न जाँदा किसानसँग उसले पनि ५।– रूपैयाँ दस्तुरी लिन्थ्यो । यसरी मालपोत तिर्न जाँदा ५–५ रूपैयाँको शोषण गर्ने तरिकालाई ‘सलामी दस्तुर’ भनिन्थ्यो र त्यसलाई किसानहरू घृणा गर्थे ।
७. सिपाही गिरी
जमिनदार, सामन्त या साहुमहाजनको घरमा पालो बस्ने या नोकर बस्नेलाई ‘सिपाही’ भन्ने गरिन्थ्यो । किसानहरूले सामन्त या जमिनदारकहाँबाट ऋण लैजान्थे । पछि ऋण तिर्दा किसानले मनको १ सेरको दरले सिपाहीको भाग भनेर छुट्टै तिर्नुपर्दथ्यो । यो चुस्ने तरिकालाई ‘सिपाही गिरी’ भनिन्थ्यो ।
८. बटैया
तराईमा खूब चल्ने शोषणको तरिका बटैया हो । जमिनदार या शोषकले कुनै एक किसानलाई एक बालीको निम्ति खेत जोत्न दिन्थ्यो । खेतमा बीउ हाल्न ऋण शोषक आफैले दिन्थ्यो । पछि त्यस ऋणको साँवा–ब्याज असुल गरेपछि जग्गाको बाँकी उब्जनीमा आधा जमिनदारले लिन्छ, आधा किसानले । यो लगभग काठमाडौँ उपत्यकाको अधियासँग मिल्छ । बटैया खेत जोत्ने किसानहरूलाई मोहियानी हक दिँदैनथ्यो । यसै विषयलाई लिएर किसानहरूले सङ्घर्ष सुरु गरे ।
९. बेदखली
बटैया र अरू किसिमले जग्गा जोतिरहेका किसानहरूबाट जमिनदार र शोषकहरूले अनेक किसिमको नाजायज कर र पैसा असुल गर्न खोज्थे । बटैयाभन्दा बढी बाली खोज्थे, किसानहरू मानेनन् भने उक्त खेत अर्को बालीदेखि अर्कै किसानलाई जोत्न दिन्थे । पुरानो किसानलाई त्यस जग्गा या कामबाट निकालिन्थे । यसप्रकार नाजायज तरिकाले किसानलाई बेकारी बनाएर धम्काउने र शोषण गर्ने तरिकालाई बेदखली भनिन्थ्यो । तर, सरकारको कानुनमा भने एक वर्ष बाली गरेको किसानले मोहियानी हक पाउने व्यवस्था थियो । जमिनदार या सामन्तहरूले न त किसानहरूलाई जग्गा जोतेको कुनै निस्सा हात पर्न दिन्थे, न त पूरै साल बाली लगाउन दिन्थे । यसप्रकार कानुन कागजमा मात्रै रहन्थ्यो र किसानहरूमाथि अत्याचार भइरहन्थ्यो । यही बेदखलीको सम्बन्धमा देशका अरू ठाउँमा जस्तै रौतहट र बारामा पनि साना ठूला किसान सङ्घर्षहरू सुषुप्त तथा प्रकटरूपमा हुने गर्दथे ।
१०. जनौरी हनौरी
जनौरी हनौरीलाई बाराको सबभन्दा प्रत्यक्ष र घृणित शोषणको प्रथामा गनिन्थ्यो । किसानले जमिनदार, सामन्त या साहुको ऋण चुक्ता गर्नसकेन भने ऋणी किसानलाई जबरजस्ती साहुको घरमा बन्धकको रूपमा राख्ने गथ्र्यो । त्यसलाई प्रत्यक्ष कमारा या दासप्रथा मानिन्थ्यो । साहुको ऋण तिर्न नसकेको दिनसम्म ऋणी किसानले अरू कसैको काममा जान पाउँदैनथ्यो । यसरी ऋणको बदला मान्छेलाई बन्धक बनाउने प्रथालाई जनौरी–हनौरी भन्ने गरिन्थ्यो । यसरी कमारो हुन गएको ऋणी किसानलाई साहुले आफ्नो सावाँ–ब्याज लिएर अरूलाई बेच्न पनि सक्थ्यो । मतलब अरू कसैले साहुको ऋण तिरिदियो भने ऋणी किसान नयाँ साहुकहाँ बाँधा या कमारो बस्न जानुपर्ने हुन्थ्यो ।
त्यस्तै झूटो दर्खास्त, निवेदन या सरजमिनको कागजमा सिधासाधा किसानहरूलाई सही गराउँथे र पछि उही कागज तमसुकमा परिणत गरेको हुन्थ्यो । झूटो ज्यानमारा र डकैतीको उजुर गराएर किसानहरूलाई मुद्दामा फसाउने धम्की दिन्थे । उजुर र नालिस गरेर आफ्नो मनलागी कागजमा सही गराएर पछि तमसुकमा परिणत गरिदिन्थे । नक्कली सही र जाली कागज तयार पारेर, बाबु–बाजेको ऋण भनेर झूटो तमसुक तयार पारी छोरा–नातिलाई दुःख दिन्थे । त्यस्ता अनेक प्रकारका जालसाजी र किर्ते काम गरेर जालीफटाहा र सामन्तहरूले गाउँ गाउँमा किसानहरूलाई सताउँथे । डेढी ब्याजले किसानहरूको हाडै खुस्काइ दिन्थ्यो । किसानहरूलाई बाध्य भएर सामन्त र जमिनदारको कमारा र कमारी भएर जीवन बिताउनुपर्ने हुन्थ्यो । शोषकहरूको पैतलाको धूलो समान भएर पशुको जीवन बिताउनुपर्ने हुन्थ्यो ।
त्यस्तो अन्धकारको समयमा बारा जिल्लाका किसानहरूले एक उज्यालो प्रकाश देखे । त्यो कम्युनिस्ट पार्टीले बालेको किसान सङ्गठनको चिरागको प्रकाश थियो । किसान सङ्गठनको समानताको सङ्घर्षको नयाँ ज्योति पाएर किसानहरूको ज्यानमा ज्यान थपिएको थियो । पार्टीले सबै प्रकारको सामन्ती शोषणको विरोधमा जुझ्न आह्वान गर्यो† ‘जालीफटाहा’, चौकिदार, हटवी र पटवारीविरोधी नारा दियो, जो सामन्त, जमिनदार, शोषक वर्ग र सरकारी शोषणको हतियारको रूपमा काम गर्थे । तिनीहरूलाई चेतावनी दिँदा किसान जनताको मनोबल बढ्थ्यो र शोषकहरूको मनोबल कमजोर हुन्थ्यो । नाराहरू थिए– ‘धनीके दलालके मार जुत्ता सारके’, ‘थानाके दलालके मार जुत्ता सारके ।’ यसप्रकार आन्दोलनले किसानहरूको मनोबललाई बढाउँदै लग्यो भने शोषकहरू रिसले चुरचुर भए । थाना, पुलिस र सबै सामन्तहरू आपसमा छलफल गर्न थाले र किसानविरोधी प्रतिक्रियावादी साठगाँठमा लाग्न थाले ।
वर्गसङ्घर्षको नयाँ चरण
शोषणविरोधी कामको सिलसिलामा बाराको शीतलपुर गाउँका रमाकान्त मिश्रलाई स्थानीय सामन्तले हात हाल्यो, जुन शोषक वर्गको निम्ति ठूलो अपराध ठहरियो । किसान जनता र क्रान्तिकारीहरूको निम्ति यो एक हाँक थियो । जुन ठाउँमा आफ्नो साथीमाथि हस्तक्षेप गरेको हो त्यही ठाउँमा सङ्घर्षलाई चर्काउनुपर्ने निर्णय पार्टीले ग¥यो । पार्टीको निर्णयले शीतलपुर किसान सङ्गठनलाई अझ बल पु¥यायो । बदलाको भावना प्रत्येक किसानमा खचाखच भरिएको थियो । शीतलपुरका तमाम किसान मुक्का उठाएर उठे, लाठी र भालाले सुसज्जित भए, शोषक अपराधी महन्तमाथि धावा बोले । किसानहरूले बदला लिएरै छाडे । उचित सजाए दिएपछि त्यस कुकुरलाई गिरफ्तार गरेर किसानहरूको अफिसमा ल्याएर थुने । २४ घण्टासम्म किसानहरूको बन्दी बनेको अपराधी कुकुर छटपटिन थाल्यो । महन्तका मतियार दलालको उजुर सुनेर सामन्त र शोषकहरूको जुठो रोटीको टुक्रा र रक्सीमा बिकेका पुलिसहरूसमेत आएर छुटाउन खोजे । तर, किसानहरू जुरमुरिएको देखेर किसानहरूको हुँकार सुनेर सामन्तका मतियार र दलालहरू पुच्छर लुकाउँदै ज्यान जोगाएर भागे । किसानहरू माझको एकता र बलको झल्को पाएर गए ।
अञ्चलाधीशकहाँ सामन्तहरूको उजुर पुग्यो । त्यसैबेला किसानहरू ६ सरकार बनाउँदै छन् भन्ने हल्ला गरे । वास्तवमा किसानहरू आफ्नो शोषित जनताको सरकार बनाउन चाहन्थे । सङ्घर्ष बाँकी नै थियो । सामन्तहरू जिल्लामा शान्ति सुव्यवस्थाको अभावको महसुस गर्दै रुवाबासी गर्न थाले र कामरेडमाथि हात हाल्ने लुते कुकुर महन्तको लास बेपत्ता गरेको उजुर गरियो ।
रातको १२ बजेको थियो । किसानहरू मस्त निद्रामा थिए । जिल्लामा शान्ति सुरक्षाको निहुँमा शोषक सरकारले १५० जवान सशस्त्र पुलिस पठाएर गुप्तरूपले गाउँ घे¥यो । किसानको अफिसमा अचानक धावा बोल्यो । पहरा बसेका ५–६ जना किसान साथीहरू गिरफ्तार गरिए । बन्दी बनाइएको चुसाहा महन्तलाई पुलिसले भगायो । कामरेडहरूको गिरफ्तारीको खबरले गाउँका तमाम किसानहरू बाहिर निस्के । महिला किसानहरू पनि सङ्घर्षको मैदानमा अगाडि बढे । शोषक वर्गको दलाल अपराधी पुलिसमाथि उनीहरूले बहादुरीपूर्वक हमला गरे, ढुङ्गा बर्साए† जमेर मुठभेद गरे । दुवैतिर थुप्रै सङ्ख्यामा घाइते भए । का. सूर्य यादव, का. सुदर्शन बैरागी, का. कालीप्रसाद नेपाली आदि साथीहरू गिरफ्तार भए र रातारात सुरक्षा कानुनअन्तर्गत जेलमा बन्दी बनाइए । तिनीहरू तीन महिनासम्म जेलमा थुनिए । तर, गाउँमा सङ्घर्ष भने चलिरहेकै थियो ।
सामाजिक बहिष्कार या हडताल
सरकार र शोषकवर्गले पुलिस र बन्दुकको माध्यमबाट किसानहरू दबाउने बाटो लिन खोजे । किसानहरूले पनि जनताकै बलले सङ्घर्षलाई अगाडि लैजाने विचार गरे । शोषकवर्गको हतियार पुलिस र बन्दुक थियो भने जनताको हतियार जनसमुदाय थियो । पार्टी र किसान सङ्गठनले हली, गोठालो, लुहार (कामी), कुर्मी, धोबी, हजाम (नाउ) आदि सबै कामदार वर्गलाई सङ्गठित गरेर वर्ग दुश्मन महन्तको घरमा काम नगर्न आह्वान गरे । पार्टीको आह्वानमा हली, गोठालो, कामी, कर्मी, धोवी, नाउ सबै कामदार जनता सबै शोषककहाँ काम गर्न जान छाडे । त्यो एक प्रकारको ‘सामाजिक बहिष्कार’ या ‘हडताल’ थियो ।
जबसम्म गिरफ्तार साथीहरू छोडिन्न शोषक महन्तको विरुद्धको सामाजिक बहिष्कार पनि चालू रहन्छ भन्ने पार्टीको माग थियो । शोषक वर्गमाथि यो एक नैतिक प्रहार थियो । सबै सामन्त र जमिनदारहरू मिलेर किसान सङ्घर्षलाई दबाउन फेरि पुलिसकै उपयोग गर्ने कोसिस गरे । किसान सङ्गठनले पुलिसहरूलाई आफ्नो पक्षमा लिन दुई कार्य गरे । पहिलो कार्य, किसानहरू पुलिसलाई सम्झाउँथे कि पुलिसहरू पनि किसानहरूकै छोरा–छोरी हुन् । वर्गीय दृष्टिले तिनीहरू पनि किसान र कामदार वर्गका हुन् । पुलिसका आमा बाबुलाई पनि आ–आफ्नो गाउँमा त्यही सामन्त र जमिनदारहरूले यहाँ जस्तै किसानहरूलाई सताइरहेकै हुन्छन् । दोस्रो कार्य, पुलिसभित्र पनि ठूलो र सानो वर्ग भेद छ भनेर सम्झाइयो । यी कदमले पुलिसहरूमा भएको किसानविरोधी भावना कम भएर गयो र किसान सङ्घर्षप्रति पुलिसहरूको पुरानो दृष्टिकोण बदलियो । पुलिसमा उजुर गर्न आउने, घुस खुवाउन आउने र जासुसी गर्नेहरूको नाम गुप्तरूपले किसानहरूलाई बताएर मद्दत गर्न थाले । अर्को काम हो, पुलिस अफिस र थानामाथि किसानको उल्टो जासुसी थाना र पुलिस अफिसमा को को आउँछन्, के के गर्छन् भन्ने सबै कुराको सुराक सङ्गठनले पाउँथ्यो । यसले शोषकवर्ग र सरकारको किसानविरोधी गतिविधि र षड्यन्त्र अघि नै थाहा हुन्थ्यो ।
पुलिस पनि निष्क्रिय भएको र महन्तमाथिको नैतिक प्रहारले अरू सामन्त र जमिनदारहरू झन् डराउन थाले । यसले गर्दा चुसाहा महन्त एक्लिन पुग्यो । किसानहरूको अगाडि झुक्न बाध्य भयो । गिरफ्तार साथीहरू छोडाउन निवेदन गरियो । अपराधीको हार भयो । किसानहरूको जीत भयो । यसले सामन्त र शोषकवर्गबिच फुट भयो ।
बाराको सामाजिक बहिष्कार आन्दोलनको सफलताको असर रौतहट जिल्लामा पर्यो । यो २०११ सालको कुरो हो । बारा र रौतहटको किसान सङ्गठनको संयुक्त बैठक बस्यो । बैठकले आन्दोलनको लेखाजाखा गर्यो र अनुभवको सार झिक्यो । ३ दिनको बैठकले नयाँ नीति तयार गर्यो – ‘पहिलो सानातीनालाई तारो बनाउने र १०–१५ प्रगन्नाको मुख्य मुख्य सामन्तहरूलाई हान्ने, सङ्घर्ष बारा र पर्सामा एकैबाजी नगरेर पालैपालो गर्ने, एक जिल्लाले अर्को जिल्लालाई मद्दत पु¥याउने र समर्थन गर्ने ।’
रौतहटमा सबभन्दा पहिले परोहा प्रगन्नाको इनरबारी मौजामा सामाजिक बहिष्कार गर्ने निधो ग¥यो । जादोलाल अग्रहनी बनियाँ त्यहाँको सबभन्दा खुँखार चुसाहा र अत्याचारी थियो । वर्ग शत्रु जादोलाल बनियाँको विरोधमा हडताल सुरु भयो । ‘६ सेर बनिहारी गरिब के दो, मन के नौ सेर कर्जा दो ।’ जस्ता नाराहरू लगाइएका थिए । खेतमा काम गर्ने मजदुरहरूलाई त्यसबेला एक डेढ सेरदेखि तीन सेरसम्म मात्रै धान ज्याला दिइन्थ्यो र १ मन कर्जा दिँदा डेढ मन ब्याज लिइन्थ्यो । यसकारण, किसानहरूले नारा दिए – ‘६ सेर ज्याला गरिबलाई देऊ, मनको ९ सेर ब्याजमा ऋण देऊ !’
तर, शोषकहरूलाई थाहा भइसकेको थियो कि आपसमा मद्दत गरिएन भने बारामा महन्त झुकेजस्तै झुक्नुपर्नेछ । यसकारण, शोषकहरू शोषककै समर्थनमा गए । हली, गोठालो, कर्मी, धोवी, कामी, नाउ सबैलाई शोषकहरूले फकाई–फुलाई गर्न थाले, डर–धम्की देखाए, भारतबाट मजदुर ल्याइए । सीमा इलाकामा वर्गीय चेतना र सङ्गठन परिपक्व नहुँदा हडताल दुई दिनभित्रै भङ्ग हुन पुग्यो ।
बिचैमा टुटेको यस सङ्घर्षले पार्टी र किसानहरूलाई नयाँ शिक्षा दियो । पार्टी जिल्ला कमिटीले निर्णय गर्यो कि हडताल तोड्ने दलालमाथि झन् चर्को सजाय दिइनेछ । शोषकहरूको लठैत गुण्डाहरूसँग लड्न किसान स्वयंसेवकहरूले सङ्घर्ष नटुङ्गिञ्जेल इनरबारीमै बस्ने निर्णय लिए । यो एक जुझारु निर्णय थियो । त्यसले किसानहरूको लड्ने भावनालाई अझ माथि उठायो ।
तर, पार्टीले लोकमत आफ्नो पक्षमा लिन शोषक वर्गको अत्याचारलाई उदाङ्ग्याई दिने नीतिलाई छोडेन । ठूलो आमसभाको आयोजना गरियो । आमसभा भङ्ग गर्न शोषकहरूका दलालहरूले अनेक अदङ्गा मच्चाए, गडबडी गरे । किसानहरूले ती वर्ग शत्रुका दलालहरूलाई चेतावनी दिए । कमजोर दलालहरू पुच्छर लुकाएर भागे । तर, जिद्दी भई बस्ने शोषकका पिच्छलग्गु कुकुरहरूलाई किसान जनताले सजाय दिए । लात–मुक्का घुस्सी र चपेटले दण्ड दिए । २ घण्टासम्म किसानहरू र शोषकवर्गका दलालहरूको बिच लाठी र मुक्काको हानाहान भयो । आखिर प्रतिक्रियावादी शक्तिको हार भयो । यो प्रायः निश्चित कुरो थियो – पुलिस आफ्नो मालिकको पक्षमा हस्तक्षेप गर्ने ताकमा थियो, किसानहरूलाई गिरफ्तार गर्ने निहुँ खोज्दै थियो । तर, हजारौँ हजार किसानहरूको जोस र एकताको अगाडि अपराधी वर्गको केही लागेन । आमसभा भएरै छोड्यो । आमसभामा पार्टीले घोषणा गर्यो कि इनरवारीको हडताल र सामाजिक बहिष्कार फेरि चालू राखिनेछ ।
यो घोषणाले शोषकवर्ग फेरि छटपटिन थाल्यो । किसानहरूमा नयाँ जोस र विश्वास भरिएको थियो । हडताल ४ दिनसम्म विजयपूर्वक अगाडि बढ्यो । प्रशासन र शासकवर्गको मेच हल्लिन थाल्यो । अब त्यहाँ सरकारको कानुन चल्दैन । त्यहाँ किसानहरूको सरकार चल्छ । पार्टीको आदेश पालन हुन्छ भनी हल्ला मचिन थालेको थियो । पाँचौँ दिनमा शासक वर्ग बहुला कुकुरझैँ पुलिस लिएर इनरबारीको धरतीमा मार्च गर्न पुग्यो । तर, किसानहरू शासक र शोषकवर्गको अगाडि झुकेनन् । हजारौँ हजार किसानहरू एक भएर उठे । उनीहरूले शोषकवर्गको पुलिसमाथि घेरा हाले । परिस्थिति डरलाग्दो थियो । किसानहरूमा लड्ने भावना र साहस थियो, आफ्नो वर्गीय हितको निम्ति उनीहरूको पछाडि पार्टी र जनता थियो । तिनीहरूको लडाइँ न्यायको लडाइँ थियो । शोषकहरूको पक्षमा पुलिस, सिपाही, बन्दुक, जेल र नेलबाहेक अरू केही थिएन । पुलिस र सिपाहीहरूमा किसानहरूसँग लड्ने उत्साह थिएन । तिनीहरूलाई थाहा थियो कि किसानहरूको विरुद्धको लडाइँ अन्यायको लडाइँ हो । सङ्घर्ष बढ्दै जाँदा मागहरू पनि बढ्दै गए । हडताल लगभग एक वर्षसम्म चल्यो । त्यस बिचमा शोषकहरू खेतमा आफै काम गर्न थाले । बाली काटे तर रोपाइँ गर्न सकेनन्, पछि त धानसमेत काट्न सकेनन् र धान काट्दा धनीहरूको हातबाट रगत बग्न थाल्यो । भारतबाट पनि मजदुरहरू ल्याउन सकेनन् । त्यस शोषककहाँ भिखारी दुसाद भन्ने एक कमारा पनि थियो । यसको बाबु चैन हजरा दुसाद पनि पहिले त्यसैकहाँ बाँधा थियो । किसानहरूले त्यस कमारा भिखारी दुसादलाई मुक्त गरिदिए र उनीपछि बालचन्द्रपुर प्रगन्नामा गएर बसे । किसान आन्दोलनबाट भएको दास मुक्तिको यो एक उदाहरण थियो ।
आखिर पुलिस र हाकिमहरू किसानहरूको अगाडि झुक्नै पर्यो, माग पूरा गरिदिने कबुल गर्नैपर्यो । एक मन धानको एक पसेरीमात्रै (५ सेर) ब्याज होस् भन्दै किसानहरूले आफ्ना मागहरू अगाडि बढाए । पुलिस र हाकिमहरू सामन्त र शोषकहरूको छलफल भयो । सामन्तहरूले किसानहरूको माग स्वीकार गरे, विजय किसान जनताको भयो ।